आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा « Khabarhub

आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज साँझदेखि जात्रा सुरु भएको छ । जात्राअन्तर्गत आज साँझदेखि बौद्ध धर्मावलम्बीले नमोबुद्धमा पितृको सम्झानामा ‘दीप प्रज्वलन’ गर्दछन् ।

कात्तिक शुक्ल पूर्णिमा तिथि अर्थात् शुक्रबार दिनभरि बत्ती बाल्ने गरिन्छ । जात्राअन्तर्गत आज रातिदेखि शनिबार बिहानसम्म मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गर्नेहरूको घुइँचो लाग्ने गरेको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिए । उनका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्ती बालिरहने गरिन्छ ।

“बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यताअनुसार यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा छ”, लामाले भने । उनका अनुसार पितृमोक्ष तथा आत्मा शान्तिका लागि बत्ती बाल्ने गरिएको हो ।

पूर्णिमाको दिन भने शान्तिका प्रतीक गौतमबुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रूपमा मानिन्छ । उक्त दिन दर्शनार्थीको घुइँचो अन्य दिनभन्दा बढी हुने अध्यक्ष लामाले उल्लेख गरे ।

“किंवदन्तीअनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको थियो । द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडेर बनाइएको चैत्य, जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मालम्बीको घुइँचो लाग्ने गर्दछ”, उनले भने । मेलामा बर्सेनि करिब एक लाखले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

विशेषगरी तामाङ र नेवार समुदायका धर्मावम्बीहरूले मेला भर्ने गरेको नमोबुद्धका मूल लामा गुरु कान्छा लामाले बताए । उनका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए ।

सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको लामागुरु लामाले बताए। “पाँच डमरु जन्माएका बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो”, उनले भने । उनका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताएका थिए । “तत्पश्चात् राजारानी शङ्खेश्वरी अजि–अजिमाको नामले चिनिँदै आउनुभएको हो”, लामागुरुले भने ।

विसं ९७४ मा गन्धमान पर्वतको टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तुपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ । उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृष्य कुँदिएको मूर्ति छ ।

स्थानीय राकेश लामाका अनुसार जात्रा–मेलाबाहेक पनि नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गर्दछ । मेलामा यस वर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायतबाट सहभागिता रहने अनुमान गरिएको छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १० : २९ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु