ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु  | Khabarhub Khabarhub

ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु 


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको छ।

आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम असोज–कात्तिक र दोस्रो याम चैत–वैशाखसम्म हुने गर्छ । यस यामको सिकार लागि नेपाल ट्राभल एक्सपिडिसन कम्पनीको नेतृत्वमा पहिलो टोली गत असोज २३ गते आरक्षमा पुगेको थियो । सो कम्पनीमार्फत अष्ट्रेलियन नागरिकले यस याममा पहिलो नाउरको सिकार गर्नुभएको छ । नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ । सिकारको अनुमति लिएका बाँकी तीन कम्पनी आरक्षमा जाने क्रममा छन् ।

निकुञ्जका वरिष्ठ व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारको अनुमति लिएका छन् । विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको हुन्छ । हाल नाउरको एक लाख ५० हजार, झारलको ७५ हजार र बँदेलको १० हजार न्यूनतम राजस्व तोकिएको छ ।

न्यूनतमभन्दा धेरै बोलपत्र बढाबढमा कम्पनीले सिकारको अनुमति प्राप्त गर्ने गर्छन् । यस याममा नाउरको सबैभन्दा बढी १२ लाख ३० हजार बोलपत्र कबोल गरिएको छ । त्यस्तै झारलको सात लाख २५ हजार कबोल गरिएको अधिकृत शेर्पाले जानकारी दिए ।

उनले सिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कूल एक करोड ४५ लाख ९२ हजार चार सय राजस्व आम्दानी भएको बताए ।

सिकार कम्पनीले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले नाउर र झारलको सिकार गरेबापत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन् । यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीयस्तरमा पर्यटनको समेत विकास भएको छ । विभागले यस वर्षको पहिलो यामका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट सिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो ।

विगत २० वर्षदेखि यस पेसामा संलग्न नेपाल ट्राभल एक्सपिडिसनका सञ्चालक अमृत थापाले सिकारका लागि विश्वमै प्रसिद्ध यस आरक्षमा आउने सिकारीले भौगोलिक कठिनाइका बाबजुद प्राप्त गर्ने आनन्द अनुपम रहेको बताए ।

उनले हतियारको अनुमति तथा सिकारका लागि कानूनीलगायतका प्रक्रियामा विवरण मिलाउने कार्यलाई आधुनिक र सरलीकरण गर्नुपर्ने सुझाव दिए । सिकारका लागि कम्पनीले निकुञ्ज विभाग, वन मन्त्रालय, गृह मन्त्रालयलगायत निकायमा काम गरी सिकारीले आखेटोपहार आफूसँगै विदेश लैजान झण्डै ६ महिनासम्म समय लाग्ने गरेको छ ।

यो आरक्ष पेसेवर विदेशी सिकारीका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल र बँदेलको सिकार गर्न पाइन्छ । सिकार गर्नका लागि सिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ । विदेशी सिकारीले अनुमति प्राप्त बन्दुक र गोली आफ्नो देशबाट ल्याउने र त्यसैले सिकार गर्ने गर्छन् । सिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ ।

प्रतिसिकारी ३० देखि ३५ हजार अमेरिकी डलर खर्च

हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जनभन्दा बढी व्यक्तिको सहयोगी समूह आवश्यकपर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो हुन्छ । कम्पनीहरूले प्रतिसिकारी पर्यटकबाट ३० देखि ३५ हजार अमेरिकी डलर लिएर सिकार खेलाउने गरिएको छ । सिकार खेल्न आउने विदेशीमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, मेक्सिको, फ्रान्स, स्पेन, रसिया, हङ्गेरी, युक्रेन, क्यानडा, जर्मनीलगायत मुलुकका रहेका छन् ।

सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (टाउको, सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन् । सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै रहँदा खाने र अन्य फोहर गाड्ने गरिन्छ ।

बुढो भाले प्रजातिको मात्र सिकार गर्ने प्रावधान
यी वन्यजन्तुको सिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ । सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार दुई सय ९० र झारलको सङ्ख्या सात सय ४४ रहेको छ । गणनापछि वैज्ञानिक तरिकाले सिकारका लागि निश्चित सङ्ख्या निर्धारण गरिन्छ ।

बुढो उमेरको भालेको मात्र सिकार गर्ने गरिन्छ । करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आँकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ । गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरेर प्रतिस्पर्धाका आधारमा सिकार गराउने गरिन्छ ।

विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ । रुकुमपूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत एक सय ६४ प्रजातिका चराहरू पाइन्छन् । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो ।

अघिल्लो आर्थिक वर्षमा १९ वटा नाउर र ११ वटा झारलको सिकार अनुमति दिइएको थियो । यसबाट कूल चार करोड २६ लाख ८८ हजार सात  सय राजस्व आम्दानी भएको विभागको तथ्याङ्क छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ११ : ०० बजे

हनिमुन अवधिमै ओली सरकारका ८ ‘काण्ड’

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलहरू ‘हनिमुन

जुम्लाका किसानलाई मार्सीधान भित्र्याउन चटारो

जुम्ला – यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ ।

सरकारलाई वर्षमानको प्रश्न : रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ? 

रोल्पा– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पूर्वगृहमन्त्री

प्यालेस्टाइनी प्रशासनका राष्ट्रपतिलाई भ्लादिमिर पुटिनको निम्तो 

काठमाडौं– रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्यालेस्टाइनी प्रशासनका राष्ट्रपति महमुद अब्बासलाई

कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा