समाचार

जनतालाई अधिकार सम्पन्न बनाउन गणेशमानको योगदान अतुलनीय : उपप्रधानमन्त्री सिंह

By खबरहब

September 18, 2024

काठमाडौं– नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा आज बिहान शोभाभगवतीमा रहेको गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।

गणेशमानका पुत्र तथा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । उनले नागरिकलाई अधिकार सम्पन्न बनाउन सिंहले १५ वर्ष भन्दा लामो जेल जीवन बिताएको र कसैसँग सम्झौता नगरेको स्मरण गरे ।

‘नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा हामी गणेशमान सिंहलाई सम्झन्छौँ,’ उपप्रधानमन्त्री सिंहले भने,’ ६ दशकभन्दा लामो सक्रिय राजनीतिमा गणेशमानले राणा र पञ्चायतका बेला १५ वर्ष जेल र अर्को १५ वर्ष निर्वासनमा बिताउनुभयो । यसबाट देशमा जनतालाई सार्वभौमसत्ता सम्पन बनाउन, अधिकारसम्पन्न बनाउन उहाँको प्रतिवद्धता र समर्पण कति थियो भनेर हामी भन्न सक्छौँ ।’