विनोदको दोस्रो बिहे र सिर्जनाको तपस्या ! | Khabarhub Khabarhub

प्रेमलीला

विनोदको दोस्रो बिहे र सिर्जनाको तपस्या !



काठमाडौं – गुल्मीका विनोद खड्काले दोस्रो बिहे गरेछन्, त्यो पनि लामो समयदेखि गम्भीर बिरामी रहेकी श्रीमती अनिता जीसी खड्काकै अनुमतिमा !

विनोदले नेपालको कानूनतः पूर्ण रूपमा बर्जित बहुविवाह गरेर सामाजिक सञ्जालमा बधाई खाइरहेका छन् । उनको परिवारका सदस्यहरू; अझ महिलासमेतले बहुविवाह गरेका विनोदलाई बधाई दिइरहेका छन् ।

जेठी श्रीमती अनिता गम्भीर बिरामी परेकाले उनलाई स्याहार्न दोस्रो बिहे गर्ने बाहेक विनोदसँग अर्को विकल्प नरहेको तर्क उनीहरूको छ । अनिता बिरामी परेकाले स्याहार्न रीतालाई कान्छी श्रीमतीका रूपमा जग्गे राखेरै विनोदले भित्र्याएपछि अहिले समाज दुई ध्रुवमा बाँडिएको छ ।

एउटा साधारण व्यक्तिले बहुविवाह गरेको भए यति हल्ला हुने थिएन । हुन त गुल्मीबाट झरेर भैरहवा बस्दै आएका विनोद पनि कुनै सेलिब्रिटी होइनन् । तर, पत्नी अनितामा गम्भीर बिरामी देखिएपछि उनी पनि सामाजिक सञ्जालमार्फत चर्चित भए ।

विनोद र अनिताबीच अहिले रीतासँग जस्तै जग्गेमै बसेर वि.सं. २०७२ मा बिहे भएको थियो । बिहेपछि बुटवल झरेका यी जोडी चर्चामा आएको २०७७ सालपछि हो । बिहेको दुई वर्षपछि २०७४ मा उनीहरूबाट छोरी आहनाको जन्म भयो ।

तर, छोरीको जन्म भएको तीन वर्षपछि २०७७ जेठमा अनिता गम्भीर बिरामी परिन् । अचानक चर्को टाउको दुखाईबाट सुरु भएको अनिताको पीडादायी यात्रा कयौँ समय अस्पताल बसाइपछि अहिले घरको कोठामा सीमित भएको छ ।

चिकित्सकहरूले ‘ब्रेन ह्यामरेज’ पुष्टि गरिदिएपछि अनिताको टाउकोको शल्यक्रिया (अपरेसन) भयो । त्यसपछि अनिताको अस्पताल बसाइ सुरु भयो ।

झन्डै ६ महिना अस्पताल राख्दा पनि अनितामा सुधार नदेखिएपछि वैतरणीसमेत गरियो । विनोदले अनिताको सेवामा आफ्नो रातदिन लगाएकै थिए ।

शल्यक्रियाबाट पनि निको नभएपछि घर लगिएकी अनितालाई काठमाडौं ल्याएर उपचार थालियो । उपचारले केही काम गर्‍यो । ब्रेन ह्यामरेज जस्तो जटिल समस्याका बावजुद अनिताको स्वास्थ्यमा केही सुधार भयो । हातखुट्टा चले, मान्छे चिन्न थालिन्, हाँस्न र इशारा बुझ्ने पनि भइन् ।

उपचार चलिरहँदा मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमा अनिताका भिडियो आउन थाले । अस्पतालदेखि घरसम्म अनिताको सेवामा विनोद खटिएका भिडियोले मानिसको ध्यान तान्यो ।

विनोदले प्रशंसासँगै आर्थिक सहयोग पनि पाउन थाले । अनिताको सेवामा लागेको देखेर समाजले विनोदलाई एक आदर्श पतिको सङ्ज्ञा दिएर सहयोगका हात फैलाउन थाल्यो ।

श्रीमतीप्रति अगाध सेवाभाव देखाएका उनै विनोदले अनितालाई स्याहार्न मुस्किल परेको भन्दै केही दिनअघि दोस्रो विवाह गरेका छन्, त्यो पनि जग्गेमा बसेर !

दोस्रो विवाहको औचित्य पुष्टि गर्न उनले नाबालिग छोरीलाई समेत प्रयोग गरेका छन् । छोरी आहनालाई यतिखेर बुवाको बुहविवाहलाई सही भनिदिनुपर्ने बाध्यता आइलागेको छ ।

‘मेरी मम्मीको हेरचाह गर्ने कोही भएनन्’, कानूनले वर्जित गरेको विनोदको कदमलाई सही ठहर्‍याउन उनी भन्दैछिन्, ‘बाबाले बिहे गर्नुभएको हो, के बिगार्नु भएको छ र ?’

तर कानूनले निषेध गरेको बहुविवाहबारे परिवारका सदस्यले आहनालाई सायदै बुझाएको हुनुपर्छ । बाबाले कानूनमा अपराध मानिएको कदम चाल्दा नाबालिक छोरीलाई प्रतिरक्षामा उतारिएको छ । विनोद र अनिताबाट सन्तान नभएका तर्क पनि यहाँ काम लाग्दैन । किनकी उनीहरूकै छोरी आहना हुर्किँदैछिन् ।

श्रीमतीकै सहमति भए पनि अपराध

अनितालाई स्याहार्ने कोही नभएको बहाना विनोदले बनाए पनि त्यो कानूनको नजरमा एक अपराध हो । अधिवक्ता लीलानाथ घिमिरे श्रीमती अशक्त भइन् भनेर उनकै सहमतिमा बिहे गरेको भन्दै सामाजिक सञ्जालमा फोटो–भिडियो राखेर बधाई खाइरहेका विनोदलाई कानून लाग्ने बताउँछन् ।

‘श्रीमती अशक्त भएपछि उनकै सहमतिमा बिहे गरेको भनेर बधाई खाइरहेका विनोदलाई कानून लाग्छ । नेपालको कानूनले श्रीमतीको सहमतिमै पनि बहुविवाहलाई निषेध गरेको छ’, उनी भन्छन्, ‘अझ नाबालिलाई प्रयोग गरेर ममीको हेरचाह गर्न बाबुले दोस्रो बिहे गरेको भनेर गरिएको प्रचारबाजी झन् गलत छ ।’

मानिसहरूले पक्ष र विपक्षमा आफ्नो मत प्रकट गरे पनि यो बिहेले कानूनी रूपमा मान्यता नपाउने घिमिरेको तर्क छ । ‘उहाँले दोस्रो बिहे गरिसकेपछि त्यसले मान्यता पाउँछ कि पाउँदैन भन्ने जुन सवाल छ – मुलुकी देवानी संहिता, २०७४ ले दोस्रो बिहे बर्जित गरेको छ ।’

घिमिरेका अनुसार मुलुकी देवानी संहिता, २०७४ ले निषेध गरेको बहुविवाह गर्दा पाँच वर्षसम्म जेल सजाय हुन सक्छ । ‘यसमा दायाँबायाँ अरू कुनै कुरा र तर्कले काम गर्दैन । श्रीमतीको मञ्जुरीमा पनि दोस्रो बिहे गर्न पाइँदैन’, उनले थपे ।

विनोदको यो कदमलाई लिएर समाज अहिले विभाजित छ । दुर्गा पंगेनीले यस विषयलाई सामाजिक सञ्जालमा बहसका लागि ल्याइपुर्‍याएका हुन् । पंगेनीले सामाजिक सञ्जालमा विनोदको कदमबारे गम्भीर प्रश्न उठाएका छन् ।

‘तिनै अशक्त श्रीमतीको भिडियो प्रयोग गर्दै चन्दा उठाएर करोडपति भइसकेपछि उनै ‘अशक्त श्रीमतीको स्वीकृति लिएर’ अर्को बिहे गर्दिन्छ यो समाज एकजना पुरुषको ! अनि बधाई थाप्छ उही पुरुष…!’

ध्रुव ज्ञवालीले पनि अशक्त श्रीमतीको स्वीकृति भन्दै गैरकानूनी बिहे गर्दा पनि बधाई र शुभकामनाको ओइरो आएको भन्दै चिन्ता जनाएका छन् । ‘यहाँ त्यो पुरुष अशक्त भएर एउटा कुनाको ओच्छ्यानमा सुताएर उसको स्वीकृति हो भन्दै श्रीमतीले अर्को पुरुष ल्याएर घरमा राखेको भए, त्यसरी नै बधाई र शुभकामना दिँदा हुन् मान्छेहरू ?’, उनले प्रश्न गरेका छन् ।

उता विनोदकी दिदीसमेत रहेकी राधा केसीले वैवाहिक जीवनको शुभकामना दिँदै कानूनले बर्जित गरेको उक्त कदमको बचाउमा उत्रिएकी छन् ।

‘कतिपय कुराहरू रहरले भन्दा परिस्थिति र बाध्यताले गरिन्छ, रहरले विवाह गरेको होइन, बाध्यताले हो’, उनले बचाउमा भनेकी छन्, ‘भोग्नेलाई थाहा हुन्छ पीडा के हो भनेर, अनिताकै सहजताका लागि हामीले यो निर्णय लिएका हौँ, विनोदले बिहे गर्यो, सौता ल्याएपछि अनितालाई माया गर्दैन भनेर कसैले नसोच्नुहोला । हिजोको जस्तै माया भोलिका दिनमा गर्ने छौँ । उसलाई परिवारको मायाको कमी कसैबाट हुने छैन ।’

आफूलाई विनोदकी भाउजूका रूपमा परिचय गराएकी इशा खड्काले पनि हेरचाहकै लागि यो कदम चालिएको तर्क गरेकी छन् ।

‘अनिता अहिले कुनै अस्पतालमा डाक्टर नर्सको निगरानीमा नभइ घरमै छिन् । अनिताकी अमाजु राधाले आफ्नो लागे, पुगे भ्याएसम्म गर्नुभयो, अझै पनि गर्दै हुनुहुन्छ । तर राधाको पनि आफ्नो काम छ, घरपरिवार छ । अनिताका देवर बाबुले पनि धेरै सहयोग गर्नुहुन्छ’,

उनले विनोदको बचाउमा भनेकी छन् –

‘तर बाबुको पनि बालबच्चा परिवार छ । अनितालाई सानी नन्दले पनि माया गर्नुहुन्छ । अहिले परिवारसहित विदेशमा हुनुहुन्छ । बिनोदबाबुको घरमा बुढेसकाल लागेका बाबाआमा हुनुहुन्छ । बिनोदले पनि आयआर्जन र व्यवसायलाई समय दिनुपर्छ । जीवनभर कसैले आर्थिक सहयोग गर्न सक्दैन, अपेक्षा पनि हुँदैन ।’

अब विनोदले अनिताको हेरचाहसँगै जीवनयापनका लागि अर्थको व्यवस्था, आमाबुवाको हेरचाह, छोरीको लालनपालन पनि गर्नुपर्ने जिम्मेवारी आएको उनको तर्क छ ।

‘मलाई याद छ केही महिनापहिले विनोदबाबुले ‘भाउजु घरमा सघाउने सहयोगी खोजिदिनुस्, पारिश्रमिक र बस्नखान व्यवस्था गरिदिन्छु’ भनेको । तर मैले सहयोग गर्न सकिनँ,’ इशाको तर्क छ, ‘टिप्पणी गर्नेले विनोदको ठाउँमा राखेर सोच्नुहोला । समाज, परिवार, आफन्त, इष्टमित्र र अनिताकै माइतीघरको सल्लाहसुझाव अनुसार श्रीमतीका रूपमा जीवन सहयोगी–साथी भित्र्याउनुभएको छ । दुनियाँलाई टाउको दुखाउन कुनै जरुरी छैन ।’

सिर्जनाको तपस्या

तपाईंहरूले टिकटक हेर्ने गर्नुभएको छ भने केही वर्षयता एकजना पुरुषको निरन्तर सेवामा खटिएकी युवतीलाई याद गर्नु भएको होला । हो ! तपाईंहरूले याद गर्नुभएकी युवती हुन् – सिर्जना सुवेदी ।

फरक यत्ति हो – यता ‘पत्नी अनितालाई स्याहार्ने सहयोगी चाहियो’ भन्दै विनोदले दोस्री श्रीमती भित्र्याइरहँदा उता अमेरिकामा सिर्जना भने केही वर्षदेखि बिरामी पति विवेक पङ्गेनीको निरन्तर सेवा र उपचारमा तल्लीन छिन् ।

यस्तो लाग्छ – सिर्जनाकै सेवा र स्याहारले विवेक मृत्युलाई जितेर बाँचिरहेका छन् । मस्तिष्क क्यान्सरबाट ग्रसित पङ्गेनी अहिले अमेरिकामा उपचाररत छन् । तर उनले अझै पनि जटिल स्वास्थ्य समस्यालाई जितिसकेका छैनन् ।

सिर्जनाले विवेकसँगका एक–एक पललाई आफ्नो मोबाइलमा कैद गरेर सामाजिक सञ्जालमा हालिरहिन्छन् । त्यसबाट पनि विवेकको उपचारमा सहयोग जुट्ने गरेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले सिर्जनाले पोष्ट गर्ने भिडिओमा विवेकको स्वास्थ्यलाभको कामना गर्छन् । उनले विवेकलाई बचाउने आफ्नो संघर्षमा साथ दिन आफ्नो सामाजिक सञ्जालमा ‘गोफन्डमी’ अभियान पनि चलाएकी छन् ।

कुनै बेला मल्टिमिडिया प्लाटफर्म टिकटकमा नाच्दै गरेकी देखिने सिर्जना विवेकलाई स्टेप सिकाउँथिन् । विवेक जान्दैन थिए, तर साथ दिन्थे ।
टिकटकमा ‘भाइरल डान्स जोडी’का रूपमा चिनिएका उनीहरू जीवनका जटिल संकटमा पनि साथमै छन् । विवेकको उपचार र स्याहारका लागि सिर्जनाले आफ्ना सबथोक इच्छा र चाहना त्यागेकी छन् ।

टिकटकमा ‘बूढो नचाउने दिदी’ का रूपमा कुनै बेला चर्चित सिर्जनाले विवेकलाई बचाउन हरसम्भव सबै प्रयास जारी राखेकी छन् ।

बज्रपात

विवेक खासमा दुई वर्षअघि भौतिकशास्त्रमा विद्यावारिधि गर्न छात्रवृत्तिमा अमेरिका गएका थिए । तर, चौथो स्टेजको ब्रेन क्यान्सरसँग जुधिरहेका विवेकको पीएचडी त रोकिएको छ नै ! सिर्जनाले पनि आफ्ना सबै सपनालाई विश्राम दिएकी छन् ।

अमेरिकामा पनि सिर्जनाले नेपालमा झैँ विवेकलाई नाच्न सिकाउँथिन् । तर, अमेरिकामा एडजस्ट भइरहेका बेला यता नेपाललमा विवेकले पार्किन्सनबाट आमाको निधन भएको खबर सुने । अमेरिका छिरेको सात महिनामै नेपालमा आमाको निधन भएपछि विवेक फर्किए ।

नेपाल आएर विवेकले छोराको धर्म निर्वाह गरे । आमाको काजकिरिया सकेपछि उनी अमेरिका जान तयार थिए । तर, अचानक उनको स्वास्थ्यमा समस्या देखियो । भोलिपल्ट अमेरिका उड्न लागेका विवेकको स्वास्थ्य परीक्षण गर्दा ब्रेन क्यान्सर पुष्टि भयो ।

‘नेपालमा रिपोर्ट आएको भोलिपल्ट अमेरिकाको उडान थियो, हिम्मत टुटिसकेको थियो, केही सोच्न सक्ने अवस्थामा थिएनौं । रातभर रोएर बस्यौँ । रोएर हुँदैन लड्नुपर्छ भन्ने लाग्यो, हामी टुट्नु हुँदैन भन्ने लाग्यो, चाहे जे होला जस्तोसुकै परिस्थिति आओस्, सामना गरुँला, अब राम्रो ठाउँमा उपचार गर्नुपर्छ भन्ने लाग्यो,’ उनले एक वर्षअघि भनेकी थिइन् ।

नेपालमा ब्रेन क्यान्सर पुष्टि भएपछि रन्थनिएका विवेक अमेरिकामा उपचार गराइरहेका छन् । विवेकको लामो अस्पताल बसाइलाई अहिले पनि सिर्जनाले दह्रिलो साथ दिएकी छन् । विवेकले क्यान्सर जित्ने नजित्ने टुङ्गो छैन, तर उनका सामू दर्बिलो सहारा बनेर उभिएकी छन् सिर्जना !

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  २ : ५६ बजे

धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा बन्यो ‘आश्रम भवन’

पर्वत– पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल

काबेली प्रसारण लाइनको पुनर्निर्माण धमाधम, तिहारअघि सञ्चालनमा ल्याउने लक्ष्य

इलाम– इलामको माईखोला आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२

दिल्लीमा आगलागी हुँदा दुई जनाको मृत्यु, चार घाइते

नयाँदिल्ली– दिल्लीको भोलानाथ नगरस्थित एउटा घरमा शुक्रबार आगलागी हुँदा दुई

‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० पुस्तक छनोट

सुनसरी– धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति

विपद् बैठकमा प्रधानमन्त्रीले भने, ‘कुरा काट्ने प्रवृत्ति छ, मिलेर सामना गर्नुपर्छ’ 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३