‘लिभिङ टुगेदर’मा 'ब्रेकअप' दिन मिल्छ ? | Khabarhub Khabarhub

‘लिभिङ टुगेदर’मा ‘ब्रेकअप’ दिन मिल्छ ?


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

अधिवक्ता अनु भट्टराई

काठमाडौं- महिला र पुरुषबीच यौनिक सम्बन्धका तीनवटा रुप हुन्छन् : प्रेम, ‘लिभिङ टुगेदर’ र विवाह । सफल हुँदासम्म यी कुनै सम्बन्धमा समस्या आउँदैन । तर, विवाद भयो भने के गर्ने ? तीनवटै चरणका आ-आफ्नै उपचारविधि छन् ।

प्रेम सम्बन्धमा ‘ब्रेकअप’ दिने ‘धोकेबाज प्रेमी’लाई कुनै कानूनी दण्ड जरिवाना हुँदैन । उसले आफ्नो प्रेमीलाई गरेको विश्वासघात बाहेक अन्य कुनै अपराध गरेको रहेछ भनेचाहिँ त्यसमा सजायँ हुन सक्छ । जस्तै- ठगी, ब्ल्याकमेलिङ, आर्थिक लेनदेन इत्यादिमा भने कानूनले समात्छ ।

तर, प्रेम गरेर ‘ब्रेकअप’ दिएकै आधारमा कसैमाथि कानूनी सजायँ हुँदैन । यतिसम्म कि वयस्क जोडीले प्रेममा रहँदा शारीरिक सम्बन्ध नै राखेका रहेछन् भने पनि गर्भाधारण नहुँदाको अवस्थामा ‘ब्रेकअप’ सँगै त्यो सम्बन्ध ढिसमिस हुन्छ ।

तर, विवाहचाहिँ महिला र पुरुषबीच औपचारिक कानूनी एवं सामाजिक बन्धन हो । बिहे गरेको जोडीले आफ्नो ‘पार्टनर’ लाई ‘कट्टी’ वा ब्रेकअप भनेर त्यत्तिकै छाड्न मिल्दैन । विबाहित जोडीले आफ्नो पार्टनरलाई छाड्नुअघि उसँग कानूनी दायित्व जोडिएको हुन्छ ।

तर, ‘लिभिङ टुगेदरमा’ के हुन्छ ? के ‘लिभिङ टुगेदर’मा बसेको पार्टनरले आफ्नो साथीलाई चट्ट छाडेर ‘ब्रेकअप’ दिन मिल्छ ? कि लिभिङ टुगेदरमा बसिसकेपछि अनिवार्य बिहे गर्नैपर्छ ?

‘लिभिङ टुगेदर’ नेपालको आफ्नो मौलिक परम्परा होइन । यो पश्चिमी मुलुकबाट भित्रिएको संस्कार हो । तथापि नेपाली समाजमा, खास गरी काठमाडौं लगायतका ठूला शहरमा ‘लिभिङ टुगेदर’को प्रचलन बढ्दै गएको छ । ‘लिभिङ टुगेदर’ मात्रै बढेको छैन, यसबाट आउने समस्याहरु पनि देखा पर्न थालेका छन् ।

के ‘लिभिङ टुगेदर’मा बसेको पार्टनरले आफ्नो साथीलाई चट्ट छाडेर ‘ब्रेकअप’ दिन मिल्छ ? कि लिभिङ टुगेदरमा बसिसकेपछि अनिवार्य बिहे गर्नैपर्छ ?

मुख्यतः लिभिङ टुगेदरमा बसेको पार्टनरले धोका दियो भन्दै उजुर–बाजुर गर्नेहरुको संख्या बढ्न थालेको छ । यसको अर्थ, लिभिङ टुगेदरमा बसेको जोडीले अनिवार्य बिहे गर्नैपर्छ भन्ने मान्यता नेपालीहरुमा देखिन्छ ।

पश्चिमाहरुको परिभाषामा भने ‘लिभिङ टुगेदर’ भनेको विवाह हैन । बिहेअघि महिला र पुरुष सँगै बस्ने, पछि मन मिल्यो भने बिहे गर्ने नभए अलग भएर अर्कैसँग बिहे गर्ने प्रचलन ‘लिभिङ टुगेदर’ को मूल मर्म हो । तर, ‘लिभिङ टुगेदर’ मा बसेको पार्टनरले बिहे गर्न मानेन भन्दै प्रहरीमा उजुर–बाजुर गर्ने क्रम नेपालमा बढ्न थालेको छ ।

त्यसो त नेपालमा ‘लिभिङ टुगेदर’ सम्बन्धी कुनै कानुनी व्यवस्था छैन । कानुनले यसलाई मान्यता पनि दिइएको छैन ।

यसै सन्दर्भमा अधिवक्ता अनु भट्टराईले ‘लिभिङ टुगेदर’लाई कानूनी मान्यता दिइनुपर्ने माग गर्दै सर्वोच्च अदाललतमा रिट दायर गरेको धेरै समय भइसकेको छ । सो रिट आगामी असोज ६ गतेका लागि पेशीमा चढेको अधिवक्ता भट्टराईले जानकारी दिइन् ।

‘यो रिटको मागदाबी ‘लिभिङ टुगेदर’ मा बस्न देऊ भन्ने होइन,’ भट्टराई भन्छिन्, ‘नेपालको सन्दर्भमा यसबारे गलत बुझाइ छ । अदातलमा रिट दर्ता भएसँगै ‘लिभिङ टुगेदर’ का समस्याहरु बाहिर आउने क्रम बढेको छ ।’

यस्ता समस्या समाधान गर्न कानुन बनाएर नियमन गरिनुपर्ने भट्टराई बताउँछिन् । यसका लागि अदालतको फैसला पर्खन उनले भनिन् ।

‘लिभिङ टुगेदर’ मा समस्या आयो भने के गर्ने ?

‘लिभिङ टुगेदर’मा बस्दै गर्दा केही समस्या आयो भने त्यसलाई सम्बोधन गर्ने कानुन नभएकाले त्यस्तो अवस्थामा वैकल्पिक कानुनको प्रयोग गर्नुपर्ने अधिवक्ता भट्टराईको सुझाव छ ।

‘वैकल्पिक कानुन भन्नाले नाता प्रमाणित गर्ने हो’ भट्टराई भन्छिन्, ‘नेपालको कानुनले कुनै पनि मानिससँग शारिरीक सम्बन्ध राखेको अवस्थामा धेरै हदसम्म श्रीमान् वा श्रीमतीको रुपमा स्वीकार गर्नुपर्ने हुन्छ भनेको छ ।’

यो पनि-
डेराबाटै निकालिए ‘लिभिङ टुगेदर’ जोडी

भट्टराई अगाडि भन्छिन्, ‘महिला र पुरुष एकैठाउँमा बस्नु कानुनी, सामाजिक र नैतिक दृष्टिकोणबाट उपयुक्त छैन । यस्तो सम्बन्ध अमर्यादित र अशोभनीय भनिएपछि शारीरिक सम्बन्ध भएको अवस्था श्रीमान–श्रीमती स्वीकार हो ।’

उनी थप्छिन्, ‘यसलाई आधार बनाएर केही हदसम्म न्याय पाउन सकिने देखिन्छ । तर यसो भनिरहँदा लिभिङमा थिएँ, मलाई उसले प्रयोग गर्‍यो भनेकै भरमा कुनै व्यक्तिले सजाय पाउने भन्ने कानुन छैन । त्यसैले, पहिलो कुरा त राज्यले कानुन बनाउनै पर्छ । दोस्रो–कानुन नबनिसकेको अवस्थामा पीडितलाई वैकल्पिक कानुनी व्यवस्थाबाट न्यायको अपिल गर्न सकिन्छ ।’

अधिवक्ता भट्टराईले यसो भनिरहँदा नेपालमा भित्रिएको ‘लिभिङ टुगेदर’ को संस्कार पश्चिमी देशको जस्तो हुबहु नभएर ‘दर्ता नगरिएको बिहे’ मा अपभ्रंशित भएको पो हो कि ? बहसको खाँचो देखिन्छ ।

के ‘लिभिङ टुगेदर’ अनिवार्य रुपमा बिहेमा परिणत हुनैपर्छ ? बिहेमै परिणत हुनुपर्छ भन्ने हो भने तत्कालै बिहे दर्ता किन नगर्ने ? यो सम्बन्ध बिहेअघिको आपसी बुझाइ वा समझदारीमा मात्र सीमित छ भने ‘लिभिङ टुगेदर’मा बसेको पार्टनरले छाड्दैमा किन मुद्दा मामिलातिर लाग्ने ?

‘लिभिङ टुगेरदर’मा रहेका रहेका जोडीले एकचोटि गम्भीर भएर सोच्ने हो कि ? खासगरी नेपाली समाजमा ‘लिभिङ टुगेदर’ महिलाहरुले आफ्नो भविश्यको सुरक्षाबारे विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ । किनभने, यसमा पुरुषहरुले महिलालाई दुरुपयोग गर्ने जोखिम बढ्ता रहेको कानूनविदको भनाइ छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ८ : ४३ बजे

पाथीभरा केबलकारबारे योगेशले भने : धर्म-संस्कृतिलाई राजनीतिमा प्रवेश गराउँदा विवाद बढायो

काठमाडौं- ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबलकारलाई लिएर नेकपा

कमल थापा भन्छन्- राज्यसँग युवामैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य

हेटौंडा- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसँग कुनै किसिमको युवामैत्री

साढे ११ अर्बको कारोबारसहित साढे ११ अंकले बढ्यो नेप्से 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अंकले बढेको छ

‘कल्ली’को छायांकन सुरू, १३ वर्षपछि फिल्ममा फर्किएका उत्तम भन्छन् – फरक भूमिकाको प्रस्ताव आयो

काठमाडौं – नायक उत्तम प्रधानको कमब्याक फिल्म ‘कल्ली’का छायाङ्कन सुरु

कर्णालीमा स्याउका विरुवा रोप्न पुगे महासचिव विप्लव

जुम्ला- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले जुम्लामा