आजको अर्थसंक्षेप : वैदेशिक व्यापार घट्यो, एनसेललाई २० अर्ब बुझाएर नवीकरण गर्न ताकेता | Khabarhub Khabarhub

आजको अर्थसंक्षेप : वैदेशिक व्यापार घट्यो, एनसेललाई २० अर्ब बुझाएर नवीकरण गर्न ताकेता


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक वर्ष (आव)को १० महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यही जेठ १५ गतेभित्र २० अर्ब नवीकरण शुल्क बुझाएर नवीकरण गर्न एनसेललाई ताकेता गरेको छ । त्यस्तै आज शेयर बजारमा सकारात्मक उछाल आएको छ । हेर्नुहोस् आजका मुख्य समाचारहरू संक्षेपमा :

नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । अघिल्लो आवको १० महिनाको तुलनामा चालु आवको १० महिनामा साढे दुई प्रतिशतले वैदेशिक व्यापार घटेको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार चालु आवको १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न वस्तुको आयात भएको छ । जुन आयात अघिल्लो आवको सोही अवधिको तुलनामा २.३९ प्रतिशतले कम हो ।

त्यस्तै, चालु आवको १० महिनामा नेपालबाट १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ३८ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६१ प्रतिशतले कम हो ।

विभागको तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापारमा ९१.१७ प्रतिशत आयात रहेको छ भने जम्मा ८.८३ प्रतिशत निर्यातको हिस्सा रहेको छ ।

१० महिनामा २४ अर्बको मोबाइल र २१ अर्बको सुन आयात

चालु आवको १० महिनामा नेपालमा २४ अर्ब बढीको सुन र २१ अर्ब बढीको सुन आयात भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकले १० महिनाको अवधिमा मोबाइल र सुन सो मात्रामा आयत भएको देखाएको हो ।

विभागद्वारा सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको वैशाख मसान्तसम्ममा २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको १५ लाख २८ हजार ६४४ थान मोबाइल आयात भएको छ । विभागका अनुसार सो अवधिमा आयात भएका मोबाइल फोनमा लगाइएको भन्सार करमार्फत सरकारले ४ अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै सोही अवधिमा नेपालमा २१ अर्ब ६५ करोड १ लाख ३३ हजार रुपैयाँ बराबरको २ हजार ४ सय ५१ केजी ८६४ ग्राम सुन आयात भएको छ । सरकारले सो सुन आयातको क्रममा भन्सार करबापत ३ अर्ब २४ करोड ७५ लाख ४८ हजार आम्दानी गरेको विभागको तथ्यांकले देखाएको छ ।

नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम उच्च

यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ भने पछिल्लो चार महिनायताकै उच्च रकम कारोबार भएको छ ।

हिजो आइतबार नेप्से परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेकामा आज २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ को बिन्दुमा कायम भएको छ । आज तीन सय १५ कम्पनीको एक करोड ४३ लाख ७० हजार छ सय ८९ कित्ता शेयर ८० हजार नौ सय ८२ पटक खरिद बिक्री हुँदा पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार दुई सय १२ बराबरको कारोबार भएको छ । यो कारोबार रकम गत पुस २७ गते यताकै उच्च हो । आजको कारोबारपछि कूल बजार पूँजीकरण ३३ खर्ब १७ अर्ब २९ करोड ६५ लाख ८० हजार हाराहारी पुगेको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ५७, जीवन बीमा समूह शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६५ र अन्य समूहको उपसूचक शून्य दशमलव ५० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैंकिङ समूहको उपसूचक चार दशमलव १८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक शून्य दशमलव ४२, होटल तथा पर्यटन शून्य दशमलव ३९, जलविद्युत् एक दशमलव ३८, लगानी एक दशमलव ८४, म्युचुअल फन्ड एक दशमलव २४, व्यापार दुई दशमलव २३ र अन्य समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।  

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभपलमेन्ट कम्पनी लिमिटेड र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ४० र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेड १९ करोड ९२ लाख ९९ हजार आठ सय २४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको चार लाख ४३ हजार ५८ कित्ता शेयर खरिद बिक्री भएको छ ।

एनसेललाई नवीकरणका लागि जेठ १५ भित्र २० अर्ब बुझाउन प्राधिकरणले पठायो पत्र

मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई नवीकरणका लागि यही जेठ १५ गतेभित्र २० अर्ब नवीकरण दस्तुर र निवेदन पेस गर्न दूरसञ्चार प्राधिकरणले पत्र पठाएको छ । 

आगामी भदौ १५ गते सो कम्पनीको २० वर्षे अनुमति पत्रको म्याद सकिने भएकोले ३ महिना अगाडि नै नवीकरण गर्नुपर्ने प्रावधानअनुसार प्राधिकरणले पत्र पठाएको हो ।

नेपाल दूरसञ्चार ऐन २०५३ को दफा २५ अनुसार नेपालमा सञ्चालनमा रहेका टेलिकम कम्पनीहरूले अनुमति पत्र लिने र नवीकरण गर्ने कार्य गर्दै आएका छन् । सो व्यवस्थाअनुसार मोबाइल सेवा प्रदायक कम्पनीहरूले एकपटकमा २५ वर्षे अनुमति पत्र लिएपछि त्यसको पहिलोपटक १०, दोस्रोपटक १५ र तेस्रोपटक २० वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ ।

सोहीअनुसार प्राधिकरणले अग्रिम जानकारीका लागि पत्र पठाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले खबरहबलाई बताए । ‘एनसेलको अनुमति पत्रको म्याद आगामी भदौ १५ गते सकिँदैछ, त्यसको ३ महिना अगाडि नै उसले नवीकरणको लागि दस्तुर सहित निवेदन दिनुपर्ने हुन्छ, सोही अनुसार रिमाइन्डको लागि पत्र पठाएका हौं’, पौडेलले भने । 

उनका अनुसार प्राधिकरणले जेठ ४ गते नै एनसेललाई पत्र पठाएको छ र उसले जेठ १५ गतेभित्र २० अर्ब रुपैयाँ सहित नवीकरणको लागि निवेदन दिनुपर्ने हुन्छ ।

तत्कालीन मेरो मोबाइल (हालको एनसेल)ले २०६१ सालमा बोलकबोल प्रक्रियाबाट अनुमतिपत्रको नवीकरण गर्दा २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ बुझाउने बोलकबोल गरेको थियो । सोहीअनुसार एनसेलले नवीकरणका लागि २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ भने नवीकरण अनुमतिपत्रको लागि थप रकम बुझाउनुपर्नेछ ।

वैशाख २९ गतेमात्रै अनुमतिपत्र नवीकरण गरेको नेपाल टेलिकमले ऐन तथा नियमावलीअनुसार नवीकरण दस्तुरबापत २० अर्ब र अनुमतिपत्र बापत २१ करोड रकम बुझाइसकेको छ ।

तोकिएको समयमा नवीकरण नगराए अनुमतिपत्र स्वतः रद्द हुने व्यवस्था दूरसञ्चार ऐन तथा नियमावलीमा गरिएको छ ।

०८० फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले २५ वर्ष समाप्ति भएपछि नेपाल सरकारको स्वामित्वमा आउने गरी मात्रै र कम्पनीको कायम रहेको शेयर संरचनामा कुनै फेरबदल नगर्ने सर्तमा मात्रै एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको छ ।

सरकारले १० महिनामा आयात गर्यो ५६ हजार किलो पासपोर्ट

चालु आवको १० महिनामा सरकारले ५६ हजार किलो बढी राहदानी (पासपोर्ट) आयात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सरकारले चालु आवको १० महिनामा ५६ हजार ३३ केजी पासपोर्ट आयात गरेको हो ।

विभागका अनुसार सरकारले ५६ हजार ३३ केजी पासपोर्ट आयात गर्नका लागि १ अर्ब ७४ करोड ८४ लाख ९६ हजार रुपैयाँ खर्च गरेको छ । साथै सरकारले सो परिमाणमा पासपोर्ट आयात गरेबापत ४ हजार रुपैयाँ भन्सार आम्दानी गरेको विभागले जनाएको छ ।

सुनको मूल्य बढ्यो 

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९०० रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार ९०० सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ४१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।  जुन हालसम्मकै उच्च मूल्य हो ।

यस्तै, तेजाबी सुन आइतबार एक लाख ४० हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार एक सय रुपैयाँ निर्धारण गरिएको महांघले जनाएको छ ।

चाँदीको मूल्यपनि आज तोलामा ३० रुपैयाँले बढेको छ । आइतबार चाँदी एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक हजार नौ सय ४० रुपैयाँ निर्धारण भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा ५ जना सर्टलिस्टमा

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ५ जनाको नाम सर्टलिस्टमा परेको छ । 

नेपाल बैंकका पूर्व सीईओ कृष्णबहादुर कार्की, राष्ट्रिय वाणिज्यकै डेपुटी सीईओ देवेन्द्ररमण खनालसहित प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्टलिस्टमा परेका हुन् । 

अब सर्टलिस्टमा परेका उम्मेदवारलाई आइतबार बसेको छनोट उपसमितिको बैठकले अन्तरवार्ताको लागि बोलाएको छ । २०८० चैतमा बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर गएसँगै सिइओ पद खाली भएको थियो । उक्त पदको लागि गत बैशाख ७ गते सिईओको लागि आवेदन खुल्ला गरिएको थियो । 

खुल्ला गरिएको आवेदनमा २० जनाको उम्मेदवारी परेको थियो । २० जना मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको हो । 

एक महिनामा १४ सय विद्युतीय गाडी आयात

नेपालले एक महिनामा १४ सय विद्युतीय गाडी आयात गरेको छ । वैशाख महिनामा मात्रै एक हजार सय चार वटा विद्युतीय जीप, कार भ्यानको आयात भएको तथ्यांकले देखाएको छ । 

चालु आवको चैतसम्म सात हजार ९३ वटा यस्ता गाडीको आयात भएको थियो । 

भन्सार विभागको तथ्यांकअनुसार यस वर्ष १० महिनामा ५० किलोवाट भन्दा कमका गाडी ३ हजार ४७२ वटा आयात भएका छन् ।

८ खर्ब ५३ अर्ब लागतमा सरकारी विद्युत आयोजना बढ्यो

सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल) ले झण्डै आठ खर्ब ५३ अर्ब ६२ करोड रुपैयाँ लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आयोजनाको काम अघि बढाएको छ । 

मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले गरिरहेको योजनाबद्ध प्रयासलाई थप सार्थक बनाउने लक्ष्यका साथ कम्पनीले मझौला र ठूला क्षमताका आयोजना निर्माणका लागि आवश्यक प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ । 

कम्पनीले अर्ध जलाशयुयुक्त प्रकृतिको चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीसँग मिलेर अगाडि बढाउन लागेको छ । सो आयोजना अगाडि बढाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को २०७९ जेठमा भएको भारत भ्रमणका क्रममा भएको हो ।

 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ७ : ५४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि