हर्क साम्पाङलाई जानकारको सुझाव– ‘सस्तो स्टन्टले निलम्बनमा परिएला’ « Khabarhub

हर्क साम्पाङलाई जानकारको सुझाव– ‘सस्तो स्टन्टले निलम्बनमा परिएला’



काठमाडौं- चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले अहिलेसम्म प्रतिनिधिसभा वा राष्ट्रियसभाका कुनै पनि बैठकलाई सम्बोधन गरेका छैनन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सांसदहरुले सोधेको प्रश्नको जवाफ पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिए । आफैँले ल्याएको नीति तथा कार्यक्रमलाई पनि प्रधानमन्त्रीले अपनत्व नलिएको र सदनमा उपस्थित भएर सांसदहरूको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टी लगायत विपक्षी दलहरू प्रधानमन्त्रीमाथि खनिएका छन् ।

अन्य दलहरूले संसदीय मर्यादाभित्र बसेर प्रधानमन्त्री र सरकारको जवाफ माग गरेपनि श्रम संस्कृति पार्टीले भने संसदीय अभ्यासमै नभएको अनौठो दृश्य आज सदनमा देखायो । पार्टीका सात जना सांसदहरू प्लेकार्ड बोकेर पार्टी अध्यक्ष हर्क साम्पाङसँगै सभामुखको अगाडि उभिएर विरोध गरे ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीलाई मर्यादामा रहेर गतिविधि गर्न आदेश दिए । ‘मर्यादाभित्र रहेर विरोध गरिदिनुहोस् भन्ने आदेशका रूपमा जानकारी गराउँछु । पर्चा देखाएर विरोध गर्ने यो अभ्यास न त कानून/नियमावलीमा छ, न त प्रचलित संसदीय अभ्यासमा नै । त्यसैले आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्ण तरिकाले गर्नुहोस् भन्ने जानकारी गराउँछु,’ श्रम संस्कृतिका सांसदलाई लक्षत गर्दै सभामुख अर्यालले भने ।

सभामुखको आदेशपछि पनि सांसदहरूले प्लेकार्ड फालेनन् । उनीहरूले सर्टमाथि टाँसेर विरोध जनाइरहे । यो गतिविधि संसदीय मर्यादा र नियमविपरीत रहेको भन्दै विभिन्न व्यक्तिहरूले श्रम संस्कृतिमाथि प्रश्न उठाइरहेका छन् । संसदीय मामिलाका जानकार तथा राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयाँल श्रम संस्कृति पार्टीको यो अभ्यास संसदीय परम्परा र नियमावली विपरीत रहेको दाबी गर्छन । उनै फुयाँलसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश-

श्रम संस्कृति पार्टीले संसदमा प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिनु कतिको जायज हो ?

यो संसदीय गरिमा र मर्यादाविपरीतको काम हो । सस्तो प्रचारबाजीका लागि गरिने यस्ता क्रियाकलापले संसदीय मर्यादामा मात्र होइन, सम्बन्धित दल र सांसदहरूको प्रतिष्ठामा पनि हानी पुर्‍याउँछ । श्रम संस्कृति पार्टीले जे गरेको छ, यो अभ्यास संसदमा कहिल्यै प्रयोग नभएको हो । यो कानुन र नियमावलीविपरीत छ । विरोध गर्न पाइन्छ, तर मर्यादाभित्र बसेर गर्नुपर्छ ।

उहाँहरूलाई के कस्तो कारवाही हुन सक्छ ?

सभामुखलाई संसदभित्रको शान्ति, सुरक्षा, अनुशासन र मर्यादा कायम गर्ने पूर्ण अधिकार छ । यस्तो क्रियाकलाप भएमा सभामुखले तत्काल आदेश पनि दिन सक्नुहुन्छ ।

आज सभामुखले दिएको आदेश पर्याप्त थियो ?

पहिलो दिन भएकाले उहाँले ध्यानाकर्षण गराउनुभयो । नियमावलीले दिएको अधिकार कति प्रयोग गर्ने भन्ने सभामुखको विवेकमा भर पर्छ। अलिकति नरम कदम चाल्नुभएजस्तो लाग्छ ।

राजेन्द्र फुयाँल

फेरि दोहोर्‍याए भने कस्तो कारवाही हुन सक्छ ?

सामान्यतया यस्तो क्रियाकलापमा सभामुखले तत्काल आदेश जारी गर्नुपर्छ । हाम्रो नियमावलीमा सभा नियम उल्लङ्घन गरेमा के कारवाही गर्न सकिन्छ भन्ने स्पष्ट व्यवस्था छ । निश्चित बैठकमा भाग लिन नपाउनेगरी निलम्बनसम्मको कारवाही हुनसक्छ।

एउटा बैठक मात्रै कि लामो निलम्बन ?

नियमावलीमा एउटा मात्र भन्ने छैन, एकभन्दा बढी बैठक पनि हुनसक्छ । सभामुखले आदेश जारी गर्न सक्नुहुन्छ । पछि सम्बन्धित व्यक्तिले गल्ती स्वीकार गरेमा त्यसलाई घटाउन पनि सक्नुहुन्छ । यसमा नियमावलीले सभामुखलाई अलिकति बढी अधिकार दिएको छ ।

संसदीय मर्यादा कायम राख्न नसकेका सांसदहरूलाई तपाईंको सुझाव के छ ?

संसद भनेको जनताको आवाज र जनइच्छाको अभिव्यक्ति गर्ने थलो हो । प्रतिपक्षका सांसदहरू बढी रचनात्मक हुनुपर्छ र सरकारका हरेक क्रियाकलापमा प्रश्न उठाउने नैतिक बल भएको हुनुपर्छ । सस्तो स्टन्टले प्रतिपक्षलाई कमजोर बनाउँछ । उनीहरूको प्रश्नलाई ‘सस्तो प्रचार’ मात्र भन्ने धारणा सिर्जना गर्छ ।

त्यसैले, सत्तापक्ष र प्रतिपक्ष दुवैले संसदको नियमावलीभित्र रहेर आफ्ना गतिविधि सञ्चालन गर्नुपर्छ । लोकप्रियताको आडमा कसैलाई पनि नियम, गरिमा र अभ्यासभन्दा बाहिर गएर गतिविधि गर्न विगतमा छुट थिएन र अहिले पनि कानुनले दिँदैन । यस पटक श्रम संस्कृति पार्टीले ठूलो गल्ती गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ३ : ०१ बजे

क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

ओटावा- क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि

नेपाल डब्लूएचओको उपाध्यक्षमा निर्वाचित 

काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपाध्यक्षमा निर्वाचित भएको

संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं– आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले