काठमाडौं- पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा जन्मेको एकजना बाहुनको छोरो, जो सानैदेखि संस्कृत शिक्षामा आकर्षित भयो । किशोरावस्थामा उसले भोजपुरबाट झापाको बिर्तामोड झरेर संस्कृत विद्यालयमा दुई वर्ष पढ्यो । अनि, उच्च शिक्षाका लागि तनहुँको देवघाटस्थित गुरुकुलमा पुग्यो । उसको नजरमा नेपालको देवघाट अहिले भारतको वनारस भन्दा राम्रो संस्कृत शिक्षाको केन्द्र बनिसकेको छ ।
नेपाली युवा गाउँबाट अध्ययनका लागि शहर पस्छन् अनि यतैबाट विदेशतिर लाग्छन् । आफू जन्मेको गाउँलाई चटक्कै बिर्सन्छन् । तर, यी भोजपुरे युवकलाई भने देवघाटमा पढेको उच्च शिक्षाले विदेशतिर हैन, आफू जन्मेको भोजपुरतिरै तान्यो । संस्कृतमा आचार्य गरेका उनी कलेजमा जागिर खाने अवसर त्यागेर अहिले पहाड (भोजपुर) तिर फर्केका छन् ।
पढेलेखेको मान्छे गाउँ फर्केपछि त्यहाँ केही न केही परिवर्तन आउँदोरहेछ । भोजपुर फर्केर यी युवकले हिन्दु, वौद्ध र किरात तीनवटै धर्मावलम्बीको त्रिधार्मिक गुरुकुल ज्ञानशाला खोल्ने अभियान चलाएका छन् । अहिले उनको सम्पूर्ण शक्ति यही काममा व्यतीत भएको छ । गाउँको रौनक नै अर्कै भएको छ ।
शहरका मिडियामा खासै चर्चामा नआएका यी नवयुवकसँग खबरहबले ‘भोजपुर फिर्ती’को विषयमा रोचक कुराकानी गरेको छ । भोजपुरमा निर्माण भइरहेको अध्यात्मिक प्रतिष्ठान अनि हिन्दु समाजको वर्तमान अवस्थाका विषयमा आचार्य सोमनाथ कोइरालासँग गरिएको सैद्धान्तिक एवं शास्त्रीय वार्तालाप यहाँ प्रस्तुत गरिएको छ ।
हिन्दु संस्कृतिमा साउनदेखि कात्तिक महिनासम्म धेरैवटा पर्वहरु पर्दछन् । आज साउनको अन्तिम सोमबार हो । हरेक हप्ता व्रत बस्नेहरु आज यस महिनाको ब्रतको मैझारो गर्दैछन् । उता पशुपतिनाथमा धुमधामका साथ कोटी होम चलिरहेको छ । त्यहाँ थरीथरीमा पण्डितहरु व्यासासनमा बसेका छन् । कतिपय आफ्नो प्रवचनका कारण विवादमा पनि तानिएका छन् । देशमा हिन्दु धर्म र हिन्दुत्वका नाममा विभिन्न धार्मिक गतिविधिहरु हुँदै आएका छन् ।
धर्म र संस्कृतिको विषयलाई लिएर देशमा बेलाबखत सघन बहसहरु हुने गरेका छन् । जातिप्रथा, हिन्दुराष्ट्र बनाउने मागदेखि लिएर परम्परा र आधुनिकताको वैचारिक बहस पनि समाजमा हुने गरेकै छ । यस्तो सन्दर्भमा शांकर दर्शनशास्त्रमा आचार्य उत्तीर्ण गरेका एक युवकले नेपाली समाजको अहिलेको अवस्थालाई कसरी विश्लेषण गर्छन् ? ब्राह्मण कुलमा जन्मेका सनातनी युवक आयार्य सोमनाथसँगको आध्यामिक सम्वाद
तपाईको जन्म कहाँ कहिले भएको हो ? आफ्नो बाल्यकालबारे बताइदिनु न …
मेरो जन्म भोजपुर अरुण गाउँपालिका वडा नम्बर १, याङपाङ सिस्नेरी भन्ने ठाउँमा २०५३ साल मंसिर १४ गते भएको हो । ७ कक्षासम्म मैले नजिकैको विद्यालयमा पढें । मेरो घरमा धार्मिक परिवेश थियो । पिताजी पुरोहित हुनुहुन्थ्यो । आमाका मामा होमनाथ निरौला विशिष्ट पण्डित हुनुहुन्थ्यो । उहाँको छत्रछायामा रहेर संस्कृत भाषा सानैबाट सिक्न पाइयो ।
उहाँको प्रेरणाले गर्दा म सानैमा १० वर्षको हुँदा नै दुर्गा सप्तशती राम्रोसँग पाठ गर्न जान्दथें । पछि गुरुकुलमा आएपछि चाहिँ अशुद्ध पढिएको रहेछ भन्ने थाहा भयो । तैपनि सानैदेखि रुद्री, चण्डी, वेद आदि कर्मकाण्डका विषयहरु पढें । त्यति पढिरहँदा संस्कृतप्रतिको अभिरुची भयो तर व्याकरणिक अध्ययन भने भएन । अनि गुरुकुल जाने इच्छा भयो ।
त्यस्तै–त्यस्तै परिवेश मिलेर अलिकति ज्योतिषको संगततिर लागें । त्यसबाट पनि हुँदैन भनिसकेपछि अनि गुरुकुलमा जानका लागि झापाको चारपाने बिर्तामोडमा अवस्थित सांगवेद सांस्कृतिक माध्यामिक विद्यालयमा गएँ ९ र १० त्यहाँ पढें ।
शुरुमै मेरो महेश सन्यास आश्रम, महेश गुरुकुल देवघाट जाने इच्छा थियो । तर, त्यहाँ ६ कक्षादेखि नै पढ्नुपर्ने नियम रहेछ । ठूलो कक्षामा पढिसकेको, त्यसरी हुँदैन भनेर झापाको सांगवेदबाट एसएलसी तह (पूर्वमध्यमा) पास गरें, त्यसपछि देवघाट आएँ । देवघाटबाटै उत्तरमध्यमा हुँदै शास्त्री र आचार्य उत्तीर्ण गरें । म २०७७ सालको आचार्य हुँ ।
नेपालको परिवेशमा संस्कृतको पर्यावाची नै देवघाट बनेको छ । नेपालमा अढाईसय बढी गुरुकुल, संस्कृत विद्यालयहरु छन् । देवघाटमा चाहिँ विशेष गरेर साधुसन्तको निगरानीमा सञ्चालित गुरुकुलहरु रहेको हुनाले देवघाट नै ‘नेपालको वनारस’का रुपमा प्रशिद्ध छ
मैले वेदान्त दर्शनमा आचार्य गरेको हुँ । शांकर वेदान्त भन्छन् । यो भनेको अद्वैत दर्शन हो । यो भनेको संसारमा एक परआत्मा अद्वैत छ भन्नेखालको सिद्धान्तमा रहेर यसमा षड्दर्शनकै अध्ययन हुन्छ ।
संस्कृत पढ्न चाहनेहरुका लागि देवघाटको शैक्षिक वातावरण कस्तो छ ?
नेपालको परिवेशमा कुरा गर्दा संस्कृतको पर्यावाची नै देवघाट बनेको छ । अन्य गुरुकुलहरुमा संस्कृत मावि, वेद विद्याश्रम यस्तै धार छ । त्यसमध्ये नेपालमा अढाईसयभन्दा माथि गुरुकुलहरु, संस्कृत विद्यालयहरु छन् । तर, देवघाटमा चाहिँ विशेष गरेर साधुसन्तको निगरानीमा सञ्चालित गुरुकुलहरु रहेको हुनाले देवघाट नै ‘नेपालको वनारस’का रुपमा प्रशिद्ध छ । अहिले त भारतको भन्दा गुरुकुलीय पद्दतिचाहिँ नेपालको, त्यसमा पनि देवघाट प्रशिद्ध छ ।
देवघाटमा ०७७ सालमा आचार्य सिध्याएपछि के गर्नुभयो ?
आचार्यपछि मैले गुरुजीलाई सम्झनुपर्छ । डा. स्वामी रामानन्द गिरी महाराज । उहाँले स्थापना गरेको विद्यालयमै मैले धेरै वर्ष बस्न पाएँ । र, मेरो एकप्रकारले देवघाटको महेश सन्यास आश्रममा बस्न पाउनु भनेको मेरो पुर्नजन्म भयो ।
गुरुदेवले जागिर खान हुँदैन, जागिर खाएपछि संकचित हुन्छौं, संस्कृत पढेको मान्छे समाजमा जानुपर्छ, संस्कृत पढेको मान्छे गाउँमा भयो भने भाषा सुध्रिन्छ भन्नुहुन्थ्यो । त्यहाँ एउटा गुरुकुल भइदियो भने त परिवेशै उज्यालो हुन्छ भन्नुहुन्थ्यो ।
आफ्नै मातृभाषा, संस्कृत भाषाको सेवा गर्ने उद्देश्यले के गर्ने होला भन्ने लागिरहेको थियो । नभन्दै जन्मभूमि (भोजपुर) फर्कने एउटा परिवेश बन्यो । यसमा मेरा, बुबा र गुरुको प्रेरणा पनि थियो । विशेष गरेर आमाका मामाले एउटा ठूलो यज्ञ गर्ने संकल्प गर्नुभएको थियो, त्यो यज्ञलाई हामीले यज्ञको रुपमा मात्रै नभएर यज्ञको शेषमार्फत एउटा काम गरौं भन्ने कल्पना भयो । त्यसमा हाम्रा आदरणीय काका शंकरप्रसाद कोइराला लगायतका अग्रजहरुको प्रेरणाअनुसार हामी भोजपुरेहरुले काठमाडौंमा भेला भएर एउटा सल्लाह गर्यौं ।
के सल्लाह गर्नुभयो ?
आज हामीकहाँ धार्मिक सद्भाव र सहिष्णुताको आवश्यकता छ । आज जातीयताका नाममा परम्पराको विरोध गर्दैमा आधुनिक भइन्छ भन्ने नाममा समाज विखण्डनतिर पनि गइरहेको छ । त्यसैले अब धार्मिक सन्दर्भले समाजमा छिरौं र सामाजिक काम पनि गरौं । जसले राष्ट्रको भाषा, सभ्यता र संस्कृतिको पनि संरक्षण होस् भन्ने हिसाबले काम गर्यौं ।
हामीले ०७६ साल माघ १८ देखि २६ सम्म त्रिधार्मिक अनुष्ठान यज्ञ गर्यौं, जसलाई ज्ञानमञ्च नै भन्न रुचाउँछौं । कर्मकाण्डी यज्ञभन्दा पनि ज्ञानमञ्चजस्तो सञ्चालित भयो । एउटै मञ्चमा हिन्दु, बौद्ध र किरात धर्मका तीनवटा गुरुहरु त्यहाँ उपस्थित भए
अहिले मेरो जागिर नखाने भन्ने सिद्धान्त छ । भन्नाले, कतै पनि पूर्णकालीन सेवा नगर्ने । जागिर खाँदा मैले नेपाल संस्कृत विश्वविद्यालयको उपप्रध्यापक भइरहने, शारदा विद्यापीठ महेन्द्रनगरदेखि लिएर सोलुखुम्बुसम्म जानुपर्ने भयो, उर्जाशील समय त्यतै व्यतीत भइहाल्छ । त्यसैले एउटा केही सेवा गरौं भन्ने हिसाबले संकल्प बन्यो । मलाई त्यस्तै रहेछ जुरेको । त्यही भएर अब यहीँ जन्मभूमिमै बसेर एउटा पाठशाला सञ्चालन गर्ने हो । जो हिन्दु, बौद्ध र किरात धर्मको पाठशालाका रुपमा रहन्छ । अहिले मेरो समय त्यता गइराखेको छ ।
भोजपुरमा बहुधार्मिक पाठशाला खुलिसक्यो ?
हामीले ०७६ साल माघ १८ देखि २६ सम्म त्रिधार्मिक अनुष्ठान यज्ञ गर्यौं, जसलाई ज्ञानमञ्च नै भन्न रुचाउँछौं हामी । कर्मकाण्डी यज्ञ भन्दा पनि ज्ञानमञ्चजस्तो सञ्चालित भयो । एउटै मञ्चमा हिन्दु, बौद्ध र किरात धर्मका तीनवटा गुरुहरु त्यहाँ उपस्थित भए । हिन्दु गुरु अगाडि आएर प्रवचन गर्ने, सकेर पछिल्लो सोफामा गएर बस्ने अनि किरात गुरुले प्रवचन गर्ने । त्यसपछि बौद्धको गुरुले । एकै दिनमा तीनवटा सत्र राखेर नेपालका विश्वविद्यालयका विभाग अध्यक्ष, प्राध्यापक, विशिष्ट व्यक्तिहरुलाई हरेक समय छुट्याएर ज्ञानमञ्च सञ्चालन गर्यौं ।
त्यसमा सनातन परम्पराका हिन्दु नेपाल सन्त समाजका प्रमुखज्यू, नेपाल बौद्ध महासंघका उपाध्यक्षज्यू जानुभएको थियो । त्यसै गरेर किरात धर्मगुरु (नागसोम)हरु बसेर प्रवचनात्मक कार्यक्रम भयो । स्थानीय सांस्कृतिक, जस्तै– ब्राह्मणहरुले भजन, वालन, मगरहरुको सोरठी, मारुनी नाँच भयो । राईको साकेला, नेवारहरुको लाखे नाच लगायतका सांस्कृतिक कार्यक्रम पनि गर्यौं । त्यसबाट यज्ञको केही शेष (वचत) रह्यो । त्यसबाट अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानलाई जन्मायौं । ०७७ सालको जेठसम्म हामीले लगभग दर्ता गरिसकेका थियौं ।
त्यसपछि हामीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्यौं । त्यसमा सहिष्णुताको आस्था पोख्ने ठाउँ तीनवटा प्रतिकात्मक मन्दिर रहने । ध्यान गर्नका निमित्त सुरुमा स्थूल वस्तु चाहिन्छ अनि मात्र सूक्ष्म चाहिन्छ । सूक्ष्मतातिर जाने भएकाले एउटा त्रिधार्मिक संग्राहलय बन्यो । सांस्कृतिक संग्रहालय र तीनैवटा पठनपाठन गर्ने ठाऊँ ।
भोजपुरमा ९ वटा स्थानीय तह छन् । सबै तहसँग सहयोग माग्नुपर्छ भनेर तयारी गर्यौं । त्यहीअनुसार काम हुँदै गयो ।
अहिले संघीय सरकारबाट पनि भवन बन्दै छ । प्रदेश सरकारबाट पनि हरेक वर्ष सहयोग छ । स्थानीय तहले पनि केही न केही द्रव्य सक्नेजति गरिराखेका छन् । अहिले शीर राख्न मिल्नेसम्म बनेको छ । आएका विद्यार्थीहरुलाई बिहान–बेलुका अनौपचारिक रुपमा पढाइएको छ । पिता वर्गलाई पनि सिकाइएको छ ।
हिजो जातीयताका नाममा भएका दंगा गर्न नहुने रहेछ । गुरुहरु अंगालो मारेर हिँड्ने रहेछन् । हामी मात्रै मूर्ख रहेछौं भन्ने भाव सञ्चारित भएको छ समाजमा । अब औपचारिक रुपमा पाठशाला सुरु गर्ने तयारीमा छौं । म आफैं शिक्षक भएर केही समय औपचारिकरुपमै कक्षा सञ्चालन गर्दा ५० जना विद्यार्थी थिए । बिहान आएर संस्कृतका श्लोकहरु उच्चारण सिके । आरती, भजनहरु गरे । गाउँमा जाँदा नारायण, सेवा, जस्ता शब्दहरुले आदर गर्ने माहोल बन्यो ।
भौतिक वस्तु केही होइन भन्ने होइन । भौतिक वस्तु नभई केही नहुने रहेछ अहिले । समाजसेवी तोरण कार्की, डा. लोचन कार्कीले जग्गा दिए । आफ्नै संरचना भएपछि सजिलो हुनेरहेछ । गाउँ आसपास सबै आर्थिकरुपले विपन्न परिवारका विद्यार्थी हुन्छन् । त्यहाँ एउटा क्याम्पस सञ्चालन हुँदैछ त्यहाँ विद्यार्थीलाई आवासीय रुपमा राखिनेछ ।
त्यहाँ सम्पूर्ण आश्रमका विधिहरु अपनाउनुपर्नेछ । धोती लगाएर बस्नुपर्ने, बिहान–बेलुका पाठपूजा गर्ने, संस्कारका कुरा सिक्नुपर्ने, गाईको सेवा गर्नुपर्ने, तरकारी उत्पादन गर्नुपर्ने खालको कार्यक्रम बनाइँदैछ । दिउँसो विद्यालय, कलेज जाने । बिहान बेलुका बस्ने होस्टेलजस्तो तरिकाले छात्रवास सञ्चालन गर्न लागेका छौं । अहिलेचाहिँ वरिपरि भएका बालबालिकाहरु बिहान डेढ घण्टा अनौपचारिक रुपमा पढ्ने र दिउँसो स्कुल जाने गरी सञ्चालनमा छ ।
गुरुकुलको पाठ्यक्रम चाहिँ कस्तो बनाउँदै हुनुहुन्छ ? अहिलेको पुस्ताले संसारसँग जोडिनका लागि अंग्रेजी त अनिवार्य सिक्नुपर्ला नि ?
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत नै १२ सम्मको पाठ्यक्रम छ । नेपालमा तीन धारका– गुम्बा, मदरसा र गुरुकुल सञ्चालित छन् । त्यसमा कक्षा १२ सम्म राष्ट्रिय परीक्षा बोर्डले हेर्छ । त्यहाँभन्दा माथि विश्वविद्यालयका छुट्टै क्षेत्र छन् । जस्तै– त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालयको छुट्टै क्षेत्र छ । नेपाल संस्कृत विश्वविद्यालय जस्तै अन्य पनि भएको हुनाले गुम्बा शिक्षा र गुरुकुल शिक्षाका आ– आफ्नै पाठ्यक्रम छन् । त्यो नेपाल सरकारबाटै निर्धारित छ ।
गुरुकुलमा पनि एउटा संस्कृत मावि छ अर्को वेद विद्याश्रम भन्ने धार छ । त्यो अनुसारमा भोलि गएर कक्षागत प्रणालीमा जाँदाखेरि त्यही नै हुन्छ । अनौपचारितामा त आवश्यकता अनुसार, गुरुको रुचि अनुसार र विद्यार्थीको अपेक्षाअनुसार व्यवहारिक शिक्षाको रुप हुँदोरहेछ ।
भोजपुरमा अहिले संस्कार पाठशाला भनेरै प्रारम्भ भएको छ । राष्ट्रिय गुरुकुल परिषदका अध्यक्ष डा. केशवानन्द गिरी हुनुहुन्छ, उहाँहरुले संस्कार पाठशाला भनेर सञ्चालन गर्नुभएको छ । यस पाठशाला भित्र नेपालको माटो, इतिहास, हिमालको सभ्यता, यहीँ भएका पाथिभरा, लुम्बिनी, पशुपति आदिको अध्ययन गर्नका निम्ति सबैलाई जुटाएइको छ ।
हामीलाई हाम्रा चाडपर्व दशैं, तिहार थाहा छ । तर, गुप्तरुपमा रहेका वार्षिक चाडपर्वहरु, जस्तै– रामनवमी, शिवरात्री, कृष्णजन्माष्टमी, शारदीय नवरात्र, (वर्षमा चारवटा नवरात्र हुन्छन् ः असारको शुल्क पक्ष, असोज, माघ र चैतको शुल्कपक्ष गरी चारवटा दशैं हुन्छन् ।) यी सबै पढ्नुपर्छ भनेर सबैलाई समेटेर संस्कार पाठशालाले शिक्षा दिइरहेको छ ।
यसका साथै किरात राई यायोख्याको केन्द्रीय संस्था पनि हामीले किरातको पाठ्यक्रम माग गरेका छौं । किरात धेरै प्रकृतिका रहेछन् । एउटै गाउँमा पनि वान्तवा, दुम्बाली आफ्ना आफ्नै विविधता रहेछ । त्यो विविधतामा केही एक रुपता माग गरेका छौं । किरातको भाषा कुन अध्ययन गराउने भन्ने कुरामा समस्या रहेछ ।
बौद्धको पाठ्यक्रम पनि माग भएको छ । कक्षामा भएकै विषयलाई अनौपचारिक ढंगले सिकाउँदै जाने भनेर धरानमा एउटा गुम्बासँग सहकार्य गरेका छौं । त्यो गुम्बाका केही भिक्षुहरु पनि गएर बस्नुहुन्छ ।
अहिले स्तूपा पनि उहाँहरुले नै निर्माण गर्नुभयो । भोजपुरमै जन्मनुभएको पुण्य पराजुली लोकचक्षुरपाद(लोचपा) भन्ने एउटा पदवीबाट विभूषित हुनुहुन्छ । उहाँ पनि एउटा गृहस्थ सन्त हुनुहुन्छ । उहाँले बौद्ध क्षेत्रको संस्थाको अभिभावकत्व गरिरहनुभएको छ ।
र, यस्तै–यस्तै गरेर हामीले अनौपचारिक ढंगले चलाइरहेका छौं । पछिलाई पनि संस्था अलिकति खुट्टा टेक्ने भैसकेपछि औपचारिकतामा लैजाने छौं । औपचारिकता मैले केलाई भनें भने कक्षागत अनुमतिलाई औपचारिक शिक्षा र कक्षागत अनुमति नभएकोलाई अनौपचारिक शिक्षा भन्न रुचाएँ ।
बालागुरु षडानन्दले शिक्षा फैलाएको भोजपुर जिल्ला विगतदेखि नै शिक्षाको अग्रणी मानिँदै आएको छ । अहिले तपाई आचार्य पढेर गाउँ फर्किइरहँदा भोजपुरलाई कसरी सम्झनुहुन्छ ?
संसारमा सबैभन्दा पवित्र र सुन्दर ठाउँ आफ्नो जन्मस्थान भन्दा अर्थोक के होला र । आमाभन्दा ठूलो देवता हुन सक्दैन । जन्मभूमिभन्दा ठूलो तीर्थ हुन सक्दैन भन्ने शास्त्रीय कुरा पनि हो । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भनेर रामायणको प्रसङ्गमा आएको विषय हो ।
विसं. १९३२ सालमा बालागुरु षडानन्दले स्थापना गर्नुभएको संस्कृत पाठशाला, जो राणाकालको समयमा पनि गुरुको गुरुता, उहाँको साधनाको बलले राणाहरु त्यसै लट्पटिए, अल्मलिए । त्यहाँ (भोजपुरमा) गएर पनि त्योबेलाको यस्तो विशिष्ट चिन्तन रहेछ कि उहाँको कि कुनै पनि जातीय संकुचन र संकीर्णता भन्दा माथि उठेर सबै जाति, सबै धर्मका मान्छेलाई जुटाएर गुरुकुल मात्रै खोलेको हैन, समाजलाई उत्थान गरेको हो बालागुरुले ।
अहिले पनि इलाम, पाँचथर, नेपालभर धेरै विद्वानहरु भोजपुरमा पढेका भेटिनुहुन्छ । भोजपुरमा गएर छात्रवृत्ति लिएर, धानचामल लिएर सेवा गरेर त्यो गुरुकुलमा पढेको अवस्था रहेछ । यो भूमिजत्तिको पुज्य भूमि हाम्रोलागि अर्को हुन सक्दैन ।
तर, यो भनिरहँदा अहिले मुख लुकाएर हिँड्नुपर्ने अवस्था पनि छ । भोजपुर भन्नेवित्तिकै हामीलाई सबैले ओहो दिङला भनेर सम्झिन्छन् । तर, दिङलालाई हामीले त्यस्तो धेरै गर्न सकेको अवस्था छैन । द्वन्द्वकालका बेला गुरुकुल एउटा अन्तिम अवस्थामा पुग्यो । एउटा दुःखका साथ भन्नुपर्ने कुरा, जसजसका पूर्खाहरुले गुठी गुरुकुललाई संस्था सञ्चालनका निम्ति दिनुभयो, आज उनैका सन्ततीहरुले त्योप्रति नकारात्मक नजर राखेको पनि आंशिक रुपमा देख्न पाइन्छ । यसलाई राज्यले पनि संरक्षण गर्न कता–कता नसकेको हो कि भन्ने पनि देखिन्छ ।
अहिले चाहिँ गुरुकुल सञ्चालन गर्नुपर्छ भन्ने नगरपालिकादेखि लिएर स्थानीय वुद्धिजिवीहरु आंशिकरुपमा लागेको पनि देखिन्छ । तर, ‘गुरुका नाममा खुरुखुरु’ भनेजस्तो षडानन्दका नाममा अनगिन्ती प्रतिष्ठान खडा भए । काठमाडौं, बिराटनगर र इटहरीमा पनि केही होलान् । गुरुको गुरुता व्यापक हुनु राम्रो हो । भोजपुरमै मात्रै संकुचित रुपले बस्नुपर्छ भन्न खोजेको होइन तर गुरुले रोपेको बिउ भनेको संस्कृत शिक्षा, संस्कार शिक्षा हो । सबैले त्यहाँबाट पढेका छन् । त्यहाँका राईहरुले पनि कृष्णचरित्र, रामायण, महाभारत पढ्न जाने परम्परा थियो । पञ्चायंगको पूजा गर्ने परम्परा जीवित छ, त्यो गुरु षडानन्दले बसाएको परम्परा हो ।
अहिले केही गुरुकुल सुरु भएको छ र यो षडानन्द माध्यामिक विद्यालयमा पनि नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धन लिएर प्राकशास्त्र भनिन्छ । जसले १२ कक्षा उत्र्तीण गरेपछि एउटा ६ महिनाको कक्षा हुन्छ, त्यसमा संस्कृतका कुराहरु पढ्नुपर्छ । त्यो परीक्षा उत्तीर्ण गरेपछि संस्कृत पढ्न पाइन्छ । त्यो प्राकशास्त्रीय कक्षा सञ्चालन भएको अवस्था छ । यसरी भोजपुरको षडानन्दको भूमि संसारकै सबैभन्दा पवित्र तीर्थ हो । हाम्रो आदर्श व्यक्तिका रुपमा षडानन्द हुनुहुन्छ ।
एकै ठाउँमा किरात, बौद्ध र हिन्दु तिनै धर्मको केन्द्र बनाउनुको कारण के हो ?
समाज सबै मिलेर जुटेर मात्रै सम्भव छ । अहिलेका उत्तरआधुनिक, जसले आधुनिकताका नाममा परम्पराको विरोध गर्न बाहेक अरु जान्दैनन् । परम्पराको संरक्षण गर्दै विषय बुझेर परम्परामा आएका विकृतिहरुलाई हटाउँदै राम्रा कुराहरुलाई अगाडि ल्याउनु नै आधुनिकताको सामान्य क्रिया हो । अहिले विषयको ज्ञान छैन तर पनि विनातथ्य बोलिरहेका छन् । बोल्नका लागि विषयप्रति पूर्ववत् ज्ञान र इतिहास जानेन भने बोल्न सकिँदैन भन्ने हाम्रो बुझाइ हो ।
अहिले जो कोहीले जेसुकै विषयमा पनि बोल्दिन्छ । धर्म के हो ? अनुशासन के हो ? आजभोलि विभिन्न नाममा जात, सम्प्रदाय, लिङ्गका आधारमा विभिन्न कुरामा विभेद गरेर झैंझगडा गरेको अवस्था छ । यसले समाजमा दंगा फैलाउँछ, गति दिँदैन ।
अहिले म भोजपुरमा जाँदा सबैलाई बोलाउनुपर्यो । दमाईको घरमा पूजा भए बोलाउनुपर्यो । राईको घरमा विवाह, ब्रतबन्धमा बोलाउनुपर्यो र जानु पनि पर्यो । हाम्रो सहिष्णुता एकले अर्काको परम्परालाई संरक्षण गर्ने हो । कसैको व्यक्तिगत पूजाकोठामा, उसको आस्था आफ्नो ठटाउँमा हुन्छ । तर, समाजमा सहिष्णुता हुनुपर्छ भन्ने हो ।
फेरि, दर्शनहरु यति नजिक रहेछन् । हाम्रो दर्शन, किरात दर्शन, बौद्ध दर्शन, कर्ममाण्डमा फरक हो तर दर्शनमा फरक छैन । जस्तै– जाजरकोटको मान्छे काठमाडौं आउने बाटो फरक छ । भोजपुरको मान्छे अर्को बाटो जाने भयो तर अन्तिममा काठमाडौं एउटै हो । बाटो फरक भए पनि पुग्ने गन्तव्य एक रहेछ ।
संसारमा कसैलाई प्रश्न गरियो भने एयरपोर्टमा विदेश जाँदै गरेको मान्छेलाई केका लागि कमाउन जाँदैछौ भन्ने प्रश्न गरियो भने उसको उत्तर सुखका लागि वा आनन्दका लागि भन्ने आउँछ । गुफामा साधना गर्न हिँडेको सन्त घरपरिवार त्यागेर हिँडेको छ, उसले पनि आनन्दका लागि भन्छ । मदिरा सेवन गरेर लडिरहेकोलाई किन पिएको भन्ने प्रश्न गरियो भने उसले पनि आनन्दका लागि भनेरै जवाफ दिन्छ । सबैको प्राप्ति अथवा लक्ष्य आनन्द प्राप्त हो । समाज मिलेको देखेर सन्तुष्टि मिल्छ । समाज सद्भाव र सहिष्णुताले मात्रै मिल्छ ।
अज्ञानताका कारणले अहिले समाज विखण्डनमा छ । हाम्रै क्षेत्रको कुरा गर्ने हो भने विभिन्न संघसंस्था देखिएका छन् । जस्तो– मंगोल नेसनल अर्गानाइजेसन (एमएनओ) को सिद्धान्त भनेको क्षेत्री बाहुनको विरोध गर्नु हो । कसैले पनि अरुको विरोध गरेर समाजमा सहिष्णुता हुँदैन । हामीले एक–अर्काको परम्परा र संस्कृतिलाई सम्मान गर्नुपर्छ । त्रिधार्मिक केन्द्र बनाउनुको मुख्य उद्देश्य भनेकै एकले अर्कोलाई प्रेमभाव राख्नु हो । हाम्रा उद्देश्य एकै हुन् । दाजुभाइ, बन्धुत्वको सम्बन्धमा बसेका छौं । झगडा होइन, मिलेर जानुपर्छ ।
हाम्रो कस्तो सिद्धान्त मिलेको छ भने प्रकृति पूजकहरुले पञ्चतत्वलाई मान्छन् । हामी पृथ्वी, जल, तेज, वायु र आकाशलाई खास पञ्चतत्व मान्छौं । पाञ्चाङ्ग (देवी, शिव, विष्णु, गणेश र सूर्य) पूजा गर्छौं । यिनीहरुको आफ्नो सम्बन्ध रहेछ । किरातमा प्रातकालमा उठ्ने बित्तिकै आगो बालेर धूप लगाउने चलन छ ।
यता हिन्दु पनि अग्निको सेवा गर्छौं । बिहान उठेर धर्तिको पूजा गर्छौं । हे धर्तिमाता आज दिनभरि तपाईलाई टेक्दै छु पाप नलागोस्, मलाई क्षमा गर्नुहोला भन्ने यसको आशय हो । वायु निःशुल्क रुपमा पान गरेको छु, यो प्रक्रिया बन्द हुने बित्तिकै प्राणीले पनि श्वास फेर्न सक्दैन, वायुदेवको सेवा गर्ने किरात दर्शन हो । आकाश, जलको सेवा र पूजा आखिर कृतज्ञता ज्ञापन हो । प्रत्यक्ष देवता, सूर्यलाई उनीहरुले पनि पूजा गर्छन् ।
त्यसकारण हाम्रो सिद्धान्त एउटै छ । मिल्छ । सिद्धान्त मिल्ने तर स्वीकार पनि नगर्ने भनेको अज्ञानता हो । यसको अन्त्य हुनुपर्छ । हामीले विषय बुझ्नुपर्छ ।
हिन्दु, किरात र बौद्धका गुरु मञ्चमा बसेर प्रवचन गरेपछि त्यहाँ केहीले कविता लेखे । स्वामीहरुबाट आर्शिवाद प्राप्त गरे । आखिर हामीले व्यर्थै झगडा गरेका रहेछौं, हाम्रो सिद्धान्त सबै मिल्ने रहेछ भन्ने सन्देश गयो । यसबाट के पाठ बुझे भने अज्ञनता नबुझेर अलल्मिएको रहेछ । प्रकाशको उपस्थिति नै अन्धकारको बर्हिगमन हो । शिक्षाको माध्यमले समाजमा छिर्नुपर्छ । त्यसैले मिलेको समाज निर्माण गर्नका लागि तीनै धर्म एक ठाउँमा भएका हौं ।
भोजपुरमा सम्भव भएन, तर रौतहटतिर भएको भए मुस्लिम धर्मावलम्बी र मदरशालाई पनि समेट्नुहुन्थ्यो कि ?
यसमा पूर्वीय दर्शन र पाश्चात्य दर्शन छ । आस्तिक र नास्तिक ग्रन्धहरु छन् । यसमध्ये हामीले नेपालको माटोमा जन्मेहुर्केका भनेका छौं । धेरै उदारता भाव देखाउँदा गन्तव्यमा पुग्न सकिँदैन । एक विद्यार्थीले कोठामा चुकुल लगाएर पढ्नु पर्छ । उसले समाजसेवा गर्ने, देवीदेउराली धाउन थाल्यो भने परीक्षामा पास हुन सक्दैन । माटोको धर्म भनिरहँदा शब्द विवादित नहोस् । यही माटोसँग जोडिएको होस् ।
कसैले पशुपति र शालिग्रामलाई अमेरिकामा बसेर ढोगे पनि त्यो ढोग र नमस्कार नेपालको माटोमा जोडिन्छ । कुनै क्रिश्चियनले ढोगेर नमस्कार गर्यो भने जेरुसेलमतिर जान्छ । मुस्लिमले ढोक्दा मक्का मदिना पुग्ला । तर, सनातनीले संसारको जुनसुकै ठाउँमा बसेर ढोग गरे पनि पशुपतिमै आएर ठोक्किन्छ ।
क्रिश्चियनहरु मूर्तिपूजाको विरोध गर्छन् तर उनीहरु आफैं शालिक (येशु ख्रिष्टको ) पूजा गर्छन् । मूर्तिलाई चलाउने एक वायु उच्च छ, त्यो उड्ने वित्तिकै त्यो मूर्ति पनि हाम्रो सबै पञ्चतत्व मिलेर जाने व्यवस्था हुँदा ‘नेपालको माटोमा जन्मेर हुर्किएको धर्म’ भनिएको हो ।
तपाईले अघि भन्नुभयो कि ‘परम्पराको संरक्षण गर्दै विषय बुझेर परम्परामा आएका विकृतिहरुलाई हटाउँदै राम्रा कुराहरुलाई अगाडि ल्याउनु नै आधुनिकताको सामान्य क्रिया हो ।’ यसको व्याख्या कसरी गर्ने ? अर्थात्, परम्परामा देखिएका विकृति के हुन् जसलाई हामीले छोड्नुपर्छ ? अनि, जर्गेना गर्नुपर्ने परम्परा चाहिँ के हुन् ? ‘छाड्नुपर्ने’ र ‘समात्नुपर्ने’ कसरी छुट्याउने ?
तपाईको प्रश्नभित्र दुई/तीनवटा सन्दर्भ छन् । ‘धर्मस्य तत्वं निहितं गुहायाम्’ भनिन्छ । धर्मको मुख्य मर्म लुकेको हुन्छ । धर्मको परिभाषा नै अब कसरी गर्ने ? सामान्यतः धर्मका दुई–तीन प्रकारका परिभाषा हुन्छन् । एउटा– धर्म भनेको स्वभाव हो । जस्तै– पानीको धर्म चिसो हुनु हो । दश घण्टा उमालेको होस्, एकछिनमा त्यो आफ्नो स्वभावमा फर्कन्छ । शीतस्पर्शवति आपः । त्यस्तै उष्णस्पर्शवत् तेजः अर्थात् आगोको धर्म तातो हुनु हो । त्यस्तै, हामी मनुष्यमा मनुष्यत धर्म हुन्छ । गाईमा गोत्व धर्म हुन्छ । यसरी सामान्य भाषामा स्वाभाव नै धर्म हो ।
कानुनका रुपमा परिभाषा हुँदा धर्म भनेको अनुशासन हो । धर्मले धेरै कुरा सिकाउँछ । उदाहरणका लागि– कुनै पनि पुरुष एकान्तस्थलमा आमा दिदीबहिनीसँग पनि नबस भनेर शास्त्रले बताउँछ । मानिसमा एउटा प्रकृतिको स्वाभाव छ । ‘प्रकृतिं यान्ति भूतानि निग्रहः किं करिष्यति’ (प्राणी प्रकृतिमा जान्छ, संयमले के गर्छ ?) भन्ने तरिकाले धर्म एउटा अनुशासन हो ।
आमालाई ढोग, दिदीबहिनीलाई ढोग । मातृवत् परदारेषु । अर्थात्, सबै स्त्रीहरुलाई आमा समानको दृष्टिकोणले हेर । यी वाक्यहरु नै अनुशासनका रुपमा विकसित हुँदै गए । धर्म विस्तार हुँदै जादाँ सत्यं वद अर्थात सत्य बोल, साँचो बोल । धर्मं चर अर्थात् धर्मअनुसार आचरण, अनुशासनको पालना गर । मातृ देवो भवः आमालाई भगवान मान । पृति देवो भवः आचार्य देवो भवः । माता, पिता, अनि मात्रै गुरु ।
स्वाध्यायात् मा प्रमदः । तिम्रो परम्परामा स्वअध्यन के हो ? त्यसमा प्रमाद अर्थात् अल्छी नगर ।
धर्मको परिभाषा बढ्दै जाँदा आफ्नो परम्पराको संरक्षण गर्दै गएर राष्ट्रिय सेवा, समाजसेवा र अन्तिममा आफूले आफूलाई चिन । तिमी को हौ ? कहाँबाट आयौ ? केका निम्ति आयौ ? र, जाने कहाँ हो ? तिमी सूक्ष्म हुँदै जाऊ कि म शरीर होइन भन्ने भावमा पुग ।
वास्तवमा तिमी शरीर मात्रै होइनौ । सुतेका बेला, सपनामा झसङ्ग भएका बेला ससुराली कसरी जान्छौ ? ससुराली गएर मिष्ठान्न खाइराखेका हुन्छौ । समुन्द्रमा मान्छे नुहाइराखेको हुन्छ । के आधारमा त्यो जीवात्मा दौडिराखेको छ ? भन्नाले, शरीरको मृत्यु पछाडि पनि पुनर्जन्ममा विश्वास गरिन्छ । यसरी धर्मको परिभाषा बढ्दै बढ्दै कति गुह्यरुपमा जाने भन्ने हुन्छ ।
धर्मलाई दर्शनमा जोड्न भन्दा अगाडि हामीले बुझ्नुपर्ने के छ भने जम्मा एक लाख वेद मन्त्रमध्ये ८० हजार मन्त्रहरु कर्मकाण्डका छन् । १६ हजार उपासनाकाण्डका छन् । चार हजार ज्ञानकाण्डका छन् ।
सम्पूर्ण कर्म नगरी ज्ञानमा पुगिँदोरहेनछ । जस्तै– सोपान अर्थात् भर्याङ चढ्दै आएजस्तो ज्ञानमा पुग्ने पनि भर्याङ छ । नित्य–नैनित्य कर्म गरेपछि तिम्रो चित्त शुद्ध हुन्छ । धर्मको उत्पत्ति भएपछि पापको नास हुन्छ अनि चित्त शुद्ध हुन्छ, संसारका बारेमा छर्लङ बुझ्छौ । अनि सत्यको मार्गमा गएपछि तिम्रो मोक्ष हुन्छ । अनि ज्ञान मार्गमा पुगियो । सांख्य दर्शन भनेको त्यतिपछिको विषय हो ।
जसरी मैलो भएको कपडालाई धोएर सुकाएपछि लाउन योग्य हुन्छ, त्यस्तै कर्म गर्दै–गर्दै, उपासना, ध्यान गर्दै–गर्दै अनि ज्ञानको मार्गमा पुगिन्छ । यो ज्ञानको मार्ग भनेको अलिकति दर्शनको विषयलाई केही न केही अलिकति परिष्कृत भएर बुझ्नुपर्छ । यसलाई कर्मकाण्डसँग जोड्नु हुँदैन । कर्म, उपासना र ज्ञानलाई तीनवटै तहमा राखेर व्याख्या गर्नुपर्छ ।
परम्पराको कुरा गर्दा समयसँगै नदीले धार परिवर्तन पनि गर्न सक्छ । कालखण्ड, समय अनुकुलता र समय–परिवेश अनुसार परिष्कृत हुने अवस्था अनुसारको व्याख्या हुन्छ । जस्तो– धर्म अनुसरणको बाटोमा प्रातकालमा अर्थात ब्रह्ममुहुर्त (बिहान साढे तीनदेखि साढे पाँच बजेसम्मको समय) मा उठ्नु भनिन्छ ।
आकाशमा तारा छँदाछँदै उठेर सन्ध्या गर, जप गर, पञ्चायन पूजा गर भनेर सिकाएको हुन्छ । त्यो गर्न सक्दैनौ, स्नान गर्न भने सफा कपडा लगाऊ । केही गर्न सक्दैनौ, अशक्त छौ भने ओछ्यानमै बसेर मसँग केही पनि छैन भनेर संकल्प गरेर पूजा गर । पूराका पूरा मनमनै अनगिन्ती फलहरु चढाऊ । भगवानलाई मनमनै द्रव्यहरु, बस्त्रहरु चढाऊ, मनमनै पूजा गर, त्यही फल प्राप्त गर्छौ भनेर कर्मले हामीलाई सिकाएको छ ।
धर्मको अवस्था र परिवेशअनुसार परिभाषा फरक हुन्छ । यसलाई गलत अर्थमा बुझ्दाखेरि केही पनि छैन, जे गरे पनि हुनेरहेछ भनेर गलत प्रयोग गरिएको अवस्था पनि छ ।
वृद्धलाई गरिने नियम, बाल, वयश्क र गृहस्थिलाई गरिने नियमहरु धर्मले छुट्टाछुट्टै बताइदिएको छ । तर, त्यसलाई हामीले यसो गरे पनि त हुने रहेछ नि भनेर दुरुपयोग गर्यौं । धर्मले देखाएको बाटोलाई गलत प्रयोग गर्दागर्दै यहाँ विकृतिहरु जन्मन थालेका हुन् ।
वास्तवमा वेद भनेको ज्ञान हो । जसरी नेपालमा संविधान छ, संविधानमा आधारित भएर राज्यको व्यवस्था चलेको छ । यसका अंग उपांगहरु कति होलान् । त्यस्तै वेद भनेको पनि कानुन हो । हामीले वेदलाई प्रमाण मान्छौं । जसले वेदलाई प्रमाण मान्छ त्यो आस्तिक दर्शन हो । बुद्धिस्टले बौद्ध दर्शन मान्छ, वेदलाई प्रमाण मान्दैन, त्यो नास्तिकमा पर्छ ।
हामीले वेदलाई आधार मान्छौं । वेदभित्र नभएको के पो होला र । हामीले त्यसलाई कति दुहुन्छौं, त्यसमा भर पर्छ । वेदभित्र सबैचिज छ । सामवेदको अध्ययन गर्नेले संगीतको उपासना गरेका होलान् । उद्योग आदि सारा चिज वेदभित्रै छ । वेदमै विकृति छ भन्ने कुरा सही होइन । जसरी नदीले धार परिवर्तन गर्छ, समयअनुसारका विभिन्न व्याख्याहरु हुन्छन् ।
जस्तै–सतीप्रथाको कुरा आउँछ । तर, सतीप्रथा त वेदमा लेखिएको छैन । मनुस्मिृतिका कतिपय कुराहरु समाजमा मिल्दैनन् । तत्कालिन परिवेश र समाजका लागि ल्याइएको त्यो समाजको चित्रण हो त्यो । एउटा कानुन पनि हो ।
कुनै पनि चिज अनुशासनमा रहेर एउटा मापदण्ड भएन भने समाज झनै विचलित हुन्छ । त्योबेलाको कानुन कस्तो रहेछ भने अलिकति अनुशासनमा रहनुपर्छ, दृढ हुनुपर्छ भनेर शासकहरु पनि आफ्नो अनुशासनमा रहने र अनुशासनमा नरहनेलाई दण्ड दिने परम्परा रहेछ ।
सतीप्रथाको कुरामा सबैले बुझेको विषय छ । यो शास्त्रमा छ भन्ने कुरा होइन । समर्पित भावले आफ्नो पतिलाई परमेश्वर मानिएको हुन्छ, त्यसमा उनीहरुप्रति समर्पित भएर जाने । पतिलाई नै परमेश्वर मानिन्थ्यो, उनी नै नभएपछि हाम्रो के अस्तित्व र सत्ता रह्यो र भन्ने परम्परा शुरु भएको होला । तर, जसरी सुरु भयो, त्यसरी नै अन्त्य पनि भयो । त्यसमा धार्मिक रुपले त्यो हुनुपर्छ भन्ने मत काँही पनि छैन ।
जातीय छुवाछुतको कुरामा एउटा कालखण्डबाट ज्ञानका आधारमा यसलाई दुई–तीन कोणबाट व्याख्या गरिन्छ । सतही व्याख्या गर्यो भने यो अलिकति विवादित पनि हुन्छ । शास्त्रीय गुह्यतम् कुरा बुझिाएन भने मान्छेलाई चित्त नबुझ्ने उत्तर पनि हुन सक्छ । त्यसैले यसलाई अलिकति फरक–फरक कोणबाट उत्तर दिने चलन छ हाम्रो चाहिँ । कुन तहबाट प्रश्न सोधियो भन्ने पनि हुन्छ ।
जात र वर्ण व्यवस्था कसरी जन्मियो भन्नेतिर नजाऔं । मानिस कुनै पनि जातमा निवेदन हालेर जन्मेको हुँदैन । प्रश्नचाहिँ यत्ति हो किसबै जातजातिमाथि समान व्यवहार गर्नुपर्ने हो कि होइन ? यो ठूलो जात, यो सानो जात भन्ने र छुवाछुत गर्ने परम्परा अहिलेको समाजमा ठीक हुँदैन भनेर पण्डितहरुले भनिदिने चलन बढ्दै गएको हो ? जस्तो– पण्डित दीनबन्धु पोखरेलले पनि यस्तो प्रगतिशील कुराहरु भन्ने गरेको सुनिन्छ । हामी बहुलतायुक्त समाजमा छौं । यहाँनेर अब पुरोहित, पण्डितहरुले कस्तो व्यवहार अपनाउनुपर्छ ?
हामी संस्कृतको अध्ययन गरेको विद्यार्थी र समाजमा धार्मिक–सांस्कृतिक क्षेत्रमै काम गरिरहेको हुनाले शास्त्रीय कुरा पनि हामीले गर्नुपर्छ । भगवानले गीतामा ‘चार्तुवण्र्यं मया सृष्टं गुणकर्मविभागशः’ (अर्थात मबाट ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र यी चार वर्णको समूह, गुण र कर्मको विभागपूर्ण रचना भएको छ ) भन्नुभएको छ । त्यो वास्तवमा वर्णाश्रम व्यवस्था हो । अहिले पनि यसलाई सहि ढंगले बुझ्ने हो भने त्यो व्यवस्था अत्यन्तै सुरक्षित छ । त्योचाहिँ विभेदकारी भन्दा पनि व्यवस्थालाई राम्रो बनाउने खालकै छ ।
जस्तै– कर्मका आधारमा विभेदचाहिँ हुँदोरहेछ । हाम्रो शरीरलाई चार भागमा विभक्त गर्ने चलन छ । हाम्रा ज्ञानेन्द्रीयहरु उपस्थिति भएको, सुध्रिएको माथिल्लो भाग (अनुहार, शीर) छ । ब्रह्म जानाति इति ब्राह्मणः जन्मना जायते शूद्रः संस्काराद् द्विज उच्यते । मानिस जन्मँदा त शुद्र नै जन्मन्छ, संस्कारद्वारा द्धिजत्व प्राप्त गर्छ, यो भनेको ज्ञानबाट दोस्रोपटक जन्मिनु हो । आमाको गर्भबाट एकपटक जन्मियो, अनि ज्ञानद्वारा अर्कोचोटि जन्मिन्छ । त्यसलाई द्धिजा अथवा ब्राह्मण भनिँदोरहेछ, जसले ब्रह्मलाई बुझेको छ । ब्रह्म भनेको ज्ञानलाई बुझेको । संसारमा मिथ्या र सत्य के हो, परा (अदृश्य) र अपरा (अदृश्य) विद्या सबै बुझेका ज्ञानीहरुलाई ब्राह्मण भनिँदोरहेछ ।
शरीरमा भएका हातले कर्म गरेका छन् । क्षेत्रीयले युद्ध गर्नुपर्यो, कामहरु सबै गर्नुपर्यो । त्यसैगरी व्यापार गर्ने भन्नाले शरीरका क्रिया– प्रक्रिया सञ्चालन गर्ने । पाउहरुको त्यस्तै कार्यहरु हुनछन् । यसरी शरीरलाई पनि ब्राह्मण, क्षत्रीय, वैश्व र शुद्रका रुपमा यसरी व्याख्या गरिएको छ ।
त्यो बेला कर्मका आधारमा विभेद गरिएको रहेछ । त्यो बेला पनि जातका आधारमा कहाँ ऋषिहरु ब्राह्मणका कुलका छन् र । जसले मन्त्रहरु देख्यो, त्यसलाई ऋषि भनिएको रहेछ । छुवाछुत, जातका आधारमा भन्ने कुरा शास्त्रमा छैन, ज्ञान र परम्पराका आधारमा छ । कोइरालाको छोरो शिक्षक भए उसलाई पनि सर गुरु नमस्कार भनिन्छ । विश्वकर्माकै छोरो शिक्षक भए पनि सर भनिन्छ । ज्ञानमा विभेद छैन । शास्त्रले ज्ञानलाई प्रधान मानेको छ । ज्ञानं प्रधानम् । ज्ञान नै प्रधान हो ।
हामी टाढा नजाऔं, स्वामी प्रपन्नाचार्यलाई नै हेरौं । हामी स्वामी प्रपन्नाचार्यका खुट्टा ढोग्थ्यौं । उहाँ किरातेश्वरमा बस्नुहुन्थ्यो । आश्रममा हामीले दर्शन पायौं । गुरुजीहरुसँग उहाँहरु घण्टौं संस्कृतमा वार्तालाप गर्नुहुन्थ्यो । शरीर त राईको थियो नि ।
त्यही भएर ज्ञान प्रधान हो । छुवाछुत छ कि छैन भन्नेमा एउटै प्रष्ट कुरो हो, छुवाछुत गर्न मिल्दैन । तर, तपाई एउटा नियम, निष्ठामा रहनुभएको छ, सात्विक भोजन गर्नुहुन्छ भने त्यसमा अर्को मदिरापान गर्ने मान्छे आएर मिसिन खोज्छ भने त्यसलाई भेदभाव नगरेको भन्ने बुझिँदैन । कर्म नै प्रधान छ ।
विश्वमा श्रमलाई सम्मान गर्ने संस्कार र परम्परा छ । जस्तो– फोहोर संकलन गर्ने स्विपरले पढेको छैन भन्दैमा उसलाई समभावले किन नहर्ने ? म पढेको छु, ज्ञानी हुँ भन्दैमा उच्च हुँ भन्ने सोचाइ सही हो त ? कामको हिसाबले त फोहोर सफा गर्ने मान्छे समाजको झनै उच्च हैन र ? मानसिक श्रम र शारीरिक श्रम समान होइन र ? शारीरिक श्रम गर्ने, अप्ठ्यारा कामहरु गर्नेमाथि हाम्रो समाजमा विभेद त भएकै हो नि, हैन र ?
व्यवस्थालाई हरेक चिजमा दृष्टि हेराइमा हुन्छ । व्यवस्थालाई विभेद भन्न मिल्दैन । जस्तै– टोपी शीरमै लगाइन्छ । जुत्ता पाउमै लगाइन्छ । कतिपय व्यवस्थामा आफ्नै अनुशासनका कुराहरु हुन्छन् । धर्ममा कुरामा मात्र होइन, कार्यालयमा हामी एउटा अनुशासनमा बस्यौं भने त्यसमा कार्यालय प्रमुखदेखि सहयोगीसम्म कार्यालय व्यवस्था चलाउनका निम्ति गरिएको हुन्छ । कार्यालय प्रमुखले सबैलाई नियमन गर्नुपर्ने हुन्छ ।
हिजो धर्ममा पनि अनेकन विकृतिहरु नछिरेका होइनन् । हाम्रा अनगिन्ती विकृतिहरु छन् तर व्यवस्था नै पछि विकृतिका रुपमा गएको देखिन्छ । समयानुकुल त्यसलाई परिष्कृत एवं परिमार्जन गर्दै जानुपर्ने अवस्थामा त्यो रुढ हुँदै विकृतिका रुपमा आइरहेको देखिन्छ । पशुपतिनाथ वा अन्य मन्दिरहरुमा भगवानले त यो नचल्ने भन्नुहुन्न ।
हिजोको समयमा कुन–कुन जातले के–के काम गर्थे, त्यो त अब रहिरहेन नि । अहिले ब्राह्मणले पनि त सुन पसल खोलेका छन् । त्यसैले अब अलिकति सुध्रिएको अवस्था देखियो । अहिले दमाई, कामी र ब्राह्मणको संस्कार मिल्छ । विगतमा ब्राह्मण र क्षेत्रीमा हाडनाताको सम्बन्धमा समाजले दण्डित गरेर झार्दिने रहेछ । ब्राह्मणले कुनै स्त्री भगाएर ल्यायो भने जैसीमा झार्दियो । दण्ड दियो क्या समाजले । त्यो तत्कालीन समाजको व्यवस्था हो ।
तर, पूर्खाले गरेको कार्यकै आधारमा उनीहरुका सन्ततिले विभेद भोग्नुपर्ने ? यो न्यायपूर्ण हो त ?
झट्टै कल्पना वा घोषणा गरेका आधारमा हुँदोरहेन छ । सामाजिक व्यवस्थाहरु लामो समयपछि परिवर्तन हुँदा रहेछन् । अहिलेको परिस्थितिमा चाहिँ शास्त्रले तिमीले फलानो बिहेसँग गर्यौ, अब तिमी जैसीमा भयौ भनेको छैन । कुनै धर्मगुरुहरुले तिमी जात झर्नुपर्छ भनेका छैनन् । तर, आफ्नो अस्तित्वको खोजी गर्ने नाममा अरुको अस्तित्वलाई नामेट पार्ने कुरा सही होइन । जस्तो– मेरा पूर्खाहरु ब्राह्मण, उपाध्याय थिए होलान्, कसैलाई, दलितलाई हेपे होलान् । त्यो दण्ड कालान्तरमा मैले खेपिराख्नु परेको छ ।
तत्कालीन परिस्थितिमा शास्त्रको नियम लगाएर व्यक्तिलाई जातीय विभेद गर्ने परम्पराको वास्तवमा अन्त्य भैसकेको छ । व्यक्तिको ज्ञान, सीप र क्षमतालाई सम्मान गर्ने परम्परा सुरु भैसकेको छ ।
उदाहरणका लागि एउटा घटना सुनाउँछु ।
ठुली एकादशीमा जरायोटार (भोजपुर) मा आयोजित समारोह उद्घाटन सत्रमा गुरुका रुपमा पुगेको थिएँ । धरानमा जन्मिएका एकजना विश्वकर्मासँग पूजा गर्दागर्दै भेट भयो । उनले गायत्री मन्त्र जानेका, मनुस्मिृति पढेका रहेछन् । पण्डितले नै नजानेका धेरै कुराको ज्ञान उनमा रहेछ । म उनीसँग निकै प्रभावित भएँ । उनले जनै पनि लगाएका थिए । देवघाटतिर पनि यस्ता धेरै छन् । घिमिरे, कोइरालाहरु छन् । त्यो तरिकाले गुरुकुल छिरेर पढिरहेका पनि छन् । म्याग्दीका जोशी नेवार छन्, जो जनै लगाएर गुरुकुलमा पढेका मेरै साथी छन् ।
गाउँले परिवेशमा बाहुनले खसी खान हुन्छ । तर, खसीमात्र खान हुन्छ । ‘पञ्च पञ्चनखा भक्ष्या’ भन्ने उपनिषदमा एउटा प्रशंग आउँछ । सकभर खाँदै नखाऊ, भएन भने पाँचवटा चिज खाऊ भनेर खसी, मृग, वनकुखुरो, परेवा के–के छुट्याइदिएको छ । तर, त्यो मासु खाउ भन्ने उद्देश्य होइन । ‘पञ्च पञ्चनखा भक्ष्या’ लाई आधार मानेर खसी खान्छन् । ग्रामीण परिवेशमा बाहुनले कुखुरा खाँदैनन् ।
गुरुकुलमा जाँदा तपाई पाइन्ट लगाएर बस्नोस्, हामीलाई एउटै बाल्टीबाट सरसर खाना बाँड्छन् । तर, धोती लगाउने पनि बाल्टी छुन पाउँदैन, पाइन्ट लगाउनेले पनि छुन पाउँदैन । जुत्ता लगाएर टेबलमा बसे पनि बाल्टी छुन पाउँदैन । त्यो एउटा व्यवस्था हो, छोइन्छ भन्ने हँदैन ।
हिजो स्वयंपाक्यहरुको छुट्टै इतिहास रहेछ । उहाँले मिठो भोजन बनाएर ल्याउनुभयो तर क्रोधित भएर भोजन बनाउनुभएको रहेछ भने मीठो भोजन पनि मलाई विष हुन्छ । एउटी आमाले बच्चालाई स्तनपान गराउँदा अत्यन्त क्रोधित भइन् भने बच्चा मर्छ । किनभने स्तनको दूध विष हुन्छ । प्रेमले भरिएर स्तनपान गाउने हो भने बिरामी भएको बच्चा पनि निको हुन्छ ।
गाउँले परिवेशमा मैले जोड्न खोजेको विषय– म पनि कुनै लक्षित वर्गबाट आलोचित हुन पुग्छु । यसले सबैसँग संगत गर्यो, सबै जातजाति एकै हो भनेर हिँड्यो भन्छन् । उसलाई उत्तिखेरै परिवर्तन गर्न सकिँदैन ।
ज्ञानका बारेमा जतिसुकै कुरा गरे पनि बुवाआमा, सामाजिक परिवेशमा ढल्किएकै हुन्छु । मेरो घरको आचरण एकखालको भइरहन्छ । एकै व्यक्तिले अनेकखालको देखावटी गर्न परिरहेको छ । यसले हिन्दु समाज संकुचित नै छ भनेर देखाउँछ ।
अहिलेको समाजमा वेदमा रहेको ज्ञान हराएकै हो । कर्मकाण्ड प्रधान भएको हो । कर्मबाट माथि जान उपासना हुनुपर्छ । साधना नगरी माथि बढ्न सकिँदैन । तर, यो कर्मकाण्डको विरोध गरेको भने होइन । ज्ञानको हिसाबले व्याख्या गर्दा कहीँ पनि विभेद छैन ।
हिन्दुमा बलि प्रथा छ, यो अशास्त्रीय होइन । बलि त वैदिक हो तर बलि गरिरहँदा त्यो जीवभित्र जुन आत्मा छ, त्यो आत्मालाई परत्मामासँग मिलाउने क्षमता भएमात्र त्यो शरीरलाई छेदन गर्नुपर्छ ।
हामी बलिको विरोध गरिरहन्छौं । वास्तवमा यो विरोध गर्ने होइन, उसको पनि प्रयोग हुनुपर्छ । जीवो जीवस्य जीवनम्, जीवो जीवस्य भोजनम् । जीवो जीवस्य घातक । अर्थात् जीव, जीवका निम्ति पनि हो । सागपात र अन्न खानु पनि हत्या हो । त्यहाँ पनि कण–कणमा परमात्मा छ ।
के हिन्दुहरु पनि सहिष्णु र असहिष्णु हुन्छन् ? भारतको उत्तर प्रदेशका हिन्दुहरु भन्दा नेपाली हिन्दुमा बढ्ता सहिष्णुता छ भनिन्छ नि ?
हिन्दु को हो र यसको परिभाषा के हो, जान्नुपर्छ । मनुस्मृतिमा एउटा वाक्य छ– एतद् देश प्रसूतस्य शकासाद् अग्रजन्मनः, स्वं–स्वं चरित्रं शिक्षरेन् पृथ्वियां सर्व मानवः ।
विशेष गरेर यो हिमालयको हिमसभ्यता संसारकै सबैभन्दा पहिलो हो । ज्ञानको परम्परा हिमालबाटै शुरु भएको हो । यो कुरो कहीँ पनि विावदित छैन । वेदमा पनि जहाँ अग्ला–अग्ला हिमाल छन्, तिनीहरुको काखबाट नदीहरु बगेका छन्, त्यो नै आदिम सभ्यता हो भनिएको छ । यो परिवेश विश्वमा कहीँ पनि मिल्दैन, हाम्रोमा मिल्छ ।
हिन्दु धर्म भनिरहँदा शरीरको व्यवस्था भन्ने बुझौं । सनातन धर्म भनेको ब्रह्माण्डको व्यवस्थालाई बुझौं । हामी हिन्दुभन्दा सनातन धर्म भन्न रुचाउँछौं । हिन्दुले त वास्तवमा खोज्दै जाने हो भने हामीलाई डुबाउँछ
हिन्दु भनेको सभ्यता हो । जो हिंसा भन्दा टाढा छ, त्यो नै हिन्दु हो । हिमालदेखि इन्द्र सरोबरसम्मको सभ्यता वास्तवमा हिन्दु हो । हिन्दु पछि आएको शब्द होइन । हिन्दु शब्द थियो । यो शब्द धर्ममा, वेदमा सबैतिर छ । तर, हिंसा नगर्ने अर्थमा हिन्दु शब्द प्रयोग थियो । अहिले पछि आएर हिमालदेखि ससरोबरसम्मको सभ्यतालाई हिन्दु भनियो । वास्तवमा हिन्दु धर्म भन्नुभन्दा उदात्त सनातन धर्म भन्न रुचाउनुपर्छ ।
हिन्दु धर्म भनिरहँदा शरीरको व्यवस्था भन्ने बुझौं । सनातन धर्म भनेको ब्रह्माण्डको व्यवस्थालाई बुझौं । सनातन बौद्ध राष्ट्र पनि भन्न सकिएला । हामी हिन्दुभन्दा सनातन धर्म भन्न रुचाउँछौं । हिन्दुले त वास्तवमा खोज्दै जाने हो भने हामीलाई डुबाउँछ । मैले हिन्दु शब्दको अपमान गरेको होइन । तर, त्यसले संकुचनतिर ल्याइदियो । हामी व्यष्टिमा गयौं, हामी समष्टिमा गएनौं । सनातन परम्परा र सभ्यताको कुरा गर्दा नेपालसँग धेरै जोडिन्छ ।
हिंसाबाट टाढा हुने बित्तिकै सबै समस्या हराउँछ । आफूद्धारा अरुलाई प्रताडना गर्नु हिंसा हो । गाली गर्नु पनि हिंसा हो । गीताले के व्याख्या गर्छ भने आफूले अरुलाई कस्तो व्यवहार गरिन्छ, त्यस्तै व्यवहारको अपेक्षा धर्म हो । अरुबाट मान खोजिन्छ भने मान गर्न सिक्न पर्यो । अरु धर्मको त संख्या बढाउने छ तर सनातन जति लचिलो धर्म अरु कुनै छैन । चार बजे उठेर पुजा गर्नुपर्छ तिम्रो परम्पराको रक्षा गर्नुछ । सक्दैनौ भने बिस्तरामै सुती–सुती गर भनेको छ । तर, हामीले यही लचकताको दुरुपयोग गरेर धर्ममा विकृति आयो ।
सनातनी धर्ममाथिको खतरा नास्तिकहरुबाट होला तर अहिले बस्त्र धारण गरेकैहरुले पनि गलत व्याख्या गरेका छन् । टिकटक लगायतका सामाजिक सञ्जालमा लोकप्रिय हुने होड छ । टडक भडक बढेको छ, यो कलि देखिन थालेको हो ?
आफ्नो कर्तव्य र क्षेत्राधिकार हुन्छन् । जस्तै–विद्यार्थीको तपस्या पढ्नु हो, गुफा जानु पर्दैन, पशुपति धाइराख्नुपर्दैन । नियमसंगतले पढ्यो भने भगवान् त्यसमै खुसी हुन्छन् । गृहस्त्रीले के गर्न हुन्छ, के गर्न हुँदैन लेखिएको छ । परस्त्रिगमनलाई अपराध मानिन्छ । वानप्रस्थले हलोले जोतेको अन्न खान हुँदैन । भनेको, जंगलतिर जाउ, समाजसँग नजोडिउ । तिमीले कमाएको वस्तुमा लोभ हुन्छ, तिमी अनाशक्त हौ भनिएको हो ।
आचारबाट च्यूत हुनेबित्तिकै चित्त नष्ट भइहाल्छ । चारवटा चिजले आफ्नो स्थान छाडेपछि त्यो अशुद्ध हुन्छ । दाँत, नङ, कपाल र शरीर । त्यस्तै, पण्डितले आफ्नो ठाउँमा बस्नुपर्यो । शिक्षकले पढाउनुपर्यो ।
कर्मचारीले कर्मनिष्ट भएर काम गर्नुपर्यो । शासकले शासन गर्नुपर्यो । अनुशासनमा रहेर सबैले कर्तव्य पूरा गर्नुपर्यो । आफ्नो व्यवहारबाट च्युत हुनु नै अनुशासन भङ्ग हो । अब पण्डितले नै पढ्न छोडे ।
कलियुगको प्रसङग उठ्यो, भागवतमा के छ भने अन्न विक्रय नगर्नु । यो साम्यवाद हो । वैदिक साम्यवादमा के थियो भने जति सञ्चितिले तिम्रो पेट भरिन्छ, त्यहाँभन्दा बढी सञ्चित गर्नेलाई दण्डित गरिने छ ।
आफूलाई चाहिने आफैं उत्पादन गर, अन्न नबेच । तर कलियुगमा अन्नको विक्रय हुनेछ । शिवको नाममा ठगेर खान शुरु भयो । कर्मकाण्ड नजान्नेले पनि गर्ने, पढाउन नजान्ने तर पढाउन जाने । ब्राह्मणहरुले वेद नजानी वेद जान्दछु भनेर खानेभए । स्त्रीहरुले वेश्यावृत्ति गरेर जिविकोपार्जन गर्नेछन् भनेको छ । हुँदै हुँदै गएर खुर्सानीको बोटमा चढ्नुपर्ने हुन्छ भनेको छ । कल्की अवतारको कुरा छ, यसको व्यवस्था लामो छ ।
अहिले पिण्ड दिने कुरामा, जस्तै–काठमाडौंमा भाडामा बसेको मान्छेलाई पानी नहालेको दूध कसले दिने ? अब त्यो जुन जातले ल्याएको होस् फूल कहाँ टिप्ने ? दुबो पशुपति गएर किन्ने हो, त्यो पनि कुन जातले ल्यायो–ल्यायो । समयअनुकुल हुँदै गयो त । तीन महिना अगाडिदेखि रामदेवको पञ्चगव्य ल्याएर राखेको हुन्छ, त्यहीँबाट चलाउने हो । त्यसकारण युग अनुसार व्याख्या हुन्छ ।
विकृति धर्ममा मात्रै होइन, राजनीतिमा पनि आएको छ । नेताहरुमा विकृति आयो । बाबुले छोरालाई ठग्छ, पत्नीले पतिलाई ठग्छिन् । सबै झूठको अवस्था छ । अझ यन्त्रले कस्तो बनाइदियो ? अहिले दरबारमार्गमा छु, सुन्धारा भन्दिए पनि कसलाई के हुन्छ ? कसैले सत्य बोल्दैन । धर्मको दोस्रो व्याख्या यहीँबाट च्यूत छ ।
एउटा व्यासको भनेको सामान्य होइन । हिजो व्यासासनमा बस्दाखेरि शास्त्र पढिसकेपछि मातापिताका अगाडि पहिलो पुराण भन्नुपर्थ्यो । गुरुले व्यासासन दिँदा सुरुमा व्यासको पूजा गरेर, कुशको टुक्रा, व्यासका लागि चाहिने कुरा राखेर पूर्णरुपले मातापितालाई भागवत वा पुराण सुनाएपछि मात्रै व्यासोपाधिद्धारा अंलकृत भइन्थ्यो ।
म आफैंले जान्दा १३ वर्षको हुँदा कात्तिक ठूलो एकादशीको भोलिपल्ट घरमा भागवत पाठ गर्थें । सानैदेखि राम्रो भागवत पाठ गर्थें । जिब्रो पट्किन्थ्यो, आजभोलि विभिन्न चिजहरु खाइयो, जिब्रो कम पड्किन्छ ।
व्यासमा बस्न पनि व्यासको गरिमा हुनुपर्छ । अनेकौं कालखण्डमा अनेकौं व्यासहरु थिए । यी १८ पुराण एकै कालखण्डमा रचिएका होइनन् । समय अनुसारका व्यासले लेखेका हुन् । त्यही भएर कुरा अलि गहिरो छ । आजभोलिको विकृति समाजले के खोज्छ भन्ने भयो । हामी सबै बिग्रिसक्यौं ।
एक अभिभावकको व्यवस्थामा सबै चलेका छन् । यो शरीर पनि देवीको अधीनमा चलेको छ । वेदमा दिइएको मातृशक्ति मिसिन पनि सक्छ । शरीरमा यस्तो बुद्धि छ, मन, बुद्धि, चित्त, अंहकार चारैकुरा बुद्धिभित्र पर्छ । यहाँ अंहकारको अर्थ अस्तित्वलाई बुझ्नुपर्छ । शरीर र आत्माको व्याख्यागर्दा यो शरीरबाट आत्मा जानेबित्तिकै शव भनिन्छ । कसैले बुवा, भिनाजु, ज्वाइँ, सर अनेकौं भनेका होलान् आत्मा उठेर नजाँदासम्म सम्मानित हुने हो । शरीरभित्र एकचिजको सत्ता छ । आत्मा शिव हो । बाहिर रहेको शरीर विष्णु हो । यो चराचर जगतका रुपमा पार्थिव शरीर रहन्छ । पृथ्वीद्वारा बनेको भएर यसलाई पार्थिव भनिएको हो । यो भित्र भएको शक्ति देवी शक्ति हो ।
प्रकृति र पुरुषको कुरा आउँछ । शरीर सम्पूर्ण शक्ति लिएर विष्णु भगवान पुरुषका रुपमा छन् । देवी शक्ति भएर प्रकृति र पुरुषको सृष्टिको कुरा छ । प्रकृति र पुरुषविनाको सृष्टि सम्भव छैन । हरेक व्यवस्था यही अनुसार छ । त्यसलाई व्यष्टि, लैंगिङक रुपमा हेर्दा यिनै पाँच तत्वको उपासना हुन्छ । त्यही भएर हामी भौतिकवादी र आध्यात्मिक दुवै हौं ।
ढुङगामा दुध चढाए भन्छन् । हामीले ढुङगाको माध्यमले ईश्वरलाई चढाएको हो । हाम्रो आस्था ढुङ्गाको माध्यमले परमत्मामा पुर्याएको छ । बिहान उठेर सूर्य नमस्कार गरी किर्तज्ञता ज्ञापन गरिन्छ । सूर्य नारायण, तपाई नआउने हो भने अन्नमा पनि रस हुँदैन । सुन्तला पनि गुलियो हुँदैन । रातदिन झरिपर्दा फल कति खल्लो हुन्छ ? सूर्य नआउँदा अन्नमा त शक्ति रहँदैन । सनातनको दर्शन यही हो । हामीले कसरी उपासनाको व्याख्या गर्छौं भने हाम्रो शरीरमा अध्यात्म गढ छ । सम्पूर्ण यही शरीरमा । सामान्य पिण्डको व्याख्या गर्दा पनि ब्राम्हाण्ड स्वरुपकै व्याख्या आउँछ ।
पशुपतिमा कोटिहोम यज्ञ चलिरहेको छ । देवीमाताहरुको प्रवचनले नारी शक्तिको कुरा आयो । अभिव्यक्तिको हिसाबले उनीहरु आचोलित पनि बन्न पुगे । यसलाई लिएर तपाईको भनाइ के हो ?
पहिलो कुरा यज्ञ अनुष्ठानलाई बुझ्नुपर्ने हुन्छ । यज्ञ नै विष्णु हो । यज्ञलाई अनुष्ठान र प्रवचन फरक कुरा हो । अनुष्ठान यति राम्रो संकल्प गरेर शौर्यकालमा मण्डन गरेर दैवज्ञ भनेको ज्योषितद्वारा शुभ क्रम हेरेर, त्यसलाई भूमिको पूजा गरेर अग्नि मन्थन गरेर कर्ताका दम्पत्तिको व्यवस्था गरेर त्यो अनुसारको आचार्यबाट यज्ञ गरेर यज्ञपुरण गर्ने हवनका आफ्नै–आफ्नै विधि र पद्दति छन् ।
अनुष्ठान र सत्संग फरक कुरा हो । अहिले पशुपतिमा चलेको कोटिहोमको कुरा गर्दा दुई नजरले हेर्नुपर्ने हुन्छ ।
एक–धार्मिक दृष्टिबाट नेपाल सरकारद्वारा गठित आधिकारिक पाञ्चाङ निर्णायक समिति छ । असार २८ गतेबाटै होमादि सुरु गरेका हुन् र यो अनुष्ठान विधि विधानअनुसार नै भइरहेको होला । कतिपय विद्धान तथा गुरुले भैरहेको छैन पनि भनिराख्नुभएको छ । त्यो हेरेर सही र गलत मैले छुट्याइनँ । त्यसमा दोषदर्शन गर्न पनि चाहन्नँ ।
सत्संग भनेको ज्ञान मञ्च हो । यसमा छ्ट्टै ज्ञानमञ्च चलेको छ, त्यसमा जानेका कुरा जसले जसलाई सुनाउन पनि पायो ।
शास्त्रले दुई प्रकारका वृद्ध हुन्छ भनेको छ । ज्ञानवृद्ध र वयोवृद्ध । एक वंश र अर्को जन्म अनुसारको वंश । जन्म अनुसारकोमा बाबुलाई छोराले मान्नुपर्छ । छोरो ज्ञानी भयो भने, ज्ञानको वंशमा बाबुले छोरालाई मान्नुपर्ने परम्परा हुन्छ । त्यसकारण यस यज्ञलाई सकरात्मक ढंगले हेरिरहेको छु ।
अनुष्ठान एकातिर र अर्कोतिर सत्सँग प्रवचन भैइरहेको छ । माताजीहरुले ज्ञान अनुसार शास्त्रको कुरा सिकाइराख्नुभएको छ । भागवत पाठ भइरहेको छ ।
यसमा बोल्नुपर्ने विषय के छ भने यज्ञ महायज्ञका जो संयोजक हुनुहुन्छ, उहाँका बारेमा विभिन्न विवाद सुन्दै आएको हो । चारवर्ष अगाडि मात्रै रिडी (रुरु क्षेत्र) मा समयशक्ति मान्दैनौं भनेको ग्रह, वृहस्पति शुक्र अस्त भएका बेला गर्न चाहनुभएको थियो । त्यतातिर नजाऔं ।
अर्को, चितवनमा एक यज्ञ विवादमा पर्यो । दुई वर्ष अगाडि परेको विवादले वीचैमा छोड्नु पर्यो । व्यक्तिगत रुपमा सरकारी ठगी मुद्दामा परेको देखिन्छ । हिजो वाल्मिकीका कथा पढ्नेहरुले यस्ता कथा रटेर बस्न पनि नहोला । तर पनि महायज्ञ संकल्पका बारेमा यी प्रश्न नभएका होइनन् ।
उहाँले जस्तो संकल्प गरे पनि सनातनमाथि प्रश्न उठाइरहेका बेला पाशुपत क्षेत्रमा महिला, मतृशक्तिहरुलाई प्रतिनिधित्व गराएर, त्यसमा पनि नेपालमै जन्मिएका चेलीहरु ल्याएर, प्रकाण्ड विद्धानहरुलाई ल्याएर प्रवचन गराउनु अत्यन्त सकारात्मक छ ।
पशुपति क्षेत्रमा यज्ञ गर्ने जुन संकल्प गर्नुभयो, त्यसको एक अंश कुनै धार्मिक अनुष्ठान, संस्कृत विद्यालयतिर लगानी हुनुपर्छ जस्तो लाग्छ । धर्म र पशुपतिको फोटो राखेर गरिएका यज्ञहरुले कुनै व्यक्तिमात्रै मोटाउनु हुँदैन
कुनै पनि कर्म गर्न गाह्रो छ । भन्न र विरोध गर्न सबैभन्दा सजिलो छ । समस्या खडा गर्न जसले पनि सक्छ । तर, समाधानसहितको समस्या ल्याउनु सचेत मानवको धर्म हो । समस्या मात्र खडा गर्ने मूर्ख हो । यज्ञ भइरहेको छ, सकारात्मक पक्षहरु बढी छन् ।
शास्त्रीय मर्यादा र त्यसको लोकेषणको पक्ष पनि छ । लुगा च्यातेर होस्, टाउकामा घडा बोकेर हिँडेर, गधामाथि चढेर, जसरी भए पनि प्रसिद्ध हुने होडबाजी चलेकै छ । यसमा धर्मगुरुहरु पनि टाढा छैनन् । नराम्रा पक्ष मभित्रै पनि छन् । कुनै न कुनै सन्दर्भले कथावाचनको सन्दर्भले शास्त्रीय मर्यादाको पालना मैले नगरेको हुँला ।
जस्तै– कथाव्यास गुरुले व्यासमा बस्नभन्दा अगाडि मुण्डन गर्नुपर्छ । प्रायश्चित गरेर बस्नुपर्छ । यो नियम कर्तालाई मात्रै लगाउने हो वा आफू पण्डितले पनि मान्नुपर्ने हो ? यसमा शास्त्रीय व्यासको मर्यादा के–के रहलान् ? त्यँहा कति पालना भएको छ, देखेकै कुरा हो ।
पशुपति क्षेत्रमा यज्ञ गर्ने जुन संकल्प गर्नुभयो, त्यसको एक अंश कुनै धार्मिक अनुष्ठान, संस्कृत विद्यालयतिर लगानी हुनुपर्छ जस्तो लाग्छ । धर्म र पशुपतिको फोटो राखेर गरिएका यज्ञहरुले कुनै व्यक्तिमात्रै मोटाउनु हुँदैन । राज्यले प्रत्यक्ष लाभ लिनुपर्छ भन्ने मेरो सुझाव छ ।
म आफैं सत्संग जगतकै मान्छे भएका कारणले यो भन्ने मेरो विश्लेषण छ । सकारात्मक पक्ष अत्यन्तै धेरै छन्, अभियन्ताहरुमा केही प्रश्न उठेका छन् । आफैं सच्चिएर, सुध्रिएर शास्त्रीय मर्यादालाई उहाँहरुले पालना गर्नुपर्छ ।
प्रतिक्रिया