दोलखा- दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ४ र मेलुङ गाउँपालिका ७ मा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । वैतेश्वर ४को लामास्वाँरा निवासी रवीचन्द्र दहालको भूकम्प पछि निर्माण गरिएको दुई कोठाको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको वडा नम्बर ४ का वडाध्यक्ष कुमार चौलागाईंले जानकारी दिए ।
गएराति भान्सा कोठाबाट सुरु भएको आगोले सिङ्गो घर जलेर नष्ट भएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए । ईलाका प्रहरी कार्यालय मैनापोखरीको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागी पीडित दाहाललाई आपतकालीन राहतस्वरूप वडाध्यक्ष चौलागाईंले नगद १० हजार व्यक्तिगत सहयोग गरेको पीडित दाहालले बताए ।
यसैबीच, शुक्रबार दिउँसो जिल्लाको मेलुङ गाउँपालिका ७ जिम्बलटोल निवासी भीमबहादुर खड्काको घरमा पनि आगलागी हुँदा घर पुर्ण रुपले जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो करिब साढे ४ बजेको समयमा घरनजिकै रहेको परालको कुन्यूँबाट सल्केको आगोले नजिकै रहेको घर र गोठ जलेर नष्ट हुँदा करिब ११ लाख ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको मेलुङ प्रहरी चौकीले जनाएको छ ।
प्रहरीले रीले स्थानीयको सहयोगमा करिब एक घण्टा पछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण घरभित्र रहेको सम्पूर्ण लत्ताकपडा,भाँडाकुडा र अन्नपात पुर्ण रूपमा जलेर नष्ट हुँदा ११ लाख ७५ हजारबराबरको क्षति भएको अनुमान गरिएको छ ।
-सुवास बस्नेत
प्रतिक्रिया