बजेटको तेस्रो प्राथमिकतामा शिक्षा | Khabarhub Khabarhub

सन्दर्भ : राष्ट्रिय शिक्षा दिवस

बजेटको तेस्रो प्राथमिकतामा शिक्षा

दक्षिण एसियाली मुलुकको अवस्था कस्तो ?


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाका देशहरूको शिक्षा क्षेत्रमा केन्द्रीय सरकारहरूले गर्ने खर्चमा मिश्रित अवस्था देखिएको छ । सरकारहरूले केन्द्रीय बजेटबाट गर्ने खर्चमा भुटान बाहेक अन्य देशहरूको शिक्षा क्षेत्रमा न्यून प्राथमिकता रहेको तथ्याङ्कले देखाएको हो ।

दक्षिण एसियाका भारत र पाकिस्तानले केन्द्रीय बजेटमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको देखिँदैन । तर, थोरै जनसंख्या भएको भुटानले भने केन्द्रीय बजेटमार्फत् हुने खर्चमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको देखिन्छ ।

दक्षिण एसियाका सबै देशहरूमा शिक्षा प्रणाली पनि झण्डै समान प्रकृतिको मिश्रित स्वामित्वमा आधारित देखिन्छ । सबै देशमा सरकारी र निजी क्षेत्रका विद्यालयदेखि विश्वविद्यालय सञ्चालनमा छन् ।

पाकिस्तान र बङ्गलादेशमा निजी शिक्षा क्षेत्रको उपस्थिति अन्य देशको तुलनामा निकै बलियो रहेको पनि देखिएको छ ।

भुटान

३८ हजार ३९४ वर्गकिलोमिटर क्षेत्रफल रहेको भुटानमा ७ लाख ९२ हजार ३८२ जना बराबरको जनसंख्या छ । भुटान सरकारले आर्थिक वर्ष ०२४/२५ का लागि कूल बजेट ९७ अर्ब ६५ करोड ४८ लाख २९ हजार नेगुल्ट्रम अर्थात् नेपाली रुपैयाँ १ खर्ब ५६ अर्ब २४ करोड ७७ लाख २६ हजार बराबरको बजेट विनियोजन गरेको छ ।

जसमध्ये भुटान सरकारले शिक्षा क्षेत्रको लागि २१ अर्ब ६९ करोड ५५ लाख ६६ हजार नेगुल्ट्रम अर्थात् कूल बजेटको २२ प्रतिशत शिक्षा क्षेत्रको लागि विनियोजन गरेको छ । भुटानको शिक्षा तथा क्षमता विकास मन्त्रालयका अनुसार सन् २०२३ मा पूर्व प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म अध्यापन हुने ४९९ सरकारी र २७ वटा निजी विद्यालय छन् । जसमा १ लाख ५४ हजार बढी विद्यार्थीले अध्ययन गर्छन् ।

उच्च माध्यमिक तहसम्मको शिक्षामा १ लाख ४६ हजार ८९० जना विद्यार्थीले सरकारी विद्यालयमा अध्ययन गर्छन् भने ७ हजार २५० जना विद्यार्थीले मात्रै निजी विद्यालयमा अध्ययन गर्छन् ।

विद्यालय शिक्षा बाहेक पनि भुटानमा विस्तारित कक्षा, प्राविधिक संस्था, अनौपचारिक शैक्षिक केन्द्र लगायतका शैक्षिक संस्थाहरू पनि छन् । त्यस्ता शैक्षिक संस्थाहरूमा झण्डै २७ हजार विद्यार्थीले अध्ययन गर्ने गरेको भुटानको शिक्षा मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

बङ्गलादेश

बङ्गलादेश सरकारले आर्थिक वर्ष २०२४/२५ मा ७९ खर्ब ७० अर्ब बजेट खर्च गर्ने लक्ष्य राखेको छ । जसममध्ये सो सरकारले शिक्षा क्षेत्रको लागि ९ खर्ब ४७ अर्ब ११ करोड टाका विनियोजन गरेको छ ।

सो बाहेक पनि सूचना प्रविधि र चिकित्सा शिक्षामा अन्य मन्त्रालयहरूले खर्च गर्नेगरी थप बजेट सरकारले विनियोजन गरेको छ । कूल खर्च लक्ष्यमा बङ्गलादेशले शिक्षा क्षेत्रको लागि ११.८८ प्रतिशत बजेट विनियोजन गरेको छ ।

बङ्गलादेशको व्यूरो अफ एडुकेसनल इन्फर्मेसन एन्ड स्टार्टस्टिक्सले सन् २०२२ मा अद्यावधिक गरेको तथ्याङ्कअनुसार १७ करोड ३५ लाख जनसंख्या भएको बङ्गलादेशमा विद्यालय तहदेखि विश्वविद्यालयसम्म अध्ययन गर्ने विद्यार्थीको संख्या २ करोड धेरै छ ।

तथ्याङ्कलाई हेर्दा बङ्गलादेशमा सरकारी विद्यालय तथा कलेजको संख्या निजीको तुलनामा निकै कम छ । सन् २०२२ को सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा १८ हजार ९०७ वटा माध्यमिक तहका निजी विद्यालय छन् भने जम्मा ६२७ वटा सार्वजनिक विद्यालय छन् ।

कलेज, मदर्सा शिक्षा, प्राविधिक शिक्षा, व्यावसायिक शिक्षा लगायतका शैक्षिक संस्थाहरूमा पनि निजी संस्थाको तुलनामा सार्वजनिक संस्थाहरू नगन्य संख्यामा रहेका छन् । प्राथमिक तहदेखि विश्वविद्यालय तहमा झण्डै साढे २ करोड विद्यार्थीले अध्ययन गर्ने बङ्गलादेशमा विद्यालय तथा कलेज भर्ना भएर छोड्नेको संख्या उच्च छ ।

भारत

स्वतन्त्र र केन्द्र सासित सहित ३६ वटा राज्य रहेको भारतमा वल्र्ड मिटरको पछिल्लो अपडेटअनुसार १ अर्ब ४५ करोड २७ लाख बढी जनसंख्या छ ।

भारतको संघीय शिक्षा मन्त्रालय स्कूल शिक्षा तथा साक्षरत विभागको तथ्याङ्कअनुसार सन् २०२१/२२ सम्म भारतमा १० लाख २२ हजार ३८६ वटा सरकारी स्कूल छन् भने ४ लाख ६६ हजार ७२९ वटा निजी विद्यालयहरू सञ्चालनमा रहेका छन् । सरकारी तथ्याङ्कअनुसार वार्षिक साढे २६ करोड भन्दा बढी विद्यार्थीहरू विद्यालयमा प्रवेश गर्छन् । जसमध्ये सरकारी विद्यालयमा मात्रै ६८ प्रतिशत बढी विद्यार्थीले अध्ययन गर्छन् ।

त्यस्तै भारतको उच्च शिक्षा विभागको सन् २०२१/२२ सम्मको तथ्याङ्कअनुसार भारतमा ११६८ वटा विश्वविद्यालय र ४५ हजार ४७३ वटा कलेज दर्ता छन् । सन् २०२१/२२ सम्म सञ्चालनमा रहेका कलेजहरू मध्ये २१ प्रतिशत कलेज सरकारी, १३.२ प्रतिशत कलेज अर्धसरकारी र ६५.३ प्रतिशत कलेज निजी क्षेत्रका रहेका छन् । ४ करोड ३३ लाख बढी विद्यार्थी प्रत्येक वर्ष उच्च शिक्षा तहमा प्रवेश गर्छन् ।

भारतको संघीय सरकारले सन् २०२४/२५ को लागि मा ल्याएको संघीय बजेटमा शिक्षा क्षेत्रको लागि १४ खर्ब भारतीय रुपैयाँ विनियोजन गरेको छ । सो बजेटमा भारत सरकारले ४८.२१ लाख करोड भारु खर्चको लक्ष्य राखेको छ ।

भारतले सन् २०२४/२५ का लागि कूल खर्च लक्ष्य राखेको मध्ये शिक्षा क्षेत्रको बजेट २.९ प्रतिशत मात्रै रहेको देखिन्छ । तर, भारतका प्रादेशिक राज्य र स्थानीय सरकारहरूले पनि शिक्षा क्षेत्रमा थप बजेट विनियोजन गर्ने गर्छन् । जसले शिक्षा क्षेत्रको बजेटलाई केही वृद्धि गर्न सक्छ ।

श्रीलङ्का

श्रीलङ्काको शिक्षा मन्त्रालयले तयार पारेको पछिल्लो तथ्याङ्कअनुसार २ करोड ३१ लाख जनसंख्या भएको श्रीलङ्कामा १० हजार १२६ वटा १३ कक्षासम्म पढाई हुने विद्यालय रहेका छन् । श्रीलङ्कामा सरकारी विद्यालयहरूको तुलनामा निजी विद्यालयहरूको संख्या अत्यन्तै न्यून रहेको तथ्याङ्कले देखाएको छ ।

शिक्षा मन्त्रालयले सन् २०२२ मा तयार पारेको तथ्याङ्कअनुसार श्रीलङ्कामा ९५ वटा मात्रै निजी विद्यालय छन् । जहाँ १ लाख ३९ हजार ४१२ जना विद्यार्थीले अध्ययन गर्छन् । यसबाहेक पनि ३० वटा विशेष प्रदेश स्कूल र ८१९ वटा मन्दिर स्कूलहरू पनि सञ्चालनमा रहेका छन् ।
त्यस्तै, श्रीलङ्काको उच्च शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार श्रीलङ्कामा १८ वटा सरकारी विश्वविद्यालय छन् भने सरकारले ३ दर्जन बढी निजी विश्वविद्यालयलाई स्वीकृति दिएको छ । श्रीलङ्काको सरकारी र गैरसरकारी विश्वविद्यालयमा वार्षिक २ लाख बढी विद्यार्थी उच्च शिक्षाको लागि प्रवेश गर्छन् ।

श्रीलङ्का सरकारले आर्थिक वर्ष २०२४ मा ७८ खर्ब २७ अर्ब श्रीलङ्कन रुपैयाँ खर्च गर्ने अनुमान गरेको थियो । जसमध्ये श्रीलङ्कन सरकारले शिक्षा क्षेत्रको लागि कूल खर्चको २.१२ अर्थात् २ खर्ब ३९ अर्ब रुपैयाँ मात्रै विनियोजन गरेको तथ्याङ्कले देखाएको छ ।

माल्दिभ्स

पछिल्लो तथ्याङ्कअनुसार ५ लाख १७ हजार बढी जनसंख्या भएको माल्दिभ्समा सरकारी, सामुदायिक र निजी विद्यालय सञ्चालनमा छन् । माल्दिभ्स शिक्षा मन्त्रालयको सन् २०२२ को तथ्याङ्कअनुसार विद्यालय तहमा ९४ हजार १९२ जना विद्यार्थीले अध्ययन गर्छन् ।

त्यस्तै, माल्दिभ्समा २ वटा सरकारी विश्वविद्यालय र १२ वटा निजी कलेज सञ्चालनमा छन् । माल्दिभ्सको उच्च शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०१९ मा २७ हजार विद्यार्थी उच्च शिक्षामा प्रवेश गरेका थिए ।

माल्दिभ्स सरकारले २०२४ को बजेटमा ४७.३ बिलियन माल्दिभिएन रूफिया अर्थात् नेपाली ४ खर्ब १३ अर्ब ८७ करोड नेपाली रूपैयाँ खर्च गर्ने तय गरेको थियो । जसमध्ये माल्दिभ्स सरकारले ४६ अर्ब १९ करोड ९१ लाख रूपैयाँ अर्थात् कूल खर्चको ११.१५ प्रतिशत शिक्षा क्षेत्रको लागि विनियोजन गरेको छ ।

पाकिस्तान

पाकिस्तान आर्थिक सर्वेक्षण २०२३/२४ को प्रतिवेदनअनुसार सन् २०२२/२३ मा पाकिस्तानको पूर्व प्राथमिक तहमा १ करोड २० विद्यार्थी भर्ना भएका थिए । सोही वर्षमा प्राथमिक देखि उच्च माध्यमिक तहसम्म ४ करोड बढी विद्यार्थी भर्ना भएका थिए ।

त्यस्तै सोही वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार सो वर्षमा विश्वविद्यालयमा २४ लाख १० हजार विद्यार्थी मात्रै भर्ना भएका थिए ।

प्रतिवेदनअनुसार २५ करोड बढी जनसंख्या भएको पाकिस्तानमा २ लाख ५२ हजार २५७ वटा कक्षा १२ सम्मको विद्यालय तहका शैक्षिक संस्थाहरू रहेका छन् । त्यस्तै, पाकिस्तानमा स्नातकोत्तर तहको अध्ययन हुने २७ सय ३५ वटा कलेज र २२८ वटा विश्वविद्यालय रहेका छन् भने प्राविधिक शिक्षालयहरूको संख्या पनि ४ हजार २८१ वटा रहेको छ ।

पाकिस्तानको इन्स्टिच्युट अफ एजुकेसनकाअनुसार कूल विद्यालय संख्या मध्ये ४३.७ प्रतिशत विद्यालय निजी क्षेत्रबाट सञ्चालित छन् भने ५५.६ प्रतिशत विद्यालय सरकारी विद्यालय रहेका छन् । पाकिस्तानमा ४६.५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययन गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

पाकिस्तान सरकारले आर्थिक वर्ष २०२४/२५ का लागि ल्याएको बजेटमा ८४ खर्ब ९४ अर्ब ६५ करोड नेपाली रूपैयाँ बराबर खर्च गर्ने लक्ष्य राखेको छ । जसमा सरकारले शिक्षा क्षेत्रको लागि विभिन्न शिर्षकमार्फत् ३ खर्ब ६२ अर्ब ७० करोड रूपैयाँ मात्रै विनियोजन गरेको छ ।

नेपाल

नेपाल सरकारले चालु आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । जसमध्ये सरकारले शिक्षा क्षेत्रको लागि २ खर्ब ३ अर्ब ६६ करोड अर्थात् कूल खर्च लक्ष्यको १०.९५ प्रतिशत खर्च लक्ष्य राखेको छ ।

०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार सो आर्थिक वर्षसम्म २७ हजार ९९० वटा सामुदायिक तथा परम्परागत विद्यालय छन् भने ७ हजार ८८६ वटा निजी विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयमा प्राथमिक तहदेखि कक्षा १२ सम्म नेपालमा ७१ लाख ४३ हजार २६२ जना विद्यार्थीले अध्ययन गर्छन् ।

३३ लाख बढी विद्यार्थीले भने निजी विद्यालयमा अध्ययन गर्छन् । त्यस्तै नेपालमा हाल १६ वटा विश्वविद्यालयहरू सञ्चालनमा रहेका छन्, जसमा ७ लाख बढी विद्यार्थीले अध्ययन गर्छन् ।

अधिकांश विद्यार्थीले विद्यालय तहमा नै छाड्छन् पढाइ

दक्षिण एसियाको शैक्षिक तथ्याङ्कले अधिकांश विद्यार्थीले विद्यार्थीले विद्यालय तहमा नै अध्ययन गर्न छाड्ने गरेको देखाएको छ ।

पाकिस्तानको आर्थिक सर्वेक्षण २०२२/२३ का अनुसार २०२२/२३ मा पूर्व प्राथमिक तहमा १ करोड २० लाख ८६ हजार ९ जना विद्यार्थी भर्ना भएका थिए । सोही वर्षमा प्राथमिक तहमा २ करोड ४० लाख ३९ हजार ५ सय, मध्यम शिक्षा कक्षामा ९१ लाख १ हजार ९ सय, माध्यमिक तहको शिक्षामा ४६ लाख ३६ हजार १ सय र उच्च माध्यमिक तहमा २२ लाख ६२ हजार ३ सय मात्रै विद्यार्थी अध्ययनको लागि भर्ना भएको प्रतिवेदनले देखाएको छ ।

सोही आर्थिक सर्वेक्षणकै तथ्याङ्कअनुसार पाकिस्तानका ३२ प्रतिशत बालबालिकाहरू औपचारिक शिक्षा भन्दा बाहिर छन् । साथै विद्यालयको पढाइमा सहभागी पाकिस्तानी विद्यार्थीहरू मध्ये कक्षा १ मा भर्ना भएका विद्यार्थीहरू कक्षा ८ सम्म पुग्दा ५० प्रतिशत भन्दा बढीले पढाइ छाड्ने गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा तहगत आधारमा विद्यार्थी भर्नाको अवस्था हेर्दा २०८० सालमा आधारभूत तह अर्थात् कक्षा १ देखि ५ सम्म ३५ लाख १९ हजार २२४ जना विद्यार्थी भर्ना भएका थिए ।

त्यस्तै सोही आर्थिक वर्षमा कक्षा ६ देखि ८ सम्म १८ लाख ५२ हजार ४९३, कक्षा ९ देखि १० सम्म १० लाख ४५ हजार ९२ र कक्षा ११ र १२ मा ७ लाख २६ हजार ४६३ जना विद्यार्थी भर्ना भएका थिए ।

बङ्गलादेशको २०२२ को सरकारी तथ्याङ्कअनुसार बंगालादेशमा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थी मध्ये ३५.९८ प्रतिशत विद्यार्थीले अध्ययन पूरा नै नगरी विद्यालय छाड्छन् । त्यस्तै, उच्च शिक्षा अध्ययन गर्नेमध्ये २२.७२ र स्नातक तहमा ७.६८ प्रतिशत विद्यार्थी अध्ययन पूरा नगरी बीचमा नै छाड्छन् ।

श्रीलङ्कामा सन् २०२२ को तथ्याङ्कअनुसार कक्षा १ देखि ५ सम्म १५ लाख ६७ हजार ६८९ जना विद्यार्थीले अध्ययन गर्ने गरेकोमा कक्षा ६ देखि ९ सम्म भने सोही वर्षमा १३ लाख १८ हजार २८४ जना पुगेको देखिन्छ । त्यस्तै, सोही वर्षमा कक्षा १० देखि ११ मा ६ लाख ५५ हजार ७२९ र कक्षा १२ र १३ मा ४ लाख २० हजार ५७७ जना विद्यार्थीले अध्ययन गर्ने गरेको देखिन्छ ।

त्यस्तै सोही वर्षमा विश्वविद्यालय तहमा जम्मा २ लाख बढी विद्यार्थी मात्रै प्रवेश गरेको देखिन्छ । नेशनल युथ सर्वेक्षणकाअनुसार १७–१८ वर्ष उमेर समूहका ४०.२ प्रतिशत विद्यार्थीले मात्रै श्रीलङ्कामा आफ्नो अध्ययनलाई निरन्तरता दिने गर्छन् ।

माल्दिभ्समा पनि भर्ना भएर अध्ययन गनेका मध्ये ३३ प्रतिशत विद्यार्थीले मात्रै माध्यमिक तहको शिक्षा उत्तीर्ण गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

भारतको शिक्षा मन्त्रालय तथा विभागको सन् २०२१/२२ को तथ्याङ्कअनुसार भारतमा प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थीमध्ये प्राथमिक तहमा १.५ प्रतिशत, निम्न माध्यमिक तहमा ३ प्रतिशत र माध्यमिक तह अर्थात् कक्षा ९–१० मा पुग्दा १२.६ प्रतिशत विद्यार्थीले अध्ययन छाड्छन् ।

तर, प्रदेशगत तथ्याङ्क हेर्दा बिहार र आसामका विद्यार्थी धेरै विद्यार्थीले अध्ययन पूरा नै नगरी विद्यालय छाड्छन् । आसामका विद्यार्थीले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा क्रमशः ६, ८.८ र २०.३ प्रतिशत विद्यार्थीले विद्यालय छाड्छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ०४ बजे

अक्करे !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

स्याङ्जा– स्याङ्जाका दुई दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन्

कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको