आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी « Khabarhub

आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

घोडघोडी– घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ । सन् २००३ अगस्टमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त बासस्थान मानिन्छ ।

पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरबिर आवाज र चहलपहलले घोडाघोडी ताल क्षेत्रको माहोल थप रमणीय र मनमोहक भएको छ । 

उत्तरी ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून भई तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने गरेको चराविद् डा हेमसागर बरालले बताए । 

अत्यधिक चिसोमा अनुकूलन हुन नसक्दा र आहारा कमीका कारण चिसो छल्न नेपाललगायत दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उनले बताए।

‘अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारामा नोक्सान हुन्छ । त्यसैले चराहरू नेपाललगायत दक्षिण क्षेत्रमा आउँछन्’, चराविद् बरालले भने्, ‘यस बेला यहाँको मौसम अनुकूल हुने र आहार पनि पर्याप्त पाइने भएकाले हरेक वर्ष चराहरू आउँछन् ।’

सेप्टेम्बरको अन्तिम सातादेखि आगन्तुक चराहरू आउने गरेको नेपाल पक्षीविद् सङ्घका अध्यक्ष हठन चौधरीले बताए। उनका अनुसार नेपालमा एक सय ५३ प्रजातिका आगन्तुक चराहरू आउने गर्छन्, यो क्रम डिसेम्बरसम्म चल्छ । जसमध्ये धेरैजसो हाँस प्रजातिका हुन्छन् । यहाँ आइपुगेका चरा फेरि अप्रिलमा  आएकै ठाउँतिर फर्किन्छन् ।

पन्छी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले यो बेला विभिन्न देशबाट हजारौँ किलोमिटर यात्रा पार गरेर ठूलो सङ्ख्यामा आगन्तुक चराहरू आउने गरेको जानकारी दिए।

‘दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेहटा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा आउने गर्दछन्’, उनले भने।  

चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार संसारमा चराका नौवटा उडानमार्ग रहेका छन् । तीमध्ये नेपालमा दुई उडानमार्ग पर्छन् । अधिकांश चराहरू मध्य एसिया उडानमार्ग हुँदै घोडाघोडी पुग्ने गरेको उनले जानकारी दिए। घोडाघोडीमा हाल आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दुरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपन्छी आएका छन् ।

पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा संकटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरीले बताए  ।

रामसारको प्रावधानअनुसार विश्वका आठमध्ये दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् । हरिहाँस, बगाले सिम कुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेको उनले बताए।

‘विश्वभरका एक हजार तीन सय १४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका संकटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्वपूर्ण छ’, पन्छी संरक्षण सङ्घका फिल्ड अधिकृत डगौराले भने। 

यहाँ हरिहाँस, मगर गोही र वनधान सूचक प्रजातिका रूपमा छन् । चौधरीका अनुसार विश्वव्यापी रूपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, राज लाहाचे, राज धनेसलगायत प्रजातिका चराहरू पनि यहाँ बसोबास गर्छन् । 

चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २७ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेन्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १ : ३१ बजे

एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार