साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन « Khabarhub

साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको जैमनी नगरपालिका–१ जैमिनीधामबाट पर्वतको फलेबास नगरपालिकाको देवीस्थान जोड्ने मोटर गुड्ने पुल अलपत्र परेको छ । विसं २०७३ असोज ९ गते ३० महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो । 

कालीगण्डकी नदीमाथि बन्न थालेको एक सय मिटर लामो मोटर गुड्ने पुल रसुवारश्री गीतारफेवा जेभीले पटकपटक म्याद थप गरे पनि हालसम्म काम पूरा गर्न सकेको छैन । पुल निर्माणका लागि रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ को लागतमा सम्झौता भएको थियो ।

आठ वर्षसम्म पनि पुल नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको छ । निर्माण कम्पनीले निर्धारित समयमा काम गरेको भए विसं २०७६ असारमा बनिसक्ने थियो । अझै पुलको तीन खण्डमध्ये एक खण्डको ढलान हुनै बाँकी रहेको जिल्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिए। उनका अनुसार हालसम्म पुलको भौतिक ८२ र वित्तीय ८६ प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीले धमाधम काम गरे असार मसान्तसम्म सक्ने उनको भनाइ छ । 

इञ्जिनियर अधिकारीले भने, ‘यो पुल पहिले नै सकिनुपर्ने हो, निर्माण कम्पनीले विभिन्न समस्या देखाएर अहिलेसम्म काम सकेको छैन, अहिले काम गरिरहेको छ, आगामी असार मसान्तसम्म सक्ने गरी काम गरिरहेको छ, धेरैपटक म्याद थप गरेको हुँदा यसपटक सक्छ भन्ने अपेक्षा छ ।’

पुलले कालीगण्डकी करिडोरसँग पर्वतको फलेबासलाई जोड्छ । समयमै पुल निर्माण भएमा बागलुङको दक्षिण जैमिनी र बरेङ क्षेत्रका नागरिकलाई गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने मोटरबाटोको दूरी छोटो हुने स्थानीय महेन्द्र खत्रीले बताए । काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुनुपर्ने उनको भनाइ छ । 

जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले पुल निर्माणमा लामो समयदेखि ढिलाइ भएको भन्दै निर्माण कम्पनीलाई तीव्रगतिमा काम गर्न आग्रह गरेको बताए। पुलको कामलाई सहज बनाउनका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने उनको भनाइ छ । यो पुल बने दक्षिण बागलुङ क्षेत्रको मुहार फेरिने उपप्रमुख शर्माले बताए। 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  २ : २२ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६