सिरहा– आम जनता पार्टी ((आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको शिक्षा ध्वस्त बनाउन लागेको आरोप लगाएका छन् ।
विद्यार्थीको अनुपातमा तहगत र विषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने भए पनि सरकारले मधेसमा त्यसो नगरी यहाँको शिक्षा व्यवस्था ध्वस्त बनाउन लागेको उनले बताए ।
आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज दोस्रो दिन सिरहा जिल्लाको मिर्चैया बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले विगतमा मधेसको शिक्षा ठिक भए पनि पछिल्लो समय मधेसवादी भनाउँदाको प्रदेश सरकार र ओली सरकारले शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग व्यापार लगायतका क्षेत्र बरबाद बनाएको बताए ।
मधेसमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्ने माग गर्दै अध्यक्ष साहले भने, ‘विगतमा गुणस्तरीय शिक्षा लिन विद्यार्थीहरू पहाडबाट मधेसमा आउँथे । अहिले ठिक उल्टो भएको छ । यहाँ तहगत र विषयगतको अभाव छ तर सरकारले त्यसको दरबन्दी कायम गरेर शिक्षकको व्यवस्था गरेको छैन । एउटै कक्षा कोठामा १०० भन्दा बढी विद्यार्थी कोचिएर पढ्नुपर्ने बाध्यता छ । तर यो अन्धो र बहिरा सरकारले बेखबर छ ।’
प्रदेश सरकार र संघीय सरकारलाई विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने, गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै आजपा निकटको आम विद्यार्थी मोर्चा संघर्ष गरिरहेको छ । आजपाले समेत यस बारेमा संघीय सरकारका शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नगरेको उनले बताए । शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग आजपाले गर्दै आएको छ ।
विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन गर, एउटै कक्षाकोठामा सयौँ विद्यार्थी राख्न पाइँदैन, विद्यार्थीको भविष्यसँग खेलबाड गर्न पाइँदैन, तहगत र विषयगत अपुग शिक्षकको पूरा गर, गुणस्तरीय शिक्षाको व्यवस्था गर, विभेदकारी शिक्षकको दरबन्दी वितरण खारेज गर, गुणस्तरीय शिक्षाको व्यवस्था गर, आम जनता पार्टी जिन्दवाद लगायतका नारा लगाउँदै यात्रामा सहभागीले सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
४० देखी ५० विद्यार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत मधेसमा ८० देखी १०० विद्यार्थी बराबर एक शिक्षक रहेको र हजारौँ विद्यालयमा शिक्षक दरबन्दी शून्य रहेको साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलनको विकल्प नभएको आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।
मधेसका अधिकांश विद्यालयमा १०० देखी ३०० सय सम्म विद्यार्थी कोचिएको विद्यालयमा तत्काल सेक्सन छुट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पूर्ति गर्नुपर्ने, विद्यार्थीको जनसंख्या हरेक वर्ष वृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानसँगै अपुग हुने शिक्षक दरबन्दी वैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिवार्य रूपमा पूर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ ।
भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष वर्तमान सरकारका कारण मुलुकमा भ्रष्टाचार, बेथिति, अनियमितता बढ्दै गइरहेको र आम जनतामाथि करमाथि कर थुपारेर राज्यको ढुकुटी लुट्ने काम भइरहेको आरोप समेत लगाए ।
अहिले मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महँगी, बेरोजगारी, वैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर, सीमावर्ती क्षेत्रमा सरकारले निजीसम्पत्ति लुट्ने काम बढ्दै गइरहेको बताउँदै उनले सरकारले मुलुकमा आतंक मच्चाएको आरोप लगाए ।
भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्नका लागि बनेको वर्तमान सरकारको नेतृत्व गरिरहेको एमाले अहिले सत्ता र सडकबाट आतंक मच्चाएको आरोप लगाए । सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताका लागि काम गर्नुको साटो तर्साउने, डराउने, आतंक मच्चाउन सडकमा प्रदर्शन गर्न लागेको बताए ।
एमालेको सडक प्रदर्शन सत्ताको उन्मादको प्रहसन भएको टिप्पणी उनले गरे । प्रधानमन्त्री नै सडक प्रदर्शनमा उत्रिनु भनेको लोकतन्त्रको उपहास भएको टिप्पणी उनले गरे । ‘सरकारले सडकबाट काउन्टर गर्ने जुन स्थिति निर्माण गरिरहेको छ त्यो भनेको बच्चालाई कुट्ने र रुन पनि नदिने क्रूरता हो’ आजपा अध्यक्ष साहले भने ।
सप्तरीबाट सुरु भएको आजपाको भ्रष्टाचार विरुद्ध मधेस यात्रा पाँच दिनसम्म चल्ने छ । भ्रष्टाचार विरुद्धको मधेस यात्रा कार्यक्रम मधेसका विभिन्न जिल्लामा भेला, बैठक, खबरदारी सभा, अन्तरक्रिया, भेटघाट लगायतका कार्यक्रम गर्दै बीरगंज पुगेर समापन हुने आजपाका स्थायी कमिटी सदस्य रवीन्द्र सिंहले जनाएका छन् ।
मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महँगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महँगी, बेरोजगारी, वैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका विषयमा आवाज उठाउँदै आएको छ ।
आजपा सिरहा जिल्ला अध्यक्ष उदय साहको अध्यक्षतामा सम्पन्न ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षद्धय समिना हुसेन, बिल्टु यादव लगायतको बिशेष सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
प्रतिक्रिया