दिक्तेलको खाल्लेमा बस पुगेपछि… « Khabarhub

दिक्तेलको खाल्लेमा बस पुगेपछि…


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे ।

सो अवसरमा उनीसँगै ८६ वर्षीय गङ्गाबहादुर कटवाल, ८० वर्षीय तेजबहादुर राईलगायतका खाल्लेका स्थानीय बासिन्दा केहीबेर धक खोलेर नाचगान गर्दै रमाएका थिए ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागत समेत गरेका थिए ।

आफ्नो घर नजिकैबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्नेगरी निर्माण गरिएको सडकमा पहिलोपटक गुडेको बस चढेर आहाले पुगेका उनीहरू सोही बसमा चढेर दिखुवाफेदीसम्म पुगेर पुनः आआफ्नो घर फर्किएका थिए ।

दिक्तेलबाट खाल्लेस्थित खानीडाँडा हुँदै पुरानोगाउँबाट रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्ग जोडिने सडकमा सोमबार परीक्षणका लागि खोटाङ यातायात प्रालिको दुईवटा बस सञ्चालन गरेको थियो ।

खाल्लेस्थित आहालेबाट दिखुवाफेदीसम्मको सडक स्तरोन्नति गरेपछि पुरानोगाउँ हुँदै रेग्मीटारसम्म नियमित बस सञ्चालन गर्ने तयारीस्वरुप परीक्षण गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

तत्कालीन जिल्ला विकास समितिले ट्रयाक खोलेको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नतिका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ लाख बजेट उपलब्ध गराएको थियो । उपभोक्ता समितिमार्फत स्तरोन्नतिको काम गरिएको उक्त सडकमा उपभोक्ता समितिले ६ लाख ७९ हजार सात सय २१ को श्रमदान गरेका छन् ।

सगरथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत रेग्मीटारबाट घर्तीभिरसम्म सिधा ट्रयाक खोलिएको सडकलाई यसै वर्षभित्र घर्तीभिर वारपार गराउने योजना बनाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए ।

दिखुवाखोला पारीबाट थ्रिस्टार हाइड्रोपावर कम्पनीले निःशुल्करूपमा राजापानीको पुरानोगाउँसम्म सडक निर्माण गरिदिएको छ । उक्त सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानी मूल्यमा प्रतिकेजी दुईदेखि पाँचसम्म घट्ने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका वरिष्ठ उपाध्यक्ष मनोज बजिमयले जानकारी दिए ।

दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट ८० लाख बजेट आएको नगरउपप्रमुख विशन राईले जानकारी दिए ।

कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटर गरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । सञ्चालनमा ल्याइएको दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा १७ दशमलव ५० किलोमिटर छोटो छ ।

दिक्तेल–खानीडाँडा सडक पनि पुनः कालोपत्रको काम थालिएको छ । २१ करोड एक लाख ८८ हजार लगानीमा कालोपत्रको काम थालिएको सो सडक ठेकेदारको लापरवाहीले करिब एक वर्ष ६ महिना अलपत्र अवस्थामा थियो ।

ठेकेदार कम्पनीले विसं २०७६ चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी निर्माणको जिम्मा लिएको उक्त सडक सम्झौता अवधि गुज्रिएपछि थप भएको समय पनि विसं २०७८ वैशाख २९ गते सकिएको छ ।

अलपत्र अवस्थामा रहेको दिक्तेल–खानीडाँडा सडक कालोपत्रको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ७६ प्रतिशतमात्र सम्पन्न भएको हो ।

दिक्तेल–खानीडाँडा सडक सुरुका दिनमा कालोपत्रको कामलाई तीव्रता दिइए पनि क्रमशः सुस्त गतिमा झरेपछि निर्माण कम्पनीको आलोचना हुँदै आएको छ ।

लामो समयसम्म अलपत्र छाडिएको सडक तत्काल सम्पन्न गर्न ठेकेदार कम्पनीलाई लिखितरूपमै निर्देशन दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : ५१ बजे

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका