दमौली बजारका घर हटाउने प्रक्रिया अगाडि बढाउने सहमति | Khabarhub Khabarhub

दमौली बजारका घर हटाउने प्रक्रिया अगाडि बढाउने सहमति


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

तनहुँ – मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारमा रहेका घरहरु हटाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा आजको बैठकले छ दिनभित्र सकिने गरी नापअनुसार भत्काउनुपर्ने घर हटाउनका लागि प्रक्रिया अगाडि बढाउने सहमति गरेको हो ।

व्यास नगरपालिका–२, ३ र ४ को बजार क्षेत्रमा विद्युत् पोल गाड्ने, नाला निर्माण गर्ने कार्यमा केही घरहरु भत्काउन बाँकी रहेकाले सम्बन्धित वडाध्यक्ष, प्राविधिक, सडक आयोजनाका प्रतिनिधि, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिको रोहबरमा उक्त सहमति गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

बैठकले सडक निर्माण गर्दा क्रसिङको माग ज्यादा भएकाले सुरक्षा र सम्भावनालाई मध्यनजर गरी सो सम्बन्धमा आयोजनाबाट तत्काल सम्बोधन गर्ने निर्णय भएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार भत्काउने घरहरूको मुआब्जा प्राप्त नभएको गुनासो आएकाले मुआब्जा प्राप्त गर्नुपर्ने घरहरूलाई तत्काल मुआब्जा उपलब्ध गराउने र घर भत्काई निर्माण सम्पन्न भएका घरहरूको दोस्रो किस्ता उपलब्ध गराउने निर्णय भएको छ ।

राजमार्गको पूर्वी खण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म आर्थिक वर्ष २०८०÷८१ मा एकतर्फी रुपमा हिसाब गर्दा ५५ किलोमिटर खण्ड दुई लेन कालोपत्र भएको हो ।

हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर खण्ड कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । वर्षाका कारण अहिले कालोपत्रको काम रोकिएको छ । उहाँले भन्नुभयो, “अन्य काम भइरहेपनि वर्षाका बेलामा कालोपत्र गरेका छैनौ । वर्षा सकिएपछि बाँकी खण्डमा कालोपत्र हुनेछ ।”

पूर्वी खण्डमा व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन् । त्यसमध्ये व्यास नगरपालिकाको दमौली बजार र डुम्रे बजारका केही भामा घरटहरा हटाउन ढिलाइले कालोपत्र काम अगाडि बढ्न सकेको छैन ।

पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको छ । यो खण्डको म्याद गत वैशाख २ गते सकिएपछि एक सय ५५ दिन पुनः म्याद थप गरिएको आयोजनाले जनाएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १० : ४७ बजे

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

म्याग्दी – आयोजकलाई घरेलु मैदानमा पराजित गर्दै स्याङ्जा जिल्ला खेलकुद

फेसबुक ठगी प्रकरणः ६२ लाख ठगी गरेका युवक पक्राउ

सुनसरी – सामाजिक सञ्जाल फेसबुकमार्फत रु ६२ लाख ७५ हजार

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

कञ्चनपुर – आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पु-याएर बन्धक बनाइएका

उद्योग व्यवसाय सवलीकरणका लागि मधेस सरकारले बनायो उच्चस्तरीय समिति

जनकपुर – मधेस प्रदेश सरकारले उद्योग तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित