स्टालिन रुँदा हाँसेको संसार ! | Khabarhub Khabarhub

स्टालिन रुँदा हाँसेको संसार !

घमण्डले निख्रिन्छ नेताको क्रेज



डा. सर्वपल्ली राधाकृष्णनले भारतीय राजदूतका हैसियतमा पूर्व सोभियत संघमा रहँदा त्यहाँका राष्ट्रपति जोसेफ स्टालिनलाई भनेका थिए- ‘हाम्रो देशमा एक जना सम्राट जीवनभर भयंकर खुंखार लडाइँ लडेर वृद्धावस्थामा पुगेपछि सारा राजपाट त्यागी भिक्षु बनेका थिए। राष्ट्रपति महोदय ! तपाईं पनि रक्तपथको लामो यात्राबाट प्रभुताको यो महान सिंहासनमा आइपुग्नुभएको छ। भोलिका दिनमा यहाँ पनि हाम्रै देशको उक्त सम्राटजस्तो बन्न सक्नुहुन्न भनेर अहिल्यै कसले ग्यारेन्टी गर्न सक्छ ?’ डा. राधाकृष्णनको संवाद सुनेर स्टालिन जीवनमा पहिलोपल्ट दिल खोलेर हाँसेका थिए। उनले उत्साहित हुँदै भने- ‘हो, कहिलेकाहीँ चमत्कार हुनसक्छ। म पनि ५ वर्षसम्म धर्मशास्त्रका स्कुलमा बसेको छु।’

स्टालिनसँग बिदाइको गला मिलाएर उनको पिठ्यूँ सुम्सुम्याउँदा स्टालिनको आँखामा आँसुको सागर उर्लिएको थियो। उनको अनुहार मलिन थियो र कण्ठ पनि अवरुद्ध। उनले भावुक भएर भनेका थिए– ‘तपाईं पहिलो व्यक्ति हो, जसले मलाई मनुष्य सम्झिएर मप्रति मानवीय व्यवहार गर्नुभयो। मलाई कहिल्यै पनि दानव ठान्नु भएन। तपाईं हामी सबैलाई छोडेर जाँदै हुनुहुन्छ। म चाहान्छु कि तपाईं दीर्घजीवी रहनुहोस्। अब म धेरै दिन बाँच्दिन।’ स्टालिन रोएको यस घटनालाई सारा विश्वले ‘स्पातको मानिस रोएको’ भन्दै टिप्पणी गरेको थियो।

कुनैबेला स्टालिनकै झल्को दिने नेपाली राजनीतिका तिलस्मी र रहस्यमयी पात्र पुष्पकमल दाहाल हेर्दाहेर्दै सिल्भर ताप्केजस्तो रन्की नसकी थन्किने नेतामा परिणत भएका छन्।

कुनैबेला स्टालिनकै झल्को दिने नेपाली राजनीतिका तिलस्मी र रहस्यमयी पात्र पुष्पकमल दाहाल हेर्दाहेर्दै सिल्भर ताप्केजस्तो रन्की नसकी थन्किने नेतामा परिणत भएका छन्। खुला राजनीतिमा आउँदा भगवान श्रीकृष्ण झैं गणतन्त्रको सुदर्शन चक्र लिएर आएका प्रचण्डको अवस्था प्रकारान्तरमा विवश भीष्मकै श्रृंखलामा टुंगिने छाँटकाँट छ। महाभारतका लाचार पात्र भीष्म जीवनको उतरार्द्धमा न पाण्डवको जितमा हाँस्न सके, न कौरवको हार प्रतिरक्षामा उत्रिने साहस नै जुटाए।

माओवादी नामको बल्छीमा सत्तारुपी माछा नपर्ने निधो लागेपछि त्यहाँभित्रका छटपटी असरल्ल भएर पोखिन थालेका छन्। प्रचण्डले काखमा राखेर राजनीतिक दीक्षा दिएकाले उनीमाथि औंलो ठड्याउन थालेपछि प्रचण्डमा छटपटी बढेको हो। आदेशबाट चल्ने पार्टीमा तर्क, कुतर्कको साम्राज्य बढ्न भनेका त्यहाँ अनिष्ट दीर्घकालीन पाहुना बनेर आउनु हो।

राजनीतिमा पेन्टियम वानबाट टुसम्म पनि जान जाँगर नलगाउनेका लागि अबको राजनीतिक कोर्स तेल सकिएको जहाजमा यात्रुले भोग्ने सकसपूर्ण अवस्था जस्तै हुने पक्का छ। त्यसो त क्रान्तिका लागि मात्र हैन, देशको अखण्डता जोगाउन पनि संसारमा लाखौं मानिस मारिएका छन्। अब्राहम लिंकनका पालामा हजारौं अमेरिकी मारिए तर उनीहरुले दक्षिण अमेरिकी राज्य चोइटिन दिएनन्। यही राष्ट्रप्रेमले लिंकनलाई पूज्य बनायो। एउटा मात्र राम्रो कुरा देखिँदा छनौटमा कठिन हुन्छ। उत्तिक्कै राम्रा सिद्धान्त र भावनाको टक्कर हुन्छ। सिद्धान्तको आधारमा सत्य नभई, सत्यको आधारमा सिद्धान्त हेरिनुपर्छ। बंगलादेश, पाकिस्तान, भुटान देखाएर राजनीतिक परिवर्तनको वकालत गर्नु भनेको आफ्नो कमजोरी लुकाउनु हो। अरुले भनेको बाटोमा अहिलेसम्म श्रीलंका हिँडेको भए के हुन्थ्यो ?

सिद्धान्तको आधारमा सत्य नभई, सत्यको आधारमा सिद्धान्त हेरिनुपर्छ। बंगलादेश, पाकिस्तान, भुटान देखाएर राजनीतिक परिवर्तनको वकालत गर्नु भनेको आफ्नो कमजोरी लुकाउनु हो। अरुले भनेको बाटोमा अहिलेसम्म श्रीलंका हिँडेको भए के हुन्थ्यो ?

आजभन्दा सात दशकअघि राष्ट्रसंघमा भाषण गरेर काश्मिरीको आत्मनिर्णयको अधिकार स्वीकार्ने जवाहरलाल नेहरुको संकल्प हावामा हानेको गोलीभन्दा माथि उठ्न सकेन। काश्मिरमा स्वतन्त्रता चाहनेहरु अहिले पनि शिकार भइरहेका छन्। हाम्रो धरामा लालध्वज, मुक्तिमानवको धङधङे बिर्सन नसकेका बाबुराम भट्टराई, रत्नाकर डाँकु वाल्मीकि र सम्राट अशोक भिक्षुमा परिणत भएको कथा हालेर विगतसँग पछुतो गरिरहेका छन्।

राज्यको ढुकुटी बोकेर उडेको जहाज विदेशी भूमिमा अवतरण गराई नेपाली राजनीतिमा दुस्साहसको नौलो झण्डा गाड्ने गिरिजाप्रसाद कोइराला र सशस्त्र आन्दोलन रोज्ने प्रचण्डको रसायन राजनीतिमा एक एक जोड्दा दुई नभएर एघार हुन्छ भन्ने दृष्टान्त बन्यो। यी सबै संयोगको एउटै निष्कर्ष हो– बलवान मानिस नभएर समय हुन्छ।

हलहली बढेको बर्खे झारले पिपलको विरुवा छेकिदिँदा पिपल हराएको भ्रम पर्ने गरे पनि झार सुकेपछि पिपल जस्ताको तस्तै रहेजस्तै सत्यमा लागेको भ्रमको बादल फाट्दै गएपछि राजनीतिक भ्रम पनि चिरिंदै गएका छन्। कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेको अभियोगमा मारिए। कृष्णलाल मारिए पनि उनको लेखनी सत्यबाट डगमगाएको छैन्। मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ-‘सरकारले आफ्ना देशका कुकुर भन्दा विदेशी कुकुरको बढ्ता मान गर्छ तर चोर डाकाबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुर काम लाग्दैनन्। स्वदेशी कुकुर नै काम लाग्छन्।’

निर्धन ब्राम्हण चाणक्य विद्वान विशाल भारतीय साम्राज्यका प्रधानमन्त्री बने। चाणक्य नीति, कौटिल्यको अर्थशास्त्र आज अकाट्य नीति विज्ञान बनेका छन्। प्रधानमन्त्री भएर पनि कुटीमा बस्थे। उनले कुटीबाटै सत्ता सम्हाले। चाणक्यको स्वाभिमानी जीवनबाट प्रभावित भएर चिनियाँ यात्री फर्हानले उनको स्वभावलाई यसरी लेखेका छन्- ‘जहाँका प्रधानमन्त्री साधारण कुटीमा आफ्नो जीवनको इहलीला समाप्त गर्छन्, त्यहाँका जनता भव्य महलमा ऐयासीसाथ आफ्नो जीवन भोग गर्छन्। जहाँका प्रधानमन्त्री राजदरबारमा नानाथरि सुखभोगका सामग्रीसाथ जीवन गुजारा गर्नमा तल्लिन हुन्छन्, त्यहाँका जनता साधारण झुपडीमा दुखसाथ आफ्नो जीवन गुजारा गरिरहेका हुन्छन्।’ निर्देशन पालन गर्नेलाई यस्ता नीति आत्मसात् गर्न के ले छेकेको छ ?

संसारको कुनै मानिस शतप्रतिशत ठीक र शतप्रतिशत गलत हुँदैन। यदि शंकालु नजरले हेरियो भने आफ्नै बाउ पनि ढेडूजस्तै देखिन्छ। तथ्य वस्तुनिष्ठ हुन्छ तर सत्य जहाँ गए पनि एउटै हुन्छ।

संसारको कुनै मानिस शतप्रतिशत ठीक र शतप्रतिशत गलत हुँदैन। यदि शंकालु नजरले हेरियो भने आफ्नै बाउ पनि ढेडूजस्तै देखिन्छ। तथ्य वस्तुनिष्ठ हुन्छ तर सत्य जहाँ गए पनि एउटै हुन्छ। सूर्य निश्चित समयमा उदाउँछ, अस्ताउँछ भनेर मान्नु एउटा मान्यता हो। साँचो अर्थमा सूर्य न कहिल्यै उदाउँछ, न अस्ताउँछ। एकातिर रहेका बेला अर्कातिर केही घण्टा अनुपस्थित हुने मात्र हो। घोडा जतिसुकै पाइनदार भएपनि जोत्न त सिङ नभएको पुँडे गोरु नै काम लाग्छ।
राजनीतिक नेतृत्व अलोकप्रियताको उत्कर्षमा पुग्यो भने के हुन्छ भन्ने सन्दर्भ एउटा प्रसंग। बेलायती रानी एलिजाबेथ प्रथम उनको समयमा एकदमै बद्नाम थिइन। उनीप्रति जनताको तीव्र असन्तुष्टि थियो। नाम सम्झदा पनि मानिस लाजले शिर लुकाउँथे। कति त आक्रोश थाम्न नसकेर रानी चढ्ने गाडीमा ढुंगामुढाको प्रयास गर्र्थे। रानीप्रति बढ्दो वितृष्णा त्यहाँका विद्वानहरुलाई सह्य भएन्। उनीहरुले एउटा उपाय सुझाए– ‘अब जनताको रिस झन् उत्कर्षमा पु-याएर, फेरि मत्थर पार्नुपर्छ।’ यसका लागि मिडिया उपयोग गर्ने निधो भयो। यो योजना राजतन्त्र मिल्काउने हैन, जोगाउने कडी अनुसार रचिएको थियो।

योजनाअनुसार रानीविरुद्ध पत्रपत्रिकामा श्रृंखलाबद्ध प्रायोजित आक्रमण हुन थाल्यो। तिनै विद्वानहरुले आफ्नै कलमबाट रानी विरुद्ध कटाक्ष गर्न थाले। कसैले यस्ती रानी स्वीकार्नु बेलायती जनताको दुर्भाग्य भनेर टिप्पणी गरे। कोही लेख्थे- ‘पृथ्वीलाई भार यस्ता रानी जन्मनु भन्दा नजन्मिएकै भए मुलुकलाई भलो हुन्थ्यो।’

रानीविरुद्धको अभियानमा मिडियाले साथ दिएको भनेर जनता मख्ख पर्दै गए। रानी विरुद्धका लेख छापिने रफ्तार चलिरहेकै थियो। लेखाइकै उत्कर्षमा एक विद्वानले एलिजावेथलाई ‘वेश्या’सँग तुलना गरेर टिप्पणी छापे। यसखाले विचार सार्वजनिक भएपछि खोलो उल्टो बग्न थाल्यो।

रानीलाई वेश्याको कोटिमा राखेको नागरिकलाई पटक्कै चित्त बुझेन। यो प्रकरणपछि रानीको छाया पनि नरुचाउनेहरु भन्न थाले– ‘जतिसुकै नालायक भएपनि रानीलाई वेश्या भन्नु चाहिँ घोर अन्याय हो।’ त्यसपछि रानी विरुद्ध खनिनेहरु लेखकमाथि कारवाहीको आवाज उराल्न थाले। लेख्नेक्रम अझै रोकिएन। लेखक रानीप्रति थप तीतो ओकल्दै थिए। अन्ततः एक, दुई गर्दै अधिकांश बेलायती रानीको पक्षमा सडकमै उत्रिए। रानीमाथि भएको अत्याचारको डटेर मुकाविला गर्ने अठोट गरे। रानीलाई राष्ट्रियताको प्रतीक बनाएर प्रचार गरे। अर्कातिर आफ्नो योजना सफल भएकोमा विद्वान मख्ख थिए।

एलिजावेथ प्रथमदेखि द्वितीय हुँदै चार्ल्ससम्म आउँदा बेलायतको टेम्स नदीमा धेरै पानी बगिसक्यो। तर पनि लोकतन्त्रको मूल्य र मान्यतामा अलिकति पनि आँच आएको छैन्।

एलिजावेथ प्रथमदेखि द्वितीय हुँदै चार्ल्ससम्म आउँदा बेलायतको टेम्स नदीमा धेरै पानी बगिसक्यो। तर पनि लोकतन्त्रको मूल्य र मान्यतामा अलिकति पनि आँच आएको छैन्। बरु भारतीय मुलका ऋषि सुनकले सरकार प्रमुखको हैसियतमा त्यो देशको नेतृत्व लिएर विदावारी भइसकेका छन्। यो अवधिमा गाईलाई ‘लक्ष्मीमाता’ दर्जा दिएर पुज्नेदेखि ‘बिफ’ प्रवर्द्धनका दुवै कार्यभार उनले सफलतापूर्वक सम्पादन गरे। आफूले टेकेको जमिनमा गौरव गर्न सक्यो भने त्यसबाट प्राप्त हुने ऊर्जाबाट विश्व विजय असम्भव छैन्। बाराक ओबामा राष्ट्रपति हुँदा अमेरिकी भन्दा केन्याली जनताले खुसी मनाए। सौतेनी बाउसँग बाल्यकाल बिताउँदाको क्षण उनले पीडा हैन, शिक्षाको रुपमा ग्रहण गरे। बाल्यकालमा चिया बेचेकोमा मोदी गौरव गर्छन्। नेपालका खुर्सानी माइला, कागती बाहरु त्यो इतिहासमा रफ्फू भर्न बाँकी जीवन नै झुटको पुलिन्दामा अनुवाद गर्छन्। हुलाकी, पियन, किसानको छोरो भएको परिचय नजोडियोस् भन्ने उनीहरुको भित्री चाहना हुन्छ। विश्वकै शक्तिशाली अमेरिकी राष्ट्रपतिको कुर्सीमा भारतीय पूर्खाकै प्रसाद कमला ह्यारिस सम्भावना निकट हुँदैछ।

विश्वले राजनीतिले मानवताको आयतन फराकिलो पार्दै लाँदा हामी भने मन परेकालाई टुँडिखेल दान दिँदा पनि क्षम्य हुने र मन नपरेकालाई रक्तदान गर्दा पनि कानुनको त्रास देखाएर मच्चिने बेसोमती अभ्यासमा रमाइरहेका छौं। त्यही बेलायत हो, जहाँ चिहानमा गाडिएको राजाको कंकाललाई निकालेर मुकुट पहि-याइएको र अस्थिपञ्जर खोस्रिएर सुलीमा चढाइएको इतिहास पनि छ। आखिर प्रजातन्त्रको जननीलाई सक्कल बम्मोजिम नक्कलमा उतार्ने बानी परेका हामीलाई यो दृश्य पनि कति नै नौलो लागिहाल्ला र ?

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १० : ०१ बजे

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन

अनुशासनमा नरहेपछि भीम रावललाई कारबाही : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा

रसुवा – चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा

‘सभापति जहाँ भए पनि रास्वपा बलियो बनाउँछौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका १२ भाइ समानुपातिक सांसदमध्ये मनिष झा

तिलावे पुल मर्मत सम्भारको माग

वीरगञ्ज– पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको