९८ किसिमका औषधि उत्पादन गर्दै औषधि लिमिटेड « Khabarhub

९८ किसिमका औषधि उत्पादन गर्दै औषधि लिमिटेड


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ ।

हाल उत्पादन भइरहेका औषधिका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधि कम्पनी आफैँले उत्पादन गर्ने तयारी गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको छ ।

स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरिरहेको औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए ।

प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागिपरेको पनेरुको भनाइ छ । उनका अनुसार लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गरी दिगोरूपमा सञ्चालन सुनिश्चितताका लागि व्यावसायिक योजनासहित उद्योग मन्त्रालय र लिमिटेडबीच सम्झौतासमेत भएको छ ।

विगतमा लिमिटेडले एक सय ४६ किसिमका औषधि उत्पादन गर्दै आएको थियो । केही समय सिटामोल मात्र उत्पादन गर्दै आएको लिमिटेडले हाल नौ किसिमका औषधि उत्पादन गर्दै आएको छ ।

सरकारले निःशुल्क वितरण गर्दै आएको औषधि उत्पादनमा जोड दिँदै आएको लिमिटेडले पछिल्लो समय लगानीसँगै उत्पादनमा विविधीकरण गर्ने योजना बनाएको हो ।

प्रतिस्पर्धी बजारमा तालमेल गर्न नसक्नु र प्रविधिमैत्री बन्न नसक्दा यस्ता सरकारी स्वामित्वका कम्पनीको प्रवर्द्धन हुन सकेका छैनन् ।

प्रधानमन्त्री दाहालको निर्देशन र लिमिटेडले तयार पारेको कार्ययोजनासहित प्रतिस्पर्धामा उत्रिनका लागि सहयोग पुग्ने महाप्रबन्धक पनेरुले विश्वास व्यक्त गरे ।

गुणस्तरीय औषधि उपलब्ध गराउन लिमिटेड तयार रहेको उल्लेख गर्दै महाप्रबन्धक पनेरुले देशका सबै स्थानीय तहसँग सहकार्य गरेर औषधिको बिक्री वितरण गर्ने बताए ।

उनका अनुसार कम्पनीले विगतको तुलनामा उत्पादन र बिक्री बढाएको छ । पछिल्लो एक महिनामै एक करोड ५० लाखसम्मको औषधि बिक्री गर्न सफल भएको छ ।

लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले सरकारले जनतालाई उपलब्ध गराउने ९८ किसिमका औषधि उत्पादन गरेर बिक्री गर्ने मुख्य उद्देश्य रहेको र सोहीअनुसार योजना अगाडि बढेको जानकारी दिए ।

उनका अनुसार प्रतिस्पर्धी क्षमता विस्तार गर्न हाल औषधि लिमिटेडले ओगटेको क्षेत्रलाई स्वआर्जनमूलक परिसरमा रूपान्तरण गर्ने, व्यावसायिक रूपमा ‘मेडिकल हब’ सञ्चालन गर्ने र उद्योगलाई प्रतिस्पर्धी बनाउन उत्पादन क्षमता विस्तार गर्ने योजना बनाएको छ ।

बर्सेनि अर्बौँको औषधिजन्य पदार्थको आयातलाई निरूत्साहित तुल्याउन पनि औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिएको महाप्रबन्धक पनेरुले बताए ।

उनले सरकारले तत्कालका लागि लगानी गरेको अवस्थामा उत्पादन गरेर सरकारको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ८० करोड बराबरको औषधिजन्य पदार्थ आयात भएको छ ।

गत आर्थिक वर्षमा २०७९–८० मा ४४ अर्ब ६४ करोड बराबरको औषधिजन्य पदार्थ नेपाल भित्रिएको थियो । सबैभन्दा बढी औषधिजन्य पदार्थ भारतबाट आउने गरेको छ । गतवर्ष नेपालबाट एक अर्ब ६० करोडका औषधिजन्य वस्तु निर्यात भएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १२ : ३९ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ