जलवायु परिवर्तनमा नेपालकाे योगदान छैन : अर्थमन्त्री | Khabarhub Khabarhub

जलवायु परिवर्तनमा नेपालकाे योगदान छैन : अर्थमन्त्री


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित विकासोन्मुख मुलुकले सामना गरिरहेको समस्याबारे विश्व समुदाय समयमै सचेत र गम्भीर हुनुपर्ने बताएका छन् ।

अमेरिकाको वासिङटनडिसीमा आयोजित भी–२० (जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह) को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको जोखिमबाट बच्न विश्वस्तरमै सामूहिक प्रतिबद्धताको खाँचो रहेकोमा जोड दिए ।

जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा खास गरी गरिब र सीमान्तकृत वर्गका मानिसहरू प्रताडित हुने गरेको उनको भनाइ थियो । मन्त्री पुनले नेपाल जलवायुको उच्च जोखिममा हुनुमा आफूहरूको कुनै योगदान नरहेको स्पष्ट गरे ।

अर्थमन्त्री पुनले जलवायु परिवर्तनका कारण नेपालका हिमालयहरुमा तीव्र रुपमा हिउँ पग्लिन थालेको, हिमनदीहरुमा पानीको बहाव घटेको, हिम तालहरु विस्फोटको जोखिम बढेको, तथा अनावृष्टि र अतिवृष्टिजस्ता समस्याका कारण बाढी, पहिरो तथा खडेरीजस्ता प्रकोप डरलाग्दो रूपमा बढ्दै गएकोमा विश्व समुदायको ध्यानाकर्षण गराए ।

यस्तै, जलवायु परिवर्तनले उत्पन्न प्राकृतिक विपत्तिहरुका कारण विकासका पूर्वाधारको दिगो विकास प्रयास मात्र नभई मानव स्वास्थ्य तथा जीविकोपार्जनसमेत खतरामा परेको मन्त्री पुनको भनाइ थियो ।

विकसित अर्थतन्त्र भएका मुलुकहरुले जलवायु परिवर्तनमा न्यून भूमिका भएर पनि उच्च जोखिममा रहेका नेपालजस्ता तेश्रो विश्वका मुलुकहरुमा जलवायु अनुकूलन कार्यक्रमहरूका लागि आर्थिक सहायता प्रदान गर्नुपर्ने उनको आग्रह थियो ।

उनले जलवायु परिवर्तनबाट भएको क्षति लागि स्थापना गरिएको क्षतिपूर्ति कोष, जैविक विविधता कोष र अनुकूलन कोषसहितका सुविधाहरुमा प्रमुख हक नेपालजस्ता अल्पविकसित र हिमाली देशहरूको रहनुपर्ने उल्लेख गरे ।

जलवायु परिवर्तनका असरबाट विश्वलाई बचाउन विकसित मुलुकहरू आफूले गर्दै आएका प्रतिबद्धतामा इमानदार हुनुपर्ने मन्त्री पुनको भनाइ थियो ।

कार्यक्रममा भी–२० सदस्य राष्ट्रका करिब ८० जना मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी, विश्व बैंक समूहका अध्यक्ष अजय बंगा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालगायत उपस्थित थिए ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अर्थमन्त्री पुन केही दिन अघि अमेरिका गएका हुन् ।

भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा त्यसबाट विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न सङ्क्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ७ : ५७ बजे

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको

‘मनसरा’ को अग्रिम बुकिङ खुला 

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसरा’को अग्रिम

सगरमाथाको फेदमा ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

सोलुखुम्बु- प्रसिद्ध पर्यटकीय जिल्ला सोलुखुम्बुको ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

अन्तराष्ट्रिय श्रमिक दिवस (तस्बिरहरु)

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम

ललितपुरको डढेलोमा घाइते भएका रमेशको पनि मृत्यु

ललितपुर– गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने