डेराबाटै निकालिए ‘लिभिङ टुगेदर’ जोडी | Khabarhub Khabarhub

डेराबाटै निकालिए ‘लिभिङ टुगेदर’ जोडी

कानून बनाएर बैधानिकता नदिए दुर्घटना निम्तिन सक्छ


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

विपरीत लिंगका वा एउटै लिंगका दुई व्यक्तिहरु आपसी समझदारी र सम्झौता अनुसार (बिहे नगरी) एउटै भान्छा र एउटै बेडरुम सेयर गरेर श्रीमान-श्रीमतीकै रुपमा रहेको अवस्थालाई हामी लिभिङ टुगेदर भन्छौं । लिभिङ टुगेदरको नेपाली अर्थ खोज्यो भनेचाहिँ भेटिँदैन रहेछ ।

लिभिङ टुगेदरलाई को–ह्याबिटेसन भनिँदोरहेछ । कतै–कतै सहबास भनेर प्रयोग गरिएको छ । तर, लिभिङ टुगेदर भनेको सहबास हो भन्ने म स्वीकार्दिनँ । सहबास भनेको साँघुरो अवधारणा हो । लिभिङ टुगेदर भनेको एकदमै ‘बोल्ड’ अवधारणा हो ।

नेपालको ग्रामीण क्षेत्रमा त लिभिङ टुगेदर छँदै छैन । लिभिङ टुगेदरमा बस्ने शहरी जनसंख्या धेरै छ । तर, शहरका मान्छे भन्दा पनि बाहिरबाट शहरमा आएकाहरु लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ ।
शहरका कतिपय मान्छेहरुमा कस्तो पाइयो भने काठमाडौंको नयाँ बसपार्कमा घर छ भने भक्तपुर गएर लिभिङमा बस्ने । तर, बढीचाहिँ काठमाडौं बाहिरबाट आउनेहरु नै लिभिङ टुगेदरमा बसेको भेटियो । काठमाडौंको केही–केही केसहरु मात्र भेटियो ।

बाहिरबाट पढ्नका लागि काठमाडौं आएका विद्यार्थीहरु र काठमाडौं नजिकैका जिल्लाबाट भागेर काम गर्न आउने कम उमेरका किशोर–किशोरीहरु लिभिङ टुगेदरमा बस्ने गरेको पाइयो । केटी मान्छेहरु होटलमा काम गर्ने अनि साहुसँगै बस्ने । वा, अर्को विवाहित मानिससँग बस्ने । यस्ता केसहरु पनि पाएँ मैले अनुसन्धान गर्दा ।

आखिर यसले समाजलाई कता लैजान्छ ? यसले दुर्घटना निम्त्याउन सक्छ । त्यसैले कानून बनाएर विवाहित व्यक्ति एवं कम उमेरकोलाई लिभिङमा टुगेदरमा बस्न नदिने व्यवस्था गर्न जरुरी छ ।
कम उमेरमा हुने सहमतिकै सम्बन्धलाई पनि कानूनले बलात्कार नै मान्छ । त्यसर्थ, यो उमेर समूहका बच्चाहरुको संरक्षण गर्न जरुरी छ । श्रीमतीहरुले अनाहकमा मर्नुपर्दैन । यसकारण मैले लिभिङ टुगेदरलाई बैधानिकता दिइनुपर्छ भन्ने इस्यु उठाएकी हुँ ।

नेपालमा लिभिङ टुगेदरलाई नियमन गर्ने कुनै पनि कानून छैन । यसले गर्दा धेरै समस्या आएका छन् । लिभिङ टुगेदरलाई सम्वोधन गर्ने कानून नभएपछि अरु–अरु कानून खोजेर उपचार खोज्न जानुपर्ने अवस्था छ ।

म एउटा बलात्कारसम्बन्धी केसलाई उदाहरण दिन चाहन्छु ।

सहमतिमा सम्बन्ध कायम भएकोलाई बलात्कार भयो भनेर जान मिल्दैन । तर, अहिले मसँग त्यस्ता दुई–तीनजना ‘क्लाइन्ट’हरु छन् । उनीहरुमाझ सहमतिमा शारीरिक सम्बन्ध कायम भएको छ । उनीहरु लिभिङ टुगेदरको सम्बन्धमा छन् । तर, यसलाई सम्वोधन गर्ने कानून नभएपछि केटाले बेइमानी गरेको अवस्थामा केटीहरु मलाई बलात्कार भयो भनेर आइरहेका धेरै केसहरु छन् ।

लिभिङ टुगेदरमा बसेको कारणले मान्छेलाई मारेका मुद्दाहरु पनि छन् । ठूलो मान्छेले प्रेमिकाका कारण आफ्नी श्रीमतीलाई मारेको र आफू लिभिङ टुगेदरमा थिएँ भनेर स्वीकारेको केस पनि सर्वोच्च अदालतसम्म पुगेको छ ।

लिभिङ टुगेदरमा अहिले विवाह गर्ने उमेर नै नपुगेकाहरु पनि बसेका छन् । विवाहितहरु पनि बसेका छन् । तर, म कानूनले योग्य मानेको व्यक्तिलाई मात्र लिभिङ टुगेदरमा बसेको मान्छु । कानूनले योग्य भन्नाले १८ वर्षभन्दा माथिको हुनुपर्‍यो । अविवाहित हुनुपर्‍यो ।

मैले आफ्नो रिट निवेदनमा १६ वटा बुँदामा मागदाबी गरेकी छु । लिभिङ टुगेदरलाई लिएर कानून बनाउँदा के–के कुरा समेट्ने भन्ने यसमा राखेकी छु ।

पहिलो– १८ वर्षमाथिकालाई मात्र लिभिङ टुगेदरमा बस्ने अनुमति दिइनुपर्छ ।

दोस्रो– विवाहित र अविवाहित जो पनि अहिले लिभिङ टुगेदरमा बसेका छन् । विवाहितहरुलाई मान्यता दिइनुहुँदैन भन्ने मेरो मागदाबी छ । श्रीमती हुँदाहुँदै अर्की केटीलाई लिएर लिभिङमा बस्यो भने समाज विखण्डनतिर जान्छ ।

तेस्रो– मैले सम्पत्तिको कुराहरु पनि उठाएकी छु । लामो समय सँगै बसेकी छ भने केटीलाई पनि सम्पत्तिको अधिकार देऊ भन्ने मेरो मागदाबी छ । अन्तराष्ट्रिय अभ्यास पनि यही छ । भारतको अभ्यास पनि यही छ ।

चौथो– मैले वैयक्तिक गोपनीयताको कुरा गरेको छु । लिभिङ टुगेदरबाट केटा र केटी छुट्टिएपछि केटाहरुले भिडियो, फोटो लिक गर्दिने गरेका छन् । यसमा गोपनीयताको संरक्षण गरिनुपर्छ भन्ने मेरो मागदाबी हो ।

पाँचौं– लिभिङ टुगेदरमा सँगै बस्ने अनि केटाहरुविरुद्ध बलात्कारको मुद्दा लगाउने गरिएको छ । नेपालको सन्दर्भमा लिभिङ टुगेदरमा राख्नु भनेको बिहे गर्छु भनेरै हो । वीचैमा छाडियो भने त्यो त धोका त हो ।तर, त्यो बलात्कार होइन । धोका र बलात्कारमा फरक हुन्छ । बलात्कार भनेको त एकदमै जघन्य अपराध हो ।

लिभिङ टुगेदरमा बसेकाले धोका दियो भने उसलाई कारवाही गर्नुपर्छ, तर त्यही अनुसारको कारवाही गर्नुपर्छ । तर, यसलाई बलात्कार भन्न पाइँदैन भन्ने मेरो मागदाबी छ ।

छैठौं– हाम्रो देशमा जति नै समानताको कुरा गरे पनि महिलालाई हेर्ने दृष्टिकोण फरक छ । केटा र केटी लिभिङ टुगेदरमा बस्ने, सहमतिमा सम्बन्ध कायम गर्ने तर केटा मान्छेको प्रतिष्ठा उसले के काम गर्‍यो भनेर तुलना हुन्छ । तर, छोरीमान्छेको चाहिँ कोसँग बस्यो भनेर हेरिन्छ । उसले गरेको काम, योगदान सबै त्यसमा गएर सकिन्छ । पितृसतात्मक समाजको संरचनाको कारणले यस्तो भएको हो ।

यो अवस्थामा केटा मान्छेले फाइदा लिएर केटी मान्छेलाई विलासिताका रुपमा प्रयोग गर्ने गरिएको छ । यो कानून बन्यो भने केटाहरुले लिभिङमा राख्नुभन्दा अगाडि त्यो मापदण्ड पालना गुर्न कि गर्दिनँ भनेर सोच्छ । यदि सोचेन वा परिणाम नराम्रो आयो भने यही लिभिङ टुगेदरको कानूनले गाइड गर्छ । केटा होस् या केटी, जो पीडित छ, उसलाई यो लिभिङको कानूनले सम्वोधन गर्छ । सजाय दिने, क्षतिपूर्ति भराइदिने अथवा जे गर्नुपर्ने हो, कानूनले गर्छ ।

यिनै कारणले गर्दा हामीलाई लिभिङ टुगेदरसम्बन्धी कानून अति जरुरी छ । लिभिङ टुगेदरमा भएको विकृतिलाई सम्वोधन गर्न, नियमन वा व्यवस्थापन गर्न कानून जरुरी छ । समाजमा यसको कानून नभएकाले यी मागदाबी लिएर म सर्वोच्च अदालत गएकी हुँ ।

लिभिङ टुगेदरको कानून सन्तुलित हुनुपर्छ भन्ने मेरो भनाइ हो । किनभने पीडित भनेको केटी मात्रै पनि हुँदैन, केटा पनि हुँदैन । म वकालत पेशामा पनि भएकी हुनाले पीडितले चाहिँ न्याय पाउनुपर्छ भन्ने मेरो मान्यता छ । पीडित केटा पनि हुन सक्छ, केटी पनि हुन सक्छ । हाम्रो पितृसत्तात्मक समाजका कारणले केटी अलि बढी पीडित देखिन्छन् । तर, केटाहरु पनि पीडित देखिएकै छन् ।

लिभिङ टुगेदरमा बस्नेले डेरा पाएनन्

जसका बच्चाहरु लिभिङ टुगेदरमा छन्, उहाँहरुका अभिभावकलाई आफ्ना बच्चाहरु लिभिङमा भएको थाहै छैन । यसमा म आफ्नो थेसिसका लागि पनि डाटा संकलन गरिरहेकी छु । मेरो घर वरिपरि बस्नेहरु नै लिभिङ टुगेदरमा हुनुहन्छ, तर उहाँहरु स्वीकार्नुहुन्न ।

मेरो छिमेकमा एकजोडी लिभिङमा बस्थ्यो, घरबेटीले निकालिदिनुभयो । यस्ता केसहरु धेरै छन् । केटा र केटी यसरी बसेका छन्, बिहे गरेको छैन भनेर निकालिदिनुभयो । तर, उहाँहरुले यो समस्या खुलेर बताउन सक्नुहुन्न । यो कारणले गर्दा पीडितहरु कति छन् भनेर यकिन गर्ने अवस्था नै छैन । तर, कानून बन्यो र रेगुटेल भयो भने उहाँहरु म पनि छु भनेर खुल्ला रुपमा आउनुहुन्छ । नेपालमा कानून बन्यो र बैधानिकता भयो भनेपछि हिम्मत बढ्छ ।

जस्तै– समलिङ्गीहरु अहिले खुलेर आउनुभएको छ । अहिले उहाँहरुको पनि हक हित र सुरक्षा ग्यारेन्टी भएको छ । कानून बन्यो भने लिभिङ टुगेदरको पनि यस्तै अवस्था आउँछ ।

मैले दुईजनाको पीएचडी थेसिस पनि राखेकी छु । उहाँहरुले पाँच वर्ष अगाडि गरेको अनुसन्धानमा यसबारे कानून आवश्यकता छ है भन्नुभएको छ । आजको दिनमा म यसबारे थप अनुसन्धान गर्दैछु, अझै सकिएको छैन । यसमै म लागि परिराखेकी छु ।

समाजमा सचेतना आवश्यक

नेपाली समाजको संस्कृतिले लिभिङ टुगेदरमा नबस नै भन्छ जस्तो मलाई लाग्दैन । किनभने, हाम्रो कल्चरमा कहीँ पनि यस्तो ‘कोट’ नै गरिएको छैन । तर, फेरि व्यवहारिक अभ्यासमा लिभिङ टुगेदरलाई राम्रो मानिएको छैन ।

यतिसम्म कि यो मुद्दा उठाइरहँदा मेरो व्यक्तिगत जीवनसमेत मानिसहरुले बुझ्न खोजिरहेका छन् । तपाई लिभिङमा हो ? भन्ने टाइपका प्रश्न गरिरहेका छन् । पढेलेखेका, ठूला मानिसहरुलाई पनि म लिभिङ टुगेदरमा हो कि हैन भनेर जिज्ञासा भएको छ । यो हाम्रो संस्कृति र हुर्काइका कारणले भएको हो ।

यसमा के बुझाउन जरुरी छ भने लिभिङ टुगेदरमा छन् है भनेर मैले जसलाई बुझाउन सकें, उहाँहरुले एकदमै स्वभाविकरुपमै लिनुभएको छ । किनभने, मैले नेपालमा नभएको अभ्यासलाई बैधानिकता देऊ भनेकी होइन । मैले त नेपालमा प्राक्टिस भइरहेको छ र यसबाट विभिन्न समस्याहरु आएको हुनाले त्यसलाई सम्वोधन गर्न कानून चाहियो भनेकी हुँ ।

मैले लिभिङ टुगेदर चाहियो भनेकी होइन । जो लिभिङ टुगेदरमा छन्, तिनीहरुलाई व्यवस्थापन गर भन्न खोजेकी हुँ । केटी मान्छेलाई गर्भवती बनाएर, पैसा खाइदिएर भाग्ने गरेका समाचारहरु धेरै समयदेखि आइरहेका छन् ।

मैले रिट दायर गरेपछि धेरै सकारात्मक टीकाटिप्पणीहरु नै आएका छन् । मिडियाले पनि एकदमै सकारात्मक रुपमा लिइदिनुभएको छ । केही मानिसहरुले चाहिँ देशलाई पश्चिमीकरण गर्न खोजियो भन्ने आरोपहरु पनि लगाउनुभएको छ । तर, यस्तो आरोप एकदमै कम छ । मैले जसलाई बुझाउन सकें, उहाँहरुले चाहिँ समर्थन नै गर्नुभएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ९ : १२ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका

अनुमति नलिई जंगली बँदेल पालेको आरोपमा दुई जना पक्राउ

चितवन– जङ्गली बँदेल पालेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ

‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार

काठमाडौं–  मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा

गौशालामा महानगरको डोजर : सुमन सायमी प्रहरी नियन्त्रणमा

काठमाडौं– गौशालामा काठमाडौं महानगरको डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता

सात चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार

बेइजिङ– संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएन टुरिजम) ले यस