लाइसेन्समा मद्रासीको एकाधिकार, नेपालमा हाहाकार | Khabarhub Khabarhub

लाइसेन्समा मद्रासीको एकाधिकार, नेपालमा हाहाकार

किन पाइएन सवारी लाइसेन्स ? सुनौं मन्त्रालयका कर्मचारीको बयान


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी सेवाका लागि जनताले लाइनमा बस्नुपर्दैन भनेर गफ चुट्ने प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा आसीन छन् । सिद्धान्तमा भन्दा जनताका दैनिक समस्यामा ध्यान दिनुपर्छ भन्दै भाषण गर्ने रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । अनि उपप्रधानमन्त्रीसहित सवारी लाइसेन्सको लाइन मिनिस्टर (यातायात मन्त्रालय) को जिम्मेवारीमा छन्– एमाले नेता रघुवीर महासेठ ।

तैपनि, कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो जनताले सवारी अनुमतिपत्र लाइसेन्स नपाएर ‘चिर्कटो’ का भरमा गाडी चलाएको वर्षौं बितिसक्यो ।

सवारी लाइसेन्स भनेको नागरिकता र राहदानी (पासपोर्ट) पछिको महत्वपूर्ण डकुमेन्ट हो । लाइसेन्स नलिई सवारी साधन चलाउनै पाइँदैन । तर, यस्तो महत्वपूर्ण डकुमेन्ट पनि सरकारले जनतालाई दिन नसकी किन खेलवाड गरिरहेको होला ?

जनतालाई लाइसेन्स बाँड्न नसक्ने प्रचण्ड, ओली र रवि लामिछानेहरुले कुन मुखले भनिरहेका छन् कि हामीले सरकार हाँकिरहेका छौं ?

आखिर सरकारले किन जनतालाई लाइसेन्स दिन सकेको छैन ? कसको कमजोरीले यो तमासा भइरहेको छ ? यसबारे खबरहबले सिंहदरबारमा पुगेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एकजना सरकारी अधिकारीसँग प्रश्न सोधेको छ ।

ती कर्मचारीले नाम सार्वजनिक नगर्ने शर्तमा बताएको कहानी जस्ताको त्यस्तै पाठकसमक्ष प्रस्तुत गरेका छौं ।

ती कर्मचारीको निष्कर्षमा भारतको मद्रासी कम्पनीको एकाधिकारका कारण नेपालीहरुले स्मार्ट लाइसेन्स प्राप्त गर्नमा कठिनाइ भइरहेको छ । साथमा अरु पनि केही जटिलताहरु छन् । तर, ती कर्मचारी भन्छन्,– सरकारले चाहने हो भने लाइसेन्सको समस्या तत्कालै समस्या समाधान हुन सक्छ ।

सुनौँ मन्त्रालयका कर्मचारीको बयान–

लाइसेन्सको विषयमा संविधानमै पनि समस्या छ । संविधानले यातायातको व्यवस्थापन प्रदेश सरकारलाई दिएको छ । रुट परमिटको इजाजत आदि अधिकार स्थानीय तहलाई समेत दिइएको छ । र, यसको अनुगमनको अधिकार संघलाई, अर्थात यातायात विभागलाई संविधानले दिएको छ ।

के हामी स्मार्ट लाइसेन्समा जानैपरेको थियो ? स्मार्ट लाइसेन्सको चिप्स रिड गर्ने सामान नहुने हो भने पहिलाकै कार्ड सिस्टम ठिक थियो । त्यही कार्ड देखाउँदा हुन्थ्यो । हामी अरु पूर्वाधार नहुँदै स्मार्ट लाइसेन्समा जानु हुँदैनथ्यो । तर, संघीयतामा नजाँदै १० वर्ष पहिले नै स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बरमा जाने निर्णय गरियो । तर, स्मार्ट लाइसेन्स छाप्नका लागि सातै प्रदेशमा प्रिन्टर राख्ने काम भएन ।

सवारी लाइसेन्स भनेको देशको पहिचानको डकुमेन्ट पनि हो । यसलाई राहदानीपछिको महत्वपूर्ण मानिन्छ । यो हरेक प्रदेश–प्रदेशले जारी गर्नु पनि राम्रो हुँदैन । वितरण जहाँबाट गरे पनि बनाउने कामचाहिँ संघले नै एकरुपताका आधारमा गर्नुपर्ने हुन्छ ।

तर, नयाँ संविधान बनिसकेपछि यसको कार्यान्वयन गर्ने अधिकार उता (प्रदेशमा) गयो । जस्तो– ट्रायल लिने, पास गर्ने, जाँच लिने, सिफारिस गरेर पठाउने प्रदेश अन्तरगतका कार्यालयहरुबाट भयो । यातायात व्यवस्था कार्यालयजति सबै प्रदेशमा भए ।

विभागले चाहिँ त्यहाँबाट आएकालाई प्रिन्ट गरेर गरेर उनीहरु कहाँ पठाइदिने र उनीहरुले वितरण गर्ने भन्नेजस्तो सिस्टम बनाइयो । अलिकति यहाँनेर समन्वय गर्न गाह्रो भएको छ ।

एकै सरकार अन्तरगतको कार्यालयमा त समन्वय गाह्रो हुन्छ भने यो त संघ सरकारको यातायात व्यवस्था विभाग र प्रदेश सरकारका यातायात व्यवस्था कार्यालयहरु भएपछि अलिकति तालमेलको अभाव देखिएकै हो ।

अर्को, हामीलाई यति संख्यामा मागअनुसारको लाइसेन्स चाहिन्छ भनेर राम्रोसँग अञ्दाज गरिएन । कति क्षमताको मेसिन चाहिन्छ र कतिवटा लाइसेन्स चाहिन्छ भन्ने ठेगान नै भएन ।

मद्रासीको एकाधिकार

जुन अहिलेको सफ्टवेयर निर्माता छ, त्यसले अरु कम्पनीहरु चाहिँ लाइसेन्स छाप्न नआइदिए हुन्थ्यो भन्ने देखियो । आइहाल्यो भने यसले डिकोडिङहरु नदिने, नमिलाइदिने, सिंकोनाइज नगरिदिने खालका समस्या पनि देखिएका छन् ।

अहिले लाइसेन्स छाप्ने काम भारतको एमएसपी (मद्रास सेक्युरिटी प्रेस) ले गरिरहेको छ । लाइसेन्स छाप्ने मेसिन उसको हो अहिले । अर्कोबाट लिने वित्तिकै बजारमा अरु पनि प्रवेश गर्ने भयो भनेर अर्को कम्पनीलाई उसले सहयोग नगरिरहेको समस्या छ । यसले पनि लाइसेन्स वितरणमा समस्या पारिरहेको छ । जस्तो– १२ लाख लाइसेन्स आएको थियो, उसलाई दुई–तीन महिनासम्म के–के मिलेन भन्नेमै गयो ।

यो सफ्टवेयरको कुरा धेरैले बुझिँदैन । सफ्टवेयरमा खराबी आयो भनिसकेपछि बुझिँदैन । यसमा अरु चिजजस्तो यसो गर् भन्न पनि सकिँदैन । अरुमा जस्तो यसमा हस्तक्षेप गर्न पनि पाइँदैन, सकिँदैन । सफ्टवेयर यताबाट बनेको हुन्छ, उताबाट कसरी तालमेल मिलाउने भन्ने हुन्छ ।

त्यसैले, एउटा कम्पनीको सफ्टवेयर हामीले लिएर हाम्रै म्यानपावरले मिलाउन जान्ने हुनुपर्ने हो, त्यो गर्न सकिएको छैन । जसले सुरुमा ठेक्का पाइराखेको छ, त्यसले अर्कोलाई मिलाइदिने भनेपछि त उनीहरुको बिजनेश प्रतिस्पर्धा त होला, त्यसले गर्दा उसले सजिलोसँग काम नगर्दिने समस्या छ ।

मेसिन किन्न कर्मचारी डराउँछन्

लाइसेन्स छाप्ने मेसिन किन्नमै पनि समस्या छ । सरकारले किन्ने निर्णय गर्छ, नपाउने एउटाले उजुरी हालिदिन्छ । किन्नका लागि सूचना निकाल्दैदेखि विवाद शुरु हुन थालिहाल्छ ।

त्यसैले अनेक खालको जवाफ दिनुपर्छ भन्ने ठानेर सूचना निकालिहाल्ने भन्दा पनि कर्मचारीहरुलाई विवादमा परिने हो कि भन्ने डर छ । यसले पनि काम गरेको छ ।

यातायात मन्त्रालयले पछिल्लो एक वर्षमा लाइसेन्सकै विषयलाई लिएर तीनचोटि प्रदेश सरकारको समेत सहभागितामा संयुक्त बैठक गर्‍यो ।

हामीले उहाँहरुलाई प्रदेशको चालु आर्थिक वर्षको कार्यक्रममा लाइसेन्स छाप्ने मेसिन खरिदका लागि बजेट छुट्याउनुहोला प्लिज भन्यौं । बरु ठिक्क खालका किन्ने । कम्तिमा बागमती र मधेस प्रदेशले मात्रै किनेर लाइसेन्स छाप्न थालिदिने हो भने विभागलाई धेरै लोड कम हुने थियो ।

उहाँहरुले ल किन्छौं पनि भन्नुभएको थियो । त्यसको सफ्टवेयर चाहिँ संघ सरकारले, विभागले मिलाइदिने, मेसिन प्रदेश सरकारले किन्ने भनिएको थियो । तर, यो काम अघि बढेन । अहिले यसको सबै दोष संघ सरकारलाई देखाइने गरेको छ । तर, उहाँहरुले यसको जिम्मेवारी लिन चाहनुभएन ।

अर्को बैठकमा उहाँहरुले हाम्रो त्यो सफ्टवेयर चलाउने इञ्जिनियर भएन भन्नुभयो । त्यो पनि करारमा भर्ती गर्नोस्, नगरुञ्जेललाई हामीले यहाँबाट मान्छे पठाइदिन्छौं भन्यौं । त्यसपछि उहाँहरु पनि सेलाउनुभयो, भोलि के हुन्छ, नमिल्ला, भोलि छाप्न सकिएन भने किन मेसिन किनेको भन्ने प्रश्न उठ्ला भनेर कसैले पनि किनेको जस्तो मलाई लाग्दैन ।

झण्झटिलो काम जति प्रदेशहरुले लिन चाहेका छैनन् । संघमा पनि दुई–तीनवटा समस्याहरु छन् । पहिलो त सफ्टवेयरको काम सुरुदेखि नै विवादमा परिरहन्छ । पत्रिकाहरुले लेखिहाल्छन् । मैले अघि नै भनें, मन्त्रालयका सविचवहरुलाई पनि यो सफट्वेयरको विषय थाहा हुँदैन । विज्ञहरुसँगै बोलाएर यो के हो हँ भनेर सोध्नुपर्छ । उनीहरुले यो सबै ठीक छ भन्छन्, पत्रपत्रिकाले लेख्दिन्छन् यसले गर्दा कर्मचारीहरु अगाडि बढ्न डराउँछन् ।

अस्थायी लाइसेन्स तत्कालै पाइन्छ, तर…..

अस्थायी लाइसेन्स भन्ने पनि छ– एकवर्षको । यो अस्थायी लाइसेन्स पहिलाकै फम्र्याटमा प्रिन्ट गरेर दिने भन्ने छ । यो लिइदिए पनि हुन्थ्यो नि मान्छेले । जसले विदेश नै जानु छ, उसले त एकैचोटि पाँचवर्षे लिएर गए भयो तर अरुले एक वर्षे लिए हुन्थ्यो । तर, हाम्रो मानसिकता के छ भने आ… चिटै लिन्छु, बरु यसो भनसुन गरेर छपाएरै स्मार्ट नै लिने तर अस्थायी नलिने ।

अस्थायी लाइसेन्स लिन सकिने ऐनमा व्यवस्था छ । त्यो पहिलाकै जस्तो कार्ड तुरुन्तै छापेर दिन सकिन्छ । त्यो एक वर्षका लागि हुन्छ, त्यसपछि नवीकरण गर्नुपर्छ । यो लिइदिएको भए यस्तो चिटको कुरा आउने थिएन । तर, यो लिन नमान्ने मानसिकता सेवाग्राहीसँग छ । मलाई त्यही स्मार्ट लाइसेन्स नै चाहिन्छ भन्ने छ ।
यिनै विभिन्न कारणहरुले गर्दा लाइसेन्स वितरणमा समस्या भइराखेको छ ।

समस्या समाधानका लागि के गर्ने ?

यो समस्यालाई अब अन्तरप्रदेश समन्वय समितिको बैठकमा राख्नुपर्छ । बरु प्रदेशलाई दुई–चारवटा दरबन्दी चाहिएको हो भने तुरुन्तै त्यहीँबाट स्वीकृत गरिदिऊँ ।

हरेक प्रदेशमा दुईदेखि पाँच जनासम्म कति चाहिन्छ सफ्टवेयर इञ्जिनियरहरुको दरबन्दी खडा गरिदिने, त्यो नआउञ्जेलका लागि करारमा भर्ती गर्ने । यो निर्णय प्रदेश सरकार आफैंले पनि गर्न सक्छ । अन्तरप्रदेश बैठकबाट निर्णय गरे पनि भयो ।

यो निर्णय गर्ने र प्रदेशहरुबाट पनि समानान्तररुपमा छाप्न थाल्ने र संघले पनि छापिरहने । सफ्टवेयरको जिम्मा संघले लिने । जस्तो पासपोर्टको फम्र्याट एउटै छ, संघमा बन्छ र तल पठाइन्छ । लाइसेन्सको हकमा प्रिन्ट गर्ने अधिकार प्रदेशलाई दिने तर यहाँको सफ्टवेयरमा प्रिन्ट हुने । यो गरियो भने एउटै स्टाण्डर्डको लाइसेन्स देशैभरि पुग्छ । नत्र कसैको कार्ड एकथरि, कसैको अर्कोथरि हुन्छ ।

सफ्टवेयरको कन्ट्रोल विभागले नै गर्नुपर्छ । नत्र सातै प्रदेशले आ–आफ्नै तरिकाले काम गर्ने हो भने देशभर कतिवटा लाइसेन्स जारी भयो भन्ने नै थाहा हुँदैन । त्यसैले सहजीकरण र नियमनको काम संघ सरकारले लिनुपर्छ । छाप्ने, वितरण गर्ने अरु कामहरु प्रदेश सरकारले गर्ने ।

यो काम गर्न नसकुञ्जेलका लागि एकवर्षे अस्थायी लाइसेन्स वितरण गर्नुपर्छ ।

अर्को पनि एउटा विकल्प छ । जस्तो– अहिलेको समस्या भनेको त कार्ड छापेर दिन मात्रै हो । सफ्टवेयरमा इन्ट्री गरेर मान्छेले नेशनल आइडी लिएको छ भने त्यो नेशनल आइडीको सफटवेयरमा ठ्याक्क त्यो देखिने भयो भने ट्राफिकलाई स्मार्ट फोनबाट त्यही देखाएर पनि हिँड्न सकिन्छ । तर, बाहिरी देशहरुमा हार्डकपी नै चाहिने हुन सक्छ । नियमावलीमा केही परिवर्तन गर्नुप¥यो भने गर्दिएर देशभित्र मोबाइलबाटै देखाउने र बाहिर जानेलाई हार्डकपी दिने पनि गर्न सकिन्छ ।

राष्ट्रिय परिचयपत्र लागू गर्दा एकीकृत गर्न सकेको भए हुन्थ्यो । परिचयपत्र रिड गर्दा त्यहीँ देखिने, नभएको ठाउँमा पनि स्क्रिनमा हेर्दाखेरि हुने बनाइदिँदा भइहाल्छ । यसमा अलिकति नियमावली संशोधन गरेर यसलाई मान्यता दिनुपर्छ ।
अर्काको सफ्टवेयरमा भर नपरौं

लाइसेन्स खरीद प्रक्रियालाई छिटो गर्नुपर्छ । सरकारले चाहने हो भने केही नियम कानून बाधा छ भने त्यसलाई संशोधन गरेर भए पनि काम गर्न सकिन्छ ।

जस्तो– अर्कोबाट लाइसेन्स ल्याउँदा एमएसपीले नलिने कुरालाई तत्कालै ट्रिट गर्ने र ८–१० जना सफ्टवेयर इञ्जिनियरहरु तत्कालै तयार पार्ने र अहिलेको सप्लायर्ससँग मात्रै भर नपर्ने । एमएसपीको विकल्पमा करारमा विज्ञहरु हायर गरेर भए पनि आफ्नै सफट्वेयर बनाउने ।

मेरो विचारमा जसरी हुन्छ, लाइसेन्सलाई यातायात व्यवस्था विभाग अन्तर्गत छिटो ल्याउनुपर्छ । अहिले हामीले ठेक्का गरिराखेको फर्मलाई उसको जिम्मामा छाडिराख्नु हुँदैन । उसले राम्रोसँग हामीलाई सेवा दिँदैन भने उसलाई भुक्तानी गर्नुहुँदैन । उसले काम राम्रोसँग गर्दैन भने त्यसको सफ्टवेयरमा भर नपरौं, हाम्रो आफ्नै सफ्टवेयर बनाऔं । अर्काको सफ्टवेयरमा भर नपरौं ।

याे पनि…

स्मार्ट लाइसेन्स छैन ? एक वर्षको अस्थायी लिनोस्

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ७ : २१ बजे

चीनले पाकिस्तानलाई अत्याधुनिक ४० हवाई फाइटर बेच्ने

बेइजिङ – चीनले पाकिस्तानलाई ४० उच्च प्रविधियुक्त लडाकु विमान दिने

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत

इनरुवा- जिल्ला सदरमुकाम इनरुवा–२ का रवीन्द्र यादवले इनरुवा–२ मा दुग्ध

अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेगावाट बिजुली उत्पादन गर्ने

वासिङ्टन– विश्वका धेरै देश अहिले ‘नक्कली सूर्य’ बनाउनमा व्यस्त छन्

मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह

भोजपुर – सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल

दलहरूको छलफलबाट मात्रै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक