पृथ्वीनारायण शाहले लिम्बू फकाउन दिएको त्यो मोहर ! | Khabarhub Khabarhub

इतिहास

पृथ्वीनारायण शाहले लिम्बू फकाउन दिएको त्यो मोहर !

राजालाई माझकिरातको माटो उपहार



राज्यविस्तार अभियानका क्रममा तत्कालीन गोरखाली राजा पृथ्वीनारायण शाहले अनेकौँ प्रकारका जुक्तिबुद्धि लगाएका थिए। उनी सकेसम्म युद्ध नै नगरी पराई राज्य अम्बल गर्न चाहन्थे। चाहेर पनि पश्चिमतिर बढ्ने चाहना उनको जीवनकालमा पुरा हुन सकेन। तर उनी पूर्वको कन्काई नदीसम्म आफ्नो राज्यको सिमाना विस्तार गर्न सफल भए।

पृथ्वीनारायण शाहले पूर्वतिर आफ्नो राज्यको सिमाना कन्काइसम्म पु-याएपछि आफ्नो गुरु योगी भगवन्तनाथलाई एक पत्र पठाएका थिए। योगी नरहरिनाथले “इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १” (२०५५:६–७) मा प्रकाशित गरेको उक्त पत्रमा “किरातको अम्बल मदेश पहाड भोट जति थियो आफ्ना आशीर्वादले सबै फत्य भयो. मध्येश माहाँ कनकाइ नदी पहाडामाहा सभा खोलो तमोर नदी को साध लाग्यो. मानिस काट्न पाइयेयन्. भाग्यो कति मोगलाना तिर गयो. कति सुखिमतिर गयो. अरु झार जङ्गलमाहाँ जना ८५ वेसि काटिया” भन्ने उल्लेख हुँदा उनको विस्तारित राज्यको पूर्वी सिमाना कनकाई नदी र उत्तरी सिमाना सभा खोला तमोर नदीसम्म कायम भएको देखिन्छ।

त्यसबेला सुदूरपूर्वमा गोरखालीले अम्बल गरेको भूभागमध्ये केही सिक्किम राज्यअन्तर्गत पथ्र्यो भने अधिकाँश भाग विजयपुरको सेन राज्यअन्तर्गत पथ्र्यो। इतिहासकार रमेशकुमार ढुङ्गेलले “प्राचीन नेपाल” (सङ्ख्या ११३, भदौ–असोज २०४६:४)मा उल्लेख गरेअनुसार गोरखा राज्यमा गाभिनुअघि लिम्बूहरुले विजयपुरका सेनहरुलाई केन्द्रीय शासक माने पनि यी राजाहरुको अधिकार आदर्शका रुपमा मात्रै थियो। स्थानीय सामन्तका रुपमा पहिलेदेखि नै पुस्तौनी लिम्बूहरुका दश जना दलपति हाङहरुले बास्तविक शासन चलाउँथे।

गोरखाली सेना पूर्वमा पुग्दा त्यहाँ विगत पाँच वर्षदेखि चौतरिया बुद्धिकर्ण रायले राजा कामदत्त सेनको हत्या गरी चौदण्डीबाट राजा कर्ण सेनलाई विजयपुर झिकाई राजा थापेका थिए। उनले आफूलाई राजभारा सामर्थ घोषणा गरी त्यहाँको शासन चलाई रहेका थिए। बाबुराम आचार्यले “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी” (२०६१:४१६–१७)मा वि.सं. १८२६ मा राजा कामदत्त सेनको हत्या गरेपछि बुद्धिकर्ण रायले वि.सं. १८२७ मा “राजाभारा सामर्थ” उपाधि लिएको लेखे पनि त्योभन्दाअघि नै उनले उक्त उपाधि लिइसकेको देखिन्छ। शङ्करमान राजवंशी (सम्पा.)ले “पुरातत्त्व पत्र सङ्ग्रह” (२०१८:१७–१८)मा प्रकाशित गरेको वि.सं. १८२४ माघ सुदीमा रामभद्र पण्डितलाई विर्ता जागिर दिएको पत्रमा बुद्धिकर्ण रायले आफ्नो राजकीय हैसियतमा “राजाभारा सामर्थ देवान” उल्लेख गरेकोलाई यसको प्रमाणको रुपमा लिन सकिन्छ।

वि.सं. १८२९ माघ सुदी ४ रोज ३ मा पृथ्वीनारायण शाहले पाँचथर थुमका पुनि रायलाई कामदत्त सेनको स्थानमा आफूलाई राजा थाप्न आग्रह गर्दै पठाएको पत्र । स्रोतः अर्जुनबाबु मावुहाङ

बुद्धिकर्ण रायले विजयपुरको शासन चलाइरहेको बेला पूर्वतिर अम्बल गर्न पठाइएको गोरखाली सेनामध्ये पहाडी क्षेत्रतिरबाट अमरसिंह थापालाई नायव गराई सरदार रामकृष्ण कुँवरलाई सेनापति गरी खटाइएको थियो भने तराई क्षेत्रबाट पारथ भण्डारी, बलि बानियाँ र कीर्तिसिंह खवासका साथ बख्सी अभिमानसिंह बस्न्यातको नेतृत्त्वमा सेना परिचालन गरिएको थियो।

पहाडी खण्डअन्तर्गत सभाखोला दोभानमा भएको युद्धमा लिम्बू सेनापति काङ्सो रायको बलिदानलाई लिम्बूहरुले निक्कै महत्वका साथ स्मरण गर्ने गर्छन्। ब्रायन हड्सनले नेपालबाट सङ्कलन गरेर बेलायत पु-याएको पाण्डुलिपी (भाग–८५ पृ.१३३)मा गोरखालीहरुले झुक्याएर काङ्सो रायको हत्या गरिएको उल्लेख छ (कमल तिगेला र अरु, “गोर्खा लिम्बू युद्ध”–२०६९:२३)। इमानसिंह चेम्जोङले “किरातकालिन विजयपुरको सङ्क्षिप्त इतिहास” (२०५९:९२)मा उल्लेख गरेअनुसार काङ्सो रायलाई गोरखालीहरुले छलकपट गरेर मारेको सभा खोलाको यो युद्ध वि.सं. १८३१ वैशाख २५ गते भएको हो।

यो युद्धअघि पृथ्वीनारायण शाहले केही लिम्बू सुब्बा जङ्ग राय, फुङ्ग राय, जमुन रायको नाममा वि.सं. १८३१ वैशाख बदी ३० (पात्रोअनुसार वैशाख १ गते) एक मोहर जारी गरेका थिए। मोहरमा “तिमीहरुलाई हिजो जति पिच्छा बक्सियको त्यो मुलुक आज हाम्रो प्रतापले हाम्रो भयो त तिमीहरु पनि हाम्रै छौ. तिमीहरुका जाँहाँनको पिछा हामीले लियौं. जस जस जम्मा गराई दवाई खाई पाई आयाको थियौ. सो सकल मुलुक सम्भार गर” भन्ने उल्लेख छ। त्यसबेला लिम्बू सुब्बाहरुलाई हात लिन सके विजयपुर कब्जा गर्न सजिलो हुने हुनाले पृथ्वीनारायण शाहले यस उपायस्वरुप यस्तो मोहर जारी गरेका थिए (नयराज पन्त र अरु (सम्पा.), “श्री ५ पृथ्वीनारायण शाहको उपदेश”-२०२५:११७९)।

तर पृथ्वीनारायण शाहले केही लिम्बू सुब्बाहरुलाई वैशाख १ गते मोहर दिए पनि वैशाख २५ गते सभा खोलामा लिम्बू सेनापति काङ्सो राय जोडिएको युद्धको घटनाले पहाडी खण्डमा उक्त मोहरलाई मान्यता नदिई कतिपय लिम्बूहरुले युद्ध जारी राखेका थिए भन्ने स्पष्ट हुन्छ।
यता अभिमानसिंह बस्न्यात चौदण्डी अम्बल गरेर विजयपुरतिर बढ्ने दाउ हेरेर बसिरहेका थिए। उनले माझकिरात हान्न त्यहाँको माटोको डल्लो नै बोकेर पृथ्वीनारायण शाहलाई चढाउन सरदार स्वरुपसिंह कार्कीलाई साथमा लिएर नुवाकोट दरबारमा पुगेका चौदण्डीका राजपुरोहित हरिनन्द पोखरेललाई माझकिरातमा सहयोग गरेजस्तै विजयपुरका हर्ताकर्ता बुद्धिकर्ण रायलाई पनि तह लगाउन सहयोग आह्वान गरिरहेका थिए। बस्न्यात र पारथ भण्डारीले हरिनन्दलाई अम्बरपुर (सप्तरी)बाट वि.सं. १८३० फागुन सुदी १५ मा लेखेको कस्यपत्रमा “पूर्व विजइपुर देवान बुद्धिकर्नले षायाको मुलुक मदेश पाहाड पनि हाम्रो अंवल गराउन्याउपाय तिमि गर्दै गर तम्रो स्याहार हामी गरौँला” भन्ने परेको छ (आचार्य, २०६१:४२९-३०)।
यताबाट हेर्दा विजयपुर हात लिन पृथ्वीनारायण शाहले ब्यवस्थित तयारी गरेका थिए भन्ने देखिन्छ।

नूनपानीको सन्धि
वि.सं. १८३१ असार साउनको समय थियो। कोशीमा भेल उर्लिरहेको थियो। गोरखालीले माझकिरात अम्बल गरिसकेको अवस्थामा विजयपुरमा बुद्धिकर्ण राय आन्तरिक तयारीमा जुटिरहेका थिए। सम्भवत : उनलाई लागेको थियो, तत्कालै गोरखालीहरु कोशीको उर्लदो भेल तरेर तत्काल आउन सक्ने छैनन्।

तर मध्य वर्षादको समयमा अभिमानसिंह बस्न्यात अम्बरपुरबाट अगाडि बढे। उनले उर्लदो कोशीमा हात्तीद्वारा आफ्नो सेना कोशीपार गराए। उनले एक्कासी विजयपुरमा हमला गरिदिदा ८५ जना लिम्बू सेना मारिए भने बुद्धिकर्ण राय हात्तीमा सवार भई विजयपुरबाट पलायन भए (आचार्य, २०६१:४२२)। गोरखालीको आक्रमणपछि वि.सं. १८३१ साउन ५ गते विजयपुर गोरखालीको हातमा गयो (बाबुराम आचार्य, “पूर्णिमा” पूर्णाङ्क २७-असोज २०२९:१६७)।

विजयपुर राजधानी गोरखालीको कब्जामा पुगे पनि लिम्बूहरुलाई रिझाउनु पर्ने ठूलो बाध्यता पृथ्वीनारायण शाहलाई थियो। हिजो जसरी सेन राजाले लिम्बूहरुको खायन पायन र अधिकार सुनिश्चित गरिदिएका थिए, त्यसलाई निरन्तरता नदिए विजयपुरमा शान्ति सम्भव थिएन। त्यसैले पृथ्वीनारायण शाह लिम्बूहरुलाई सम्झौताको मोहर दिन बाध्य थिए।

उनले वि.सं. १८३१ साउन सुदी १ रोज २ (पात्रोअनुसार साउन २७ गते सोमबार) तत्कालिन विजयपुरका भारदारहरु सुन राय, कुम राय र जङ्ग रायको नाममा एक मोहर जारी गरिदिए। इतिहासकार शङ्करमान राजवंशीले “प्राचीन नेपाल” सङ्ख्या ३ (वैशाख २०२५ः३०) मा उक्त मोहर प्रकाशित गरेका छन्। मोहरमा “तिमीहरुलाई हिज पनि पिछा बक्सेको हो त्यो तिम्रो लिम्बूवान मुलुक हाम्रो प्रतापले तिम्रा पुर्खा तुतू तुम्याहांगको प्रताप हान्यो र याहा श्री ढङ्गसन्तान लिम्बुवान खम्बुवान मुलुक हाम्रो भयो तापनि तिमीहरु हाम्रै छौ तिम्रा जहानको पिछा हामीले लियौं जस जस जस्को जे जे तम्रा खाइन् पाइन् लुङ्गवाङ वाङसिंग वांगगङ जिमी भूमी हिजकाके आपुंगी सबै थामी बक्स्यौ” भन्ने परेको छ।

राजवंशी (२०२५:३०) को विश्लेषणअनुसार त्यसबेला विजयपुरबाट भागेका आफ्ना शत्रु (लिम्बू)हरुलाई सिक्किमले हात लिई गड्बड् मच्चाउन लागिरहेको थियो। यस्तो मौकामा लिम्बूवान पनि भड्कन सम्भावना थियो। त्यसैले पृथ्वीनारायण शाहले तिनीहरुलाई नभड्किउन भन्ना निमित्त लिम्बूहरुले खाईपाई आएको भूमी थामी राजा भन्ने पद्वी नै दिई यो लालमोहर काठमाडौंबाट गरिदिएका हुन्।
यो लालमोहर जारी गर्नुभन्दाअघि पूर्वतिर खटिएका अभिमानसिंह बस्न्यातलगायतका गोरखाली सेनानायकहरुले लिम्बूहरुसँग उनीहरुको पहिलेको अधिकारलाई कायम गरिदिने प्रतिज्ञास्वरुप लिम्बू सुब्बाहरु सुन राय, जङ्ग राय र कुम रायसम्मुख नून पानी छोएर किरियाकसम खाएका थिए। यो कुराको बयान गर्ने ब्यक्ति पाँचथर थुमको चुङ्जिवा मौजाका कारोबारी विचारसिंह चेम्जोङ हुन्। उनी सुन रायका सन्तति देवपति रायका भाई हुन् (चेम्जोङ,२०५९:९५-९६)। देवपति राय तत्कालिन समयका नामी लिम्बू सुब्बा थिए।

को हुन् मोहर पाउने लिम्बू सुब्बा ?
वि.सं. १८३१ साउन सुदी १ सोमबारको मोहरलाई लिम्बूहरुमध्ये कतिपयले पृथ्वीनारायण शाहले आफूहरुसँग सन्धि सम्झौता गरेको रुपमा लिने गरेका छन्। यस्तो सम्झौता गर्ने लिम्बू सुब्बाहरु चाहिँ को हुन् ? यसबारे केही तथ्य यहाँ उल्लेख गरिएको छ।

सुन राय चेम्जोङ थरका लिम्बू हुन्। उनी विजयपुरका जिम्मेवार भारदार थिए। उनको अर्को नाम सामो राय थियो भने उनका भाइ अहुम राय पनि विजयपुरका एक भारदार थिए।

चेम्जोङहरुको विजयपुरमा निक्कै ठूलो इज्जत थियो। विजयपुरका तत्कालिन चौतरिया सिरिकान्त रायले वि.सं. १८१८ जेठ सुदी १५मा चेम्जोङ रायलाई सम्बोधन गर्दै “जेम्बुंचोँ राय हेमरकाम षातिर जीउधन मिसाउ लेनाज मामिला देशका धावो अपन हाथलै लापर नीपाह मूजनयाको विन्ती” भन्ने उल्लेख गरेको एक पत्र पुरातत्त्व पत्र सङ्ग्रह (२०१८:१२)मा पढ्न पाइन्छ। यस्तै विजयपुरका राजा इन्द्रविधाता सेन मुगलहरुबाट अपहरणमा पर्दा उनकी रानी मदिधाता इन्द्रराजराजेश्वरीले सहयोगका लागि चेम्जोङ रायलगायतका लिम्बूहरुलाई गुहार मागेको सक्कली मोहर जनकलाल शर्माले “प्राचीन नेपाल” सङ्ख्या ४ (साउन २०२५:३४-३५)मा प्रकाशित गरेका छन्।

सुन राय चेम्जोङ थरका लिम्बू हुन्। उनी विजयपुरका जिम्मेवार भारदार थिए। उनको अर्को नाम सामो राय थियो भने उनका भाइ अहुम राय पनि विजयपुरका एक भारदार थिए।

विजयपुरका चेम्जोङ मन्त्रीहरु सामो (सुन) राय र उनका भाइ अहुम रायको चौतरिया बुद्धिकर्ण रायसँग मेल हुन सकेन। कामदत्त सेनको हत्यापछि उनीहरु त्यहाँबाट पलायन भई त्यसबेला सिक्किम अधिनस्थ स्यावरुम्वा गएर बसेका थिए। बुद्धिकर्णका भाइले वि.सं. १८२६ असोज सुदी ७ मा एक पत्र पठाई मिलेर काम गर्न बोलाएपछि उनीहरु खुवा बोधे प्रगन्नाको चौविस थुम हुँदै विजयपुर आई राजकाजमा सक्रिय भएका थिए (चेम्जोङ, २०५९:६७–६९)।

(चेम्जोङ, २०५९:९८)अनुसार वि.सं. १८३१ साउनपछि उनै सुन रायले पाँचथर थुमका थेगिम, नेम्वाङ र पापोहरुलाई पनि गोरखालीहरुसँग मिलाउन भूमिका खेलेका थिए। यसवापत गोरखालीहरुबाट उनले साँगुरीगढीदेखि उत्तर भारप्पा फालेलुङसम्मको जिम्माका साथै सिक्किमको सिमानासम्मको हेरचाह गर्ने अधिकारका साथ नगरा निशान र मानमर्यादा पाएका थिए।

वि.सं. १८३१ साउनमा मोहर बुझ्ने जङ्ग राय इङ्नाम थरका लिम्बू हुन्। “इङ्नाम इवाहाङ पापो लिम्बू वंशावली” (२०५४:१३२-३३) अनुसार उनी ३८ औँ पुस्ताका आठराई थुमका इङ्नाम हुन्। उनी सुरुमा गोरखालीसँग मिल्ने पक्षमा थिएनन्। गोरखाली आक्रमण हुँदा उनी ज्यान बचाएर भागी ह्वाकुको ओढारमा लुकेर बसेका थिए। उनी लुकेर बसेको ओढारलाई अहिले पनि हाङमाङमा फुकु (राजारानी ओढार) भनिन्छ। त्यहाँ पनि असुरक्षित महसूस गरेपछि उनी हिउदिया खोला पारीको ओढारमा लुकेर बसेका थिए।

विजयपुरबाट राजा कर्ण सेन र चौतरिया बुद्धिकर्ण राय पलायन भएपछि उनी आठराई क्षेत्रलाई रक्षा गरेर बसेका थिए। उनलाई गोरखालीहरुले मिल्न आउन हिउदिया खोलाको दोभानमा बोलाउँदा उनी मिल्न मानेनन्। उनीमाथि तत्कालै आक्रमण हुँदा उनी भागेका थिए भने उनका सहयोगीहरु हाङसेरी र केछावाको भने गोरखालीहरुले त्यहीँ ज्यान लिएका थिए (भगिराज इङनाम, “आठराई कोसेली” वर्ष १ अङ्क १, २०७६:१५३)। पछि भने उनी गोरखालीहरुसँग मिल्न पुगेको देखिन्छ।

इङ्नाम र इवाहाङ एउटै वंशका लिम्बू हुन्। धनकुटाको बुढिमोरङका तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य भरतध्वज इवाहाङका छोरा देव इवाहाङ (हालः दिवंगत)को घरमा उनको पुख्र्यौली विरासतको रुपमा वि.सं. १८१४ को फागुन सुदीमा राजा कामदत्त सेनले जारी गरेको सक्कली मोहर पाइएकोले यो वंशको राजनीतिक विरासतको लहरा निक्कै लामो देखिन्छ।

यस्तै वि.सं. १८३१ साउनको मोहरमा उल्लेख भएको कुम राय एक ऐतिहासिक ब्यक्तित्त्व भएको प्रमाणित हुने ऐतिहासिक पत्रहरुको सक्कल पाइएको छ। उनी पाँचथर थुमका आङ्देम्बे थरका लिम्बू हुन्। अम्बिकाप्रसाद आङ्देम्बेको “लिम्बूको सङ्क्षिप्त इतिहास तथा आङ्देम्बे वंशावली” (२०६६:१८४)अनुसार लिम्बूहरुको यो वंशमा कुम राय चौधौँ पुस्ताका ब्यक्ति हुन्। उनका पुर्खा फौदसिंह, खेम्नोदाहाङ, विनोधाहाङ पनि विजयपुरका भारदार थिए।

वि.सं. १८३१ साउनको मोहरमा उल्लेख भएको कुम राय एक ऐतिहासिक ब्यक्तित्त्व भएको प्रमाणित हुने ऐतिहासिक पत्रहरुको सक्कल पाइएको छ। उनी पाँचथर थुमका आङ्देम्बे थरका लिम्बू हुन्।

उनी धेरै वर्षअघिदेखि विजयपुरमा सेन राजा तथा चौतरियासँग सम्पर्कमा थिए। आङ्देम्बे (२०६६:१८६ र १८७)ले उनले पाएको महत्त्वपूर्ण राजकीय मोहरको सक्कल प्रतिहरु प्रकाशित गरेका छन्। तीमध्ये राजा कामदत्त सेनले वि.सं. १८०८ मा र चौतरिया सिरिकान्त रायले वि.सं. १८११ मा दिएको महत्त्वपूर्ण मोहरहरु छन्।

नटुङ्गिएको युद्ध
पृथ्वीनारायण शाहले वि.सं. १८३१ साउनमा उक्त मोहर जारी गरिदिए पनि लिम्बूवानमा पूर्ण रुपमा शान्ति कायम हुन सकेन। गोरखालीहरुसँग नमिल्ने अरु लिम्बू सुब्बाहरु छँदै थिए।

चेम्जोङ (२०५९:९७)ले सुन राय, कुम राय र जङ्ग राय गोरखालीहरुसँग मिलिसकेपछि वि.सं. १८३१ भदौ अर्थात् तत्कालै सेरिङ लिम्बूको नेतृत्त्वमा फेदापका आतहाङ राय, मैवा खोलाका श्रीदेव राय, मेवा खोलाका रैनसिंह राय र तम्बर खोला शुभवन्त राय गोरखालीहरुसँग मिल्न आए भन्ने उल्लेख गरेका छन्। तर यो सत्य प्रमाणित हुँदैन।

यी सुब्बाहरु वि.सं. १८३९ मा मात्रै रणबहादुर शाहको समयमा गोरखालीहरुसँग मिलेको उनीहरुले पाएको मोहरबाट पुष्टि गर्छ। उनीहरुलाई वि.सं. १९३९ साउन वदी ८ मा पठाइएको मोहरमा “तिमीहरुले खोलिकन बिन्ती नगर्दा आजसम्म ढिलो भएको हो. अब तिमीहरुको कुरा भारदारहरुबाट बिस्तार विन्ती ग-या सुन्यौँ हिजु हिन्दुपतिले बक्स्याको नगरा निशानमा मर्यादा जो हो हामीले बक्सन्छौ. मोहन देख्न चाडो हजूरमा आव” भन्ने परेको छ (शिवकुमार श्रेष्ठ, “लिम्बूवानको ऐतिहासिक अध्ययन”–२०५२:१३४)।

सोही मितिमा खजुम लिम्बूहरुले पनि यस्तै ब्यहोराको मोहर पाएका थिए। यो मोहर छायाँप्रति यो लेखकसँग सुरक्षित रहेको छ।
अझ पृथ्वीनारायण शाहले सिरेङ अर्थात् सेरेङ लिम्बूहरुलाई आफ्नो जीवनकालमा फकाउन वा हात लिन सकेनन्। यसलाई पुष्टि गर्ने ऐतिहासिक पत्रहरु उपलब्ध छन्। इतिहासकार दिनेशराज पन्तले “पूर्णिमा” पूर्णाङ्क ५८ (चैत २०४०:३०–४४)मा प्रकाशित गरेको रणबहादुर शाहले जारी वि.सं. १८३४ देखि १८३७ को समयको बीचमा लेखिएका नौ वटा ऐतिहासिक पत्रमध्ये तीन वटामा सेरेङ लिम्बूहरुको प्रसङ्ग परेको छ।

विजयपुरमा बसेर त्यहाँको प्रशासन चलाइरहेको सुब्बा योगनारायण मल्लको नाममा लेखिएको पत्र अध्ययन गर्दा कहिले सेरेङहरु कहिले गोरखालीसँग मिल्न आएजस्तो गर्ने, कहिले भड्कने गरेको देखिन्छ।

विजयपुरमा बसेर त्यहाँको प्रशासन चलाइरहेको सुब्बा योगनारायण मल्लको नाममा लेखिएको पत्र अध्ययन गर्दा कहिले सेरेङहरु कहिले गोरखालीसँग मिल्न आएजस्तो गर्ने, कहिले भड्कने गरेको देखिन्छ। उनीहरुलाई उत्तरी क्षेत्रको खतरनाक समूहको रुपमा चित्रित गर्दै एक पत्रमा “मकवान साहेव पनि यहाँबाट भागेर मगलानमा हांगामा गर्न लागिरहेछ पूर्वतिर पनि उत्तर भन्या लिंवु श्रृंग्या दषिन नी सरुप छदैछन्…” भन्ने परेको छ।

यस पत्रमा लिंवु श्रृंग्या भनेको सेरेङ लिम्बूहरु हुन् भने मकवानी साहेब भनेको चौदण्डी तथा विजयपुर फर्काउन सकिए त्यहाँको राजा तुल्याउन तयार पारिएका पाल्पाली राजकुमार ध्वजबीर सेन हुन्। यस्तै सरुप भनेको बहादुर शाह नायवका रुपमा सत्तामा आएपछि भागेर मुगलान पसी सेन राज्य फर्काउन कर्ण सेनकी रानीलाई सहयोग गर्दै आएका भूतपूर्व गोरखाली भारदार स्वरुपसिंह कार्की हुन्। त्यसैले सेरेङहरु वि.सं. १८३९ मा मात्रै गोरखालीसँग मिलेको देखिन्छ।

यसैगरी लिम्बूहरुले सिमानामा रहेर लुटपिट तथा गोवध गरेको प्रसङ्ग खुल्ने वि.सं. १८४३ जेठ सुदी २ रोजमा रणबहादुर शाहले १७ जना लिम्बू सुब्बाहरुको नाममा जारी गरेको मोहरले पनि त्यसबेला लिम्बूवानमा शान्ति कायम हुन नसकिरहेको पुष्टि गर्छ। मिरिकनिवासी इतिहास तथा संस्कृतिविद् विरही काइँलासँग सुरक्षित रहेको उक्त मोहरमा “तिमीहरुले पारि बसी लुटपीट गोवध खतछित ग-याको सबै माफगरिवक्स्यौं हाम्रा पिछा प-यापछि गोवध नगर्नु पारी हुँदा ग-याको षत वापत तिमीहरुलाई कसैले दराउतम्बी ग-या अप्सरिया होला निमिषको सोझो गरी टहलमा रुझु रहु…सर्वथा चाँडो गरी आयापछि सबै कुराको बन्दवस्त गरिवक्सौंला” भन्ने परेको छ।

यसबाट सिक्किममा पुगेका लिम्बूहरुले आफ्नो पुरानो राजनीतिक विरासत फर्काउन सिमानामा बसेर अशान्ति मच्चाइरहेको भन्ने बुझ्न सकिन्छ। वि.सं. १८४८ साउन महिनामा आइपुग्दा लिम्बूहरुले आफ्नो राज्य फर्काउन सिक्किमी र लेप्चाहरुसँग मिली चैनपुरमा ठूलो विद्रोह गरी केही त्यस क्षेत्र कब्जा गरेका थिए। यसबारे प्रमाणसहित यो लेखकले “आदिवासी विद्रोहको इतिहास” (२०७९:१५–५५) लेखेको थियो।

वि.सं. १८४८ साउन महिनामा आइपुग्दा लिम्बूहरुले आफ्नो राज्य फर्काउन सिक्किमी र लेप्चाहरुसँग मिली चैनपुरमा ठूलो विद्रोह गरी केही त्यस क्षेत्र कब्जा गरेका थिए।

वि.सं. १९५० मा राजा रणबहादुर शाहले विजयपुरका सुब्बा पूर्णानन्द उपाध्ययलाई लेखेको पत्र हेर्दा पनि त्यसबेला लिम्बूहरुसँग राज्य ढुक्क भएर बस्न सकेको देखिदैन। महेश सी. रेग्मी (“रेग्मी रिसर्च सेरिज” वर्ष ३ अङ्क १२–सन् १९७१:२७८–७९)ले प्रकाशमा ल्याएको वि.सं. १८५० असार सुदी ७ को उक्त पत्रमा विजयपुरबाट पूर्णानन्दले सिक्किमका मन्त्री छत्रजितले लिम्बूहरुलाई विद्रोह गर्न सल्लाह दिइरहेको अर्जी गरेकोमा रणबहादुर शाहले उपाध्यायलाई सिक्किमका भोटियाहरुलाई मात्रै होइन लिम्बूहरुसँग पनि पूर्ण रुपमा विश्वस्त नभई सर्तक रहन आदेश दिएको देखिन्छ।

यसबाट वि.सं. १८३१ साउनमै लिम्बू र गोरखालीहरुको सन्धि सम्झौता पूर्ण रुपमा टुङ्गोमा पुग्न सकेको रहेनछ भन्न बुझ्न गाह्रो हुदैन।

युद्धअघि हात लिने प्रयास
पृथ्वीनारायण शाहले लिम्बूवानमा युद्ध छेड्नु दुई वर्षअघि नै बिनायुद्ध उनीहरुलाई हात लिने कुटनीतिक प्रयास गरेका थिए। उनले पुनि राय नामका लिम्बू सुब्बालाई पठाएको मोहरको सक्कल अहिलेसम्म सुरक्षित रहेको छ। यो मोहर पाँचथर नवमीडाँडाका हर्कबहादुर आङ्देम्बेले आफ्नो पुख्र्यौली नासोका रुपमा सुरक्षित राखेका छन्।

यो पत्रमा काल पुरी नामका गोसाई (महन्त)को नाम उल्लेख भएकोले त्यो बेला उनी पृथ्वीनारायण शाहको दूतका रुपमा लिम्बूहरुलाई हात लिन सक्रिय थिए भन्ने देखिन्छ। यो मोहरमा कामदत्त सेनको निधन भइसकेकोले अब उनको ठाउँमा आफूलाई राजा थाप्न आग्रह गरिएको छ। कामदत्तको सेवकलाई पनि आफ्नो सेवकको रुपमा आफूले पिछा लिने उल्लेख गर्दै पृथ्वीनारायण शाहले अरु लिम्बूहरुसँग पनि सल्लाह गरेर आफूसँग मिल्न आउन आग्रह गरेका छन्। त्यसो गरेवापत आफूले सुन, मोती, हात्ती आदि बक्सिस दिने लोभ पनि देखाएका छन्। मोहरको ब्यहोरा यस्तो छः

स्वस्तिश्री सर्वोपमा योग्य राजभारासामर्थ श्री पुनि रायि लिंवुके आशिषपूर्वक पत्रमिदं. ञाहां कुशल ताहा कुशल चाहिए जेहिते परमानंद होइ. आगे इहाको समाचारप्रति आपनु हालकीगत लिकन काल् पुरि गोसाञिलाइ ञाहा पठाया कागत विंति ग-या. सुनिउं. वाकि. हिजो पनि कामदत्त सेनका पालामहा यो आज उन्को परलोक भैगयो त पनि कुन् उनका सेवक. कुन हाम्रा हौ. तुम्रो छ यहां जति लिंवु सिरिंग्या छन् हात् गरि हाम्रो पाव भन्या तेतावाट रि काज ग-याको दिन. सुनका कंडा मोति. हाति सर सिर्पाउ वेश गरिवक्सन्छौ. काज गर. वांकि राजी हुन्या भन्याको त राजाका वसलेप हुंछन् सेवकका जहां छन्. तिमि हामि मिलिकन ताहा राजा थापन्या अर्थ गर किमधिकं माघ शुदि ४ रोज ३ मुकाम कांतिपुर शुभम्।

पृथ्वीनारायण शाहले माझकिरात हात लिने तयारी गर्दा त्यहाँको स्थिति बुझ्न र कुटनीतिक भूमिका खेल्न बाङ्ग्या बस्न्यातलाई पठाएका थिए।

यो पत्रमा महिना, तिथी र बार मात्रै उल्लेख छ। साल भने उल्लेख गरिएको छैन। पुरानो पात्रोअनुसार १८३१ को माघ सुदी ४ को दिन शनिबार पर्छ। यो दिन माघ महिनाको २५ गते पर्छ। सोही सालको माघ १ गते पृथ्वीनारायण शाहको निधन भएकोले उक्त सालमा यो पत्र लेखिएको ठहर्दैन। वि.सं. १८३० मा लेखिएको हो कि भनी अनुमान गर्दा माघ सुदी ४ आइतबार पर्ने भएकोले बार मिलेन। वि.सं. १८२९ को माघ सुदी ४ मंगलबार नै पर्ने भएकोले बार मिल्न पुग्यो। त्यसैले पृथ्वीनारायण शाहले यो मोहर वि.सं. १८२९ मा पाँचथर थुमका लिम्बू सुब्बा पुनि रायलाई पठाएको स्पष्ट हुन्छ।

तर यो कुटनीतिक प्रयासबाट पृथ्वीनारायण शाहले तत्काल लिम्बूहरुलाई आफूतिर मिलाउन भने सकेनन्। पृथ्वीनारायण शाहले माझकिरात हात लिने तयारी गर्दा त्यहाँको स्थिति बुझ्न र कुटनीतिक भूमिका खेल्न बाङ्ग्या बस्न्यातलाई पठाएका थिए। यस्तै लिम्बूवानमा भने सोही भूमिकामा काल पुरी नामका महन्त सक्रिय भएको देखिन्छ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १० : ५० बजे

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै