मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु « Khabarhub

मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्वत– ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ । खाल्डाखुल्डी र हिलोले सवारी साधन सञ्चालन गर्न तथा पैदलयात्रीलाई सास्ती भएपछि सोमबारदेखि मर्मत गर्न थालिएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा जलजला गाउँपालिकाका जनप्रतिनिधि, यातायात व्यवसायी र स्थानीयसहित प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्राविधिक र निर्माण व्यवसायीको संयुक्त बैठकले तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सोमबारदेखि मर्मत गर्न थालिएको आयोजनाका इञ्जिनियर अच्युतविलास पन्तले जानकारी दिए ।

उनका अनुसार मालढुङ्गाबाट बेनीसम्मको सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पहिरो पन्छाउने, हिलो सफा गरेर सवारी साधन नियमित सञ्चालन गर्न सहज बनाउने काम भइरहेको छ । तत्कालका लागि मर्मत गरिने र वर्षा रोकिएलगत्तै स्तरोन्नति थालिने उनको भनाइ छ ।

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीयका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । चाडपर्व सुरु भएसँगै मुक्तिनाथ र कागबेनीमा जाने दर्शनार्थीको सुविधालाई मध्यनजर गरी तत्काल मर्मत थालिएको इञ्जिनियर पन्तले बताए । सबैभन्दा बढी जलजला गाउँपालिकाका बासिन्दालाई समस्या परेपछि जनप्रतिनिधि, व्यवसायी र स्थानीयले प्रशासनमा मर्मतको माग गर्दै आएका थिए ।

तीस महिनामा काम सक्नेगरी विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । चार वर्षमा ५५ प्रतिशत मात्र काम भएको छ । १३ किमी लामो सडकमध्ये गत असारमा पाँच किमी कालोपत्र गर्ने तयारी गरिए पनि वर्षा र निर्माण सामग्री अभाव देखाउँदै ठेकेदारले काम रोकेको थियो ।

गण्डकी प्रदेशको लाइफलाइन मानिएको राष्ट्रिय गौरवका रुपमा रहेको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला–८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको इञ्जिनियर पन्तले जानकारी दिए ।

निर्माण कम्पनीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिटी, बालुवा र रोडा अभाव भएको भन्दै विसं २०७९ कात्तिकदेखि निर्माण रोकेको थियो ।

गत असोजमा म्याद सकिएको उक्त योजनाको यही असोज मसान्तसम्मका लागि म्याद थप गरिएको छ । सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालनका साथै पैदल यात्रीलाई आवतजावतमा समस्या हुँदै आएको स्थानीयले बताएका छन् ।

खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएपछि जिल्ला प्रशासनमा पुगेर दबाब सिर्जना गरेपछि मर्मत सुरु भएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।

आयोजना कार्यालयका अनुसार सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ । मालढुङ्गाबाट फर्सेसम्मको पाँच किमी दूरिमा कालोपत्र गर्न सबबेस बिछ्याइएको आयोजनाका इञ्जिनियर पन्तले बताए  ।

विभिन्न ठाउँमा करिब एक किमी ढलान र खोल्सामा कल्भर्ट पुल निर्माण गरिएको छ । फर्सेबाट लामाखेत खण्ड फराकिलो बनाउने, नाली र पर्खाल निर्माण तीव्र गतिमा भइरहेको पन्तले बताए । 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ७ : ०० बजे

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक