काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यताप्रतिको अविचलित निष्ठा, जनतासँगको निरन्तर एवं अटुट सम्बन्धका कारणले नै कांग्रेसले जन्मकालदेखि नै राष्ट्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै इतिहास निर्माण गरेको बताएका छन्।
ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आजदेखि सुरु भएको पार्टीको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको स्थापना, पुनःस्थापनाका लागि भएका शृङ्खलाबद्ध क्रान्ति, सङ्घर्ष आन्दोलनदेखि दशवर्षे सशस्त्रद्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने कार्यमा नेतृत्व प्रदान गरेको उल्लेख गरे ।
“अन्तरिम संविधानदेखि वर्तमान संविधान निर्माण र संविधानको कार्यान्वयनको कार्यमा नेतृत्व प्रदान गरेका सबै काम कांग्रेसको महत्वपूर्ण भूमिकाका उदाहरण हुन्,” उनले भने ।
![](https://www.khabarhub.com/wp-content/uploads/2024/02/congress-mahasamiti-768x512.jpg)
नेपालको वर्तमान संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको उल्लेख गर्दै सभापति देउवाले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको र यो शासकीय स्वरुप कांग्रेसको मान्यता अनुकूल रहेको बताए । संविधानको रक्षा र सार्थक कार्यान्वयन आजका मुख्य ‘एजेन्डा’ भएको भन्दै उनले कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनका पक्षमा दृढ रहेको र यो हाम्रो दायित्व पनि भएको स्पष्ट पारे ।
कांग्रेस आफ्नो इतिहासमा गर्व गर्दै वर्तमान र भविष्यमा जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने उल्लेख गर्दै सभापति देउवाले कांग्रेसका सैद्धान्तिक मान्यता, नीति कार्यक्रम र व्यवहार सबै लोकतान्त्रिक मान्यताबाट निर्देशित रहेको बताए । पार्टीको १४औँ महाधिवेशनमा समय अभावका कारण नीतिगत विषयमा दस्तावेज प्रस्तुत गरी छलफल गर्न नपाएका कारण पार्टीका नीतिगत विषयमा छलफल गर्ने उद्देश्यले महाधिवेशनको निर्णयअनुसार महासमिति बैठक बोलाइएको उनले बताए ।
सभापति देउवाले बैठकमा विभिन्न दस्तावेज प्रस्तुत हुने र सबै सहभागीलाई ती विषयमा राम्ररी अध्ययन गरी आफ्ना विचार राख्न आग्रह गर्दै सहभागीका विचार, सुझाव र धारणा समेटेर नीतिगत दस्तावेज परिमार्जन गरी पारित गरिने उल्लेख गरे ।
उनले भने, “कांग्रेसले देशमा लोकतन्त्र स्थापना, पुनःस्थापना र संरक्षणका लागि लामो सङ्घर्ष गरेको इतिहास सबैमा विदितै छ । हाम्रो इतिहास लोकतन्त्रका लागि जनताको हकअधिकार र स्वतन्त्रताका लागि त्याग तपस्या र बलिदानका गाथाले भरिपूर्ण छ । मुलुकमा जहिले पनि सङ्कट उत्पन्न भएका बेला कांग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ ।”
लोकतान्त्रिक मूल्यमान्यतासँग कहिल्यै पनि सम्झौता नगर्ने कांग्रेसको दृढताका कारणले नै यो पार्टी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा एकमात्र लोकतान्त्रिक पार्टीका रुपमा पहिचान बनाउन सफल भएको सभापति देउवाको भनाइ थियो ।
![](https://www.khabarhub.com/wp-content/uploads/2024/02/nepali-congress-1-768x576.jpg)
![](https://www.khabarhub.com/wp-content/uploads/2024/02/congress-14-768x512.jpg)
आर्थिक प्रतिकूलताका कारण चाहेजस्तो काम गर्न नसकिएको उनको भनाइ थियो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा आफूहरु दृढ रहेको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई सम्बोधन गरेर देशलाई विकासको बाटोमा लैजान सक्ने बताए ।
सभापति देउवाले भने, “कांग्रेसले सदैव संवाद, सहमति र सहकार्यको नीति अवलम्बन गरेको छ । देशमा विद्यमान राजनीतिक दलमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो तर कतिपय हाम्रा साझा विषय छन् । देशको सार्वभौमिकता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रक्रियाका बाँकी काम सङ्क्रमणकालीन न्यायजस्ता विषयमा हाम्रा समान धारणा हुनुपर्दछ ।”
यसका निम्ति संवाद, सहमति र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्ने र पार्टीभित्र वा सबै पार्टी बीचमा पनि निरन्तर संवाद र सहमतिको अभ्यास गर्नुपर्ने सभापति देउवाको भनाइ थियो ।
प्रतिक्रिया