लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क « Khabarhub

लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ । साँझ नपर्दै हात्तीको बथान बस्तीमा छिरेर घर भत्काउने, घरभित्र राखेका अन्न, खेतमा लगाएको उखुबाली खाएर नोक्सानी पुर्‍याउन थालेकाले ज्यान जोगाउन समस्या भएको स्थानीयको गुनासो छ ।

गाउँपालिकाको वडा नं ३ र ४ मा हात्तीको बथानले उखुबालीमा ठूलो क्षति पुर्‍याएको छ । एक महिनादेखि लालझाडी संरक्षण क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छुट्टाछुट्टै समूहमा आउने हात्तीले क्षति पुर्‍याउन थालेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । ‘हात्तीको आक्रमणमा परेर एक जनाले ज्यान गुमाइसकेका छन् । स्थानीय बासिन्दाका आधा दर्जन बढी घर भत्काइदिएको छ, घरभित्र राखेको अन्न खाएर बिजोग बनाएको छ’, उनले भने ।

केही दिनअघि हात्तीले आक्रमणबाट स्थानीय रामदल रानाको ज्यान लिएपछि स्थानीय बासिन्दा भगाउनका लागि डराउने गरेका हुन् । एक महिनाको अवधिमा हात्तीको बथानले स्थानीय किसानको ८० बिघा बढी क्षेत्रफलमा लगाएको उखुबाली खाएर पूर्ण रूपमा क्षति पुर्‍याएको अध्यक्ष रानाको भनाइ छ ।

उनका अनुसार सिगलपट्टिमा तीन घर, दुई गोठ, पर्सियामा दुई घर, डुङ्गामा एक घर भत्काएर पूर्ण क्षतिग्रस्त बनाइदिएको छ । किसानले बैंकबाट कर्जा लिएर गरेको उखुबाली हात्ती सखाप पारेको उल्लेख गर्दै अध्यक्ष रानाले स्थानीयलाई जीउज्यान जोगाउन मुस्किल हुन थालेको बताए।

गाउँपालिकाको वडा नं ३ का किसान खडक चौधरीले एक बिघा जग्गामा लगाएको पूरै उखुबाली हात्तीले नोक्सानी गरेपछि सहकारीबाट खेती गर्दा लिएको कर्जा तिर्न समस्या भएको बताए ।

हात्तीले लालझाडी संरक्षण क्षेत्रमा भर्खरै छावा (बच्चा) जन्माएकाले त्यो क्षेत्र छाडेर नजाने गरेको वडा नं ३ का अध्यक्ष टीकाराम चौधरीले बताए । उनका अनुसार दिउँसोपख बस्ती नजिकैको वनक्षेत्रमा रहने हात्ती साँझ नपर्दै उखुबारीमा पस्ने गरेका छन् । वडामा हालसम्म हात्तीको बथानले ३५ जना किसानको २० बिघा जग्गाको उखुबालीमा व्यापक नोक्सानी गरेको उनले बताए ।

वडा नं ४ का अध्यक्ष बहादुर राना स्थानीय बासिन्दाको घर, उखुबाली, तोरीबाली जोगाउन स्थानीय बासिन्दासँगै रातभर जाग्राम बसेर हात्ती भगाउने कार्यमा सङ्लग्न रहँदै आएको बताए । थप क्षति हुनबाट जोगाउन हात्ती नियन्त्रण गरी जीउधनको सुरक्षा गरिदिनका लागि उनले सुरक्षा निकायसँग अनुरोध गरेका छन्‌ । रासस

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : ०५ बजे

बाल संरक्षणसम्बन्धी नीति, तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घरदैलोमा पुर्‍याउन सुरू

काठमाडौं- नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप