आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि « Khabarhub

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

सम्पादक र कानुनविद् भन्छन् : कहिल्यै नदेखिएको अवस्था सामना गर्दैछौँ



काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र शङ्कास्पद बाटो समातेको टिप्पणी भइरहेको छ।

निम्न वर्गलाई आश्वासन बाँडेर दुईतिहाइ नजिक अर्थात् १८२ सिट प्राप्त गरेको दलले तिनै वर्गमाथि निरन्तर प्रहार गरिरहँदा नेपाली सञ्चारमाध्यमले प्रतिरक्षा गरिरहेका छन् ।

सञ्चारमाध्यमले दरिलो प्रतिपक्षीका रुपमा आवाज उठाउँदा सोमबार सरकार नै विरोधमा उत्रिएको देख्नुपरेको छ। सरकार अहिले सिंहदरबारमै योजना बनाएर शङ्कास्पद रूपमा सञ्चारमाध्यममाथि आक्रमणमा उत्रिएको देखिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहकै मुख्य सल्लाहकार कुमार बेनसहितको संलग्नता देखिने तथ्य यस प्रकरणमा बाहिर आइसकेका छ्न । सञ्चारमाध्यममाथि प्रतिशोधी नीतिसहित गाडी तेर्स्याउँदा प्रधानमन्त्री बालेन र उनका निकटहरू मौन छन्। उता रास्वपाकै महामन्त्री विपिन आचार्यले यस प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै वक्तव्य निकालेका छन् । यसले वालेन पक्ष र पार्टी सभापति रवि लामिछाने पक्षबीच देखिने गरी खटपट बढेको देखाउँछ ।

गत चैत १३ गते प्रधानमन्त्री बनेका वालेन्द्र त्यसयता निरन्तरजसो आलोचनाको केन्द्रमा छन् । शाह प्रधानमन्त्री नियुक्त भएको एक महिनापछि नै वैशाख १२ देखि सुकुम्वासी बस्ती बलजफ्ती हटाउने काम भयो । सुकुम्वासी प्रकरणमा उठेको प्रश्नको जवाफ अहिलेसम्म सरकारले दिन सकेको छैन ।

सुकुम्पवासी बस्तीका नागरिक आँसुसँगै बाढीमा डुबेका छन् । बाढीबाट जोगाउन भनेर हटाइएका सुकुम्वासीलाई सरकार आफैंले बाढीमा डुबाएको छ। अहिलेसम्म तीन जना सुकुम्वासीले ज्यान गुमाइसके ।

सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटले निम्न वर्गको ढाड सेकेको छ । महंगीबीच परिवार पाल्नुपर्ने बोझ बोकिरहेका गणेश नेपालीले नगर प्रहरीको दबाब झेल्न नसकी आत्मदाह गरिदिए ।

यी र यस्ता घटना बढिरहेकै बेला सोमबार बिहानैदेखि मूलधारका मिडिया हाउस र पार्टी नेताका घरअगाडि शङ्कास्पद गाडी भेटिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती गाडी राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासँग सम्बन्धित रहेको खुलेको छ। नेपाली कांग्रेसका सभापति गगन थापा, अनलाइनखबर, कान्तिपुर र हिमालय टेलिभिजनका कार्यालयबाहिर शङ्कास्पद गाडी भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

तर तिनै गाडी हटाउन प्रहरी सात घण्टापछि मात्रै सक्रिय भयो । सरकारको नेतृत्व गरेका बालेनको कार्यशैली अहिले रास्वपाका धेरै नेतालाई टाउको दुखाइको विषय बनेको छ।

यही असन्तुष्टि नेताहरूले विभिन्न किसिमले पोखिरहेका छन्। सुरुदेखि नै बालेनको कार्यशैलीप्रति डा. अमरेशकुमार सिंह र पुरुषोत्तम यादवलगायतले असन्तुष्टि जनाउँदै आएका थिए।

अहिले रञ्जु दर्शना, पुकार बम, मनिष झा, आशिका तामाङ, प्रकाश पाठक, जगदीश खरेललगायतले सामाजिक सञ्जाल र सार्वजनिक रूपमा असन्तुष्टि देखाएका छन् । उनीहरूले सरकार ट्र्याकमा हिँड्नुपर्ने बताउँदै आफ्नो लय बिर्सिँदा दुर्घटना हुने चिन्ता जनाइरहहेका छन् ।

पछिल्लो समय पार्टीमा बालेन पक्षधरबाहेक अन्य नेता उनको कार्यशैलीप्रति असन्तुष्ट देखिन्छन्। तर त्यो असन्तुष्टि खुलेर बाहिर आएको छैन। सभापति रवि लामिछाने, महामन्त्री विपिनकुमार आचार्य, नेता कविन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, परराष्ट्रमन्त्री शिशिर खनाल, गणेश पराजुली, विवेकशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका प्रदीपचन्द्र परियार, पार्टी सचेतक क्रान्तिसिंह धिताल, सह-महामन्त्री हरि ढकाल, निशा डाँगीलगायतले बालेनको कार्यशैलीप्रति सांकेतिक रूपमा असन्तुष्टि राखेकाे देखिन्छ ।

यति मात्रै होइन, बालेन पक्षकै नेता गणेश कार्कीले पनि उनको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाइरहेका छन्।

सामान्य नागरिकमाथि पूर्वाग्रही भएको र निम्न वर्गमाथि अन्याय गरेको टिप्पणी बालेनमाथि हुने गरेको छ। यी नेताहरूले असन्तुष्टि जनाइरहँदा बालेनलाई जोगाउने भूमिकामा उनको सचिवालय सक्रिय छ ।

पार्टीले बालेनको अनुहार देखाएरै बहुमत ल्याएका कारण यो असन्तुष्टि अहिलेसम्म खुलेर बाहिर आउन नसकेको हो। तर पार्टीभित्र छटपटीमा रहेका नेताले जनताको न्यायका लागि बोल्नुपर्ने राजनीति विश्लेषक इन्द्र अधिकारी बताउँछिन्।

पार्टीभित्र नेताहरू बालेनको कार्यशैलीका कारण छटपटिएको विश्लेषण गर्न सकिने बताउँदै अधिकारी भन्छिन्, ‘नेताहरूमा तीव्र छटपटी देखिएको छ। यो छटपटी बाहिर आउनेबित्तिकै बालेन्द्रलाई साथ दिने कोही हुँदैन। त्यसकारण बेलैमा विचार गर्नुहोस्।’

रविको मौनता

पार्टीभित्र तीव्र असन्तुष्टि र छटपटी बढिरहेकै बेला आइतबार बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा छलफल भयो। प्रतिनिधिसभामा निरन्तर अनुपस्थिति र पार्टीको काममा पनि सक्रिय नदेखिएका बालेन रविलाई भेट्न आफैं बूढानीलकण्ठ पुगेका थिए। भेटको चाँजोपाँजो सचिवालयले मिलाएको हो । चार घण्टाको ‘वान टु वान’ वार्तामा के-के छलफल भयो भन्ने रविले खुलाएका छैनन्।

निकट नेताहरूका अनुसार रविले बालेनलाई सरकारको कार्यशैली सुधार्न सुझाव दिएका थिए। निम्न वर्गका नागरिकको छटपटी बढेकाले यही कार्यशैलीमा सरकार अघि बढे आफूहरूलाई पनि अप्ठ्यारो पर्ने उनले बालेनसमक्ष राखे। बालेनले केही समय आफूलाई काम गर्न दिन आग्रह गर्दै जनतालाई पीडामा नपार्ने बाचा गरेका थिए।

रवि र बालेनबीच पछिल्लो राजनीतिक अवस्था, पार्टीका पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य विस्तारलगायतमा पनि छलफल भएको थियो। रविनिकट नेताहरूका अनुसार पार्टीभित्र असन्तुष्टि बढेको र सरकारको कार्यशैलीका कारण क्षति पुगेको विश्लेषण उनले सुनाएका थिए।

रविले कार्यशैली सुधार्न र सल्लाहअनुसार अघि बढ्न आग्रह गरेपछि बालेनले ‘पार्टी तपाईंले चलाउने, सरकार मैले चलाउने भन्ने सहमति भएको होइन’ भनेर सम्झाए।

त्यसपछि रविले राष्ट्रिय स्वतन्त्र पार्टीकै सरकार भएकाले सबै जिम्मेवारी अन्ततः आफ्नै काँधमा आउने उल्लेख गरेका थिए। उनले अहिलेसम्मका घटनाबाट पाठ सिकेर संयमित र धैर्यवान भएर काम गर्नुपर्ने सुझाव दिए। बालेनले आफूले नराम्रो काम गर्न नचाहेको बताउँदै कहिलेकाहीँ नागरिकको असन्तुष्टि चर्किँदा सरकारमाथि प्रहार भएको देखिने जवाफ दिएका थिए ।

सचिवालयले यस्तो दाबी गरे पनि रविको मौनताले भेटमा वास्तवमा के कुरा भयो भन्नेबारे अझै शङ्का उत्पन्न गरेको छ। बालेन र रविको भेटको भोलिपल्टै सञ्चारगृह र नेताहरूका घरअगाडि शङ्कास्पद गाडी भेटिनुले यसमा बालेन एक्लै संलग्न थिए वा रविलाई पनि जानकारी थियो भन्ने कुरा अझै स्पष्ट भएको छैन।
रविनिकट नेताहरूका अनुसार उनलाई यसबारे जानकारी थिएन। बालेनको सचिवालयले पनि विभिन्न ठाउँमा शङ्कास्पद गाडी राखिएको विषयमा आफूहरू अनभिज्ञ रहेको बताएको छ।

रविको मौनताका कारण पार्टीभित्र छटपटीमा परेका नेताहरूले पनि खुलेर धारणा राख्न सकेका छैनन्। पार्टीका अर्का नेताले भने, ‘हामीले आफ्ना कुरा पार्टी सभापतिलाई राखिसकेका थियौं। उहाँले आइतबार प्रधानमन्त्रीसँग कुरा गर्नुभयो होला। तर सोमबार एक्कासि हाम्रै नेताहरूका गाडी शङ्कास्पद अवस्थामा मिडिया हाउस अगाडि देखिएपछि ठूलो छटपटी भएको छ।’

उनले थपे, ‘हामी आफैं पनि यस विषयमा अनभिज्ञ छौं। सञ्चारमाध्यम आवाजविहीनका आवाज हुन्। हामीले सञ्चार जगतमाथि कहिल्यै प्रहार गर्नु हुँदैन। यदि सञ्चार जगतले गल्ती गरे, त्यसलाई कानुनी दायरामा ल्याउने अन्य विधि पनि छन्।’

ती नेताका अनुसार प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङबीच निरन्तर छलफल हुँदै आएको छ। सभापतिलाई भने यसबारे कुनै पनि जानकारी नभएको ती नेताको प्रष्टीकरण छ।

पार्टीका अर्का नेताले पनि आफूले सोमबारको घटनाबारे सभापति लामिछानेले आफूलाई कुनै जानकारी नभएको बताएको दाबी गरे। उनी भन्छन्, ‘सभापतिज्यूलाई सोध्दा थाहा छैन भन्नुभयो। महामन्त्रीले पनि थाहा छैन भन्नुभयो। त्यसपछि केन्द्रीय कमिटीको ग्रुपमा यसबारे केही कुरा राख्यौँ। सचिवालयका केही साथीले विज्ञप्ति जारी गर्नुपर्छ भनेपछि धारणा सार्वजनिक गरेका हौं।’

ती नेता थप भन्छन्, ‘प्रधानमन्त्रीलाई सभापतिले सोध्ने भन्नुभएको थियो। सभापतिले सोध्दा प्रधानमन्त्रीले पनि आफूलाई जानकारी नभएको बताएपछि विज्ञप्ति जारी गरेका हौं।’

ती नेताकाअनुसार रविले प्रधानमन्त्री शाहसँग यस विषयमा सोधपुछ गरेका थिए। तर प्रधानमन्त्रीले आफूलाई जानकारी नभएको बताएपछि लिखित धारणा आएको हो ।

विज्ञप्ति निस्किएपछि पनि पार्टीका नेताहरूले घटनाको उपयुक्त र निष्पक्ष छानबिन हुनुपर्ने माग गरिरहेका छन्। पार्टी स्रोतका अनुसार लामिछाने तत्कालै बालेनको विकल्प खोज्ने पक्षमा छैनन्।

विधानमा पार्टीको नियम र नीति पालना नगरेको अवस्थामा सभापतिले संसदीय दलको नेता परिवर्तन गर्न सक्ने व्यवस्था छ। त्यसैले चाहेको अवस्थामा रविले बालेनलाई हटाउन सक्छन्। तर अहिले त्यस स्थितिमा लामिछाने पुगिनसकेको बताइन्छ।

एक नेता भन्छन्, ‘पार्टीको विधान आफ्नो ठाउँमा छ। तर उहाँले विधान प्रयोग गर्ने अवस्थासम्म अहिले पुग्नुभएको छैन। प्रधानमन्त्रीज्यूले आफ्नो कार्यशैली सुधार्नुहुन्छ भन्नेमा हामी ढुक्क छौं।’

ती नेता थप्छन्, ‘सबै घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ। यत्तिकै कसैलाई कारबाही गर्ने कुरा त आउँदैन ।’

अनि जारी भयो विज्ञप्ति

विभिन्न सञ्चारमाध्यम र नेपाली कांग्रेसका सभापति थापाको घरअगाडि शङ्कास्पद गाडी पार्किङ गरिएको समाचार सार्वजनिक भएको करिब आठ घण्टापछि रास्वपाले विज्ञप्ति जारी गर्दै मिडियामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने रहस्यमय गतिविधिको भर्त्सना गरेको छ।

सभापति लामिछानेको निर्देशनमा महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गरेका हुन्। विज्ञप्ति जारी गर्नुपर्ने दबाब बढेपछि विपिनले रविलाई टेलिफोन गरेका थिए। त्यसपछि सचिवालय सदस्यलाई पनि यसबारे जानकारी गराएर विज्ञप्ति जारी गरिएको हो।

पार्टी स्रोतका अनुसार केन्द्रीय समितिमा पनि थुप्रै नेताले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेका थिए। त्यसपछि पार्टीभित्र छलफल गरी रविकै निर्देशनमा महामन्त्रीमार्फत विज्ञप्ति जारी गरिएको स्रोतको दाबी छ।0

स्रोत भन्छ, ‘पार्टीभित्र छलफल भएपछि कसैले पनि होइन भन्ने निष्कर्ष आएपछि विज्ञप्ति जारी गरिएको हो। पार्टी सभापतिज्यूले प्रधानमन्त्रीलाई सोध्दा पनि आफूलाई जानकारी नभएको बताउनुभएको थियो रे।’

उनले थपे, ‘प्रारम्भिक रूपमा पार्टीसँग जोडिएका नेताहरूको गाडी भए पनि यसको भित्री कुरा के हो भन्नेबारे गहिरो अध्ययन हुनुपर्ने हाम्रो माग हो।’

रास्वपाले जारी गरेको विज्ञप्तिमा घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी संलग्नमाथि कानुनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

हामीले पार्टीका केही नेतासँग सरकारको कार्यशैलीप्रति उनीहरू सन्तुष्ट छन् कि छैनन् भन्ने प्रश्न गरेका थियौं। नेताहरूले समय आएपछि यसबारे धारणा सार्वजनिक गर्ने बताए। पार्टीले जिम्मेवार ढंगले जनताका अपेक्षा सम्बोधन गर्ने उल्लेख गर्दै सरकारले आफ्नो कार्यशैली सुधार्नुपर्ने सांकेतिक सन्देश उनीहरूको छ।

के भन्छ बालेनको सचिवालय ?

बालेनका केही सचिवालय सदस्यसँग टेलिफोनमा संवाद गर्दा उनीहरूले यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए। प्रधानमन्त्री कुनै पनि हालतमा यस घटनाबारे अनभिज्ञ रहेको सचिवालयको दाबी छ।

ती सचिवालय सदस्यले भने, ‘प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। यसबारे सरकारले यही हो भन्ने निष्कर्षमा पुगिसकेको छैन।’

उनले थपे, ‘जसरी सरकारमाथि प्रश्न उठिरहेको छ, त्यो बिल्कुल गलत छ। सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाइसकेकाले आम नागरिक र सरोकारवालालाई धैर्य अपनाइदिन अनुरोध गर्दछौं।’

सचिवालय सदस्यहरूका अनुसार प्रधानमन्त्रीले गृहमन्त्रीमार्फत यस घटनाको छानबिनको प्रक्रिया अघि बढाइने बताएका छन्। अन्य समयमा विभिन्न घटना हुँदा गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाह सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउने गरेका थिए। तर केही दिनयता उनीहरू दुवै सामाजिक सञ्जालबाट बेपत्ता छन् ।

सञ्चारकर्मी र कानुनविज्ञ भन्छन् : कहिल्यै नदेखिएको अवस्था सामना गर्दैछौँ

सरकारका गतिविधिप्रति नेपाली मूलधारका सञ्चारमाध्यमले समेत शङ्का व्यक्त गर्न थालेका छन्। विशेषतः सरकारले तल्लो वर्गका व्यक्तिमाथि गरेको व्यवहार र कानुनी प्रक्रियाप्रति सञ्चारमाध्यमको गम्भीर नजर परेको देखिन्छ। सरकार जवाफदेही बन्नुपर्नेमा उल्टै मिडियालाई तर्साउने नीति अपनाएको विश्लेषण अनलाइनखबरका सम्पादक बसन्त बस्नेतको छ।

आफ्नो अनुभव सुनाउँदै बस्नेत भन्छन्, ‘सरकार जवाफदेही बन्नुपर्नेमा राज्यका निकायसँग निकट बसेकाहरूले प्रेसलाई उल्टै तर्साउने नीति लिए।’

उनी थप्छन्, ‘विगतमा पनि सरकारसँग हाम्रो अप्रिय अवस्था आएको हो। तर अहिले हामीले कहिल्यै नदेखिएको अवस्था सामना गरिरहेका छौं।’

संवैधानिक कानुनका विज्ञ टिकाराम भट्टराई पनि विगतका सरकारको तुलनामा अहिलेको सरकार छोटो समयमै संवैधानिक र कानुनी हिसाबले चुकेको विश्लेषण गर्छन्।

सरकारको आलोचना गरेकै आधारमा व्यक्तिलाई पक्राउ गर्ने र सञ्चारमाध्यमलाई कुण्ठित गर्ने काम भइरहेको उनको आरोप छ।

‘सरकार संवैधानिक रूपमा चलेको छैन। संविधान र संसद्को न्यूनतम गरिमा पनि सरकारले पालना गरेको छैन। नागरिकका हकहरू कुण्ठित र सङ्कुचित भएका छन्। सरकारको आलोचना गरेकै भरमा मानिसहरू दिनहुँ पक्राउ पर्ने अवस्था बढ्दै गएको छ’, भट्टराई भन्छन्,‘अहिलेको संवैधानिक अभ्यासलाई स्वस्थ संवैधानिक र कानुनसम्मत भन्न सकिने अवस्था छैन। सरकार निरङ्कुशतातर्फ उन्मुख भएको देखिन्छ। सम्बन्धित पार्टी र त्यसका सदस्यहरूले अब यसबारे गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ।’

उनले थपे, ‘विभिन्न सञ्चारमाध्यम, व्यापारिक प्रतिष्ठान र पार्टी नेताहरूका घरअगाडि शङ्कास्पद गाडी भेटिनुमा राज्य जिम्मेवार हुनुपर्छ। बिहानैदेखि घटना भएको हो, तर सरकारले स्पष्ट जवाफ नदिनुले पनि शङ्का उब्जिएको छ। दुईतिहाइ नजिकको जनमत दिएर पठाएको सरकारले जनआक्रोश अझ बढ्न नपाउँदै कार्यशैली सुधार्ने अपेक्षा छ। जनता पुराना दल र नेताबाट आजित भएर नयाँ रोज्न पुगेका हुन्। नयाँले पनि कसैलाई आजित बनाउनु हुँदैन। कानुन मिचेको भए प्रक्रिया र संयन्त्र पर्याप्त छन्।’

प्रधानमन्त्री बालेनलाई पार्टीले रास्वपाले गल्ती ढाकछोप गर्नेतिर भन्दा जिम्मेवार बनाउनुपर्ने उनको भनाइ छ।

सरकारलाई काम गर्न दिऔं : पूर्वसचिव माधव पौडेल

पूर्वकानुन सचिव माधव पौडेल गठन भएको तीन महिनामै सरकारको कार्यशैलीमाथि कठोर मूल्याङ्कन गर्नु उपयुक्त नहुने बताउँछन्। सरकारको आलोचना गर्ने समय अझै नभइसकेको उनको टिप्पणी छ।

पौडेल भन्छन्, ‘सुशासनमा उहाँहरू केन्द्रित हुनुभएको छ। यति थोरै समयमा कसरी मूल्याङ्कन गर्न सकिन्छ र ? सरकार गठन भएको सय दिन पनि पूरा हुन लागेको मात्रै हो।’

उनी थप्छन्, ‘अहिले मूल्याङ्कन गर्ने बेला भइसकेको छैन। पार्टी नेताहरू पनि प्रधानमन्त्रीको कार्यशैलीप्रति उकुसमुकुस हुनुहुन्छ जस्तो मलाई लाग्दैन। मूल्याङ्कन गर्न अझै समय छ। सरकारलाई केही समय काम गर्न दिऔं।’

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ८ : ०८ बजे

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित