'अर्ग्यानिक'का नाममा शून्यवादको आयात | Khabarhub Khabarhub

पुस्तक समीक्षा

‘अर्ग्यानिक’का नाममा शून्यवादको आयात

मोहन तिम्सिनाको 'जैविक दर्शन' पुस्तकमाथि एक विवेचना


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 28 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

गत वर्ष कात्तिकमा मोरङ, केराबारी गाउँपालिकाका केही साथीहरुले स्वतन्त्र नागरिक समूह गठन गरेको जानकारी पाइयो । एमाले, माओवादी र कांग्रेस पार्टी परित्याग गरेर स्वतन्त्र बनेका साथीहरुले ‍घर गएका बेला मलाई भेट्नुभयो ।

‘हामीले पालिकास्तरीय स्वतन्त्र नागरिक समूह बनाएका छौं, एकजना पत्रकार एवं बौद्धिक व्यक्ति (हुन त म बौद्धिक व्यक्ति होइन) का नाताले हामीलाई केही सुझाव दिनुपर्‍यो’ उहाँहरुको मप्रतिको आग्रह थियो।

मैले भनें, ‘मसँग सुझाव दिने त्यस्तो हैसियत छैन, बरु केराबारी बजारमा एउटा आन्तरिक जमघटको समय मिलाउनोस्, इटहरीमा मेरा एकजना वौद्धिक मित्र हुनुहुन्छ, उहाँलाई बोलाउँछु, जसले तपाईहरुको वौद्धिक भोक मेटाइदिन सक्नुहुन्छ ।’

मैले नाम लिएका व्यक्ति हुनुहुन्थ्यो मेरा पुराना मित्र– मोहन तिम्सिना । मेरो विचारमा नयाँ वैचारिक काम गर्न खोजिरहेका स्वतन्त्र नागरिकहरुका लागि बौद्धिक खुराक उहाँसँग छ जस्तो लाग्यो । किनभने–

पहिले राजनीतिमा सक्रिय रहेका मोहनजी अहिले आफैं पनि सक्रिय राजनीति छाडेर स्वतन्त्र नागरिककै रुपमा रहनुभएको छ । ०६२/०६३ को जनआन्दोलनपछि माओवादी पार्टी छाडेपछि उहाँले इटहरीमा डम्बर खतिवडा र केशव दाहाल लगायतका वौद्धिक व्यक्तिसँग मिलेर नेपालमा नयाँ शक्तिको आवश्यकता औंल्याउँदै ‘वैकल्पिक विचार मञ्च’ स्थापना गरेको पनि मलाई थाहा थियो ।

गत साल मोहनजीले दर्शनसम्बन्धी ३८८ पृष्ठको मोटो किताब लेख्नुभएको थियो । किताबको शीर्षक थियो– जैविक दर्शन : वैज्ञानिक क्रान्तिको दार्शनिक संश्लेषण । अंग्रेजीमा उहाँले पुस्तकको नाम Organic Worldview : Philosophical synthesis of the Scientific Revolution  राख्नुभएको थियो ।

झापा स्थायी घर भएका मोहन तिम्सिना महेन्द्र क्याम्पस धरानमा कानून पढ्दा जेहेन्दार एवं मेघावी विद्यार्थी मानिनुहुन्थ्यो । उहाँले कानूनमा स्नातक (बीएल) गर्नुका साथै समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । साथै उहाँ संगीतमा पनि पारखी हुनुहुन्छ। उहाँले आफैं रचना गरेका र गाएका केही गीत रेकर्डेड छन् ।

दर्शनशास्त्रको अध्ययनमा खास रुची राख्ने मोहन विद्यार्थीकालमै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । झापाका वामपन्थी नेता धर्मचन्द्र लावतीको गाउँले रहेका उहाँ नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकताकेन्द्र निकट विद्यार्थी संगठनमा आवद्ध हुनुभयो । धर्मचन्द्र लावती, गिरिराजमणि पोखरेल, डाचाराज वाग्ले (जसको महोत्तरीमा रहस्यमय मृत्यु भयो) र राजु खड्कादेखि अञ्जना बिसंखेसम्मका उहाँका राजनीतिक संगातीहरु थिए।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि नारायणकाजी नेतृत्वको एकताकेन्द्र माओवादीमा विलय भयो । यससँगै मोहन तिम्सिना पनि माओवादी बन्नुभयो । इटहरीमा उहाँले केही समय माओवादीको प्रदेश कार्यालय अन्तरगत रहेर काम गरेको सुनियो । तर, चाँडै नै माओवादीप्रति उहाँको मोह भंग भयो र पार्टी परित्याग गर्नुभयो । त्यसलगत्तै इटहरीमा उहाँसहित एमाले र माओवादी छाडेका केही वौद्धिक व्यक्तिहरुले ‘वैकल्पिक विचार मञ्च जन्माए ।’

वैकल्पिक विचारमञ्चका अभियन्तामध्ये डम्बर खतिवडा र केशव दाहालले डा. बाबुराम भट्टराईद्वारा गठित नयाँ शक्ति पार्टीमा लाग्ने निर्णयगर्दा मोहन तिम्सिनालाई भने नयाँ शक्तिमा खासै रुची देखिएन । बरु उहाँ राजनीतिबाटै निश्क्रिय भएर संगीत साधना एवं दर्शनशास्त्रको अध्ययनतिर लाग्नुभयो ।

यस क्रममा मोहन तिम्सिना अहिलेको युगमा मार्क्सवाद नै असान्दर्भिक भइसकेको निष्कर्षमा पुग्नुभयो । उहाँले  यसबीचमा ‘क्वान्टम फिजिक्स’को पनि स्वअध्ययन गर्नुभयो । केही राष्ट्रिय मिडियामा नयाँ राजनीतिक विचारधारा र दर्शन कस्तो हुनुपर्छ भन्नेबारे लेखहरु लेख्नुभयो । युवा उमेर ढल्किसक्दासम्म बिहे गर्न बिर्सनुभएका उहाँले ढिलै भए पनि  विवाह गरे र इटहरीमै घरजम बसाउनुभयो ।

उनै, मोहन तिम्सिनालाई मैले गत वर्ष फोन गरेर भनेको थिएँ ‘मोहनजी, तपाईको पुस्तक जैविक दर्शन पढ्न पाएको छैन । केही थान पुस्तकहरु पनि लिएर केराबारी बजार आउनोस् । यहाँ विभिन्न पार्टी छाडेर स्वतन्त्र हुनुभएका साथीहरुलाई तपाईका विचार सुनाउनोस् । हामी केही किताब किन्छौं । पुराना दुई साथीबीच भेटघाट पनि हुन्छ ।’

हामीले खदम खोलाको चिसोपानीमा पौडी खेल्यौं । ‘फाक् सा’ खायौं । केही सीमित साथीहरुसँग कुराकानी गर्‍यौं । हामी सबैले मोहनजीका कुरा सुन्यौं । ‘जैविक दर्शन’ किताब पनि लियौं ।

छलफलमा मोहनजीको सार थियो– समाज परिवर्तन गर्छु भन्नेहरुले सबैभन्दा पहिले मानिस कस्तो प्राणी हो भन्ने थाहा पाउनुपर्छ । अहिलेसम्मका दार्शनिकले खासमा मान्छेको परिभाषा नै गर्न जानेनन् । कसैले मानिस संसारकै चेतनशील र सभ्य प्राणी हो भने । तर, मानिस काम क्रोध, लोभसहितको स्वार्थी प्राणी हो, उसमा भगवान् बन्न सक्ने गुण पनि छ र राक्षस बन्ने चरित्र पनि छ । मानिसलाई निश्चित आचारसंहितामा अनुबन्धित गरेर समाजमा अनुशासन कायम गर्न सकिन्छ । तर, समाजका अगुवाहरु लोभबाट मुक्त हुन सक्नुपर्दछ । राजनीतिक गुणधर्म भएका व्यक्ति मात्रै राजनीतिमा लाग्नुपर्छ, सबैले राजनीतिमा लाग्नु हुँदैन।

मोहनजीबाट प्राप्त पुस्तकमा लेखकीय हस्ताक्षर थियो, सल्लाह, सुझाव र टिप्पणीको अपेक्षासहित….।’

यो एक वर्षको बीचमा पुस्तक अद्योपान्त पढिसक्न भ्याइएन । एक त दर्शनशास्त्रको पुस्तक आम मान्छेलाई पढ्न कठिन लाग्छ, दोस्रो– व्यस्त पेसागत जीवनमा यसलाई प्राथमिकतामा राख्न सकिएन । तथापि, मोहनजीले ‘सल्लाह, सुझाव र टिप्पणी’ को अप्ठ्यारो होमवर्क दिनुभएको थियो ।

दर्शनशास्त्र पढेर कमेन्ट गर्नका लागि साहसले मात्र पुग्दैन, दुस्साहस चाहिन्छ ।

म आफूलाई दर्शनशास्त्रमा रुची भएको पाठक भन्न रुचाउँछु । विद्यालय उमेर गीता पढ्दा होस् या कलेज जीवनमा मार्क्सवाद, फ्रायडवाददेखि लिएर ओशोसम्म किन नहोस्, सधैं चाख मानेरै पढिन्थ्यो ।

पछिल्लो समय पूर्वीय दर्शनशास्त्रको अध्ययन गरिरहँदा पनि उस्तै रुचीकर लाग्दै आएको छ । तर, अध्ययनको ‘सेड्युल’मा राखिएको मोहनजीको किताब केही महिना दराजमै थन्कियो ।

मोहनजीको पुस्तकको नाम नै ‘जैविक दर्शन’ भएकाले यसभित्र पक्कै पनि नेपाली समाजलाई चाहिने नयाँ ‘अर्ग्यानिक फिलोसोफी’ छ भन्ने मेरो अनुमान मात्रै होइन, विश्वाससमेत थियो । अझ उहाँ पूर्वभौतिकवादीसमेत भएको नाताले यो पुस्तक विज्ञानसम्मत एवं वस्तुनिष्ठ छैन भनेर कल्पना गर्न मैले आवश्यक नै ठानिनँ ।

मोहनजी कानून र समाजशास्त्रको मेघावी विद्यार्थी, संगीतको पारखी, गहिरो अध्ययनमा रुची राख्ने, चिन्तन–मनन गरिरहने, जोगीजस्तै सादगी, अनि पूर्वराजनीतिकर्मीसमेत भएको नाताले उहाँको किताबले नेपाली राजनीतिमा देखा परेका जटिल प्रश्नहरुको जवाफ र समाधान राम्रोसँग दिएको होला भन्नेमा म ढुक्क थिएँ ।

कम्युनिस्टहरुले त झन् यो किताब पढ्नैपर्छ भन्ने लाग्थ्यो । देशमा नयाँ शक्ति बनाउनुपर्छ भन्ने रवि लामिछानेहरुले यो किताबलाई आफ्नो दार्शनिक आधार बनाउन सक्छन् भन्नेमा थिएँ म । अझ पुस्तकको शीर्षक हेर्दा उहाँले नेपाललाई मात्र होइन, विश्वलाई नै नयाँ वैचारिक योगदान गर्नुभएको छ भन्ने मलाई पूर्वाभाष भएकै थियो ।

‘जैविक दर्शन’ नपढिकन गुजारेका यी ८/१० महिनामा दुईवटा महत्वपूर्ण घटना भए ।

पहिलो– यसबीचमा मोहनजी एकचोटि काठमाडौं आएका बेला भेट भयो । इटलीमा दार्शनिकहरुको सम्मेलन हुन लागेको र मोहनजीले पनि त्यहाँ प्रस्तुतीकरणका लागि अनुमति पाएको सुन्दा खुशी लाग्यो । एकजना नेपाली युवाले ‘मोफसल’ मा बसेर प्रतिपादन गरेको ‘जैविक दर्शन’ ले पश्चिमी दार्शनिकहरुको सम्मेलनमा प्रवेश पाउनु नेपाल र नेपालीकै लागि गर्वको कुरो थियो । मैले उहाँलाई सफलताको अग्रिम शुभकामना दिएँ ।

दोस्रो– गत भदौ २९ गते शनिबारका दिन प्रज्ञा प्रतिष्ठानमा ‘जैविक दर्शन’ पुस्तकबारे विमर्श हुन लागेको र त्यहाँ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, शिक्षाविद विद्यानाथ कोइराला, मुन्धुमविद भोगीराज चाम्लिङ र माओवादी नेता अञ्जना बिसंखेले पुस्तकमाथि मन्तव्य दिने कार्यक्रम रहेको मोहनजीबाट खबर आयो ।

प्रज्ञा प्रतिष्ठानको कार्यक्रमअघि पुस्तक त जसरी पनि पढिसक्नु पर्छ भन्ने लाग्यो । कार्यक्रममा दिन सबै छिचोल्न सकिएन । कार्यक्रममा सहभागी भएर फर्केपछि पढी भ्याइयो । कतिपय अध्याय दोहोर्‍याएर त कुनै तेहर्‍याएर पढियो । र, पढिसक्दा हात लाग्यो– एउटा भीमकाय शून्य । मेरा सम्पूर्ण विश्वासहरु पानीको फोको बने र बिस्फोट भए ।

प्रज्ञा प्रतिष्ठानको त्यो वाद–प्रतिवाद

चर्चित युवा लेखक युग पाठकले सञ्चालन गरेको भदौ २९ गतेको कार्यक्रममा डा. बाबुराम भट्टराईले जैविक दर्शन पुस्तकको निष्कर्षमाथि आपत्ति जनाए । त्यसको ठीक विपरीत विद्यानाथ कोइरालाले भने मुक्तकण्ठले मोहन तिम्सिनाको प्रशंसा गरे । कोइरालाले ‘भौतिकवादीहरु’लाई गालीसमेत गरे ।

अञ्जना बिसंखेले लेखक मार्क्सवाद छाडेर ओशो र सतगुरु प्रभावित बनेको आशंका गरिन् । उनले मोहनजीको निष्कर्षलाई भारतको मोदीनिटक समेत भन्न भ्याइन् ।

मुन्धुमविद भोगिराज चाम्लिङले ‘स्थानीय’लाई ‘ब्रह्माण्ड’ सित जोडेकोमा लेखकमाथि प्रश्न उठाए । खासगरी बाबुराम र विद्यानाथ दुईधारमा बाँडिए ।

त्यही कार्यक्रममा थाहा भयो, इटालीले दार्शनिक सम्मेलनमा भाग लिनका लागि मोहनजीलाई भिसा दिएन । अर्थात्, उसले पत्याएन ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र विद्यानाथ कोइरालाले के–के भने ? सारसंक्षेप उहाँहरुकै शब्दमा–

मोहनजीले भौतिकवादी भन्ने साथीहरुलाई चड्कन हान्नुभएको छ : विद्यानाथ कोइराला

मचाहिँ मोहनजीप्रति यति नतमस्तक छु, यत्ति राम्रो किताव ल्याइदिनुभएको छ, हाम्रा प्राज्ञिक मान्छेहरुलाई सोच्नुपर्ने विषय छ । राजनीतिज्ञले त आग्रह, पूर्वाग्रहमा बोल्छन् । राजनीतिज्ञमा रहेको साँघुरो चिन्तनलाई भत्काउनलाई पहल मोहनजीले गर्नुभएको छ, म उहाँलाई धन्यवाद भन्छु । किनभने, साम्यवादी दर्शनबाट मोहभंग भएर उहाँ रैथाने दर्शनसँग गाँसिनुभएको छ । यहाँले राम्रो चिज ल्याउनुभएको छ ।

द्वैत–अद्वैत, त्रैत र बहुलताको चिन्तनलाई एकचोटि विचार गरौं । हाम्रा पुर्खा जतिखेर अद्वैत भन्थे, त्यसो भन्दा उनले बुझेको चिन्तन भनेको द्वैतमा हो । आजभोलिको भाषामा तरंगमा हो । चेतनमा हो । चेतन भनेको जहाँसुकै पनि एउटै हुन्छ भनेर भनिसकेपछि द्वैतको जुन चिन्तन हुन्छ, त्यो चिन्तन साँघुरो भएर जान्छ । सापेक्षताको चिन्तन त्यहाँ बोल्दैन । त्यो सापेक्ष होइन, निरपेक्ष हुन्छ । मोहनजीले त्यो कुराकानी ल्याइदिनुभएको छ ।

जहाँ द्वैतको कुरा गर्नुहुन्छ, त्यो भनेको पदार्थसँगको कुरा हो । पदार्थसँग जोडिएको वस्तु द्वैत हुन्छ । तपाई प्रकृति र पुरुषको कुराकानी गर्नुहोस् अथवा प्लस र माइनसको कुराकानी गर्नुहोस् । द्वैत हुनेवित्तिकै त्यसको अर्को पाटो, बहुलताको अर्को पाटो पनि छ ।

दोस्रो, यो शरीरसँग जोडिएको विज्ञान छ । तपस्वी विज्ञान भनेको म भन्नु र ब्रह्माण्ड भन्नु एउटै हो । किनभने म पनि पञ्चतत्वबाट बनेको हो र ब्रह्माण्ड पनि पञ्चतत्वबाट बनेको हो । म जो हुँ, त्योभित्र ब्रह्माण्ड छ भन्ने चिन्तन तपस्वी विज्ञान हो । आधुनिक विज्ञान यस्तो हुँदैन, उसले बुझ्दैन । उसले मेरो भौतिक शरीरलाई हेर्ने हो । मनलाई हेरेपछि मनको विज्ञान, उर्जालाई हेरेपछि तपस्वी विज्ञान ।

शिक्षाविद् विद्यानाथ कोइराला

मोहनजीले म भौतिकवादी भन्ने साथीहरुलाई नराम्रोसँग चड्कन हान्नुभएको छ । अर्को कुरा, उहाँले हामी तीनवटा कुराको जमघट हौं भन्नुभएको छ । हामीसँग उर्जा पनि हुन्छ, चेतना पनि हुन्छ र पदार्थ पनि हुन्छ । मन पनि हुन्छ ।

मन भनेको दुईतिर चल्ने । उर्जा भनेको स्थिर हुने । पदार्थ भनेको देही (शरीर) । यसरी तीनवटा कुराको जमघट बुझ्ने हाम्रा वैदिक मुनि, जसलाई उहाँले तपस्वी विज्ञान भन्नुभएको छ, म उहाँलाई सम्मान गर्छु ।

एकसाथ कग्नेटिभ साइन्स, मोडय्क्युलर साइन्स, क्वान्टम फिजिक्स र बियोन्ड क्वान्टम, यी चारवटा कुरालाई एकै ठाउँमा लगेर जोड्नुभएको छ । तपस्वी विज्ञान भनेको यी चार कुरालाई एकै ठाउँमा जोड्ने हो भन्नुभएको छ । अहिलेको विज्ञान भनेको पदार्थ समाते मन छुट्छ, उर्जा समाते पदार्थ छुट्छ, मन समाते फेरि अर्को छुट्छ ।

विज्ञान पनि परिवर्तन भएको छ भन्नेबारेमा हाम्रो दिग्गज समुदायलाई थाहा छैन । किनभने, न्युटनीय साइन्समा बनेको मार्क्सको थ्यौरी हकिन्सको साइन्स र बियोन्ड क्वान्टमसम्म आइसकेपछि फरक भइसक्यो है भन्ने चिन्तन उहाँले राम्रोसँग दिनुभएको छ ।

उहाँले उल्लेख गर्नुभएको बिग ब्याङको पश्चिमाहरुको जुन सिद्धान्त छ, हामीसँग बिस्फोट र महाबिस्फोटको चिन्तन छ । हामीसँगै छँदैछ । हाम्रा पुर्खाले बिस्फोटको चिन्तन कतिसम्म भनेका छन् भने बिस्फोटविना खाने चिज पनि आउँदैन । बिस्फोट नभइकन केही पनि बन्दैन । मोहनजीले यो बारेमा पनि उल्लेख गर्नुभएको छ । यो मानेमा पनि म उहाँलाई सम्मान व्यक्त गर्दछु ।

अर्कोचाहिँ ब्रह्माण्ड, छाया ब्रह्माण्ड त्यसपछि बहु–ब्रह्माण्ड र अनन्त ब्रह्माण छन् । हामी एकल ब्रह्माण्डको चिन्तनमा बसेका छौं । हकिन्सले आएर भनिसके, हैन मल्टिपल युनिभर्स रहेछ है । छाया ब्रह्माण्ड त वैज्ञानिकहरुले पत्ता लगाइसके । भनेपछि, पूर्खाहरुले भनेको अनन्त ब्रहमाण्डको चिन्तन, छाया ब्रह्माण्डको चिन्तन, बहु –ब्रह्माण्डको चिन्तन र हामीले अहिले भनेको एकल ब्रह्माण्डको चिन्तनमा विश्लेषण गरेर हेर्नुपर्छ । मोहनजीले यो कुरा पनि उल्लेख गर्नुभएको छ ।

अर्को कुरा, ताओको यिङयाङ, बुद्धको त्रिरत्न, मुन्धुमको माङ र हाम्रो ब्रह्मको बारेमा जोड्नुभएको छ । ब्रह्म भनेको पश्विक इनर्जी हो । हाम्रोमा धर्मनिरपेक्ष र सापेक्ष भन्ने थोत्रो भाषा बोल्ने मान्छेको जमात भयो । जबकि धम्मं शरणं गच्छामि भनेर त्रिरत्नमा उल्लेख छ । तीनवटा रत्नमध्येको धम्मं हो । धम्मं भनेको धर्म । धर्म भनेको मोहनजीले शब्द प्रयोग गर्नुभएको छ– अर्ग्यानिक । अर्ग्यानिक भनेको प्राकृतिक । यतिसम्म कि मन्दिर घुम्दा दाहिने घुम्ने चिन्तन प्राकृतिक धर्म अन्तरगत पर्दछ । किन घुम्नुपर्छ भन्नु भनेको थोत्रो बुद्धि हो । भौतिकवादसँग टाँसिएको बुद्धि हो ।

हाम्रा चिन्तकहरु चाहे मुन्धुमका ज्ञाता हुन्, चाहे तामाङका कथाको सन्दर्भ होस्, चाहे हिन्दुहरुको विज्ञान होस्, चाहे बुद्धिष्टहरुको चिन्तन होस्, त्यो चिन्तनमा गहिराई हुन्छ । पश्चिमी विज्ञानको फरक यहीँ छ भनेर मोहनजीले उल्लेख गर्नुभएको छ ।

बुद्धको चिन्तनमा शून्य हुन्छ । हिन्दूको चिन्तनमा शून्यभन्दा पनि अगाडि ऊर्जा हुन्छ । …चिन्तन भनेको लिनियर हो कि सर्कुलर हो, यी दुईवटाको लडाइँ छ । जस्तो– डार्विनको सिद्धान्तलाई डा. बाबुराम भट्टराईले अकाट्य मान्नुभयो । तर, त्यो इभोल्युसन थ्यौरी भन्ने थ्यौरी नै बनेको छैन । मोहनजीले स्पष्ट भनिदिनुभएको छ, त्यो त धर्सीय हो है । त्यही सर्कुलर हुँदा पुनर्जन्म भएको हो । त्यही सर्कुलर हुँदा मृत्यु भयावह नभएर स्वाभाविक भएको । त्यसैले मोहनजीले पश्चिमा चिन्तनलाई चड्कन हान्नुभएको छ ।

पूर्वीय भनेको गोलार्धको पूर्वपट्टि र पश्चिमपट्टि भनेको हो ।

हिजोतिरै फर्कनुपर्छ भन्नु शायद सही हुन्न : बाबुराम भट्टराई

मेरा पुराना मित्र मोहन तिम्सिना अन्त्यन्तै प्रभावशाली चिन्तक, अध्येता हुनुहुन्छ । उहाँले निकै मिहेनत गरेर यो पुस्तक लेख्नुभएको छ । यो पुस्तक जुन मोहनजीले लेख्नुभएको छ, दर्शनमा, विचारमा रुची राख्ने सबैको निम्ति यो एक प्रकारको विश्वकोषजस्तो छ । यसको विषयवस्तु मात्रै तपाईले हेर्नुभयो भने करिब ३८८ पेजको किताबमा उहाँले प्राचीनकालदेखि अहिलेसम्म संसारमा जे–जति दर्शनहरु छन्, तिनीहरुको संक्षिप्त परिचय राख्नुभएको छ ।

पूर्वीले जुन विचारलाई अगाडि सारेका थिए, त्यसलाई उहाँले तपस्वी विज्ञान भन्नुभएको छ । त्यसलाई पनि भौतिकशास्त्र, समाजशास्त्र, जीव विज्ञान, मनोविज्ञान भनेर व्याख्या गर्नुभएको छ । संसारका समस्याहरुको समाधान जैविक दर्शन हो भनेर उहाँले कुरा राख्नुभएको छ । समग्र किताब पढ्न लायकै छ । तपाईहरुलाई मन परे पनि, नपरे पनि ठीक–बेठीक जेसुकै लागे पनि यो पुस्तकले ज्ञान प्रदानचाहिँ गर्छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

मानवजातिले जतिबेलादेखि आफैंलाई चिन्यो, म को हुँ, संसार के हो भन्नेजस्ता प्र्रश्नहरु नै दर्शनशास्त्रका प्रश्नहरु हुन् । हामी पूर्व र पश्चिम भन्छौं, म त्यो शब्द प्रयोग गर्न चाहन्नँ । यो कुरा विज्ञानले नै पुष्टि गरेको छ । तर, उहाँले विज्ञान पनि ठीक छैन भन्नुभएको छ । मचाहिँ विज्ञानमा विश्वास गर्छु । किनभने प्रयोग गरेर पुष्टि भएको कुरालाई नै मान्ने हो । भन्नका लागि मात्रै त मान्छेले जे पनि भनिदिन सक्छ । त्यसैले मचाहिँ व्यवहारमा प्र्रयोग गरेर सापेक्ष पुष्टि भएको पद्दति र प्रक्रियालाई मान्छु ।

यसरी हेर्दाखेरि हामी मानवजाति जो छौं, हामी सबै करिब एक लाख वर्ष पहिले अफ्रिकाबाट फैलिएको होमो सेपियन्स हौं । होमो भनेको ‘जान्ने’, सेपियन्स भनेको ‘मान्छे’ । हामी त्यहीँबाट घुम्दै आएका मानवजाति हौं । जिनको मापन गरेर सन् २००४ मा एउटा रिपोर्ट प्रकाशित भएको थियो, त्यसलाई सबैले मान्छन् । त्यसलाई पनि मान्दिनँ भन्ने हो भने के लाग्छ । यसरी हेर्दा हामी पूर्व र पश्चिम होइनौं । हामी जहाँ भए पनि हाम्रो मूल जरो एउटै हो ।

ग्रिसका एरिस्टोटल, नेपालका बुद्ध र चीनका लाओत्से लगायतका मान्छेहरु थिए । पछि आएर आजभन्दा ५ सय वर्ष पहिले युरोपमा नयाँ ढंगले सोच्ने तरिका पैदा भयो । त्यसबेलाका वैज्ञानिकहरुले यो पृथ्वी के हो भन्ने खोज अनुसन्धान गरे । यो एक्काइशौं शताब्दीमा आइपुग्यौं ।

यहाँसम्म आइपुग्दा हामीले विश्वलाई पनि सूक्ष्म ढंगले हेर्न सक्ने भयौं । हाम्रो मष्तिष्क, मनलाई समेत अध्ययन गर्न सिक्यौं । यसक्रममा जैविक अधिकारको कुरा गर्नुपर्छ, यो विश्व ब्रह्माण्ड सबैको साझा हो भन्ने हदसम्म त ठीकै छ । नयाँ ढंगबाट जानुपर्‍यो भन्नेसम्म ठीकै छ । तर, केही कुराहरु म राख्न चाहन्छु ।

मोहनजीले प्राचीन युगको विज्ञानलाई तपस्वी विज्ञान, पछिल्लो विज्ञानलाई आधुनिक विज्ञान र अबको विज्ञानलाई जैविक विज्ञान भन्न खोज्नुभएको छ । अलिकति  गडबडी म कहाँनेर देखिराखेको छु भने अहिलेको वैज्ञानिक युगमा जुन समस्याहरु आएका छन्, समाधानका लागि अझ पछाडि फर्कौं भन्ने गन्ध आउँछ   

मोहनजीले यो पुँजीवादको विकास र समाजलाई संश्लेषण गर्ने क्रममा प्राचीन युगको विज्ञानलाई तपस्वी विज्ञान, पछिल्लो विज्ञानलाई आधुनिक विज्ञान र अबको विज्ञानलाई जैविक विज्ञान भन्न खोज्नुभएको छ ।
अलिकति विचारणीय र गडबडी म कहाँनेर देखिराखेको छु भने अहिलेको वैज्ञानिक युगमा जुन समस्याहरु आएका छन्, यो वैज्ञानिक विचारले नै ल्याएको समस्या हो र योभन्दा राम्रो त पुरानो तपस्वी युगमा थियौं, त्यसैले समस्याको समाधानका लागि अझ पछाडि फर्कौं भन्ने गन्ध आउँछ ।

विश्वमा वातावरणीय समस्या, धनी र गरीबका समस्याहरु जुन छन्, आणविक हतहतियारको निर्माण जुन भइरहेको छ, यी समस्याहरुको मुख्य कारण भौतिकवाद र आधुनिक विज्ञान हो उहाँले भन्न खोज्नुभएको छ, यो सही हुँदैन ।

उहाँ काप्रा फ्रिटजोफबाट अलि बढी प्रभावित भएको र सँगसँगै ओशो, सदगुरुजस्ता भारतीय चिन्तकहरु, जसले पू्र्व र पश्चिम दुबैको अध्ययन गरेर पूर्वीय दर्शनलाई बढी स्थापित गर्न प्रयत्न गर्नुभएको छ, यसबाट पनि मोहनजी अलि बढी प्रभावित भएको देखिन्छ । त्यसैले गर्दा अहिले भन्दा हिजो राम्रो थियो, हिजोतिरै फर्कनुपर्छ भन्न खोज्नुभएको छ । यसो भन्नु शायद सही हुन्न कि ?

उहाँले तीन तहमा रहेर अध्ययन गर्न भएको छ । स्थूल, सूक्ष्म र शून्य तहमा अध्ययन गर्नुपर्छ भन्नुभएको छ । हिन्दु धर्मले पनि शून्यबाट शुरु भएर शून्यमा अन्त्य हुन्छ भन्छ । यो हिन्दु र बौद्ध चिन्तनमा पनि थियो । त्यसर्थ स्थूल, सूक्ष्म र शून्यबाट हेरिनुपर्छ भन्नुभएको छ ।

यसमा पनि स्थूल र सूक्ष्मचाहिँ मायावी हो, वास्तविक होइन, वास्तविकचाहिँ शून्य हो भन्ने जुन कुरा उहाँले गर्नुभएको छ, यसमा चाहिँ अलि बढी नै ओशो, सदगुरु, काप्रा लगायतको भनाइबाट बढी प्रभावित बनेको देखिन्छ । जबकि ओशो, सदगुरुका भनाइहरु पूरै साइन्स होइनन् सुडो साइन्स (छद्म विज्ञान) हुन् ।

(छद्म विज्ञान त्यो सिद्धान्त, मान्यता र विधिको एक प्रणाली हो, जसलाई भूलवस वैज्ञानिक मानिन्छ । कतिपय मानिस उदार, उच्च-मध्यवर्गीय सहरी परिवेशले विज्ञानमा भरोसा र गर्व गर्न मन पराउँछन्, तर धेरै मानिसहरु विषाक्त विचारधाराको पङ्क्तिमा छन्, जसको वैध अन्तर्दृष्टि मिथक र छद्म विज्ञानमा लुकेको छ।)

विज्ञान र रहस्यलाई एकठाउँमा मिसाएर ककटेलजस्तो बनाएर उहाँहरुले आकर्षक ढंगले प्रस्तुत गर्नुहुन्छ । हाम्रा कतिपय वौद्धिक मित्रहरु पनि त्यसैको पछि लागेको देख्छु । यो त्यति हदसम्म गर्नुपर्छ जस्तो लाग्दैन । त्यसैले यहाँनेर चाहिँ विचार गर्नुपर्छ कि ? यसोगर्दा अगाडि बढ्नुको सट्टा पछाडि फर्कने पो हुन्छ कि भन्ने मलाई मोहनजीलाई सुझाव छ ।

अर्को, उहाँले आधुनिक विज्ञान र तपस्वी विज्ञानको जुन तुलना गर्नुभएको छ, यसरी तुलना गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन । आजको विज्ञानभन्दा हिजोको विचार सही थियो भनेर भन्नु सही हुँदैन ।

करिब एक लाख वर्ष पहिले हामी र चिम्पाञ्जीको मष्तिष्कमा खासै फरक थिएन । तर, जब भाषाको आविश्कार भयो र हाम्रा अनुभवहरुलाई साटासाट गरेर कुराकानी गर्न थालेपछि हाम्रो मष्तिष्कको साइज एउटै हुँदाहुँदै पनि हामीले ह्वात्तै विकास गर्‍यौं । यो कुरा वैज्ञानिक रुपमा पुष्टि भएको छ । त्यसैले उहाँले जुन आधुनिक विज्ञान र तपस्वी विज्ञानलाई जुन तुलना गर्न खोज्नुभएको छ र उहाँको तुलो तपस्वी विज्ञानतिर बढी ढल्किएको छ, त्यो सही हुँदैन । त्यो सत्य पनि होइन र त्यसले ठीक पनि गर्दैन भन्ने मलाई लाग्छ ।

डा. भट्टराई र कोइरालाका दुई विपरीतजस्तै लाग्ने विचार सुनिसकेपछि तिम्सिनाको पुस्तकमा के–कस्ता विषय समेटिएका रहेछन् भन्ने छनक मिल्छ । यसमा अझ स्पष्ट हुनका लागि लेखक तिम्सिनाका केही निष्कर्षहरु प्रस्तुत गरौं–

के भन्छन् लेखक ?

जैविक दर्शनका लेखक मोहन तिम्सिना

संसार शून्यबाट अकारण प्रकट हु्न्छ र पुनः शून्यमा अकारण विलीन हुन्छ । …जैविक दृष्टिमा भौतिक संसार हाम्रो मष्तिष्क बाहिर हामीले अवलोकन गर्न सक्ने गरी स्वतन्त्र अस्थित्ववान् छ भन्नु भ्रम हो । बरु यसको ठीक उल्टो हाम्रा इन्द्रीयहरुचाहिँ त्यस्ता छन्, जसले स्वतन्त्र संसारको भ्रम सिर्जना गर्दछन् । यिनीहरुले संसारको स्थूल पक्षमात्र देख्छन् । हामीलाई स्थूल यथार्थ नै सबथोक हो भन्ने भ्रम छ । …यो अविद्या हो । संसारको स्वतन्त्र अस्थित्व नै छैन । यो हाम्रा इन्द्रीयहरुको प्रक्षेपणमात्र हो । जैविक पद्दतिमा अर्काको कुरामा मात्र अविश्वास गर्ने होइन, आफ्नै इन्द्रीय अनुभवमा पनि विश्वास नगर भनिन्छ । (जैविक दर्शन पष्ठ २३)

संसारको स्वाभाव शून्य हो । गति यसको प्रकट स्वाभाव मात्र हो । शून्य भन्नु नै न गति, न अगति ।… संसारमा अंश र समग्र भन्ने विभाजन नै छैन । हरेक चिज पूर्ण छन् । यहाँका हरेक कण ब्रह्माण्डीय इकाइ हुन्।

शून्यबाट नाटकीय ढंगले संसारको सृष्टि भयो । ….भौतिक संसार मात्र यथार्थ होइन, अभौतिक शून्य पनि यथार्थ हो । अझ शून्य नै सारा भौतिकताको मूल हो । तर, शून्यका सम्बन्धमा प्रश्न उठाउन सकिँदैन ।… यो निरपेक्ष परिघटना हो । …पदार्थले चेतना जन्माउने होइन, चेतनाले पदार्थ जन्माउने पनि होइन । …यी दुबैलाई निरपेक्ष शून्यले जन्माउँछ । (उही, पृ. २८५–८६)

प्रकृतिलाई सजीव र निर्जीव, पदार्थ र चेतना आदिमा भेद गर्नु औचित्यपूर्ण छैन ।…सबै चिज जिउँदो छ ।… अब प्रकृतिसँग संघर्ष, विजय होइन, प्रकृतिसँग सहकार्यको मान्यता जरुरी छ । यो मान्यतालाई चरितार्थ गर्न पनि यहाँ ‘जैविक’ शब्द उपयोग गरिएको हो । (उही, पृ. ३३)

तीनसय वर्षअघि भौतिकवादले ईश्वरवादी दर्शनको पतनको घोषणा गरेको थियो । आज ईश्वरवाद र भौतिकवाद दुबैको पतनको घोषणा गर्ने बेला भएको छ । …भौतिकवादको पतनसँगै भौतिकवादी विचारधारा पनि पतन भएका छन् । यसको अर्थ उदारवाद, साम्यवाद, राष्ट्रवाद र कल्याणवाद जस्ता विचारधारा पतन भए । यिनीहरुलाई परिमार्जन गर्नुपर्छ वा फ्युजन गर्नुपर्छ भन्ने अरुखाले समाजवादी विचारधारा पनि पतन भए   

मानिसको चेतना र व्यवहार कुनै ईश्वरद्वारा सञ्चालित छैन । मानिस मूलतः आफ्नै आत्मिक मूलद्वारा निर्देशित हुन्छ । मानिसको व्यक्तित्वको निर्णायक चिज आत्मा हो । आत्मा अद्वैत(शून्य) स्वाभावमा हुन्छ । (उही, पृ. २९४)

ज्ञान तीन प्रकारका हुन्छन्– प्रत्यक्ष ज्ञान, अनुमान ज्ञान र बुद्ध पुरुषका वचन ।…. प्राचीनकालमा हिमालय पर्वतीय सभ्यता नै ज्ञान र विज्ञानको केन्द्र थियो । …यद्यपि शास्त्रीय विज्ञानको युगमा पाश्चात्यहरुले पूर्वीय ज्ञान परम्परालाई हेय दृष्टिले हेर्ने काम गरे । (उही, पृ. २४–२५)

भौतिकवादी दर्शनमा निरपेक्ष सत्यको स्थान थिएन । त्यसकारण विश्लेषणबाट संश्लेषणको पद्दति अपनाइयो । जैविक पद्दतिमा निरपेक्ष सत्यले अहम् स्थान पाउँछ । (उही, पृ. २९)

तीनसय वर्षअघि भौतिकवादले ईश्वरवादी दर्शनको पतनको घोषणा गरेको थियो । आज ईश्वरवाद र भौतिकवाद दुबैको पतनको घोषणा गर्ने बेला भएको छ । …भौतिकवादको पतनसँगै भौतिकवादी विचारधारा पनि पतन भएका छन् । यसको अर्थ उदारवाद, साम्यवाद, राष्ट्रवाद र कल्याणवाद जस्ता विचारधारा पतन भए । यिनीहरुलाई परिमार्जन गर्नुपर्छ वा फ्युजन गर्नुपर्छ भन्ने अरुखाले समाजवादी विचारधारा पनि पतन भए ।…. दर्शन र विचारधारामा क्रान्ति नगरी यो संकटलाई पार लगाउन सकिन्न । यो कुरो सामाजिक अगुवाहरुलाई पत्तो छैन । मानिसहरु पुरानै तरिकाले सोचिरहेका छन् । पुरानै अवधारणा र पुरानै सामाजिक मूल्य मान्यताभित्रै समाधान खोजिरहेका छन् ।… जबसम्म चिन्तन प्रणाली सच्याइँदैन, जवसम्म मूल्यमान्यता परिवर्तन गरिँदैन, तवसम्म वैश्विक संकट कायम रहन्छ । अब हामीलाई वैकल्पिक विश्व व्यवस्था चाहिन्छ ।…यसका लागि जैविक दर्शन, जैविक विचारधारा र जैविक राजनीतिको रुपरेखा कोर्न जरुरी छ । (उही, पृ. ३०–३१)

पाश्चात्य चिन्तकहरुले जे गरेका छन्, ती विल्कुलै नयाँ आविश्कार होइनन् । पूर्वका चिन्तन परम्परा र धर्मशास्त्रहरुमा त्यस्ता सिद्धान्त यत्रयत्र पाइन्छ ।’ (उही, पृ. ३५)

जसरी प्रकृतिका तीन आयाम( स्थूल, सूक्ष्म र शून्य) छन्, त्यसरी नै हामी मानिसहरुका लागि सामाजिक नियमका तीन आयाम छन् । यसलाई अनिवार्य, अर्ध–अनिवार्य र सांयोगिक नियम भन्न सकिन्छ । (उही, पृ. ३११)

इतिहासमा मानवीय भयका कारण धर्म, ध्यान वा योगको जन्म भयो भन्ने मान्यता सही होइन । मानिसहरुमा शोषण गर्न शासकहरुले धर्म जन्माए भन्ने पनि सही होइन । …मूलतः प्रकृतिप्रतिको मानिसको प्रेम, आत्मियता र अन्तरवोधको फलस्वरुप धर्मको जन्म भयो । ….कालान्तरमा मात्र त्यसमा विकृति आएको हो । (उही, पृ. ३१४)

वर्ण व्यवस्था वैदिक सभ्यताको मौलिक अवस्था थियो । ( पृ. ३१५)

मानव समाज समाजशास्त्रीहरुले भनेजस्तो असभ्यताबाट सभ्यताको क्रमिक विकासको यात्रा गरेर यहाँसम्म आएको होइन । … मानिसले प्राचीनकालमा पनि विज्ञानको समृद्ध जग बसाएको थियो । …तपस्याचार्यको पद्दति र बुद्धत्वको परिघटना प्राचीनकालमा हिमालय पर्वतको सेरोफेरोमा पैदा भएर विश्वभर फैलियो । प्राचीनकालको विज्ञान, कला संस्कृति र नगरसभ्यताको विकासमा अज्ञात बुद्धपुरुषहरुको हात थियो । ( पृ. ३१५–१६)

समाजमा आधारभूत तत्व भन्ने हुँदैन । …राजनीतिले हिंसा र अहिंसा होइन, शान्ति र प्रेमको आदर्शमा काम गर्नुपर्छ । वामपन्थी वा दक्षिणपन्थी होइन, मध्यमार्गी आदर्शमा काम गर्नुपर्छ । माथि एक, तल अनेक हुनेगरी राज्य संरचना निर्माण गर्नुपर्छ ।.. राज्यको केन्द्रमा द्वैत शक्ति संरचना निर्माण गर्नुहुँदैन । ( पृ. ३२९)

राजनीतिलाई बुढेसकालको चौतारी बनाउनुहुँदैन । एक व्यक्ति दुई कार्यकालभन्दा बेसी एउटै पदमा रहनुहुन्न । ५० वर्ष उमेर पुगेपछि हरेक राजीनीतिकर्मीले सक्रिय राजनीतिक जीवनबाट अलग हुनुपर्दछ ।
जसको स्वाभाव राजनीति गर्ने खालको छ, त्यस्ता व्यक्तिहरुले मात्र सक्रिय राजनीतिमा आउनुपर्छ । बाँकी मानिसहरु… सक्रिय राजनीतिमा आउनुहुँदैन । ( पृ. ३३८)

हामीले समाजमा बुद्ध पुरुषको उपस्थितिको सम्भावनालाई स्वीकार गर्नुपर्दछ । बुद्ध पुरुषहरुलाई मात्र राजनीतिमा त्यस्तो प्राधिकार नेृतृत्व स्वीकार गर्नुपर्दछ ।… दार्शनिक वा चिन्तक वा नेतालाई प्राधिकार नेतृत्व बन्ने कुरालाई सदाकाल अस्वीकार गर्नुपर्दछ । ( पृ. ३३६)

राज्य धार्मिक हुनुपर्दछ । राज्यलाई सम्प्रदाय निरपेक्ष र धार्मिक राष्ट्र घोषणा गर्नुपर्दछ ।….धार्मिक राज्यले सयौं फूलहरुलाई फूल्न दिन्छ । ( पृ. ३३९)

लेखक मोहन तिम्सिनाको पुस्तक ‘जैविक दर्शन’बाट टिपिएका माथिका उद्धरणले पक्कै पनि उनको विचार बुझ्न पाठकलाई मद्दत गर्‍यो भनेर अनुमान लगाउन सकिन्छ ।

समालोचकका सीमा

कुनै पनि लेखकको कृतिमाथि समालोचना गर्नु कठिन काम हो । जब समालोचक आफैं नै कुनै वाद वा विचारधाराबाट निर्देशित छ भने उसले कसैको साहित्यिक कृतिको निष्पक्ष र तटस्थभावले विश्लेषण गर्न सक्दैन ।

शिक्षाविद् विद्यानाथ कोइरालाले मोहन तिम्सिनाको पुस्तकको मुक्तकण्ठले किन प्रशंसा गरे ? किनभने कोइराला आफू पनि भौतिकवाद, धर्मनिरपेक्षता, पाश्चात्य दर्शन आदिलाई नरुचाउने र हिन्दु दर्शनलाई मनपराउने विचारधाराका व्यक्ति हुन् । आफ्नो विचारसँग मिल्दो पाएकाले कोइरालाले जैविक दर्शन पुस्तकमा सकारात्मक कुराहरु धेरै देखे । उनले पुस्तकका कमजोरीहरु खासै देखेनन् ।

त्यसको विपरीत डा. बाबुराम भट्टराई विज्ञानमा विश्वास गर्ने, नास्तिक एवं भौतिकवादी विचारधाराका व्यक्ति भएकाले उनले तिम्सिनाको पुस्तकमा खोटहरु देखे । पुस्तकका कतिपय कुराहरुमा उनले असहमति प्रकट गरे । त्यस्तै मुन्धुमविद भोगिराज चाम्लिङले आफ्नो विचारधार अनुसार नै ‘स्थानीयवाद’लाई महत्व दिए । माओवादी नेता अञ्जना बिसंखेलाई ओशो र सत्गुरुको धेरै उद्धरणहरु लिएको मन परेन ।

एउटा पुस्तकमाथिको हेराइमा यो विविधता किन त ? किनभने, समालोचकहरुले आफ्नै विचारधाराको आाँखिझ्यालबाट हेर्दा यस्तो हुन गएको हो ।

प्राध्यापक नीलमणि ढुंगानाकृत संस्कृत–नेपाली शब्दकोशमा समालोचनाका चारवटा अर्थ दिइएको छ । एक– नियाल्नु । दुई–राम्ररी गढेर हेर्नु । तीन– कुनै पदार्थका गुण र दोषहरुको निष्पक्ष र ठिक ठिक विवेचना गर्नु । ग्रन्थ, व्यक्ति, लेख आदिका गुण र दोषहरुको गम्भीर, निष्पक्ष र यथार्थ विचार गर्नु । र, चार– गुण र दोषहरुको निष्पक्ष विवेचना गरी लेखिएको लेख वा ग्रन्थ ।

त्यसैगरी समालोचकको परिभाषामा भनिएको छ, ‘समीक्षक समालोचना गर्ने व्यक्ति, कुनै पदार्थका गुण र दोषको निष्पक्ष र ठिक ठिक विवेचना व्यक्ति । भावक ।’

उपर्युक्त परिभाषाअनुसार ‘जैविक दर्शन’ पुस्तक र लेखक मोहन तिम्सिनामाथि समालोचना गर्दा गुण र दोषका आधारमा निष्पक्ष एवं तटस्थभावले विवेचना गर्नुपर्ने हुन्छ । आफैं आध्यात्मवाद, हिन्दुवाद वा यान्त्रिक भौतिकवादको चश्मा लगाएर तटस्थ समालोचना हुन सक्दैन ।

समालोचक आफैंले पनि दर्शनशास्त्रका प्रवर्गहरु नबुझिकन पुस्तकमाथिको विवेचना, टिप्पणी वा लेखकलाई सुझाव दिन सम्भव हुँदैन । लेखकले वर्षौं लगाएर तयार पारेको पुस्तकमाथि सतही टिप्पणी गर्दा पुस्तक र लेखक दुबैमाथि न्याय हुँदैन ।

अर्को पाटोबाट हेर्दा लेखकले भौतिकवाद र मार्क्सवादको विरोध गर्दै धर्म र तपश्वीमार्गलाई समर्थन गरेका रहेछन् भन्दैमा खुशीले उन्मत्त भएर १२ हात उफ्रिँदैमा समालोचकको मर्म र धर्म निर्वाह हुँदैन । पुस्तकमाथिको विश्लेषण तटस्थभावमै हुनुपर्छ । न भौतिकवादी, न आदर्शवादी चश्माले हेरेर निष्पक्ष बन्न सकिन्छ ।

समालोचनाको यही धर्मलाई निर्वाह गर्दै पुस्तकमाथि सकेसम्म तटस्थभाव अपनाउने प्रयास गरिएको छ । फलस्वरुप मैले लेखकको आलोचना गर्ने दुस्साह गरिनँ । केवल केही प्रश्नहरु मात्र सोध्ने निधो गरें ।
जैविक दर्शनका लेखक मोहन तिम्सिनालाई प्रश्नहरु सोध्नुअघि ‘दर्शन’बारे लौकिक भाषामा केही अवधारणागत चर्चा गर्ने अनुमति माग्दछु ।

विश्वलाई हेर्ने र बुझ्ने तरिकालाई विश्व दृष्टिकोण भनिन्छ । यही विश्वदृष्टिकोण नै दर्शनशास्त्र हो । दर्शनशास्त्रले पृथ्वीको उत्पत्ति, ब्रह्माण्ड, मानिस, जीव, पदार्थ, चेतना, विकास वा परिवर्तनको नियम (गति), समाज, राजनीति, न्याय लगायतका ज्ञानका समग्र क्षेत्र र भौतिक पिण्डहरुको विवेचना गर्दछ ।

जीवन के हो ? मानिस कहाँबाट कसरी उत्पति भयो, यसको अन्त्य कसरी हुन्छ । यो ब्रह्माण्ड र संसार कसरी चलेको छ ? सृष्टि र प्रलय दुबै ईश्वरका कारणले हुन्छ या स्वतः हुन्छ ? मानिसले सुख या आनन्द प्राप्त गर्ने, मोक्ष प्राप्त गर्ने उपाय के हो ? दुःखको कारण के हो ? आदि–इत्यादि प्रश्नहरुको जवाफ दर्शनशास्त्रले खोज्दछ ।

पूर्वीय दर्शनको सारांश

पूर्वीय वाङमयमा परापूर्वकालदेखि नै दुईथरी दर्शन अस्थित्वमा छन् । एउटा– वेद र ईश्वरलाई प्रमाण मान्ने आस्तिक दर्शन । अर्को– ईश्वरलाई नमान्ने नास्तिक दर्शन ।

आस्तिक दर्शनका ६ वटा शाखा छन् : न्याय दर्शन, वैशेषिक दर्शन, साङ्ख्य दर्शन, योग दर्शन, मीमांसा दर्शन र वेदान्त दर्शन ।

न्याय दर्शन : न्याय दर्शनका प्रवर्तक महर्षि गौतमलाई मानिन्छ । तर्क र विश्लेषणको माध्यमबाट सत्य पत्ता लगाउने र त्यसका निमित्त प्रमाण जुटाउने न्यायदर्शनको विशेषता हो । सही ज्ञानका लागि चाहिने प्रमाणहरुको विवेचना न्याय दर्शनले गर्छ । न्याय दर्शनले चारवटा प्रमाणलाई मानेको छ– प्रत्यक्ष, अनुमान, उपमान र शब्द । न्याय दर्शनले मूल पदार्थ वा तत्वलाई तीन चिजमा विश्लेषण गर्छ– ईश्वर, जीव र प्रकृति । यो दर्शनले जीवात्मालाई शरीरभन्दा भिन्न मान्छ र ईश्वरीय सत्ताको अस्थित्वलाई स्वीकार गर्दछ, त्यसैले यो दर्शन आस्तिक प्रशाखा अन्तर्गत परेको हो ।

वैशेषिक दर्शन : कणाद मुनि प्रवर्तक मानिएको वैशेषिक दर्शन पनि न्याय दर्शनजस्तै प्रमाणहरुको खोजीमा केन्द्रित छ । यो दर्शनले ज्ञानका चार साधनलाई मानेको छ– प्रत्यक्ष, अनुमान, स्मृति र आर्ष ज्ञान । ऋषिमुनिहरुले आफ्नो अन्तर्दृष्टिबाट प्राप्त गरेको ज्ञानलाई वैशेषिक दर्शनले आर्ष ज्ञान मानेको छ । वैशेषिक दर्शनले पदार्थलाई द्रव्य, गुण, कर्म, विशेष, सामान्य, समवाय र अभाव गरी सात भागमा बाँडेको छ भने द्रव्य ९ प्रकारका हुने बताएको छ, ती हुन्– पृथ्वी, जल, तेज, वायु, आकाश, काल, दिक्, आत्मा र मन ।

वैशेषिक दर्शन अनुसार नौ प्रकारका द्रव्यमध्ये पृथ्वी, जल, तेज, वायु र आकाश पञ्चमहाभूत (पञ्चतत्व) भनिन्छ । यी पाँच तत्वहरु भौतिक हुन् । यिनीहरुको निर्माण परमाणुद्वारा हुन्छ । परमाणु नित्य र शाश्वत हुन्छ । जुन तत्वलाई विभाजन गनृ सकिँदैन, त्यसलाई परमाणु भनिन्छ । परमाणुको संयोगबाट नै पृथ्वी, जल आदि द्रव्यको निर्माण हुन्छ । ‘काल र दिक’ मा बाहिरी विश्व–सत्ताको कल्पना गर्न सकिँदैन । आत्मा र मन त्यस्तो द्रव्य हुन्, जसको सम्बन्ध भौतिक पदार्थसँग हुँदैन ।

सांख्य दर्शन : सत्कार्यवादी सिद्धान्तमा विश्वास गर्ने सांख्य दर्शनले संसारलाई प्रकृतिको परिणाम मान्दछ । यस दर्शनले प्रकृतिलाई अनादि र नित्य मानेको छ । प्रकृति जड भएकाले संसारका रुपमा वक्त हुनका लागि पुरुषको आवश्यकता पर्ने यस दर्शनले बताउँछ । त्यसैले प्रकृति र पुरुष दुबैलाई मूल एवं अनादि तत्व मानिएको छ । पुरुषको स्वाभाव चेतनका रुपमा हुन्छ । तर, पुरुष कर्ता होइन, जे गर्छ प्रकृतिले नै गर्छ । कर्ता प्रकृति हो । सुख, दुःख, काम, क्रोध, लोभ र मोहको सम्बन्ध पुरुससँग होइन, प्रकृतिसँग हुन्छ । पुरुषलाई यो कुराको तत्ववोध हुनु नै मोक्ष हो । सृष्टिको निर्माण वा प्रलयसँग ईश्वरको आवश्यकता छैन । तथापि सांख्य दर्शनले ईश्वरीय सत्ताको आलोचना पनि गरेको छैन, त्यसैले यसलाई आस्तिक दर्शनकै दर्जामा राखिएको हो ।

योग दर्शन : योग दर्शन र सांख्य दर्शनमा खासै भिन्नता छैन । योग दर्शनले पनि प्रकृतिबाटै संसारको उत्पति भएको स्वीकार गर्दछ । तर, यी दुईबीचको भिन्नता के छ भने योग दर्शनले प्रकृति र पुरुषको सत्तासँगै ईश्वरको सत्तालाई पनि मान्छ । योग साधना र भक्तिको माध्यमबाट ईश्वरलाई खुशी पारेर मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने यो दर्शनको मूल मर्म हो । योग दर्शनका प्रवर्तक महर्षि पतञ्जलीलाई मानिन्छ ।
मीमांशा दर्शन ः मीमांशा दर्शनले वैदिक कर्मकाण्डमा जोड दिन्छ । वैदिक कर्मकाण्डलाई पछ्याउने अनि जहाँ असंगति देखिन्छ, त्यसलाई धर्मका नियमहरुको सही मीमांशा गरेर समाधान खोज्ने यो दर्शनको मूल मर्म हो । वेदले भनेको कर्म नै धर्म हो भन्ने यस दर्शनको मान्यता हो ।

वेदान्त दर्शन : आस्तिक दर्शनको प्रवर्गमा पर्ने अर्को विचारधारा हो– वेदान्त दर्शन । यो दर्शनलाई उत्तरमीमांशा वा ब्रह्ममीमांशा समेत भन्ने गरिएको छ । यस दर्शनले प्रकृति या जगतको सत्तालाई मान्दैन । यसले ‘ब्रह्म’ लाई वास्तविक सत्ता मान्छ । यस दर्शन अनुसार ब्रह्म बाहेक अर्को कुनै सत्ता सत्य होइन । ब्रह्मभन्दा अलग्गै जीवको सत्ता छैन । प्रकृति पनि ब्रह्म सत्ताकै ईच्छाको उपज हो । ब्रह्मको संकल्प वा लीलाद्वारा सृष्टिको विकास भएको हो । बादरायण व्यासलाई वेदान्त दर्शनको प्रवर्तक मानिन्छ । पछि शंकराचार्यले ‘ब्रह्मसूत्र शांकर भाष्य’ लेखे, जसबाट एक नयाँ सम्प्रदाय ‘अद्वैतवाद’को जन्म भयो ।

अद्वैतवादले सम्पूर्ण जगतलाई मिथ्या बताउँछ । यो संसारमा दृष्टिगोचर हुने सबै चिजलाई वेदान्त दर्शनले भ्रमको परिणाम ठान्छ ।

पूर्वीय वाङमयका यी ६ वटा आस्तिक दर्शनहरुको चर्चा गरिसकेपछि पाठकले आफैं सामान्यीकरण गर्न सक्नुहुनेछ कि ‘जैविक दर्शन’का व्याख्याता मोहन तिम्सिना कहाँनेर छन् ? उहाँले दर्शनशास्त्रमा कुनै नयाँ योगदान वा आविष्कार गर्नुभएको हो या यिनै भारतीय षड्दर्शनको सारसंग्रहमा फस्नुभएको हो ? यसको विश्लेषण गर्ने जिम्मा विद्वान पाठकलाई नै ।

पूर्वका तीन नास्तिक दर्शन : पूर्वीय दर्शनमा वेद वा ईश्वरको सत्तालाई अस्वीकार गर्ने नास्तिक दर्शनको पनि जन्म भएको पाइन्छ । खास गरी भारतमा करिब छैठौं शताब्दी ईसापूर्वमा नयाँ धार्मिक आन्दोलनकै रुपमा बौद्ध धर्म र जैन धर्मको प्रादूर्भाव भयो । बौद्ध दर्शन र जैन दर्शन दुबैलाई नास्तिक दर्शन मान्ने गरिएको छ । त्यसैगरी, चार्बाक दर्शनलाई पनि भारतवर्षमा नास्तिक दर्र्शन मानिन्छ । नेपालबाटै विस्तारित भएको बुद्ध धर्म पनि हिनयानी र महायानी दुई कित्तामा विभक्त छ । त्यसैगरी बिहारका महावीरबाट प्रत्युत्पादित जैन दर्शन पनि श्वेताम्बर र दिगम्बरमा विभक्त छ । बुद्ध दर्शनको सिद्धान्त शून्यवादमा आधारित छ । जैन दर्शन मानिसको नैतिक आचरणमा केन्द्रित छ ।

भारतीय नास्तिक दर्शनको अर्को प्रशाखा चार्बाक दर्शनलाई वैदिक कालको भौतिकवादी दर्शनका रुपमा लिने गरिएको छ । चार्बाक ऋषि भन्थे, जगत सत्यम् ब्रह्म मिथ्या । अर्थात संसार सत्य हो, ब्रह्म मिथ्या हो ।

व्यवहारिक जीवनमा दर्शनको साइनो

मानिसहरुलाई लाग्न सक्छ, यो दर्शनशास्त्र भन्ने कुरा बुद्धिविलासको विषय हो, व्यवहारिक जीवनमा सामान्य मानिसलाई यस्तो बुद्धिविलासको कुनै काम छैन । तर, यथार्थ त्यस्तो होइन । हरेक मानिसले निश्चित जीवन दर्शनका आधारमा आफ्नो दैनिक व्यवहार गरिरहेको हुन्छ र उसको सोचाइको तरिका कुनै न कुनै विश्व दृष्टिकोणका आधारमा सञ्चालन भइरहेको हुन्छ भन्ने दार्शनिकहरुको मान्यता छ । त्यस्तै, व्यक्ति, समाज, देश र समग्र मानव विकासको गति पनि सही दर्शनले नै निर्धारण गर्ने दार्शनिकहरुको दाबी रहँदै आएको छ । राजनीति पनि सही दर्शन र विचारधारमा आधारित हुनुपर्छ भन्ने राजनीतिक चिन्तकहरुको मान्यता पाइन्छ ।

यसका लागि दर्शनलाई केही व्यवहारिक प्रश्नसित जोडेर हेरौं ।

तपाई कुनै काममा लागि बाहिर निस्कनुभयो, बिरालोले बाटो काट्यो भने के सोच्नुहुन्छ ? तपाईको परिवारमा रोग लाग्यो, अनेक औषधिमूलो गर्दा पनि ठीक भएन भने के गर्नुहुन्छ ? कुनै कामको सुरुवात गर्नुभयो, हरेकपल्ट असफल भइयो भने कस्तो निर्णय लिनुहुन्छ ? कुनै महत्वपूर्ण व्यापार व्यवसायको थालनी गर्नुपर्ने भयो, तपाई सम्भाव्यताबारे रिसर्च गर्नतिर लाग्नुहुन्छ या पूजापाठतिर लाग्नुहुन्छ ? जीवनमा ठूलो विपत आइपर्‍यो भने कसरी मन बुझाउनुहुन्छ ? समाजमा रहेका जातजाति, असहाय, विपरीत लिंगी, आदिप्रति तपाईको नजर कस्तो रहने गरेको छ ? धन सम्पत्तिप्रति तपाईको दृष्टिकोण के हो ? विवाह र यौनबारे तपाईको बुझाइ के हो ? संसारमा विद्यामान विभिन्नखाले धर्म र संस्कृतिप्रति तपाईको नजर कस्तो छ ? विभिन्न राजनीतिक विचारधारा, पुँजीवाद, समाजवाद, कम्युनिज्म इत्यादिबारे तपाईको धारणा के छ ? राज्य र सत्ताबारे तपाईको धारणा के छ ? अथवा केही पनि धारणा छैन कि ? शून्य पो छ कि ? अनि यो संसारको सञ्चालक को हो ? ईश्वरको अस्थित्व छ कि छैन ? हाम्रो जीवनको सञ्चालक हामी आफैं हो या अरु नै कोही सञ्चालक छ ?

यस्ता यावत प्रश्नहरुको जवाफ आफैंभित्र खोज्नुभयो भने तपाईले आफूलाई कुनै न कुनै दर्शनशास्त्रको नजिक पाउनुहुनेछ । र, यही दर्शनले नै तपाईको जीवन र व्यवहारलाई डोर्‍याइरहेको हुनेछ । यसैबाट स्पष्ट हुन्छ कि मानिसलाई सही मार्गमा हिँड्नका लागि सही दर्शनको साथ चाहिन्छ । दर्शन बुद्धिविलासको विषय मात्रै होइन, यो त जीवन जिउने कला हो । बाँच्ने तरिका हो । जगतलाई बुझ्ने अन्तरदृष्टि र विश्वलाई हेर्ने आँखा हो । यस्तो अन्तरदृष्टि वा विश्वदृष्टिकोण नै गलत भयो भने हामी सही ठाउँमा पुग्न सक्दैनौं । गलत बाटो हिँडेर गन्तव्यमा पुग्न सकिँदैन ।

दर्शनशास्त्रकै कुरो गर्दा यतिचाहिँ भनिहालौं- जीवनलाई जटिल हैन, सरल बनाउँदा नै खुख प्राप्ति हुन्छ भन्ने धेरैको निष्कर्ष छ । लाओत्से पनि सरल बन्न सुझाव दिन्छन् । अष्टावक्रले पनि त्यही भनेका छन् । जीवन र जगतलाई धेरै जटिल अर्थमा बुझ्न खोज्दा दुःखको थालनी नै त्यहीँबाट हुन्छ । साथै, अहिलेसम्मको मानव सभ्यता र ज्ञानले जे–जे कुराहरु हासिल गरेको छ, त्यो सबै भत्काएर अर्को विनिर्माण गर्नितर लाग्नु भन्दा मानव सभ्यताले हालसम्म प्राप्त गरेको ज्ञानमै टेकेर अगाडि बढ्नु नै बुद्धिमत्तापूर्ण कदम हुन्छ कि ? पश्चिमाले उडाएको विमानको थ्यौरी खारेज गरेर पुष्पक विमानको थ्यौरीतिर लाग्नु पश्चगामी कदम हुनेछ ।

अब ‘जैविक दर्शन’ पुस्तक पढिसकेपछि लेखक मोहन तिम्सिनामाथि उब्जेका केही प्रश्नहरुको चर्चा गरौं ।

समस्या पूर्वमा, दोष पश्चिमलाई ?

लेखक मोहन तिम्सिनाले आफूबाट प्रतिपादित जैविक दर्शनले मध्यमार्ग अवलम्बन गर्ने बताउनुभएको छ । तर, उहाँ पूर्वीय दर्शन र पाश्चात्य दर्शनको एउटा चिनियाँ पर्खाल लगाउनुहुन्छ र पश्चिमको ज्ञानलाई निन्दा गर्नुहुन्छ, पूर्वको अर्थात् भारतीय शून्यवादलाई प्रशंशा गर्नुहुन्छ ? पश्चिमी समाजले प्राप्त गरेको ज्ञानप्रति उहाँको यतिधेरै वितृष्णा र बैरभाव देखिन्छ कि उहाँ भारतीय बैदिक दर्शनमा ओत लाग्न पुग्नुहुन्छ ।
उहाँ भारतीय जोगीकै भाषामा भन्नुहुन्छ, ‘पाश्चात्य चिन्तकहरुले जे गरेका छन्, ती विल्कुलै नयाँ आविष्कार होइनन् । पूर्वका चिन्तन परम्परा र धर्मशास्त्रहरुमा त्यस्ता सिद्धान्त यत्रयत्र पाइन्छ ।’

उहाँ अझै थप्नुहुन्छ, ‘प्राचीनकालमा हिमालय पर्वतीय सभ्यता नै ज्ञान र विज्ञानको केन्द्र थियो । … शास्त्रीय विज्ञानको युगमा पाश्चात्यहरुले पूर्वीय ज्ञान परम्परालाई हेय दृष्टिले हेर्ने काम गरे ।’

पुस्तकका लेखकमाथि प्रश्न जन्मन्छ– पश्चिमका मानिसहरुले प्राप्त गरेको ज्ञानप्रति यतिधेरै घृणा किन ? अनि भारतीय दर्शनप्रति यति धेरै सम्मोहन किन ? के यही हो त मध्यमार्ग ? कि यो पक्षधरता हो ? पश्चिमको भौतिकीले गरेको तरक्कीलाई सम्मान गर्न किन कञ्जुस्याइँ ? विमान कसले बनायो ? रकेट कसले बनायो ? स्टाटेलाइट कसले अन्तरीक्षमा पठायो ? विजुली, फोन, कम्प्युटर, इन्टरनेट, एआई कसले आविष्कार गर्‍यो ? स्वास्थ्य क्षेत्रमा ठुल्ठुला तरक्कीहरु कसले गर्‍यो ? मानव जातिलाई एउटा उन्तत जीवका गर्व गर्न लायक कसले बनायो ? के यो सबै ज्ञानको स्रोतलाई सम्मान गर्नुपर्दैन ? यसलाई आत्मसात गर्नुपर्दैन ?

मानिलिऔं, मोहनजीले भनेजस्तै ‘प्राचीनकालमा हिमालय पर्वतीय सभ्यता नै ज्ञान र विज्ञानको केन्द्र थियो रे ।’ उसोभए पश्चिमले जस्तै तरक्की गर्न हामीलाई के ले रोक्यो ? हिमालय पर्वतको काखमा रहेका हामी नेपालीहरु कसका कारणले पछि पर्‍यौं ?

‘तपस्वीहरु’को तपोभुमिमा बसोबास गर्ने हामी नेपालीहरु अहिलेसम्म किन गरीबी र अभावमै बाँचिरहेका छौं ? पुष्पक विमानको डिंग हाँक्ने हामी पूर्वेलीहरु अहिलेसम्म किन विदेशी सामानको भरमा बाँचिरहेका छौं ? खै त हाम्रो आत्मर्भिरता र ज्ञान ? यो अविज्ञा र पछौटेपनको दोष पश्चिमलाई लगाउने या हामीभित्रै खोज्ने ? समस्या पूर्वमा छ, दोष पश्चिमलाई लगाउने ? यो कहाँसम्मको न्याय हो ?

भौतिक विज्ञानको निन्दा किन ?

मोहनजीले पुस्तकमा अहिलेसम्मका वैज्ञानिक निष्कर्षहरुको विरोध गर्नुभएको छ । उहाँले विज्ञानलाई अविद्या, मायावी, एवं भ्रमको संज्ञा दिनुभएको छ । डार्विनको क्रमिक विकासको सिद्धान्तको पनि उहाँले विरोध गर्नुभएको छ ।

विज्ञानलाई भ्रम ठानेर पत्याउन नमिल्ने तर मोहनजीका भनाइलाई चाहिँ सत्यवचन (बुद्धपुरुषको वचन) मानेर पत्यादिनुपर्ने ! उहाँ ब्रह्मज्ञानी जस्तै बनेर भन्नुहुन्छ, ‘जैविक दृष्टिमा भौतिक संसार हाम्रो मष्तिष्क बाहिर हामीले अवलोकन गर्न सक्ने गरी स्वतन्त्र अस्थित्ववान् छ भन्नु भ्रम हो । बरु यसको ठीक उल्टो हाम्रा इन्द्रीयहरुचाहिँ त्यस्ता छन्, जसले स्वतन्त्र संसारको भ्रम सिर्जना गर्दछन् । यिनीहरुले संसारको स्थूल पक्षमात्र देख्छन् । हामीलाई स्थूल यथार्थ नै सबथोक हो भन्ने भ्रम छ । …यो अविद्या हो ।’

वैज्ञानिक अन्वेषण एवं यान्त्रिक विज्ञानमाथिको अविश्वास, बुद्ध पुरुषहरुमाथि आँखा चिम्लेर विश्वास अनि शून्यमाथि निरपेक्ष, प्रश्नहीन विश्वास । मोहनजीको जैविक दर्शनशास्त्रको सार यही हो । के यो सार सही छ त ? यस्तो सारले विश्वका संकटहरु समाधान गर्छ ? यो लेखकमाथि तेर्सिएको यक्ष प्रश्न हो ।

विज्ञानको यतिविधि विरोध त हिन्दुधर्मशास्त्रले पनि गरेको छैन । श्रीमद्भागवत गीताको १८ औं अध्यायको ४२ श्लोकमा भनिएको छ-

‘शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च। ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम्।।

अर्थात् शान्तिमयता, आत्म संयम, तपस्या, पवित्रता, शहनशीलता, इमान्दारिता, ज्ञान, विज्ञान र धार्मिकता यी ब्राह्मणका स्वाभाविक गुण हुन् ।

त्यस्तै संस्कृतकोषमा भनिएको छ- विज्ञानं कर्मणे ज्ञान । अर्थात विज्ञान कर्मको ज्ञान हो ।

विज्ञान पदार्थहरुका तत्वको विवेचना गरिएको शास्त्र/भौतिक शास्त्र हो । विज्ञान शिल्पशास्त्र एवं प्राविधिक विद्या हो भन्ने कुरा नीलमणि ढुंगानाको संस्कृत–नेपाली शब्दकोशमा उल्लेख गरिएको छ ।

अमरकोशमा भनिएको छ – मोक्षे धीर्ज्ञानमन्त्रय विज्ञानं शिल्पशास्त्रयो । अर्थात, मोक्ष ब्रह्मज्ञानको विषय हो भने विज्ञान शिल्पशास्त्र विषय हो ।

यसरी शास्त्रले समेत भौतिक विज्ञानलाई सम्मानजनक स्थान दिएको अवस्थामा लेखक तिम्सिना चाहिँ किन भौतिक विज्ञानप्रति यति साह्रो नकारात्मक ?

लेखकले भौतिक विज्ञानलाई न्याय गरेजस्तो लागेन । निन्दा बढी भयो, त्यसको सकारात्मक पक्षको चर्चा कम भयो । भौतिकवादको आलोचना जो गरिएको छ, त्यो पनि अधिभूतवादमाथि सीमति रहेर गरिएको छ । दर्शनशास्त्रको दृष्टिकोणबाट भौतिकवादका पनि विभिन्न अवयवहरु छन् । जस्तो– यान्त्रिक भौतिवाद, अधिभूतवाद, द्वन्द्वात्मक भौतिकवाद इत्यादि । तर, लेखकले पुस्तकमा संकीर्णअर्थमा मात्रै लिएर भौतिकवादको आलोचना गरेको देखिन्छ ।

मनोविज्ञान र चेतन पक्षको अध्ययनमा पनि भौतिकवादले अरुची राखेको छैन । स्वयं कार्लमार्क्स र एङ्गेल्सले समेत यसमा बारम्बार जोड दिएको देखिन्छ । पछि सोभियत संघमा मनको विज्ञानमाथि धेरै नै विवेचना भएको पाइन्छ । उता सिग्मन फ्रायडले पनि मनको वैज्ञानिक अध्ययन र विश्लेषण गरेका छन् । शल्यक्रियाको समयमा सम्मोहनको विकल्पमा एनेस्थेसियाको विकल्पका सर्जन यिनै फ्रायडलाई मानिन्छ । त्यसर्थ पश्चिममा चेतनको अध्ययन नै भएन, केवल स्थूल शरीरको अध्ययन मात्र भयो भन्ने आरोप पूर्वाग्रही देखिन्छ ।

राजनीतिशास्त्रमा खोटो निष्कर्ष

जब दर्शनशास्त्रमै अलमल हुन्छ, त्यसले राजनीतिशास्त्र, न्यायशास्त्र, समाजशास्त्र सबैलाई हान्छ ।

पुस्तकमा मोहनजीले मानिसहरुलाई सर्वसाधारण र बुद्धपुरुष (महिला होइन) मा विभाजन गर्न खोज्नुभएको छ । राजनीति गर्ने अधिकार पनि सर्वसाधारणलाई नभएर राजनीतिक गुणधर्म भएका (जुन गुण उनीहरुले जन्मँदै लिएर आएका हुन्छन्) ले मात्रै गर्नुपर्छ भन्ने उहाँको सिफारिस छ । ती राजनीतिज्ञहरुले तपस्वी एवं बुद्ध पुरुषहरुको वचनको पालना गर्नुपर्छ भन्ने मोहनजीको निष्कर्ष छ ।

मोहनजीको राजनीतिशास्त्रले भन्छ, ‘हामीले समाजमा बुद्धपुरुषको उपस्थितिको सम्भावनालाई स्वीकार गर्नुपर्दछ । बुद्धपुरुषहरुलाई मात्र राजनीतिमा त्यस्तो प्राधिकार नेतृत्व स्वीकार गर्नुपर्दछ ।’

आखिर को रहेछ त्यो ब्रह्मज्ञानी बुद्धपुरुष ? शायद मोहनजी आफैं पो हो कि ? उहाँ ठोकुवाका साथ ज्ञान बाँड्नुहुन्छ, ‘शून्यबाट नाटकीय ढंगले संसारको सृष्टि भयो । ….भौतिक संसार मात्र यथार्थ होइन, अभौतिक शून्य पनि यथार्थ हो । अझ शून्य नै सारा भौतिकताको मूल हो । तर, शून्यका सम्बन्धमा प्रश्न उठाउन सकिँदैन ।… यो निरपेक्ष परिघटना हो । …पदार्थले चेतना जन्माउने होइन, चेतनाले पदार्थ जन्माउने पनि होइन । …यी दुबैलाई निरपेक्ष शून्यले जन्माउँछ ।’

यहाँनेर बेलायती ‘साधु संसद’ को याद आउँछ ।

बेलायतमा राजा मारेर करिब ११ वर्ष ‘गणतन्त्र’ चलाएका क्रमबेलले साधुहरुबाट शासन चलाउने विचार गरे । उनले चर्चहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रका योग्य, ईश्वरमा आस्था राख्ने, विश्वासी एवं लोभलालच नभएका साधुहरुहरुको रोष्टर तयार पार्न लगाए । र, सोही आधारमा सन् १६५३ जुलाई ५ मा १४० जना प्यूटिरियन (साधु) हरुलाई सांसद मनोनित गरे ।

साधुहरुको संसदले उपद्रो मच्चाउन थाल्यो । अदालत र वकालती पेसासमेत खारेज गरिदियो । सेना पनि चाहिँदैन भन्न थाल्यो । मनपरी विधेयकहरु पास गर्न थालेपछि समाजमा असन्तोष चुलियो । अन्ततः साधुहरु आदर्शवादी भए पनि अव्यवहारिक र स्वप्नद्रष्टा हुने भएकाले यिनीहरुबाट शासन चल्दैनरहेछ भन्ने पुष्टि भएपछि क्रमबेलले गल्ती भयो भनेर आत्मालोचना गर्दै पाँच महिनापछि ‘साधु संसद’ भंग गरिदिए ।

यता मोहन तिम्सिनाजी चाहिँ बेलायतले असफल अभ्यास गरेको चारसय वर्षपछि जैविक अर्थात् अर्ग्यानिक दर्शनको हवाला दिँदै ‘तपस्वी’ एवं ‘बुद्ध पुरुष’ हरुमा राजनीतिको प्राधिकार सुम्पनुपर्ने निष्कर्षमा पुग्नुभएको छ । शायद  मोहनजीले भनेजस्तो भारतका नरेन्द्र मोदी बुद्धपुरुष हुन सक्लान् कि ? किनभने धार्मिक राष्ट्र घोषणा हुनुपर्ने मोहनजीको माग छ ।

५० वर्षको उमेरमै सक्रिय राजनीति छाड्नुपर्छ भन्ने मोहनजीको निष्कर्षलाई मान्ने हो भने ५० वर्षको वरपर रहेका रवि लामिछाने, स्वर्णिम वाग्ले, गगन थापा, शंकर पोखरेल, योगेश भट्टराई, रामकुमारी झाँक्रीले अब राजनीतिबाट सन्यास लिनुपर्ने बेला भयो   

५० वर्षको उमेरमै सक्रिय राजनीति छाड्नुपर्छ भन्ने मोहनजीको निष्कर्ष पनि व्यवहारिक छैन । मोहनजीको भनाइलाई मान्ने हो भने ५० वर्षको वरपर रहेका रवि लामिछाने, स्वर्णिम वाग्ले, गगन थापा, शंकर पोखरेल, योगेश भट्टराई, रामकुमारी झाँक्री आदिले अब राजनीतिबाट सन्यास लिनुपर्ने बेला भयो । के मोहनजीको उमेरसम्बन्धी यो हदबन्दी पूर्वीय दर्शनको चार आश्रमसम्बन्धी मूल्यसँग मेल खान्छ ?

पूर्वीय दर्शनले ५०–७५ को उमेरलाई वानप्रस्थ भनेको छ । यसको अर्थ ५० वर्षपछि गृहस्थीबाट मुक्त हुने भनेको हो, समाजबाट भाग्ने भनेको होइन । समाजबाट मुक्त हुने त ७५ पछिको सन्यास आश्रममा मात्र हो । हुन सक्छ, राजनीतिबाट सन्यास लिन ६५/७० बाटै थाल्दा होला । तर, मानिसले आफ्नो अनुभवका आधारमा काम गर्न सक्ने ५० वर्षकै उमेरमा राजनीतिबाट भाग्ने हो भने देशको नेतृत्व अपरिपक्व मानिसको हातमा जान सक्छ । खासमा, ५० वर्षको उमेर राजनीति छाड्ने होइन, थाल्ने बेला हो ।

भनिन्छ, मानिस ५०/६० वर्षको उमेरमा फेरि एकचोटि युवाजस्तै उन्मुक्त बन्छ । ऊसँग छोराछोरी हुर्काउनुपर्ने दायित्व सकिएको हुन्छ । ऊ गृहस्थीबाट मुक्त भएर देश र समाजका लागि पूर्णक्षमतामा योगदान गर्न सक्ने अवस्थामा पुग्छ । त्यसर्थ, कुनै पनि देशले उन्नति गर्ने हो भने यो उमेर समूहका मानिसहरुबाट राज्यले सक्रियरुपमै पूर्णक्षमतामा काम लिनुपर्छ ।

अर्ग्यानिक दर्शन या भारतबाट आयातीत ?

देशमा नयाँ दर्शन र विचारधारासहितको नयाँ राजनीतिक शक्ति आवश्यक छ भन्ने पृष्ठमूभिबाट आउनुभएका मित्र मोहन तिम्सिनाको ‘जैविक दर्शन’ पुस्तकले नेपालकै माटोमा हुर्केको कुनै अर्ग्यानिक विचारलाई संश्लेषण गरेको होला भन्ने मेरो पूर्वविश्वास थियो । उहाँले संसारभरका मानवजातिले आर्जन गरेको ज्ञानको सोपानलाई आत्मसाथ गर्दै नयाँ ईंटा थप्नुभएको होला भन्ने लागेको थियो ।

तर, पुस्तक पढिसकेपछि उहाँले संसारभरको अहिलेसम्मको ज्ञानलाई खारेज गर्दैै भारतीय शून्यवादी/आर्दशवादी दर्शनलाई नै ‘अर्ग्यानिक माल’ बताएर बेच्न खोजेको प्रतीत भयो । यसमा या त लेखक गलत छन्, या म गलत छु ।

हामी नेपालीहरुको दुःख नै यही छ कि हामी भूगोलका हिसाबले मात्र भारतवेष्ठित छैनौं, ज्ञान र विचारधाराका हिसाबले पनि भारतवेष्ठित नै छौं ।

अर्थतन्त्रमा हामीले भारतसँग व्यापार घाटा व्यहोरिरहेका छौं । वस्तु व्यापारमा मात्र होइन, विचार र दर्शनका हिसाबले पनि हामी आत्मनिर्भर हुन सकेका छैनौं । हामी नेपालीहरु भारतीय जोगीलाई ज्ञानी, योगी एवं भगवान् मान्छौं र घर–घरमा पूजा गर्छौं । साइबाबा, पाइलटबाबा, ओशो, कृपालुजी महाराज, रविशंकर, रामदेव, सदगुरु लगायतका भारतीय आध्यात्मिक गुरुजीहरुका बिजनेश नेपालमा सञ्चालित छन् । नेपालीहरु उनीहरुका कार्यकर्ता बन्न पाउँदा मख्ख पर्छौं । सदस्य बन्छौं, पैसा र नैवेद चढाउँछौं, परापूर्वकालदेखि चढाउँदै आएका छौं ।

विडम्बना के छ भने नेपालका हिन्दुहरुका भगवानसमेत भारतीय छन्, चाहे ती रामचन्द्र हुन् या कृष्ण । हामीले अपनाउँदै आएका पन्थ र सम्प्रदाय पनि भारतकै हुन् चाहे ती वैष्णव हुन् या कृष्ण परणामी ।

भारतीयहरुका शून्यवादी विचार हामी नेपालीलाई वैज्ञानिकका भन्दा सत्य र उत्कृष्ट लाग्छ । अनि हामी भन्छौं, पाश्चात्य विज्ञान भन्दा हाम्रो (खासमा यो हाम्रो होइन) आध्यात्वादी दर्शन राम्रो छ, हामीले नै पुष्पक विमान आविष्कार गरेका हौं आदि–इत्यादि ।

हिजो हाम्रा हजुरबाहरु बनारसबाट वर्णवादी ज्ञान लिएर नेपाल फर्किए । के हामी नातिपुस्ताले पनि अब कम्युनिस्ट विचारबाट स्खलित भएर हजुरबाकालीन उही पुरानै विचारलाई नै महान देख्न थालेका हौं ? लेखक तिम्सिनामाथि प्रश्न उब्जिएको  छ । किनभने, हिजोसम्म उहाँ आफूलाई खाट्टी मार्क्सवादी बताउँदै हुनुहुन्थ्यो । के अब उहाँ ‘अर्ग्यानिक दर्शन’ भन्दै उही भारतीय शून्यवादको पछिल्लो आयातकर्ता बन्नुभएको हो ? उहाँ ओशो र सदगुरुको ‘सुडो साइन्स’ लाई नेपाली भाषामा घोल्नेतिर लाग्नुभएको हो ? यो आशंका गलत सावित होस् ।

नेपालभित्रै अर्ग्यानिक दर्शनको खोजी गर्ने हो भने यहाँ धेरै राम्रा मौलिक विचार र चिन्तनहरु पाइन सक्छन् । र, यही नेपाली मौलिकताका आधारमा मौलिक दर्शनको प्रादूर्भाव गर्न सकिन्छ । तर, लेखक काठमाडौंको नेवारी सभ्यताभित्र पस्नुभएकै छैन । मुन्धुम, माङ अनि तामाङको मिथकबारे हल्का प्राशंगिक चर्चासम्म गरेता पनि नेपालका भूमिपुत्रहरुको सभ्यता र संस्कृतिभित्र गहिरो गरी पसेर जीवन दर्शनको मौलिकता खोजी गर्ने काम गरेको देखिँदैन ।

पश्चिम नेपालको खस सभ्यतामाथि पनि विचरण गरेकै देखिँदैन । मधेस र थरुहटलाई पनि सम्झेको देखिन्न । खासमा भन्ने भने नेपालको जैविकतामाथि विचारै नगरी वेद, गीता अनि ओशो, सदगुरु र काप्राका निष्कर्षहरु सापटी लिएर यसैलाई ‘अर्ग्यानिक दर्शन’ भन्न खोजिएको देखिन्छ । के यो नेपालको मौलिक एवं अर्ग्यानिक विचार नै हो त ? अथवा भारतीय शून्यवाद र आस्तिकवादका शब्दहरुको तदभव रुप मात्र हो ? यसको जवाफ लेखकलाई सोध्नुपर्ने भएको छ । के ‘अर्ग्यानिक’ भनेर ‘बोइलर विचार’ खपत गर्न मिल्छ ?

कस्तो धार्मिक राष्ट्र बनाउने ?

मोहनजीले पुस्तकमा ‘धार्मिक राष्ट्र’ स्थापना गरिनुपर्ने बताउनुभएको छ । धर्मलाई राज्यबाट अलग गर्नुपर्छ भन्ने आधुनिक राजनीतिशास्त्रप्रति उहाँको विमति देखिएको छ । आखिर कस्तो धार्मिक राष्ट्र बनाउने ?

कुन धर्मको राष्ट्र खडा गर्ने ? पुस्तक मौन छ ।

जैविक दर्शनको व्याख्या गरिरहँदा, पश्चिमा विचारको विरोध गरिरहँदा, पश्चिमी भौतिकवादले संसारलाई संकटमा पार्‍यो भनिरहँदा, अनि धार्मिक राष्ट्र स्थापना हुनुपर्छ भनिरहँदा हिन्दु, बौद्ध र किरातबाहेक पुस्तकमा अन्य धर्मको चर्चा गरिएको छैन । पुस्तकमा ईसाई, यहुदी, र ईस्लाम धर्मबारे बोलिएको छैन । उहाँले भन्न खोज्नुभएको ‘धार्मिक राष्ट्र’ र अरबका मुस्लिम राष्ट्रबीच के तादाम्य छ ? पुस्तक यसबारे मौन छ । मोदीको ‘हिन्दुवाद’ र तिम्सिनाजीको ‘धार्मिक राष्ट्र’बीच के फरक छ ? पुस्तकमा स्पष्ट व्याख्या छैन ।

विश्वको करिब ८ अर्ब जनसंख्यामध्ये करिब ३० प्रतिशत क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान गरिन्छ । थप २५ प्रतिशत इस्लाम धर्मावलम्बीहरु छन् । ईसाई र इस्लाम मात्रै जोड्दा बहुमत अर्थात् ५५ प्रतिशत हुन जान्छ । बाँकी रहेकामध्ये करिब १५ प्रतिशत हिन्दु र ६ प्रतिशत बौद्ध धर्ममा आस्था राख्नेहरु छन् । बाँकी १५ प्रतिशत अन्य धर्मावलम्बी वा नास्तिकहरु छन् । यस्तो अवस्थामा केवल २० प्रतिशत मानिसको प्रतिनिधित्व गर्ने धर्मशास्त्रको मात्र व्याख्या गरेर सिंगै संसारलाई हेर्ने दर्शन प्रत्युत्पादन गरें भन्न मिल्ला ?

विश्वमा भौतिकवादले संकट सिर्जना गर्‍यो भनिरहँदा अहिले मध्यपूर्वमा भइरहेको यहुदी र मुस्लिमबीचको युद्धमा दोष कसको ? धर्मको या भौतिकवादको ? संसारका अधिकांश द्वन्द्वहरु भौतिक वस्तुको प्राप्तिका लागि मात्र नभएर धर्मका नाममा, ईश्वरका नाममा भइरहेका छन् । भारतमा हिन्दु–मुस्लिम दंगामा मानिसहरु मर्ने गरेका छन्, यसमा दोष कसको ? भौतिकवादको या धर्मको ? धार्मिक राष्ट्र स्थापना गर्दा कसरी समस्या समाधान हुन्छ ? यसको व्याख्या गर्न तिम्सिनाजीले छुटाउनुभएको छ ।

अन्त्यमा,

यी त भए मोहनजीमाथि उब्जिएका वैचारिक एवं दार्शनिक प्रश्नहरु । तर, उहाँले यो पुस्तक लेखेर केही सकारात्मक काम गर्नुभएको छ ।

डा. बाबुराम भट्टराईले भनेजस्तै मोहन तिम्सिना अन्त्यन्तै प्रभावशाली चिन्तक एवं अध्येता हुनुहुन्छ । उहाँले निकै मिहेनत गरेर यो पुस्तक लेख्नुभएको छ । र, यो पुस्तक दर्शनमा रुची राख्नेहरुका निम्ति एक प्रकारको विश्वकोषजस्तै छ । ३८८ पेजको किताबमा उहाँले प्राचीनकालदेखि अहिलेसम्म संसारमा जे–जति दर्शनहरु छन्, तिनीहरुको संक्षिप्त परिचय राख्ने प्रयास गर्नुभएको छ ।
पुस्तकको यो भन्दा पनि महत्वपूर्ण योगदान अर्को छ ।

भौतिक विज्ञान जसरी समाज विज्ञानका कुनै पनि विधामा शतप्रतिशत सत्य हुँदैन । समाजशास्त्र, दर्शनशास्त्र वा राजनीतिशास्त्रको सीमा भनेको यो एउटा दृष्टिकोण मात्रै हो । जस्तो– मार्क्सले उत्पादन सम्बन्धलाई प्रधान माने । फ्रायडले अवचेतन मनलाई प्रधान माने । कान्टले अहमलाई प्रधान माने । वेदान्त दर्शनले ब्रह्मलाई प्रधान मान्यो । बुद्धले शून्यलाई प्रधान माने । तर, हरेक दार्शनिकले गरेका यी व्याख्या पूर्ण सत्य होइनन्, उनीहरुको ‘एप्रोच’ मात्रै हो ।

यति हुँदाहुँदै पनि मूलतः पश्चिमा दार्शनिकहरुले आफ्नो विचारलाई एउटा निश्चित नाम दिएर आफूबाट प्रतिपादित सिद्धान्त भन्ने गरेका छन् । त्यो माल्थसको जनसंंख्या सिद्धान्त होस् या केल्सनको विधिशास्त्र । या डार्विनको क्रमिक विकासको सिद्धान्त होस् या मार्क्सको गुणात्मक विकास (छलाङ) सिद्धान्त नै किन नहोस् ।

हाम्रो नेपालमा चाहिँ जतिसुकै ठूला विद्वानहरु जन्मे पनि उनीहरुले आफ्नो ज्ञानलाई संश्लेषण वा सामान्यीकरण गरेको पाइँदैन । हामीकहाँ धेरै विज्ञहरु छन् तर उनीहरुको विचार के हो ? उनीहरुको ‘एप्रोच’ के हो ? पढ्न, सुन्न पाइन्न ।

तथापि राजनीतिमा भने बीपी कोइरालाले ‘प्रजातान्त्रिक समाजवाद’ र मदन भण्डारीले ‘बहुदलीय जनवाद’ भनेर आफ्नो ज्ञानलाई सैद्धान्तीकरण गर्ने हलुका प्रयास गरेको पाइन्छ । अन्यथा, नेपालका विज्ञ वा प्राज्ञहरुसँग आफ्नो भन्ने कुनै विचार, दर्शन वा सिद्धान्त छैन । उनीहरु अरुकै टिप्पणी गरेर मर्ने गरेका छन् ।

यस्तो अवस्थामा मोहन तिम्सिनाजीले आफ्नो विचारलाई ‘जैविक दर्शन’ को नाममा संश्लेषण गर्ने प्रयास गर्नुभयो । यसलाई पश्चिमा दार्शनिकहरुले बसाएको ज्ञान परम्पराको अभ्यासका रुपमा लिन सकिन्छ । यही कारण उहाँले इटालीमा दार्शनिकहरुको सम्मेलनमा सहभागी हुने चाहना राख्नुभयो, जुन नेपालको हकमा नयाँ प्राज्ञिक प्रयास हो । यस अर्थमा मोहनजीको ‘जैविक दर्शन’ पुस्तकलाई एउटा सकारात्मक प्राज्ञिक थालनी मान्न सकिन्छ ।

तर, आफूलाई लागेका कुरा व्यक्त गर्दैमा त्यो ‘दर्शनशास्त्र’ भइहाल्दैन । दर्शन बन्नका लागि केही मानकहरु पूरा हुनैपर्छ । त्यो मौलिक र नवीनतम हुनैपर्छ । अरुले आविष्कार गरेको भन्दा फरक हुनुपर्छ ।

दर्शन सर्वव्यापी, सर्वदेशीय र सर्वकालिक हुनुपर्दछ । विश्वभर सामान्यीकरण गरेर हेर्न सकिने किसिमको हुनुपर्दछ । यी विशेषताहरु नभइकन नयाँ दर्शनशास्त्र जन्मिएको दाबी गर्न मिल्दैन । मोहनजी यसमा चुक्नुभएको आभाष हुन्छ । अथवा उहाँले हतार पो गर्नुभयो कि ? आगामी संस्करणमा पक्कै पनि कमी कमजोरीहरु सच्चिएलान् ।

दु:खको कुरा त यो छ कि मोहनजी भन्नुहुन्छ,’जैविक दृष्टिमा भौतिक संसार हाम्रो मष्तिष्क बाहिर हामीले अवलोकन गर्न सक्ने गरी स्वतन्त्र अस्थित्ववान् छ भन्नु भ्रम हो । बरु यसको ठीक उल्टो हाम्रा इन्द्रीयहरुचाहिँ त्यस्ता छन्, जसले स्वतन्त्र संसारको भ्रम सिर्जना गर्दछन् । यिनीहरुले संसारको स्थूल पक्षमात्र देख्छन् ।’

त्यसो हो भने त किताबै किन पो लेख्ने ? हाम्रा इन्द्रीयहरुले भ्रम बाहेक अर्थोक देख्न र  लेख्न नसक्ने रहेछन् !

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ६ : ०४ बजे

‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ आजदेखि

काठमाडौं– ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन आजदेखि सुरु हुँदैछ ।

यु–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण सुरु

चितवन– महिला यु–१९ विश्वकप क्रिकेटको लागि नेपाली टिमको बन्द प्रशिक्षण

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेख– दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको

‘हामी नेपालीमा ट्राफिक नियम पालना गर्ने चेत छैन’

आधुनिक शहरहरूमा ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । शहरलाई

चितवनको मेघौलीमा रैथाने खाना महोत्सवको आयोजना

चितवन– भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ को अवसरमा राष्ट्रिय रैथाने