देश/प्रदेश

हुम्लाका किसानलाई अन्नबाली भित्र्याउने चटारो

By खबरहब

October 14, 2024

सिमकोट – हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तीन दिनदेखि सुनसान छ । बडादसैँमा गाउँ फर्केकाहरू टीका सकिए पनि सदरमुकाम फर्किन बाँकी रहेकाले सुनसान भएको हो ।

दसैँमा पहिलो पटक सिमकोट बजार यति धेरै सुनासान देखिएको स्थानीय व्यापारी बताउँछन् । सदरमुकाममा तल्लो र माथिल्लो गाउँका केही सर्वसाधारण मात्रै भेटिने गरेका छन् । बजारका व्यवसायी, कर्मचारी, शिक्षक र विद्यार्थी दसैँ मनाउन घर गएका छन् । 

दसैँमा खुलेका पसलमा पनि ग्राहक नआएको सदरमुकाममा पसल गर्दै आएका नरेन्द्र भण्डारीले बताए। सदरमुकाम सुनसान हुनुको कारण स्थानीयलाई कात्तिकमा पाक्ने अन्नबाली भित्र्याउने चटारो रहेको स्थानीय मुकुन्द रोकायाले बताए।

छ महिनाको लगानी खेर जाने चिन्ताले पनि दसैँभन्दा कामलाई बढी प्राथमिकता दिँदा दसैँले नछोएको रोकायाको भनाइ छ । ‘अहिले खेतमा पाकेको फल घर नभित्र्याए हिउँदको छ महिना कसरी घर गुजारा गर्ने’, उनले भने।

अष्टमीको दिन दसैँ मनाएर हिउँदमा पशुपक्षीका लागि घाँसको बन्दोबस्त गर्न र अन्नबाली भित्र्याउन व्यस्त भएको सिमकोट गाउँपालिका–२ बदुम बोहराले बताए। यहाँका गाउँमा चिनो, कागुनो, कोदो, सिमी पाकेकाले भित्र्याउनमा स्थानीयवासी व्यस्त भएका हुन् ।