नोटमा चुच्चे नक्सा राख्दा टाउको दुखाइ किन ? | Khabarhub Khabarhub

नोटमा चुच्चे नक्सा राख्दा टाउको दुखाइ किन ?

सिक्कामा चुच्चे नक्सा राख्न हुने, नोटमा किन नहुने ?



मन्त्रिपरिषद्को बैठकबाट सय रुपैयाँको नोटमा चुच्चे नक्सा हाल्ने निर्णय गरेपछि राष्ट्र बैंकले पनि त्यही अभ्यास अगाडि बढाइरहेको छ । तर त्यसैको भोलिपल्ट नै  भारतीय विदेशमन्त्री जयशंकरले यसमा असन्तुष्टि व्यक्त गरे ।

जयशंकरले केही कुरा गरेका छन्, जसमा पहिलो नेपालको एक पक्ष निर्णयले अवस्था बदलिँदैन भन्ने उनको भनाइ छ । अर्को, स्थापित संयन्त्र हुँदाहुँदै नेपालले एकतर्फी निर्णय गर्‍यो , त्यसमा हाम्रो धारणा प्रष्ट छ । यो निर्णय हामीलाई मान्य छैन र हामीबीचको अवस्था वा स्थलको यथार्थको परिवर्तन हुँदैन ।

यसको मतलब, हामीले मिचेको भोग गरिराखेको छौँ, यो स्थलमा यथार्थ परिवर्तन हुँदैन भन्ने जयशंकरको भनाइ अर्थ्याउन सकिन्थ्यो । मेरो विचारमा भारतले नेपालको कार्यप्रति असन्तुष्टि जनाएको यो नै पहिलो विषय हैन । जस्तो-

नेपालले नयाँ संविधान २०७२ जारी गर्ने बेलामा पनि तिनै जयशंकर आएर रोक्न दबाब दिए तर नेपालले मानेन अन्ततः जारी गर्‍यो ।

अर्को, नेपालले २०५७ जेठ ७ मा चुच्चे नक्सा प्रकाशित गर्‍यो , त्यसमा पनि उसले असन्तुष्टि जनायो ।

चीनले कोदारी राजमार्ग बनाउँदा पनि भारतले भयंकर असन्तुष्टि जनाएको थियो । यतिसम्म भनेको थियो कि अब नेपालमा दर्जन-दर्जन गाडीमा कम्युनिस्ट आउँछन है । तत्कालीन राजा महेन्द्रले गाडी चढेरै कम्युनिस्ट आउँदैन भनेका थिए । भलै, अहिले कम्युनिस्टले नै देश चलाएका छन् ।

त्यसैले पूर्व-पश्चिम राजमार्ग नेपालले बनाउँदा पनि भारतले धेरै असन्तोष जनाएको थियो । यसखाले गतिविधि भारतले बाक्लै दोहोर्‍याइरहन्छ । यो चुच्चे नक्सा नोटमा हाल्दा उसले विरोध गर्‍यो । जबकि ०७८ साल माघमा हामीले दुई रुपैयाँको सिक्कामा  चुच्चे नक्सा हालिसकेका छौं । एक रुपैयाँको सिक्कामा पनि चुच्चे नक्सा नै छ ।

राष्ट्र बैंकले जारी गरेका सिक्कामा चुच्चे नक्सा त राखिरहेकै छ । अहिले आएर नोटमा हाल्दा किन उसले किन विरोध गर्ने ? यो त खाली भारतले नेपालप्रति खोँचे थाप्ने काम मात्र गरिरहेको हो ।

नेपालमा पनि सरकार कस्तो छ, शासन कस्ताले गरेको छन् भन्ने कुरामा निर्भर रहन्छ । केपी शर्मा ओलीका पालामा २०७७ जेठ ७ गते चुच्चे नक्सा निकालियो । हाम्रो लिपुलेक, कालापानी लिम्पियाधुराबाट भारतीय फौजलाई उठाउन सकिएन ।

नेपालसँग सन् १८१९/२१/२७ र ५६ का धेरै नक्सा छन् । त्यसमा लिम्पियाधुराबाट निस्किएको पानीलाई काली भनेर राम्रोसँग लेखिएको छ । यसअनुसार लिम्पियाधुराबाट निक्लेको नदीभन्दा पूर्वको समस्त भूभाग नेपालको हुन्छ । त्यसमा गुन्जी, कुटी, नावी, कालापानी, नाबीडाङ र लिपुलेक भन्ज्याङ सबै हुँदा पनि भारतले सन १९६२ देखि ओगटेर बसिराखेको हुँदा उसको एकलकाँटे विचारले नेपाललाई नटेरेर भोग गरिरहेको छ ।

 नापीको महानिर्देशकहरुको संयोजकत्वमा भएको बोर्डर वर्किङ ग्रुप ४ वर्षदेखि निष्क्रिय छ । नेपालले  बोर्डर वर्किङ ग्रुपको काम समीक्षा गरौँ भनेर चिठी लेख्दा पनि भारतले वास्ता गरेन ।अहिले जयशंकरले नेपाली नोटमा चुच्चे नक्सा हाल्दा त्यो संयन्त्र सम्झिए  

सीमा मुद्दाबारे स्थापित संयन्त्र त छँदै छ नि । त्यो संयन्त्र मार्फत पो छलफल गर्नुपर्ने हो त । नेपालले  एकलौटी तरिकाले नक्सा निकाल्यो भन्नुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा नेपाल–भारत बीचमा एउटा सीमा सम्बन्धी संयन्त्र बनेको थियो । त्यसमा चार खाले संयन्त्र बनाइएका थिए । जसमध्ये एउटा नेपालको नापी विभागको महानिर्देशक र भारतको सर्भिस जनरलको बीचमा बोर्डर वर्किङ ग्रुप गठन भएको थियो । त्यसको मुनि पनि नेपालका सीमावर्ती क्षेत्रका प्रमुख जिल्ला अधिकारी र डिस्ट्रिक्ट मजिस्ट्रेटको नेतृत्वमा फिल्ड सर्भे टीम गठन भएको थियो ।

त्यसबाहेक परराष्ट्र सचिवहरूको बीचमा पनि एउटा संयन्त्र बनेको थियो । लिपुलेक कालापानी सुस्ताको सम्बन्धमा तल्लो तहबाट प्राविधिक परामर्श लिएर दुवै देशका परराष्ट्र सचिवले  प्रतिवेदन तयार गर्ने भनेर गठन भएको संयन्त्रले काम नै गर्न सकेन । परराष्ट्र सचिवस्तरीय संयन्त्रले त काम नै सुरु गर्न सकेन ।

बोर्डर वर्किङ ग्रुप नापीको महानिर्देशकहरुको संयोजकत्वमा भएकोले थोरै काम गर्‍यो । तर ४ वर्षदेखि त्यो पनि निष्क्रिय छ । नेपालले  बोर्डर वर्किङ ग्रुपको काम समीक्षा गरौँ भनेर चिठी लेख्दा पनि भारतले वास्ता गरेन र उसकै कारण संयन्त्र सक्रिय भएको छैन । अहिले जयशंकरले नेपाली नोटमा चुच्चे नक्सा हाल्दा त्यो संयन्त्र सम्झिए । त्यसकारण यो मूलतः छलछाम गर्ने कुरा मात्रै हो ।

अब नेपाल कराइरहने र भारत काम गरिरहने हुन सक्छ । जस्तो  – कोभिडका बेला पनि पिथौरागढदेखि लिपुलेकसम्म उनीहरूले सडक  उद्घाटन गरे । त्यसपछि पनि नेपालले कूटनीतिक नोट पठायो । यो तपाईँहरूले एकतर्फी काम गर्नुभयो, कुरा गरौँ भन्दा पनि केही प्रतिक्रिया नदिएपछि नेपालले चुच्चे नक्सा हालेको हो ।

अहिले सय रुपैयाँमा चुच्चे नक्सा राख्दा भारतलाई के अप्ठ्यारो पर्‍यो ? किन टाउको दुख्यो ? यो सय रुपैयाँ त भारतमा गएर चल्ने हैन नि । नेपालसँग जोडिएको केही भारतीय बजारमा हेरफेर हुन्छ । त्यो पनि उसले बढी कमिसन खान्छ । एक सय भारुको १६० लिनुपर्नेमा १६५/७० नेपाली रुपैयाँ लिन्छ ।

नक्सामा प्रमाण त अंग्रेजले बनाएको नक्सा नै हामीसँग छ । सन् १५६मा ब्रिटिसले बनाएको ’इन्डिया जोइनिङ इस्ट वेस्ट एण्ड साउथ’ भनेर त्यो नोट नम्बर ३ मा यो नक्सामा नेपालको  जंगबहादुरले हाते नेपाली कागजमा बनाएको नक्साको विवरण पनि समावेश गरिएको छ । यसैगरी त्यो नक्सामा लिम्पियाधुराबाट निस्किएको नदीलाई काली लेखिएको छ भनेपछि त यो ठूलो प्रमाण भयो नेपालको निम्ति ।

संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउँदा नेपालले चुच्चे नक्सा उपहार दिन सकेको भए त्यसले अन्तर्राष्ट्रियकरण गर्थ्यो ।  हामी नेपाली यस्तै कमजोर हुँदाहुँदै अहिले भारतीय विदेश मन्त्री जय शंकरले नेपाललाई दबाब दिन कोसिस गरेका छन् ।

त्यही काली नदीमा कालीको थानमा गएर नरेन्द्र मोदीले पूजा गर्दा हामी बोल्न सकेनौँ । गुन्जी नजिकै लगभग ९ महिना अगाडि बकाइदा पूजा गरेर आकाशबाटै चीनको तिब्बतको मानसरोवर हिमाललाई दर्शन गरेर आए, नेपालले केही गरेन । त्यसबेलामा एउटा नोट पनि नेपालले लेख्न सकेन ।

नेपालले चुच्चे नक्सा निकालेको बेलामा त्यसको नक्कल कूटनीतिक हिसाबले भारत, चीनलाई कतै पनि पठाएको छैन । यस्तै शिथिलताका कारण हामी नेपाली पछि परेको जस्तो लाग्छ ।

संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउँदा कमसेकम नेपालले चुच्चे नक्सा विधिवत् उपहार दिन सकेको भए त्यसले अन्तर्राष्ट्रियकरण गर्थ्यो, त्यो नक्सा ।

हामी नेपाली यस्तै कमजोर हुँदाहुँदै अहिले पनि भारतीय विदेश मन्त्री जय शंकरले नेपाललाई दबाब दिन कोसिस गरेका छन् । यस विषयमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हामी कूटनीतिक तहबाट कुरा गरेर समाधान गर्न सक्छौँ भन्नु भएको छ । तर, मेरो विश्लेषणमा कूटनीतिक तवरले भारत सीमा मामलामा कुरा  गर्न इच्छुक छैन ।

भारतले पहिला नयाँ नक्सा लियो, पोलिटिकल म्याप अफ इन्डिया बनाएर नेपालको लिपुलेक लिम्पियाधुरा कालापानीसम्म खर्लप्प भारततर्फ हाल्यो । हालेपछि नेपालले यसबारे कुरा गरौँ भनेर ५ पटक कूटनीतिक नोट पठायो । तर पनि कुरा गरेको छैन भने अहिलेको परराष्ट्रमन्त्रीले के कुरा गर्ने ?

(सीमाविद् बुद्धिनारायण श्रेष्ठसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश)

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ७ : २९ बजे

काभ्रेपलान्चोकका पाँच स्थानीय तहको बेरुजु शून्य

काभ्रेपलाञ्चोक– आर्थिक वर्ष २०७९-८० मा पाँच स्थानीय तहको बेरुजु शून्य

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका

चौतारा– नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा संकलनको याम सुरु भएसँगै सुनसान

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको

सन्दीप भन्छन्- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

काठमाडौं–  क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको

‘तिमी सुस्तरी छेउ आइदेऊन’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं– ‘तिमी सुस्तरी छेउ आइदेऊन’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको