सम्बन्ध विच्छेदमा अंशको कुरा किन ? | Khabarhub Khabarhub

थरी–थरीका ‘डिभोर्स’

सम्बन्ध विच्छेदमा अंशको कुरा किन ?



काठमाडौं – पछिल्ला वर्ष नेपालमा सम्बन्ध विच्छेदका घटना बढ्दैछ । व्यक्तिगत घटना दर्ता विवरणको केन्द्रीकृत तथ्याङ्क राख्ने गृह मन्त्रालयका अनुसार वि.सं. २०८० बैशाखदेखि फागुन(११ महिना) अवधिमा सम्बन्ध विच्छेदका २१ हजार १२५ घटना दर्ता भएका छन्‌ । जब कि दशकअघि अर्थात्‌ २०७० सालमा सम्बन्ध विच्छेदका जम्मा ३९४ घटना दर्ता गरिएको थियो ।

बढ्दो वैदेशिक रोजगारीका कारण श्रीमान/श्रीमती एक्लाएक्लै हुनुपर्दा निम्तने एक्लोपनमा सम्हालिन नसक्नु, घरेलु हिंसा, जीवनसाथीबाटै असहयोग र अपमान, विवाहेत्तर सम्बन्ध, धोखाधडी, कम उमेरमै प्रेम विवाह र पछि पश्चाताप, गरिबी, वैचारिक/व्यवहारगत बेमेल, बालबच्चाको हेरचाहमा बेवास्ता र शारीरिक/मानसिक तथा यौन दूर्व्यवहार लगायत नै सम्बन्ध विच्छेदका मूल कारण हुने गरेको छ ।

काठमाडौं जिल्ला अदातलमा आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ८८१ ले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका थिए । त्यस्तै, २०७९/०८० मा ४ हजार १५६ र २०८०/०८१ (जेठ २१ गते) सम्म ४ हजार ५६ मुद्दा दायर भएका छन् ।

तथ्याङ्क अनुसार हरेक वर्ष सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दै गएको छ ।सम्पत्ति नलिइकनै दाम्पत्य जीवन टुङ्ग्याउनेको संख्या पनि बढ्दै गएको अदालतका सूचना अधिकारी मेलिस बास्कोटा बताउँछन् ।

पारिवारिक मेललाई बढी महत्व दिइने समाजमा सम्बन्ध विच्छेदलाई लिएर अनेक टिप्पणी हुने गर्छ । तर, दाम्पत्य जीवनमा निम्तिएको दरार टाल्न नसक्ने अवस्थामा यस्तो निर्णय विश्वभर नै सर्वमान्य हुन्छ । त्यसैले अधिकांश मुलुकले कानूनमै या परम्पराका आधारमा सम्बन्ध विच्छेदलाई मान्यता दिइरहेका हुन्छन् ‍।

यो सामग्रीमा हामी पछिल्ला वर्षमा विश्वभर भएका केही चर्चित सम्बन्ध विच्छेदका घटना र त्यसमा जोडिएको सम्पत्तिबारे चर्चा गर्दैछौं ।

यी सम्बन्ध विच्छेदहरू

‘आई लभ यू’ भन्दै छुट्टिएका रेखा-छवि
नेपाली सिनेमाकी चर्चित नायिका रेखा थापा र चलचित्र निर्माता छवि ओझा वि.सं. २०६९ सालमा अलग भए । उनीहरूले १२ वर्षको सहयात्रालाई औपचारिक रूपमा अन्त्य गरेका थिए । उनीहरू सम्बन्धविच्छेद गर्न कुनै अड्डा अदातलत गएनन् ।

ओझाकै कार्यालय ‘नमस्ते नेपाल’ मा सिने पत्रकार प्रकाश सुवेदीको उपस्थितिमा सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर भएको थियो । पत्रकार सुवेदीका अनुसार रेखा र छविले एक-अर्कालाई अंगालो मारेर छुट्टएिका थिए ।

छुट्टिने बेला भावुक बनेकी रेखाले छवि सधैँ आफ्नो अभिभावकको रूपमा रहने बताएकी थिइन् । प्रतिउत्तरमा छविले पनि रेखालाई सहयोग गर्न सधैँ तयार रहेको बताएका थिए ।

सम्बन्धविच्छेद गरेर बाहिरिने क्रममा रेखाले आफ्नै कारमा राखेर छविलाई घरसम्म छाडेकी थिइन् । उनीहरू एक अर्कालाई ‘आई लभ यू’ भन्दै छुट्टिएका थिए ।

रेखाले सम्बन्धविच्छेद गर्दा ओझाबाट एक रुपैयाँ पनि अंश नलिएको दाबी गर्दै आएकी छिन् । तर, उनले अंशवापत ५६ लाख रुपैयाँ लिएको पाइन्छ । ०६९ जेठ २७ मा काठमाडौंको साबिक ८ नम्बर वडाको कित्ता नम्बर १३८ मा रहेको घरजग्गा डिल्लीबजार मालपोत कार्यालयमा पुगेर रेखाले छविको नाममा स्रेस्ता कायम गरेकी थिइन् ।

रेखाले घरजग्गा छविलाई र छविले रेखालाई अंशबापत ६५ लाख रुपैयाँ नगद दिएपछि मिलापत्रका आधारमा जिल्ला अदालत काठमाडौंबाट १९ असार ०७३ मा सम्बन्धविच्छेद भएको थियो ।

विराटनगरकी रेखा एसएलसी दिएर घुम्नका लागि काठमाडौ आएकी थिइन् । त्यही क्रममा उनको छविराजसँग भेट भएको थियो । उनी फिल्म ‘हिरो’ का लागि हिरोइन खोजीमा थिए ।

ओझासँगको पहिलो संवादमा नै चलचित्र ‘हिरो’मा रेखाले सहायक हिरोइनको भूमिका पाइन् । सोही फिल्ममा काम गर्दा छवि ओझा र रेखाबीच अफेयर सुरु भएको थियो ।

राजेशपायल राई
वैवाहिक जीवनलाई गुपचुप राखेका चर्चित गायक राजेशपायल राईको पनि गत वर्ष सम्बन्धविच्छेद भयो । साङ्गबुङ राईसँग सुटुक्क विवाह गरेका उनले २०७९ सालमा मात्रै काठमाडौं महानगरपालिका–३१ बाट विवाह दर्ता प्रमाणपत्र लिएका थिए । तर, एक वर्षमै उनीहरू अलग भए ।

गायक राईले उमेरमा आफूभन्दा २६ वर्ष कान्छीसँग विवाह गरेका थिए । श्रीमती साङ्गबुङ राईको तीव्र दबाबमा उनको सम्बन्धविच्छेद भएको पाइन्छ । साङ्गबुङले आफूमाथि राजेशले हिंसा गरेको आरोप लगाएकी थिइन्‌ । रक्सी खाएर आफू र छोरालाई कुट्ने गरेको उनले बताएकी थिइन् ।

उनीहरूले काठमाडौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद गरेका हुन् । सम्बन्धविच्छेद गर्दा उनीहरूका छोरा दुई वर्षका थिए । सम्बन्धविच्छेद गर्दै राजेशले साङबुङलाई ६ करोड रुपैयाँभन्दा बढी सम्पत्ति दिएको चर्चा थियो ।

राजेशले साङ्गबुङलाई काठमाडौं नक्सालमा रहेको करिब पाँच करोड रुपैयाँ मूल्य पर्ने तीन तलाको घर र ५० लाख रुपैयाँ नगद दिएको बताएका थिए । साथै, भविष्यमा पनि थप एक करोड रुपैयाँ दिने सम्झौता भएको थियो । यस्तै, काठमाडौंमा रहेको एउटा घडेरी पनि साङ्गबुङलाई दिने सम्झौता गरिएको खबर बाहिरिएको थियो ।

सम्बन्धविच्छेदपछि बच्चा आमासँग बस्ने र राजेशले छोराको पढाइ खर्च साथै भरणपोषण निम्ति छुट्टै मासिक १५ हजार रूपैयाँ साङ्गबुङलाई उपलब्ध गराउने सम्झौता भएको थियो ।

खोटाङमा जन्मिएका राई ५ घण्टामा ९ गीत गाएर विश्व रेकर्ड राख्ने पहिलो गायक हुन् । उनका ‘फैलियो माया दुबो सरी’ र ‘बैगुनी रैछौ मायालु’ जस्ता थुप्रै हिट गीत छन् ।

राजेशपायलका किस्सा : १५ सय कोठाभाडा तिर्न सकस, ०६५ को खड्गो

शिल्पा पोखरेल
अभिनेत्री शिल्पा पोखरेलले २०७९ सालमा फिल्म निर्माता छविराज ओझासँग सम्बन्धविच्छेद गरिन् । उनीहरूको सम्बन्धविच्छेदलाई लिएर निकै लफडा पनि पर्‍यो । शिल्पाले आफूमाथि ओझाले कुटपिटर दमन गर्ने गरेको बताएकी थिइन् ।

घरबाहिर जान र कसैसँग बोल्न पनि अनुमति लिनुपर्ने अवस्था आएको शिल्पाले बताएकी थिइन् । श्रीमानले पिटेर कानको जालीसमेत फुटाइदिएको आरोप उनको थियो । उनले अदालतमा घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् ।

उमेरले निकै अन्तर रहे पनि बिहे गर्ने बेला परिवारको साथ र समर्थन रहेको भन्दै ओझासँग आजीवन साथ रहने र प्रेम गर्ने शिल्पाले बताएकी थिइन् । म्युजिक भिडियोमा निकै सफल रहेकी उनले फिल्मी करियरमा भर्खर उचाइ लिँदै थिइन् ।

२०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पाले २०७५ मात्रै बिहे दर्ता गरेका थिए । आफ्नो उचाइ बलियो बनाउन शिल्पाले ओझालाई प्रयोग गरेको आरोप पनि केही चलचित्र निमार्ता तथा कलाकारले लगाएका थिए ।

सम्बन्धविच्छेद गर्दा शिल्पाले अंश दाबी गरेपछि काठमाडौं जिल्ला अदालतमा यो मुद्दा तीन वर्ष लम्बियो । तर ओझा भने शिल्पालाई अंश नदिने पक्षमा थिए ।

अदातलले ओझालाई अंशको भागबण्डा नहुञ्जेल सम्मलाई मानाचामल भर्न आदेश दियो । ओझाले शिल्पाका कारण आफू सडकमा पुगेको अभिव्यक्ति दिँदै हिँडेका थिए । आफूसँग एक रुपैयाँ नभएर साथीभाइसँग मागेर खाएको समेत दुखेसो उनले पोख्ने गरेका थिए । शिल्पासँग छविको चौथो विवाह थियो ।

माल्भिका सुब्बा
पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले पनि गत वर्ष सम्बन्धविच्छेद गरिन् । अभिनेत्री प्रियंका कार्कीको ‘द फोर्थ ट्राइमेस्ट’ नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्धविच्छेद गरेको बताएकी थिइन् ।

कार्यक्रममा उनले खाना बनाउने भाँडासम्म साथीभाइको सहयोगमा किन्नु परेको सुनाउँदै भक्कानिएकी थिइन् । मिस नेपाल तथा सञ्चारकर्मी; जसले सधैँ अरूका समस्याको बारेमा बोल्दै हिँड्यो- त्यो मान्छेको समेत यो दर्दनाक अवस्था कसरी आउँछ भनेर आफैँलाई पत्यार नलागेको उनले बताएकी थिइन् ।

माल्भिकाका अनुसार उनले आफ्नो छोरा दुई वर्षको हुँदा घर छाडेकी थिइन् । एकै घरमै पनि श्रीमान-श्रीमतीबीच बोलचालसम्म हुँदैनथ्यो । त्यसपछि श्रीमानसँग बस्न नसकेर घर छोड्ने निर्णय गरेकी थिइन् ।

सम्बन्ध विच्छेदलाई लिएर उनलाई आफ्नै परिवार अर्थात् माइतीले समर्थन गरेन । त्यसपश्चात उनी एक्लैले त्यो निर्णय गरेकी थिइन् । उनले घर छाडेको ४ वर्षपछि सम्बन्धविच्छेद गरेकी थिइन् ।

माल्भिकाले बताए अनुसार उनले अंश लिएकी छैनन् । तर छोराको लालनपालन र शिक्षा हेरिदिन आग्रह गरेकी थिइन् । उनीहरूले समझदारीमै छोराको को–कस्टडी गर्ने निर्णय लिए ।

सम्बन्धविच्छेद गरेर पछुतो नलागेपनि कतिबेला रित्तो महसुस गर्ने उनी बताउँछिन् । छोराले बुवाआमाको मायाबाट वञ्चित नहोस् भनेर उनीहरू समय-समयमा सौहार्दपूर्वक भेट गरिरहेका हुन्छन् । सम्बन्धविच्छेद गरेपनि आफूहरूबीचमा पतिपत्नीको झैँ सम्बन्ध रहेको कुरा एकपटक अन्तवार्तामा माल्भिका आफैँले खुलासा गरेकी थिइन् ।

बिल गेट्स
माइक्रोसफ्टका संस्थापक बिल गेट्सले ६५ वर्षको उमेर पत्नी मेलिन्डासँग सम्बन्धविच्छेद गरे । विवाहको २७ वर्षमा उनीहरूले अलग हुने निर्णय लिए ।

बिल र मेलिन्डाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै सोचविचार र आपसी छलफलपछि जीवनको आगामी चरणमा एकसाथ अघि बढ्न नसक्ने बताएका थिए ।

उनीहरू संयुक्त रूपमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्छन् । जसले विश्वभरका मानिसको स्वास्थ र राम्रो जीवनका लागि काम गर्छ । उक्त संस्थाले सङ्क्रामक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता परोपकारी कामका लागि अर्बौ| डलर खर्च गरेको छ । यस मिसनमा उनीहरू आज पनि सँगै छन् ।

बिल र मेलिन्डाबीच पहिलो भेट १९८७ मा भएको थियो । १९९४ मा उनीहरूले विवाह गरेका थिए । विश्वकै धनी व्यक्तिमध्येका एक बिल आफ्नो समाजसेवाका लागि पनि प्रख्यात छन् ।

भारतीय क्रिकेटर हार्दिक पाण्डे
भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको वैवाहिक सम्बन्ध पनि अन्त्य हुन लागेको खबर बाहिरएका छन्‌ । प्रोफेसनल करिअरमा लय गुमाइरहेका उनी निजी जीवनमा समेत तनावबाट गुज्रिरहेका बताइन्छ ।

हार्दिकले सन् २०२० को ३१ मेमा सर्भियाकी मोडल नताशा स्टानकोभिकसँग हतारमा कोर्ट म्यारिज गरेका थिए । बिहे अगाडि नै नताशा गर्भवती थिइन् । विवाहको दुई महिनापछि उनीहरूलाई सन्तान लाभ भएको थियो । गत वर्ष उनीहरूले छोरा खेलाउँदै परम्परागत रिवाजअनुसार बिहे गरेका थिए ।

तर, अहिले उनीहरू एक–अर्कासँग छुट्टिएको समाचार विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । नताशाले केही दिनअघि इन्स्टामा आफ्नो नामबाट पाण्ड्या थर हटाएकी थिइन् । दुवैले एक–अर्कालाई अनफलो गरेका छन् भने एक–अर्काका तस्विरहरू पनि हटाएका छन् ।

नताशा यसपालि आइपीएलमा श्रीमानको खेल हेर्न पनि पुगिनन्‌ । यसैगरी नताशाको जन्मदिन गत मार्च ४ मा हार्दिकले केही पनि पोस्ट गरेनन् ।

केही सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार हार्दिकसँग नताशाले ७० प्रतिशत सम्पत्ति माग गरेको पाइएको छ । तर हार्दिकले सबै सम्पत्ति आफ्नी आमाको भएको जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमा अहिले ‘सम्पत्ति आमाको नाममा र लोन श्रीमतीको नाममा’ लिनुपर्ने जस्ता ट्रोल बनेका छन् । छोराको हेरचाहको लागि नताशाले सम्पत्ति माग गरेको पाइएको छ ।

अंश अर्थात्‌ सम्पत्ति ‘फ्याक्टर’मा प्रश्न !
सम्बन्धविच्छेद गर्दा कसैले अंश दाबी गरेका छन् त कसैले सम्पत्ति बिनै सम्बन्ध टुङ्ग्याएका छन्‌ । सहमतिमै अंशसहित भएको सम्बन्धविच्छेदपछि पूर्व-जोडीबीच खास समस्या देखिँदैन ।

तर, अंशमा सहमति नभएकाका हकमा सम्बन्धविच्छेद मुद्दा निकै वर्ष  लम्बिएको छ । कसैले दिएको अंश पनि लिएका छैनन् ।

कस्तो अवस्थामा अंश लिने र नलिने गरेका छन् त ? कानूनले के आधारमा महिलालाई संरक्षण गरेको हो ? सम्पत्तिको बाँडफाँडबारे कानून के भन्छ ?

रेखा थापाले आफू सक्षम भएकै कारणले सम्पत्ति नलिएको दाबी गर्छिन् । के त्यसो भए सम्पत्ति लिने शिल्पा असक्षम हुन् ? बिल गेट्सकी श्रीमती असक्षम हुन् ?

व्यक्तिको इच्छामा भर पर्छः कानून अनुसन्धानकर्ता

कानून अनुसन्धानकर्ता रसना ढकालले कानूनले सम्पत्तिको हक प्रदान गरे पनि लिने र नलिने व्यक्तिमा भरपर्ने बताइन् । उनी भन्छिन्, ‘सम्बन्ध विच्छेदको हकमा दुइवटा प्रावधान छ । त्यो भनेको सम्पत्ति लिने र अर्को सम्पत्ति नलिने हो ।’

‘सम्पत्ति दाबी गर्दा दिने मान्छेसँग हुनु पनि पर्छ । हुँदै नभएको सम्पत्ति ल्याएर दिनुपर्ने बाध्यात्मक व्यवस्था कानूनमा छैन,’ उनले खबरहबसँग कुरा गर्दै भनिन्, ‘श्रीमानले किड्नी नै बेचेर सम्पत्ति दिनुपर्दैन ।’

हाम्रो देशमा सम्बन्धविच्छेदलाई बढी नकारात्मक रूपमा हेर्ने गरिएको छ । तर, यो सौहार्द रूपमा अलग हुने बाटो भएको उनको धारणा छ ।

ढकाल भन्छिन्, ‘कानून अनुसार श्रीमतीसँग सम्पत्ति छ भने श्रीमानलाई दिने हो, श्रीमानसँग छ भने श्रीमतीलाई दिने हो ।’ तर पछिल्लो समय मिलापत्रको अवस्थामा कतिपयले सम्पत्ति चाहिँदैन भनेको उदाहरण धेरै भएको ढकाल बताउँछिन् ।

‘नेपालमा धेरै महिलाहरूले श्रीमान र परिवारका निम्ति पूरै जीवन समर्पण गरेका हुन्छन्,’ उनी थप्छिन्, ‘श्रीमान कमाउन जाँदा घरपरिवार, सन्तान हुर्काउने र सासुससुराको रेखदेख गरेर बसेका हुन्छन् । यस्ता महिलाहरूले सम्बन्ध विच्छेद गरेमा अंश आवश्यक पर्छ ।’

अर्को- श्रीमानहरूले आफूले कमाएको सम्पत्ति श्रीमतीको नाममा राखेका बताउँदै उनले भनिन्, ‘त्यस्तो अवस्थामा श्रीमतीले श्रीमानलाई दिनुपर्ने हुन्छ । श्रीमतीले मानाचामलसमेत भनुपर्छ, तर नेपालको हकमा पुरुषले मानाचामल लिन धेरैगाह्रो छ । बाहिरी तत्वले पनि न्यायलाई असर गरिरहेको हुन्छ ।’

सन्तानको अहित हुनेगरी सहमति हुने छैन भनेर कानूनले प्रष्ट पारेको उनले जानकारी दिइन् । भनिन्, ‘सन्तान आमा वा बुवा कोसँग बस्ने भन्ने कुराले अंश अर्थात् सम्पत्ति भागवण्डामा प्रभाव पर्छ ।’

नेपालको मुलुकी देवानी संहिता, २०७४ को धारा ९३ अनुसार पति-पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्बन्धविच्छेद गर्न सक्छन् । दुवैको सहमति नभएमा धारा ९४ अनुसार पतिले सम्बन्ध विच्छेद गर्न सक्छन् । धारा ९९ मा अंशवण्डाको प्रावधान छ ।

सम्बन्ध विच्छेद : समाज बिग्रेको कि सुध्रेको ?

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ४ : २८ बजे

‘संसद्‍मा च्यातेको बजेट पुस्तिका मन्त्रीहरूको मुखमै हुर्‍याउन मन थियो’

गत जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेटलाई लिएर

भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै

काठमाडौँ– भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुने भएको छ

अर्थसंक्षेप : नेप्सेमा दोहोरो अंको गिरावटदेखि समस्याग्रस्त सहकारीको छानबिनसम्म 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

हेटौंडा– मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट

पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी

काठमाडौं– जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मंगलबार