कट्टी रोल : खाजामा फरक रोजाइ ! | Khabarhub Khabarhub

कट्टी रोल : खाजामा फरक रोजाइ !


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेकुरामा स्वादको भिन्नतासँगै मानिसहरूको आ–आफ्नो रोजाइ हुन्छ । सबैलाई खानामा दालभात, ढिँढो, रोटी आदि फरक–फरक मन पर्छ ।

खाजाका हकमा पनि यही लागु हुन्छ । मःमः, चाउमिन, थुक्पा, बर्गर, रोटी, मकै, चिउरा, कट्टी रोल… परिकारमा सबैका आ–आफ्नै छनोट हुने गर्छ ।

काठमाडौंको औसत रेष्टूराँ क्षेत्रमा पछिल्लो समयमा खाजाको एउटा परिकार कट्टी रोल पनि स्थापित हुँदै गएको छ । मःम हाउस, बर्गर हाउस, कट्टी रोल खाजा घरका संख्या राजधानीमा थुप्रै संख्यामा पुगेका छन् ।

रेष्टूराँ सञ्चालकहरूका अनुसार कट्टी रोलका आफ्नै विशिष्ट ग्राहक छन् । उनीहरू आफ्नो रोजाइको परिकार खान कट्टीरोल खाजा घरमा नियमित आउने गर्छन् ।

सामान्यतयाः खाजाघरमा भोकाएको पेट भर्न, साथीभाइ जमघट हुन, रिफ्रेस हुन आदि धेरै लक्ष्यसाथ छिर्ने गर्छन् । त्यसैले आफ्नो स्वाद र मन आनन्दको रोजाइको खाजाको परिकार पाइने खाजाघर ग्राहकको रोजाइ हुने गरेको छ ।

नेपालमा कट्टी रोललाई स्थापित गरेको ब्राण्ड ‘स्यान्को कट्टी रोल’को काठमाडौंमा धेरै शाखा छन् । दिउँसो खाजा खाने समयमा सामान्यतयाः स्यान्कोका सबै खाजा घरमा ग्राहकहरू भरिभराउ हुने गरेको देखिन्छ ।

आइतबार दिउँसो स्यान्को कट्टी रोलको कमलादी शाखामा पनि ग्राहकहरू भरिभराउ थिए । कट्टी रोलमा धेरै ग्राहकको रोजाइ चिकन र मिक्स रोल हुने गर्छ । शाकाहारीले सोहीअनुसारको रोल अर्डर गर्छन् ।

कार्यालयको खाजा समयमा आएका सबै ग्राहकको अर्डरमा हतारो थियो । तर, कट्टी रोलका सबै कच्चापदार्थ तयारी अवस्थामा नै रहने हुँदा ग्राहकले अर्डर गरेको पाँच मिनेटभित्र हातमै स्वादिलो रोल आइपुग्छ ।

खाजामा कट्टी रोल नै आफ्नो लागि पहिलो रोजाइ भएको नेपाल लाइफ इन्स्योरेन्सका एक कर्मचारीले बताए । ‘कट्टी रोलमा मलाई मन पर्ने सबै मसला हाल्छन्, स्वाद पनि मनपर्दो हुने, भोकपनि मेटिने !’, उनले सुनाए ।

ग्राहकको अर्डर लिने र सेवामा व्यस्त हुन्छन्‌ शाखाका सञ्‍चालक नवीन ढुङ्गाना । ग्राहकहरूको अर्डरले सेफ हिरा रहतलाई भ्याइ-नभ्याइ हुन्छ । वरिपरि अफिस क्षेत्र भएका कारण खाजा खाने समय प्रायः सबैको एकैपटक हुने हुँदा दिउँसो १ देखि ३ बजेसम्म निकै व्यस्त भइने ढुङ्गानाले बताए ।

रोल तयार गरेर टमाटर केचअप हाल्दै हिराले भने, ‘हामीले मसला र तरकारीको मात्रा मिलाउन सक्यौं भने रोल मीठो हुन्छ, त्यसमा चाहिने कुराहरू सबै मिलाएर हाल्नुपर्छ, नत्र हेर्दा राम्रो देखिएपनि स्वादिष्ट हुँदैन ।’

कट्टी रोल तातै खाँदा निकै स्वादिलो हुन्छ । तर, कसैलाई भने यसमा प्रयोग हुने मसलाहरू मन नपर्न पनि सक्ने हिरा बताउँछन् । ‘पहिलोपटक कट्टी रोल खान आउने केही मानिसहरूले भने यसको स्वाद रुचाउँदैनन्’, उनले भने । दुईचार पटक खाएपछि भने धेरै ग्राहकले कट्टी रोललाई नै नियमित खाजा बनाएको हिराले सुनाए ।

ग्राहकले किन रुचाउँछन् कट्टी रोल ?
स्वादको रोजाइ हरेक मानिसको आ–आफ्नो हुन्छ । कसैलाई तीतो मन पर्छ भने कसैलाई गुलियो । कसैलाई अमिलो र गुलियो मिसिएको वा कसैलाई टाठोपीरो मन पर्छ । पीरो, अमिलो र टमाटर केचप मिसिएको हल्का गुलियो स्वादका पारखीलाई कट्टी रोल असाध्यै मन पर्छ ।

यसमा प्रयोग हुने विशेष प्रकारको मसलाले रोललाई थप स्वादिलो बनाउँछ । साथै रोटी, मासु, अण्डा वा भेज सहितको आफ्नो रोजाइको वस्तु पनि रोजेर यसमा हाल्न पाइन्छ । स्वाद र खाजा दुवैको पूर्ति हुने हुँदा धेरै मानिसले रोललाई मन पराएको सञ्चालक ढुङ्गानाले सुनाए ।

उनका अनुसार रोलमा सबै सामग्रीहरू ताजा मात्र प्रयोग गरिएको हुन्छ, यो बनाएर राखिँदैन । ग्राहकको अर्डरपछि मात्रै बनाइन्छ । ग्राहकले चाहेको सामाग्री प्रयोग गरेर बनाइने हुँदा पनि यसलाई रुचाइएको उनले बताए ।

उनका अनुसार विशेषतः कट्टी रोल ४ प्रकारको हुन्छ । चिकेन कट्टी रोल, पनिर कट्टी रोल, अण्डा कट्टी रोल र भेज कट्टी रोल…ग्राहकको अर्डर अनुसार अन्य रुचिका वस्तुहरूपनि मिश्रण गर्न सकिने ढुङ्गानाको भनाइ छ ।

कसरी तयार गरिन्छ कट्टी रोल ?
कट्टी रोल बनाउन धेरै सामग्रीको आवश्यकता पर्दैन । यसलाई सामान्य तरिकाले बनाउन सकिन्छ । स्यान्को कट्टी रोल मूख्यगरी भेज कट्टी रोल, चिकेन कट्टी रोल, अण्डा कट्टी रोल, पनिर कट्टी रोल र मिक्स कट्टी रोलको परिकारमा बनाइन्छ । यसलाई नै जोडेर अन्य स्वादहरू पनि थप्न सकिन्छ ।

जुनसुकै कट्टी रोल बनाउँदा पनि रोटी, प्याज, तेल, क्याप्सिकम, कागती र खुर्सानी र मसला चाहिन्छ । रेस्टूराँहरूमा कट्टी रोल बनाउन आवश्यक सबै सामाग्रीहरू बिहानै तयार गरिन्छ। चिकेन कट्टी रोल बनाउन चिकेनलाई पकाएर राखिएको हुन्छ भने पनिर कट्टी रोलका लागि पनिरलाई तयारी अवस्थामा राखिएको हुन्छ । यस्तै शाहाकारी कट्टी रोल बनाउन काउली, सिमी, आलु र गाजर तयार पारेर राखिन्छ ।

जब अर्डर आउँछ- तब सेफले तावामा तेल तताएर त्यसमा हिंग र जीरा हालेपछि केही समय तताउँछन् । त्यसपछि काटेको प्याज हालेर एक मिनेटजति फ्राइ गरिन्छ । टमाटर, नुन, धनियाँ पाउडर, सुकेको आँपको धुलो हालेर राम्ररी मिलाउने । मसलालाई साढे दुई मिनेट पाकेपछि अन्तमा क्याप्सिकम थप्ने र अर्को मिनेटको लागि पकाउने ।

त्यसपश्चात रोल बनाउन सबैभन्दा पहिले एउटा प्लेटमा रुमाली रोटी राख्ने, रोटीमा टमाटर केचअप फैलाउने, तयार मसलालाई रोटीमा हाली त्यसलाई गोलो वा रोल बनाएपछि तयार हुन्छ- स्वादिलो कट्टी रोल !

कट्टी रोल बनाउन चाहिने सामग्री
कट्टी रोल बनाउन धेरै सामग्रीहरू चाहिँदैनन् । यसमा आवश्यकता अनुसार सामानहरू प्रयोग गर्न सकिन्छ । जस्तोः चिकेन कट्टी रोल बनाउन चिकेन पहिलो आवश्यकता हुन्छ भने पनिर कट्टी रोल बनाउन पनिर चाहिन्छ । अण्डा रोल बनाउन अण्डा चाहिने भयो ।

त्यस्तै, शाहाकारी खानेहरूका लागि काउली, सिमी, आलु र गाजर आवश्यकता पर्दछ । तर, जुनसुकै प्रकारका कट्टी रोल बनाउन आवश्यक यी सामग्री चाहिन्छन् ।

तावा वा फराकिलो प्यान
रोटी
प्याज, क्याप्सिकम, कागती,
टमाटर केचप
हरियो खुर्सानी
सुकेको आँप पाउडर
वनस्पति तेल
जीरा
हरियो चटनी
टमाटर
नुन
धनिया पाउडर
हिंग

अहिले अनलाइनबाट पनि बिक्री
ई-कमर्स प्लेटफर्मको विकाससँगै खाजाका ग्राहकहरू पनि रेष्टुराँ वा होटेलसम्म पुग्नेभन्दा अनलाइनबाटै अर्डर गर्नेको संख्या विस्तारै बढ्दै गएको छ । अनलाइनमार्फत् खाजाको माग बढ्न थालेपछि पसलमा आउने ग्राहक कम हुँदै गएको महसुस आफूलाई भएको ढुङ्गानाले बताए ।

स्यान्को कट्टी रोल जो सुकै ग्राहकले पनि अहिले अनलाइनबाट अर्डर गर्न सक्छन् । अनलाइनका ग्राहकलाई टार्गेट गरेर स्यान्को कट्टी रोलले फुडमाण्डू, भोज र पठाओसँग सहकार्य गरेको छ । कहिलेकाहिँ ग्राहकहरूले एकैपटक धेरै अर्डर गर्दा निकै चाप पनि पर्ने गरेको ढुङ्गानाले सुनाए ।

ढुङ्गानाका अनुसार स्यान्को कट्टी रोलले एउटा शाखाले दैनिक २५ देखि ३० पिस अनलाइन अर्डर डेलिभरी गर्ने गरेको छ । भुक्तानी एप खल्तीबाट तिर्दा १० प्रतिशत नगद फिर्ता (क्यासब्याक) समेत पाइने अफर रहेको उनले सुनाए ।

सन २००२ मा नेपाल भित्रिएको थियो कट्टी रोल
स्यान्को कट्टी रोललाई सन २००२ मा ज्ञानप्रकाश राईले नेपालमा भित्र्याएका थिए । भारतको कलकत्ता घुम्न जाँदा उनले खाजा खाने क्रममा कट्टी रोल पहिलो पटक खाएका थिए । खाँदा स्वादिलो लागेपछि उनलाई नेपालमा पनि त्यसको व्यापार गर्न सकिन्छ भन्ने लागेको थियो ।

नेपालीले टाठो पीरो मीठो स्वाद मन पराउने हुँदा व्यावसायिक रूपमा सफलता हासिल गर्न सकिने भन्दै राईले स्यान्को कट्टी रोललाई नेपालमा भित्र्याए । उनले पहिलो स्यान्को कट्टी रोलको रेस्टूराँ काठमाडौंको शंखमुलस्थित बीआईसीसीको भुईंतलाबाट सुरु गरे ।

६ लाख लगानीबाट सञ्चालन गरिएको सो रोललाई पहिले मानिसहरूलाई चिनाउन निकै मुस्किल पर्‍यो । अन्य परिकारको स्वाद लिँदै आएका ग्राहकहरूलाई कट्टी रोलको स्वादसँग परिचित गराउन धेरै संघर्ष गरेको राईको भनाइ छ ।

‘सुरुमा त हामीले विभिन्न संस्थाहरूमा खाजाका रूपमा पुर्‍याउने र मानिसहरूलाई त्यसको वर्णन गरेर सुनाउनेसम्म गरियो,’ उनी भन्छन्, ‘अहिले भने यसले व्यापकता पाएको देखेर मनै आनन्दित हुन्छ ।’

अहिले नेपालमा कट्टी रोलको अन्य पनि ब्राण्डहरू छन् । तर, नेपाल आएको अर्गानिक रोल भने स्यान्को कट्टी रोल नै हो । नेपालका विभिन्न ठूला सहरमा यसले शाखा विस्तार गरिसकेको छ । अहिले स्यान्को कट्टी रोलका ५३ वटा आउटलेटहरू रहेका छन् । त्यसमा ४३ वटा उपत्यकामै रहेका छन् भने अन्य १० वटा उपत्यका बाहिर रहेको राईले बताए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  २ : १४ बजे

काभ्रेका सडक अवरुद्ध बस्तीमा खाद्यान्न पठाउन ड्रोनको प्रयोग

काभ्रे– गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५

आज विश्व बसोवास दिवस मनाइँदै

काठमाडौं– दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौं – स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

लन्डन – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा चेल्सी र