अर्थसंक्षेप : एकै वर्षभित्र १४ खर्ब रेमिट्यान्स भित्रियो, ३४ अंकले घट्यो सेयर  | Khabarhub Khabarhub

अर्थसंक्षेप : एकै वर्षभित्र १४ खर्ब रेमिट्यान्स भित्रियो, ३४ अंकले घट्यो सेयर 


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार, विदेशमा काम गर्ने नेपालीले एक वर्षमा झन्डै साढे १४ खर्ब रेमिट्यान्स नेपाल पठाएका छन् ।

त्यस्तै, गत आर्थिक वर्षमा नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ लगेका छन् । साताको पहिलो दिन आइतबार शेयर बजार ३४ दशमलव ४७ अंकले घटेर २९६६ को बिन्दुमा पुगेको छ ।

त्यस्तै, राष्ट्र बैंकको रिपोर्टअनुसार, गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत कायम भएको छ । अविरल वर्षाका कारण तम्घास‐रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दु अर्थात् तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।

त्यस्तै, खार्पुनाथ गाउँपालिका–३ रायामा अवरुद्ध नेपाल टेलिकमको टेलिफोन सेवा शनिबारदेखि सञ्चालनमा आएको छ । यता, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचार आरोप लगाउँदै आएका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरू :

विदेशमा काम गर्ने नेपालीले एक वर्षमा पठाए साढे १४ खर्ब रेमिट्यान्स

विदेशमा काम गर्ने नेपालीले एक वर्षमा झन्डै साढे १४ खर्ब रेमिट्यान्स नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकले विदेशमा काम गर्न गएका नेपालीले गत आर्थिक वर्षको एक वर्ष अवधिमा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स पठाएको देखाएको हो ।

नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा गत आर्थिक वर्षमा १६.५ प्रतिशतले बढी रेमिट्यान्स नेपाल भित्रिएको हो । यस्तो रेमिट्यान्स अघिल्लो आर्थिक वर्षमा २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६०,१०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २८१,१९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४९७,७०४ र २७७,२७२ रहेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

एक वर्षभित्र पढ्न जाने विद्यार्थीसँगै बाहिरियो एक खर्ब २५ अर्ब रुपैयाँ

गत आर्थिक वर्षको एक वर्षमा विदेशमा पढ्न जानेले नेपालबाट सवा खर्ब बढी रकम विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ लगेका हुन् ।

अघिल्लो आर्थिक वर्ष अर्थात् ०७९/८० मा विदेश पढ्न जाने नेपाली विद्यार्थीले १ खर्ब ४२ करोड रुपैयाँ विदेश लगेका थिए । त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विदेश घुम्न जानेले ६४ अर्ब २१ करोड रुपैयाँ खर्च गरेका छन् ।

३४ अंकले घट्यो नेप्से, २८ अर्बमाथिको कारोबार 

भदौ महिनाको पहिलो कारोबारको दिन शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से ३४ दशमलव ४७ अंकले घटेर २९६६ को विन्दुमा पुगेको छ । साउन महिनाको अन्तिम कारोबारको दिन भने ३ हजार बिन्दुमा रहेको थियो । आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । आज ३ सय ३० कम्पनीका ६ करोड ५४ लाख कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाखको कारोबार भएको छ ।

आज आज वाणिज्य बैंक समूहको शेयर सर्वाधिक ०.८४ प्रतिशतले बढेको छ । यस्तै  जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा कम्पनीको सामान्य बढेको छ भने अन्य सबै समूहको शेयर घटेको छ । सबैभन्दा बढी घट्नेमा होटल एण्ड टुरिजम रहेको छ । यसको शेयर ४.४९ प्रतिशतले घटेको छ । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको मात्रै ८२ करोड १४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत, आयात र निर्यात दुवै घट्यो

गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि सीमाभित्रै देखिएको हो ।

राष्ट्र बैङ्ककाअनुसार गत आ.व.मा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो । गत आ.व.मा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ । त्यस्तै शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो ।

गत आवमा कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यो अवधिमा विस्तृत मुद्रा प्रदाय १३ प्रतिशतले बढेको छ । गत आवमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको कूल निक्षेप ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब पुगेको छ ।

गुल्मीको तम्घास–रिडी–वामीटक्सार सडक अवरुद्ध

अविरल वर्षाका कारण गएको पहिरोले तम्घास‐रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका– १ को रिडी खज्राङ सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अविरल वर्षाका कारण रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाडौँसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरू बीचबाटोमै अलपत्र परेका छन् ।

सुनको मूल्य अहिलेसम्मकै उच्च

आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपियाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गोसाईंकुण्डमा जनैपूर्णिमा मेलाअघि पहिलो पटक पुग्यो बिजुली

रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्‍याएको छ । बत्ती पुगेसँगै गोसाईंकुण्ड क्षेत्र झिलिमिली भएको छ ।

धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईंकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको हो । अहिलेसम्म गोसाईंकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईंकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको बताए ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘प्राधिकरणमा जागिर सुरुगर्नासाथ मैले प्यूठानस्थिति धार्मिक एवम् पर्यटकीय स्थल स्वर्गद्धारीमा विद्युत् पुर्‍याइएको थिएँ, अहिले देशलाई पूर्ण रूपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाईंकुण्ड, अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिर जस्ता धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्‍याइएका छौँ ।’

एक महिनापछि रायामा टेलिफोन सेवा सञ्चालन

खार्पुनाथ गाउँपालिका–३ रायामा अवरुद्ध नेपाल टेलिकमको टेलिफोन सेवा शनिबारदेखि सञ्चालनमा आएको छ । रायाको ठानकोटस्थित टावरले काम नगरेको एक महिनाभन्दा बढी भएको थियो । उक्त स्थानको टावर मर्मतका लागि नेपाल टेलिकम हुम्लाले प्राविधिक उब्जन शाहीलाई शुक्रबार पठाएको थियो । प्राविधिक शाही शुक्रबार पुगेर मर्मत गरेपछि शनिबार दिउँसोदेखि सञ्चालनमा आएको टेलिकम शाखा हुम्लाका निमित्त प्रमुख रिन्जीन लामाले जानकारी दिए ।

मर्मतपश्चात् रायालगायत खार्पुनाथ गाउँपालिकाको चार वटा वडा र आसपासका क्षेत्रमा टेलिफोन सञ्चालन भएको निमित्त प्रमुख लामाले बताए । प्राविधिक शाहीका अनुसार रायाको थानकोटस्थित टावरमा विद्युत् क्षमता अपुग हुँदा सेवा अवरुद्ध भएको थियो ।

‘पावर ब्याकअप’ नपुगेका कारण टेलिफोन सेवा अवरुद्ध भएको उनको भनाइ छ । धेरै वर्ष पुराना सोलार भएकाले बेलाबेलामा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ । सेवा अवरुद्ध भएका चार वटा वडामा दुई हजारभन्दा बढी सेवाग्राही छन् ।

कुलमानलाई भ्रष्टाचार आरोप लगाएका रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचार आरोप लगाउँदै आएका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका सिन्धुलीका युवराज सफलले हाल टेलिभिजन कार्यक्रम सञ्चालक खरेलविरुद्ध अख्तियारमा आइतबार उजुरी दर्ता गराएका हुन् ।

‘पूर्वडीआईजी रमेश खरेलविरुद्ध अहिले भर्खरै नक्कली सुराकी श्रीमतीलाई लाखौँ सुराकी कमिसन दिएकाले अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, टंगालमा उजुरी दर्ता गरेको छु’, युवराजले भनेका छन्, ‘२०४६ सालपछि नक्कली सुराकी खडा गरि करोडौं रुपैयाँ कमिसन खानेहरूबाट रकम असुल गरि राज्यकोषमा ल्याउन मागसमेत गरेको छु ।’ खरेलले यसअघि साउन २९ मा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रुपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै उनले उजुरी दिएका थिए । कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युत्को पीपीए गरेको जिकिर खरेलको थियो । कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानून मिचेको जिकिर खरेलले गरेका थिए । त्यसक्रममा राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उनले गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : २७ बजे

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

काठमाडौं– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी

तलेजु भवानी मन्दिरमा भक्तजनको भीड (तस्बिरहरु)

काठमाडौं – प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका

नौ महिनामा एक लाख पर्यटकले गरे मुस्ताङ भ्रमण

म्याग्दी– बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी

जनकपुरको राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि

धनुषाधाम– जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार

शास्त्रले काटमार नभई अहंकार चढाउनुलाई बलि मान्छ

दशैँ भन्नासाथ त्यसको सांस्कृतिक र धार्मिक साइनो गरिन्छ। यसै समयमा