अर्थसंक्षेप : विकासोन्मुख देशमा ७.९ प्रतिशत महँगी, नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण | Khabarhub Khabarhub

अर्थसंक्षेप : विकासोन्मुख देशमा ७.९ प्रतिशत महँगी, नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण देखिएको छ । यता काठमाडौँस्थित सिटी सेन्टरले दसैँतिहारमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ । यस्तै,घोराही सिमेन्ट इन्डस्ट्रीले ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले यो वर्ष (सन् २०२४) मा उदीयमान तथा विकासोन्मुख मुलुकहरूमा उपभोक्ता मुद्रास्फीति ७.९ प्रतिशतसम्म पुग्ने जनाएको छ ।

प्रमुख आर्थिक समाचारहरु :

नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण

नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीको आकर्षण देखिएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा आएको कुल लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा देखिएको हो ।

विभागको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार ४ सय रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये सबैभन्दा धेरै ७२ प्रतिशत लगानी पर्यटन उद्योगको क्षेत्रमा आएको छ ।

त्यस्तै, लगानी प्रतिबद्धताको आधारमा सेवा क्षेत्रमा १३ प्रतिशत र उत्पादन क्षेत्रमा ८ प्रतिशत रहेको देखिन्छ ।

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालका विभिन्न १५४ वटा कम्पनीले नेपालमा लगानी प्रतिबद्धता जनाएका छन् । जसमध्ये १५१ वटा कम्पनीले साना उद्योग, १ वटा कम्पनीले मझौला उद्योग र २ वटा कम्पनीको ठूला उद्योगमा लगानी प्रतिबद्धता रहेको छ ।

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान

काठमाडौँस्थित सिटी सेन्टरले दसैँतिहारमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ ।

शनिबार आयोजित समारोहका बीच सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।
१३ असोजदेखि ३० कात्तिक ३० सम्म सञ्चालन गरिएको सो सेलिब्रेसनअन्तर्गतको बम्पर उपहार भक्तपुरका कल्याण थापाले जितेका छन् ।

सेलिब्रेसनअन्तर्गत दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने १ जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप हिरो ब्रान्डको जुम स्कुटर जित्ने मौका दिएको थियो । सेन्टरमा सपिङ गरी भौचर ३६४५ प्राप्त गर्ने थापाले सो बम्पर उपहार जितेका हुन् ।

थापालाई सिजी मोटर्स प्रालिका नेसनल सेल्स म्यानेजर सूर्यप्रसाद ओझा र सिटी सेन्टरका प्रमुख कार्यकारी अधिकृत आदित्य कुमारले संयुक्त रूपमा स्कुटरको चाबी हस्तान्तरण गरे ।

यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत् विजेता बनेका ४० जनालाई टेक्नो स्मार्टफोन, अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, एभरेस्ट ब्रान्डका साइकल वितरण गरिएको छ ।

घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा

घोराही सिमेन्ट इन्डस्ट्रीले ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ ।

गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ढलाई मिक्स पीपीसी सिमेन्ट, जसले विशेषतः व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यसको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको छ । जसले घरका बिम, स्वल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ ।

ढलाइ मिक्स पीपीसी सिमेन्टमार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले व्यक्तिगत घर निर्माणकर्तालाई ओपीसी सिमेन्टको मजबुतीका साथ, मूल्यमा कम्तीमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएको कम्पनी द्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पारित, एक अर्ब पनि उठेन पुँजीगत लाभकर

नेपालको घरजग्गा व्यवसायले गति लिन लिन नसकेको तथ्यांकले देखाएको छ । असोज महिनाको तुलनामा घरजग्गा कारोबारमा केही वृद्धि भएको देखिए पनि उल्लेख्य सुधार आउन नसकेको देखिएको हो ।

चालु आर्थिक वर्षको असोज महिनामा ३० हजार ५२७ वटा लिखत पारित भएकोमा कात्तिक महिनामा झिनो संख्याले बढेर ३३ हजार ५१४ वटा लिखत पारित भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।

साउनमा ४३ हजार ८३५, भदौमा ३२ हजार ७९८ पारित भएको थियो । त्यस्तै, कात्तिक महिनामा २९ वटा अपार्टमेन्ट पारित भएको छ ।
कात्तिक महिनामा सबैभन्दा धेरै भूमि सुधार तथा मालपोत कार्यालय, सुनसरी इनरुवामा १२ सय ४६ वटा लिखत पारित भएको छ भने मालपोत कार्यालय सिर्दिवासमा शून्य कारोबार भएको विभागको तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६, असोज महिनामा ३९ हजार ८८१ र कात्तिक महिनामा २६ हजार ४६ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

राष्ट्र बैंकको प्रतिवेदन : विकासोन्मुख देशमा ७.९ प्रतिशत महँगी, आर्थिक वृद्धि झनै घट्ने

नेपाल राष्ट्र बैंकले यो वर्ष (सन् २०२४) मा उदीयमान तथा विकासोन्मुख मुलुकहरूमा उपभोक्ता मुद्रास्फीति ७.९ प्रतिशतसम्म पुग्ने जनाएको छ ।

आज (मङ्गलबार) अर्थ मन्त्रालयमा पेश गरेको वार्षिक प्रतिवेदनमा केन्द्रीय बैंकले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तथ्याङ्क उधृत गर्दै महँगीबारे प्रक्षेपण गरेको हो ।

आइएमएफले सन् २०२४ अक्टोबरमा प्रकाशन गरेको विश्व आर्थिक परिदृश्य (वर्ल्ड इकोनोमिक आउटलूक) प्रतिवेदनमा यो वर्ष विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ र विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान गरेको छ ।

गत वर्ष विकसित देशमा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत थियो ।

केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख भएअनुसार, सन् २०२४ र २०२५ मा विश्व आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस्तो वृद्धिदर सन् २०२२ मा औषत ३.६ र २०२३ मा ३.३ प्रतिशत थियो ।

नेपालका हकमा राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि नै आर्थिक वर्ष २०८०÷८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी अर्थात् आर्थिक वृद्धिदर) आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान गरिसकेको छ ।

समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढेको अनुमान छ ।

राष्ट्र बैंक भन्छ– साइबर ठगीमा विद्यार्थी सबैभन्दा बढी संलग्न भए

नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ ।

इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (साइबर इनेबल्ड फ्रड) का विषयमा तयार पारेको प्रतिवेदन सरकारसमक्ष पेस गरी आज सार्वजनिक गरिएको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १० को खण्ड (क) मा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसूरको प्रकार कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाहीसम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंकमार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र यस्तो ठगीमार्फत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ । साथै प्रतिवेदनमा ती ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमासमेत विश्लेषण गरिएको छ ।

वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताए । चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व सङ्कलन पनि घटेको उल्लेख गरे ।

चालु आवको साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड रुपैयाँ, असोजमा चार अर्ब ३६ करोड रुपैयाँ र कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए ।

कार्यालयले गत आवको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा २० करोड चार लाख ५६ हजार रुपैयाँले राजस्व सङ्कलनमा कमी आएको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि चाँदी तोलाको १९१० रुपैयाँमा कारोबार भएको थियो ।

ठेक्का लागेको पाँच वर्षमा पनि भएन रणवाङ–दरवाङ सडक कालोपत्र

जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन ।

रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते म्याग्दीको रणनीतिक महत्वको निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख नौ सय ३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत रहेको कार्यालयले जनाएको छ । म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको छ ।

‘कालोपत्र गर्ने भनेर दुई वर्षअघि सम्माएर ‘सबबेस’ हालेर छाडेका थिए’, मङ्गला–२ का श्रीराम पौडेलले भने, ‘कालोपत्र नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोका कारण स्थानीयलाई सास्ती भएको छ ।’

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित यो सडक आयोजनाका निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरे पनि बेवास्ता गरेका कार्यालयका प्रमुख विष्णु पौडेलले बताए ।

५ अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आइतबार ४.९८ अंकले नेप्से बढेर २७५३.७६ विन्दुमा पुगेको छ ।

नेप्से झिनो अंकले बढ्दा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर कारोबार भएको छ ।

आज १४५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३२६ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १३ हजार २५२ पटक शेयर किनबेच भएको छ ।

आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज १३ वटा समूहमध्ये ४ वटा समूह घटेको छ भने बाँकी ९ वटा समूह बढेको छ । सबैभन्दा बढी होटल एण्ड पर्यटन २.२१ प्रतिशतले बढेर ७ हजार ७२.०६ विन्दुमा पुगेको छ ।

त्यस्तै, विकास बैंक ०.६२ प्रतिशतले, हाइड्रोपावर ०.८५ प्रतिशतले, लगानी ०.१७ प्रतिशतले, जीवन बीमा ०.२१ प्रतिशतले, लघुवित्त १.२८ प्रतिशतले, म्युचुलअ फण्ड ०.२९ प्रतिशतले, अन्य समूह ०.११ प्रतिशतले र ट्रेडिङ समूह ०.२४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : २१ बजे

सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली

इलाम – उत्पादन वृद्धि गरेर किसानलाई व्यावसायिक बनाउन चुलाचुली गाउँपालिकाले

यमनमा हवाई आक्रमण भइरहेको समयमा पुगे डब्लुएचओ प्रमुख

साना – यमनमा हवाई आक्रमण भइरहेकै समयमा विश्व स्वास्थ्य सङ्गठनका

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ

रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो खुलेको

फरेस्ट तेस्रो स्थानमा पुग्दा म्यानचेस्टरका दुवै टोलीको लय खराब

लण्डन – इङ्लिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा नटिङ्घम