राजनीति

सांसद नेपालीको चेतावनी- दलितका कुरा नसुने जातीय र धार्मिक युद्ध हुन्छ

By खबरहब

August 13, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले माइतीघर मण्डलामा खगेन्द्र सुनवारले दलितको अधिकारबारे गरेको प्रदर्शनबारे प्रतिनिधि सभामा प्रश्न उठाएकी छन् । 

मंगलबारको बैठकमा उनले माइतीघर मण्डलामा खगेन्द्र सुनुवारले जीउमा साङ्लोले बाँधेर कालो प्ले कार्डसहित दलितलाई अधिकार खोजेर प्रश्न गरिरहेकाले सरकारले जवाफ दिन आनाकानी गरेको बताइन् । 

उनले यस्ता प्रश्नलाई सरकारले बेवास्ता गरे भोलि आदिवासी जनजाति मधेसी, मुस्लिम, चेपाङ लगायतले आफ्नो मुद्दाका लागि सडकमा उत्रिन सक्ने चेतावनीसमेत दिइन्।  

मन्त्रिपरिषद्‌ र राजनीतिक नियुक्तिमा उपेक्षा गरिएको भन्दै दलित समुदायका प्रतिनिधिहरूले माइतीघरमा शनिबारबाट प्रदर्शन गरिरहेका छन् । सरकारले दलित समुदायलाई महत्त्व नदिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद्‌मा एक जना पनि विभागीय दलित मन्त्री छैनन् ।  यसको विरोध भएपछि कांग्रेसले १८ साउनमा समानुपातिक सांसद रूपा विकलाई राज्यमन्त्री बनाएको छ ।

दलितलाई पूर्ण विभागीय मन्त्री नदिएको भन्दै प्रतिनिधि सभामा पनि रास्वपा र राप्रपा लगायतका प्रतिपक्षी दलले कुरा उठाइरहेका छन् । 

सुरुमा मन्त्रिपरिषद् विस्तार गर्दा सरकारले एमालेबाट छविलाल विश्वकर्मा र कांग्रेसबाट जीवन परियारलाई मन्त्री बनाउने भनेको थियो । तर, अन्तिममा कोही परेका थिएनन्‌ ।