विराटनगर– दुई दिनअघि भोजपुरको हतुवागढी ७ पिप्लेमा भएको आगलागीमा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भयो ।
प्रहरीका अनुसार आगलागीमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षीय बालिका दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको मृत्यु भएको हो ।
उनीहरू एकै परिवारका हुन् । घरको खोल्मामा बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरूको मृत्यु भएको थियो । प्रहरीको तथ्याङ्कले पनि एक महिना यता आगलागीमा ५ जनाको मृत्यु र घाइतेको संख्या १६ पुगेको छ । त्यसैगरी गएको शनिवार मोरङको रंगेली नगरपालिका–३ बावुसाहेब टोलका २० घर जलेर खरानी भयो । आगलागीले कोशी प्रदेशका धेरै जिल्ला प्रभावित छन् ।
गर्मी बढेसँगै पछिल्लो समय कोशी प्रदेशमा दैनिक जसो आगलागी घटना बढ्न थालेका छन् । तर नियन्त्रण चुनौतीपूर्ण बनेको छ । विभिन्न कारण हुने आगलागीका यस्ता घटनाले बस्ती नै जल्दा मानवीय र भौतिक क्षति पनि उत्तिकै बढेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार फागुनयता मात्रै आगलागीबाट १८६ बढी घर जलेर खरानी भएका छन् । जसका कारण ती घरमा आश्रित करिब २ सय बढी परिवार बिचल्ली भएको छ भने घर आगलागी हुँदा २१ करोड बढी क्षति भएको अनुमान प्रहरीले गरेको छ । आगलागीका घटनामा बढोत्तरी भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले बताए ।
डीआईजी कुबेरका अनुसार फागनु महिना लागेसंगै प्रदेश भर दैनिक जसो आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । तर यसको नियन्त्रण अहिले मुख्य चुनौतीको रूपमा देखिएको उनले बताए । पहाडी जिल्लामा वनमा लागेको डढेलो बस्तीमा फैलिँदा मानवीय र भौतिक क्षति हुने गरेको छ ।
तथ्याङ्क संकलनको सुरसारमा मन्त्रालय
आगजनी र डढेलो नियन्त्रणका लागि कोशी प्रदेशमा विपत् व्यवस्थापन कोष तयार पारिएको छ । यसले सम्बन्धित जिल्लाको विपत् व्यवस्थापन समितिले क्षतिको विवरण प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पठाएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई बजेट उपलब्ध गराउँछ । योबाहेक आगलागी र डढेलोको जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका लागि प्रदेश स्तरमा कुनै व्यवस्था नै छैन ।
कोशी प्रदेशमा विपत् व्यवस्थापनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहने गरी विपत् व्यवस्थापन कोष बनाइएको छ । तर प्रदेश विपत् व्यवस्थापन कोषमा अहिलेसम्म डढेलोले पुर्याएको क्षतिको विवरण नै उपलब्ध छैन ।
शान्ति सुरक्षा तथा विपत् व्यवस्थापन महाशाखा प्रमुख कमलबहादुर थापाले आगलागीको तथ्याङक संकलन हुने कार्य जारी भएकाले अहिले नै यकिन गर्न नकिने बताए ।
जसका कारण प्रदेशका जिल्लामा यतिका आगलागीका घटना भइरहँदा पनि सरकारी संयन्त्रबीचको समन्वय कति कमजोर छ भने यो घटनाले उजागर गरेको छ ।
मन्त्रालयले विपत् व्यवस्थापनको पूर्वतयारीका लागि कुनै काम गरेको देखिँदैन । जिल्लाको विपत् व्यवस्थापन समितिले क्षतिको विवरण मन्त्रालयमा पठाएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई बजेट उपलब्ध गराउने गरिएको शान्ति सुरक्षा तथा विपत् व्यवस्थापन महाशाखा प्रमुख थापाले बताए ।
विपत् व्यवस्थापन समितिको कोषमा अहिले ६ करोड ५० लाख ४९ हजार रुपैयाँ मौज्दात छ ।
प्रमुख थापाले कर्णाली प्रदेशमा भूकम्पका कारण भएको क्षतिमा कोशी प्रदेशले सोही कोषमा रहेको १ करोड रुपैयाँ प्रदान गरेको छ भने कोशी प्रदेशमा चालु आवमा विभिन्न समयमा भएको विपतका घटनामा कोषमा रहेको रकमबाट १५ लाख क्षतिपूर्ति र राहतमा खर्च भएको छ ।
कोशी प्रदेशका पहाडी र तराईका मोरङ, सुनसरी र झापासहित १० जिल्ला आगलागीबाट आक्रान्त बनेको प्रहरीको तथ्याङ्कले देखाउँछ । पहाडी जिल्लामा डढेलोको प्रभाव बढिरहेको छ ।
पूर्वसचेतना अपनाउन विज्ञको सुझाव
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन दिनयता कोशी प्रदेशका १०९ स्थानका वनमा डढेलो लागेको छ । आगलागीका घटनाका आधारमा कोशी प्रदेशमा मोरङ, ओखलढुंगा र तेह्रथुममा बढी आगलागी भएको छ ।
शनिबारयता कोशी प्रदेशको मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ, ओखलढुंगा, झापा, धनकुटा, खोटाङ, भोजपुर, इलाममा वन डढेलो र आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलमा उल्लेख छ ।
यसपाली हिउँदमा पानी कम परेकाले पनि देशभर सुख्खा बढेकाले आगलागीका घटनामा बृद्धि भएको जनाइएको छ । यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानी पर्ने समय भएपनि मनसुन भने सुरु हुन सकेको छैन ।
आगलागीका घटना बढेसगै पूर्वसचेतना र नियन्त्रणका लागि आवश्यक तयारीमा बढी ध्यान जानुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको भन्दै सचेत हुन आह्वान गरेको छ ।
प्राधिकरणका उपसचिव एवं डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले आफ्नो बस्तीतिर आगो नसल्कियोस् भनेर अर्को बस्तीतिर आगो सल्किने गरी जंगलमा डढेलो लगाइदिने गरेका कारण जोखिम बढेको बताए ।
वन डढेलो लागिहालेको अवस्थामा जोखिम क्षेत्रमा अनिवार्य रुपमा सुरक्षा रेखा बनाउन र सुख्खा मौसम भएकाले आफ्नै खरबारीमा पनि आगो नलगाउन उनले सुझाव दिएका छन् । शर्माका अनुसार मानवीय लापरबाहीका कारण नेपालमा ६७ प्रतिशत बढी डढेलोका घटना हुने गरेका छन् ।
पछिल्ला दुई वर्ष डढेलो तुलनात्मक रूपमा कम भए पनि यो वर्षको सुरुवाती समयमै देखिएका घटनाले बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने बताए । आगलागीका घटना बढेपछि जंगली जीवजन्तुहरू मर्न सक्ने र त्यसबाट पर्यावरणीय सन्तुलन खलबलिने वातावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले यस पटकको हिउँदमा सरदर भन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम देखिएको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले आगलागीको जोखिमबाट बच्न सचेतनाका काम सुरु भइसकेको बताइन् । उनले पछिल्लो दुई–तीन दिनमा डढेलो र आगलागी एकदम बढेको बताउँदै तीनै तहको सरकार र सबै निकायसँगको समन्वय गर्दै सचेतनाको काम अघि बढाउनु पर्नेमा जोड दिइन ।
जोखिम बढेको भन्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले समेत पूर्वसचेतना अपनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया