अर्थसंक्षेप : आर्थिक विकासमा कछुवा गति, सुनको कारोबारमा मन्दी | Khabarhub Khabarhub

अर्थसंक्षेप : आर्थिक विकासमा कछुवा गति, सुनको कारोबारमा मन्दी


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान जारी भएको ९ वर्ष बिते पनि नेपालको आर्थिक विकास कछुवा गतिमा रहेको छ । संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ । सरकारले चाडपर्वका लागि लक्षित गरी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुलाउन पहल सुरु गरेको छ ।

त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । दसैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा भने मन्दी देखिएको छ । आज बिहीबार सुन प्रतितोला आठ सय रुपैयाँले घटेको छ । यता,  नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरु : 

आर्थिक विकासमा कछुवा गति, नागरिक पलायन दोब्बर

तत्कालीन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा चलेको १० वर्षे सशस्त्र संघर्ष र ०६२/६३ को १९ दिने संयुक्त जनआन्दोलनको आधारमा खडा भएको दुई चरणको संविधान सभाले ०७२ असोज ३ गते संविधान जारी गरेको थियो । संविधान जारी भएसँगै राजनीतिक अस्थिरता अन्त्य र आर्थिक समृद्धिको अपेक्षा नागरिकमा थियो । संविधानको प्रस्तावनामै ‘समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न’ लेखिएको छ ।

सम्पत्तिको हक, शिक्षासम्बन्धी हक, रोजगारीको हक, श्रमको हक, स्वास्थ्यसम्बन्धी हक, खाद्यसम्बन्धी हक, आवासको हक, बालबालिकाको हक, जेष्ठ नागरिकको हक, सामाजिक सुरक्षाको हक लगायतका मौलिक हकहरू संविधानले स्पष्ट व्यवस्था गरेको छ । जुन हकहरू कार्यान्वयन गर्दा राज्यको प्रत्यक्ष आर्थिक दायित्व सिर्जना हुन्छ ।

त्यस्तै, संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गतको भागमा अर्थ, उद्योग र वाणिज्य, कृषि र भूमिसुधार, विकास, प्राकृतिक स्रोतसाधन संरक्षण, सम्बद्र्धन र उपयोग, नागरिकका आधारभूत आवश्यकता, श्रम र रोजगार, सामाजिक न्याय लगायत देशको अर्थतन्त्र तथा आर्थिक विकाससँग जोडिएका नीतिहरूको व्यवस्था गरिएको छ ।

आजदेखि धरहरा खुला, निःशुल्क चढ्न पाइने

संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । २०७२ को भूकम्पमा भत्किएको धरहराको पुनर्निर्माण गरि ९ वर्षपछि अस्थायी रूपमा सञ्चालनमा आउन लागेको हो ।

अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्क नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । एक दिनमा अधिकतम पाँच सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने गरी व्यवस्था गरिएको छ । सर्वसाधारणले नवनिर्मित धरहरा निःशुल्क रूपमा चढ्न पाउनेछन् । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

दशैँका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?

सरकारले चाडपर्वका लागि लक्षित गरी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुलाउन पहल सुरु गरेको छ । दशैँका लागि काठमाडौं उपत्यका हुँदै नेपालभर चल्ने सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा बुधबार यातायात व्यवसायी र सरकारका प्रतिनिधिबीच छलफल भइसकेको छ । बैठकले अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने निष्कर्ष भने निकाल्न सकेन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, यातायात व्यवसायी तथा प्रतिनिधि सहभागी बैठकमा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफल भएको हो । बैठकमा मन्त्री दाहालले चाडपर्वमा काठमाडौं हुँदै देशका विभिन्न ठाउँसम्म पुग्ने सार्वजनिक यातायातको टिकट छिटोभन्दा छिटो खुलाउन यातायात व्यवसायीलाई आग्रह गरे ।

यात्रुहरूलाई सहज ढंगले गन्तव्यमा पु¥याउने दायित्व सरकारको भएको भन्दै उनले त्यसका लागि अग्रिम टिकट छिट्टै खुलाउन आग्रह गरे । तर, यातायात व्यवसायीहरूले भने सडकको अवस्था राम्रो नभएको, जोखिमयुक्त रहेको, वैज्ञानिक भाडादर कायम गर्नुपर्नेलगायतका माग सम्बोधन गर्न आग्रह गरे ।

सुपथ मूल्य पसलका कुन सामानमा कति छुट ? 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । देशभरको ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएका छन् । व्यापार कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपानेका अनुसार पसल आज बिहीबार देखि पुस १० गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौं उपत्यकामा भने ४ स्थान थापाथली, रामशाहथप, नख्खु र सूर्यविनायकमा सञ्चालन हुने छ । उक्त स्थानबाट अनलाईन अर्डर मार्फत होम डेलिभरीको सेवा समेत रहेको न्यौपानेले जानकारी दिइन ।  ‘कम्पनीको आफ्नै भौतिक पूर्वाधारहरू, जनशक्ति, आर्थिक श्रोत साधनको सिमितताका कारण सम्पूर्ण जिल्ला तथा पालिकाहरूमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा सरकारको उपस्थिति देखाउनु चुनौतिपूर्ण भएको छ’, ब्यापार कम्पनीले भन्यो, ‘तथापि यस कार्यक्रमलाई उद्देश्य अनुरूप सफल रूपले सञ्चालन गर्नका लागि सम्बन्धित पालिकाहरूको पनि समन्वयात्मक भूमिकाले सहज र सम्भव बनाउने छौँ ।’ सुपथ मूल्य पसल सञ्चालन गर्नको लागि सरकारबाट ३ करोड रुपैयाँ स्वीकृत भएको थियो ।

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

दसैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा भने मन्दी देखिएको छ । दिनदिनै मूल्य बढिरहेपछि सुनको कारोबारमा गिरावट आएको व्यवसायीले बताएका छन् । सुनको बढी कारोबार हुने खासगरी बिहेका लगनको महिना, तीज, दशैंलगायत चाडपर्व हुन् । तर, सिजन र चाडपर्वमासमेत निरन्तरको मूल्यवृद्धिले उपभोक्ता हच्किँदा कारोबार घटेको हो ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष लगनको महिना र चाडपर्वमा पनि सुनको कारोबारमा कमी आएको व्यवसायी बताउँछन् । अघिल्लो वर्ष यसै समयमा दैनिक २५ किलोसम्म सुन किनबेच हुने गरेको थियो । तर, अहिले मूल्यवृद्धिलगायत कारणले मुस्किलले १२ देखि १५ किलो मात्रै सुन किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले खबरहबलाई बताए ।

सुनको मूल्य तोलामा आठ सयले घट्यो

उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि एक लाख ५५ हजार छ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार आठ सय ८० रुपैयाँ निर्धारण भएको छ ।

मुगुमा असोज ७ देखि सुपथ मूल्य पसल सञ्चालन हुने

नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले आज एक कार्यक्रम गर्दे चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज ७ गतेदेखि  माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जानकारी गराएको हो ।

जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने बताइएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मुगुका कार्यालय प्रमुख राज बहादुर राईले बताए । सुपथ मूल्य पसलमा उपभोक्ताले प्रतिकेजी ५ रुपैयाँका दरले छुट पाउने उनले जानकारी दिए ।

चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उनको भनाई छ । सुपथ मूल्य पसलका लागि २ हजार क्विन्टल चामल बितरण गरिने बताए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ६ : ३९ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले