शक्ति-पूजा : मालामा चाकरी « Khabarhub

शक्ति-पूजा : मालामा चाकरी



साथीले एउटा परिघटना सुनाए। केही समय अगाडि पूर्व घुम्न जाँदा एक स्थानीय निकायका मेयरलाई फोन गरेछन्। घुम्न गएको बेला केही काम लिन सकिन्छ कि भनेर उनले मेयरलाई फोन गरेका रहेछन्। तर १०/१२ पटक फोन गर्दा पनि उनले फोन उठाएनन्। फोन नउठेपछि सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा पटकपटक सन्देश पठाए पनि कुनै प्रतिक्रिया आएन।

मेयरले पनि कुनै प्रतिक्रिया नदिएपछि काठमाडौं फर्किने तयारी गरे। टिकट लिने तयारी गर्दै गर्दा मेयरको फोन आयो। उनले निकै विनम्रतापूर्वक फोन नउठाएकोमा क्षमायाचना गरे। मेयर आफै होटलमा भेट्न आउने बताए।

भेटमा मेयरले फेसबुकमा पार्टी सभापतिसँगको फोटो देखेर कलब्याक गरेको बताए। पार्टीका शीर्ष नेतासँग लिएको फोटोको पावरको कथा उनले सुनाए।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार पाँच दलबाट विश्वासको मत पाएका छन्। एक हप्ता अगाडि नेपाली कांग्रेससँगको गठबन्धन तोडेर उनले नेकपा (एमाले)सँग सहकार्य गरेसँगै नयाँ गठबन्धनको सरकार बनेको छ।

सिंहदरबारमा यतिबेला चाडपर्व आएको जस्तो देखिएको छ। मन्त्रालयमा नेता, कार्यकर्ता तथा स्वार्थ समूहको ताती लागेको छ। नयाँ मन्त्रीहरु फूलमाला, खादा र सेल्फी खिच्न व्यस्त छन्। व्यस्तता पनि यत्ति छ कि सेल्फी लिएरै दिन बिताएका छन्। त्यो सेल्फीको काम फेसबुकमा पोस्ट गर्नुबाहेक केही छैन।

मन्त्रीसँगको फोटो सामाजिक सञ्जालमा राखेर ‘देखिस् मेरो शक्ति’ भन्ने होड चलेको छ। नेपालमा मन्त्रीसँगको फोटोको महत्त्व के हो ? कार्यकर्ताले शक्तिको राम्रै सदुपयोग गरिरहेका छन् !

मालामा चाकरी

समाचार पनि पढ्न पाइन्छ। फलानो नेतालाई सय किलोको माला। तिलानो नेतालाई १२० किलोको माला। पार्टी उपाध्यक्षलाई दुई सय किलोको माला। माला सम्मानका साथ घाँटीमा लगाइन्छ। तर माला भित्र १५/२० जना एकैपटक देखिन्छन्। नेताले माला बोक्नेको संख्या नै दर्जन बढी हुन्छ। त्यत्तिबेला नेताले माला लगाए कि मालाले नेता लगाएको हो छुट्याउन मुस्किल पर्छ।

फागुन २० गते नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा दुई सय किलोको मालाले स्वागत गरे। धनुषाको महेन्द्रनगरमा भएको राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन पुगेका पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताले दुई सय किलोको माला लगाएर स्वागत गरेका थिए।

अध्यक्ष केपी शर्मा ओली समापन समारोहमा आउने कार्यक्रम थियो। तर ओली नआएपछि कार्यक्रममा सहभागी हुन पौडेल गएका थिए। उनैले त्यो माला लगाउने मौका पाए।

केही समय अगाडि विरगंजमा कांग्रेस नेता शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालालाई स्थानीय कांग्रेसका नेताले १२१ किलोको मालाले स्वागत गरे।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मरणमा स्थापित ‘जिपी कोइराला फाउन्डेशन’को शाखा उद्घाटनका लागि आयोजित समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिका रुपमा पुगेका कोइरालात्रयलाई १२१ किलो मालाको भारी बोकाइएको थियो।

सय–सय किलोको मालाको आलोचना हुँदा कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि यो सान्दर्भिक नभएको बताएका थिए। तर कार्यक्रममा बोलाएर कार्यकर्ताले माया गरेर लगाइदिएको माला कसरी बहिष्कार गर्नु ? भनेर उनले माला नेताको चाहना नभएर कार्यकर्ताको माया भएको बताए।

आलोचनाबाट बच्न महामन्त्रीले माला आवश्यक नभए पनि नेतामा कुन नेताले सबैभन्दा ठुलो माला लगायो भन्ने ध्याउन्न देखिन्छ। कार्यक्रममा पुग्नुभन्दा अगाडि त्यहाँको सुरक्षाको बारेमा जानकारी लिने नेताले सय किलोको मालाको बारेमा जानकारी लिन सक्दैन ? अनावश्यक मालाको जोहो नगर्नु भनेर पहिले भन्न सकिदैन ?

बुढादेखि युवा नेतासम्म माला मोहबाट ग्रसित भएको गगन थापाको भनाइले प्रष्ट पार्छ। सबैभन्दा ठुलो माला लगाउन पाउनुलाई उनीहरुले आफ्नो लोकप्रियता र शक्ति प्रदर्शन मानिरहेका छन्।

सय किलोका माला शक्तिको प्रदर्शन 
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा समाजशास्त्री प्रेम चलाउने सय किलोको माला शक्तिको प्रदर्शन भएको बताउछन्। उनी भन्छन्, ‘माला र खाँदा भनेको चाकरी गर्ने र शक्तिको पूजा गर्ने संस्कृति हो।’ यो शैली विगत ३० वर्षदेखि चल्दै आएको उनको भनाइ छ। ‘विगत ३० वर्षदेखि एकै अनुहार सरकारमा देखिएका छन्। तिनको चाकरी गर्न कार्यकर्ता र व्यापारीले माला लगाइदिन्छन्।’

अस्थिरतालाई राजनीतिक संस्कृतिकै रुपमा विकास गरेको उनको आरोप छ। ‘उथलपुथल केही छैन, सरकार मात्रै पुर्नगठन भएको हो’, चलाउनेले भने, ‘हेर्दा राजनीतिक अस्थिरता देखिए पनि ऐतिहासिक रुपमा तिनै अनुहार सरकारमा देख्न पाइन्छ।’

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा समाजशास्त्री प्रेम चलाउने

अन्य स्वार्थ समूहले भन्दा राजनीतिक पार्टीका भातृ संगठनका नेता तथा कार्यकर्ताले बढी चाकरी गरेको उनको बुझाइ छ। ‘यो समूहले समाजमा ठुला मान्छेको चाकरी गर्नुपर्ने सन्देश दिएका छन्।’

‘सिहंदरबार गएर हेर्नुहोस् त्यहाँ भातृसंगठनका नेता नै धेरै भेटिन्छन्। चारित्रिक हिसाबले भ्रष्ट, गुलामी गर्ने र शक्तिको चाकरी गर्नेमा यिनीहरु बढी छन्’, चलाउनेले भने।

भोलि आफ्नो स्वार्थको लागि प्रयोग गर्नेमा उनीहरु केन्द्रित भएको उनको बुझाइ छ। उनी भन्छन्, ‘नियुक्ति, सरुवा बढुवा, आर्थिक लाभका पदमा आफ्ना मान्छेको भर्ना गर्नको लागि मात्रै गुलामी गरिरहेका छन्।’

स्वार्थको विकृति

भागबण्डामा आफ्ना मान्छे पार्ने र राज्यस्रोतको दोहन गर्न बाटो बनाउने लगायतका स्वार्थको लागि यो विकृत संस्कृति मौलाएको उनले बताए। कोही मान्छेले दुई सय किलोको माला किन लगाइदिन्छ ? यो चाकरीलाई उनीहरुले नै प्रवद्र्धन गरिरहेको आरोप चलाउनेको छ।

‘नेताहरु आफै पनि यो चाकरी भैराखोस् भन्ने चाहन्छन्’, खबरहबसँग कुरा गर्दै उनले भने ‘कार्यकर्ताले गुलामी गरेको मन पराइरहेका छन्।’

नागरिक समाज, मिडिया सार्वजनिक वृत्त लगायतले जसरी यसको बहिष्कार गर्नुपर्ने र नङग्याउनुपर्ने हो त्यो हुन नसकेको उनी बताउँछन्। भन्छन्, ‘यो विषयमा नबोल्नु, निन्दा नगर्नु भनेको त्यो चाकरीलाई प्रश्रय दिनु हो।’ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माला र खादा वहिष्कार गर्दै आएका छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गरेर जनतालाई आश्वास्त पार्न सकेको दिन मात्रै लगाउछु भनेका छन्। तर धेरै नेताहरुले यस्ता अनावश्यक माला र खादाको बहिष्कार गर्न सकिरहेका छैनन्।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ११ : ०१ बजे

एभरेस्ट टुरिजम अवार्ड २०२६ काठमाडौंमा सम्पन्न

काठमाडौं – एभरेस्ट टुरिजम अवार्ड २०२६ पूर्व राष्ट्रपति रामवरण यादवको

स्वास्थ्य समता शुल्क कर उठाउने निर्णयप्रति चिकित्सक संघको आपत्ति, तत्काल खारेज गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघले आगामी आर्थिक वर्ष २०८३ ८४ को

एक घण्टा ढिला गरी बसेको राष्ट्रियसभा बैठक २० मिनेटको लागि स्थगित 

काठमाडौं– राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक वर्षका

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ

बुनिया– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर– स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका