अनलाइन रोजगारीका विज्ञापनदेखि सावधान ! | Khabarhub Khabarhub

अनलाइन रोजगारीका विज्ञापनदेखि सावधान !

काम दिने भन्दै उल्टै ठगी



काठमाडौं– आजकाल हरेक कुराको विज्ञापन गर्ने थलो या माध्यम सामाजिक सञ्‍जाल नै हुन् । रोजगारी खोज्दै भौँतारिएकाहरू त्यहाँ ठोक्किन पुग्छन् ।

पछिल्लो समय अनलाइन रोजगारीका नाममा विभिन्न विज्ञापनहरू आइरहेका छन् । फेसबुक, ट्वीटर र इन्स्टाग्राममा त्यस्ता विज्ञापन प्रशस्त देखिन्छन्‌ । समय अनुसार खोजेको जस्तो जागिर नभए पनि पार्ट टाइम काम गर्दा केही पैसा आम्दानी हुने लोभमा परेर मानिसहरू ठगिन पुगेका छन् ।

केही दिनअघि कमला शर्मा (नाम परिवर्तन) पनि यसरी नै ठगिन पुगेकी छन् । उनले गर्दै आएको जागिर बच्चा जन्माएपछि छोडेर बसिरहेकी थिइन् । छोरी हुर्काउँदा–हुर्काउँदै दुई वर्ष समय गएको पत्तै भएन । तर अब उनलाई जागिर गर्नुपर्छ भन्ने लाग्यो । उनले चिने/जानेको र पत्रपत्रिकामा प्रकाशित सूचनामा उल्लेखित ठेगानामा वैयक्तिक विवरण (सीभी) पठाइन् । तर, कतैबाट पनि प्रतिक्रिया आएन ।

सानो बच्चाकी आमा भएकाले कम्पनीहरूले बेवास्ता गरेको बताउँदै उनले खबरहबसँग भनिन्, ‘अन्तर्वार्तासम्म बोलाए, तर घरमा दुई वर्षको छोरी छ भनेपछि चासो दिएनन् ।’ बच्चाको आमाले कम्पनीलाई उचित समय दिन नसक्ने र काममा पनि ध्यान नहुने भन्दै काममा राख्न नसक्ने कुरा गरेको उनले सुनाइन् ।

जागिर नगरेको धेरै समय बितिसकेको थियो । आफूले गर्दै आएको काम बिर्सन्छु कि भन्ने उनलाई निकै डर थियो । स–सानो भए पनि अल्झिने बाटो उनले खोजिरहेकी थिइन्‌। एकदिन फेसबुकमा ट्रान्सलेसन (अनुवाद) का लागि मान्छे खोजिरहेको विज्ञापन देखिन् ।

उनले पहिले पनि अंग्रेजीबाट नेपालीमा अनुवाद गर्ने गरेकी थिइन्‌ । उनका लागि त्यो नयाँ काम थिएन । खुसी हुँदै उनले उक्त पेजमा मेसेज गरिन्  । त्यहाँ एक टेलिग्रामको आइडी आयो- ‘हमित सोटेडु’ भन्ने नामको । त्यो मान्छे टेलिग्राममा लिङ्क भयो । त्यसपछि कुराकानी भयो ।

उनले ‘कस्तो खालको ट्रान्सलेसन हो ?’ भनेर सोधिन् ।

उनीहरूले लामो मेसेज रिप्लाई गर्दै पठाए, ‘अमेरिकी अनलाइन हायर’ कम्पनी हो । हामी अनुवादको काम दिन्छौँ । अब तिमीलाई पनि हामी काम दिन्छौँ। यस कामको लागि तिमीलाई भर्ना गर्छौं । हामीलाई चाहिएको मान्छे पायौँ, अब यहाँ पेजमा राखिएको विज्ञापन डिलिज गर्छौं ।’

यसरी कुरा गर्दासम्म शर्मालाई सो विज्ञापन फेक हो भन्ने लागेन । त्यसकारण उनले आफ्नो तर्फबाट काम गर्ने सहमति राखिन् । उनीहरूले एक बेभसाइट दिएका थिए ।

‘अहिले ग्लोबलाइजेसनको समयमा अनलाइन जब हुँदैन भन्ने पनि होइन । तर, बेभसाइट भने खुलेको थिएन । किन खुलेन भनेर पनि सोधेको हो । मेन्टेनेन्स भइरहेको भएर अहिले खुलेन भन्ने जवाफ आयो । त्यो पनि होला भन्ने लाग्यो,’ शर्माले भनिन्‌ ।

उनीहरूले सय पेजको अंग्रेजी किताब पठाए । त्यो किताबको नाम थियो– ‘ओ हेन्री’ ।

त्यो अंग्रेजी साहित्यिक किताब थियो । उनीहरूले भनेका थिए– यो साहित्यिक किताब हो, यसलाई सबै भाषामा ट्रान्सलेट गर्न खोजिएको हो । यो किताब अन्य धेरै भाषामा ट्रान्सलेट गरिँदैछ ।

‘उनीहरूले सय पेजको किताब शुक्रबार पठाएका थिए । आइतबारसम्ममा काम सकाएर पठाउनु भने,’ उनले भनिन्, ‘बेरोजगारीको अवस्था थियो । पार्टटाइम भए पनि पाएको कामले ऊर्जा दिएको थियो । छोटो समयमा धेरै ट्रान्सलेट गर्नुपर्ने थियो । दिनमा मात्रै नभएर रातमा नसुती काम गरेँ । मिहिनेत धेरै भए पनि पैसा राम्रै थियो । आफूले नजानेको र नबुझेको कुरा गुगलमा खोजेर पनि गरेँ ।’

उनले थपिन्, ‘आइतबार बुझाउनुपर्ने, तर काम सकिएन । उनले थप समय मागिन् । तर उनीहरूले ५० पेजको मात्रै गरेर पठाउन भने । त्यो सिध्याउन पनि मलाई मंगलबारसम्म लाग्यो । उनीहरूले अनलाइन स्यालरी बोर्डसँग कुरा गरेर १०० पेज गरेको २५ सय अमेरिकी डलर पारिश्रमिक हुने कुरा गरेका थिए । पछि ५० पेजको १३५० डलर दिने कुरा भयो ।

काम सकेपछि उनले पठाउनको लागि इमेल आइडी मागिन् । तर उनीहरूले टेलिग्राममै पठाउन भने । प्रति फन्टमा लेखेको टेलिग्राममा पठाउँदा बिग्रने रहेछ । उनीहरूले केही बुझेनन् । त्यसपछि फेरि युनिकोड फन्टमा बनाएर पठाइन् ।

उनीहरूले कामको निकै तारिफ पनि गरे । ‘तिमीले धेरै राम्रो काम गर्‍यौ’ भनेर एक पेपर पनि पठाए । पेपरमा नेपाली  २ लाख २० हजार रुपैयाँ कमला शर्माको नाममा आउने देखाएको छ ।

उनी आफ्नो पारिश्रमिक देखेर चकित थिइन् । पैसा हातमा नआए पनि पैसा आउने पेपर हातमा आएको थियो । तर उनको खुसी क्षणभर पनि टिकेन । उक्त पारिश्रमिक पाउन उनीहरूले उल्टै पैसा मागे ।

उनी भन्छिन्, ‘उनीहरूले यो पैसा अहिले पठाउन मिलेन । यो रोकिएको छ, पेन्डिङमा छ । यो पैसा झिक्नका लागि तिमीले पहिले पैसा पठाउनुपर्छ भने । त्यसपछि बल्ल तिम्रो एकाउण्टमा पैसा पठाउन मिल्छ भन्यो ।’

त्यो पारिश्रमिक पाउनको लागि उनले यताबाट चार हजार रुपैयाँ पठाउनुपर्ने भयो । त्यत्रो मिहिनेत, पारिश्रमिक उनले माया मार्न सकिनन् । चार हजारको लोभ गरेर त्यत्रो पारिश्रमिक छोड्ने कुरा भएन भन्ने लाग्यो । पैसा पठाउने निर्णयमा पुगिन् ।

तर, पैसा पठाउन भन्दा अगाडी उनले आमासँग कुरा गरिन् । आमाले ‘तिम्रो मिहिनेतको पैसा दिनलाई यताबाट पैसा पठाउनु पर्ने भन्ने हुँदैन । काम गर्न लगाउने उनीहरू, जसले काम गर्‍यो उसैले पैसा पठाउने भन्ने हुन्छ ?’ भनेर उल्टै प्रश्न गरिन्‌ । सो काम नै फेक भएको बताइन्‌ ।

त्यसपछि उनले श्रीमानसँग पनि कुरा गरिन् । उनले पनि काम गरेको पारिश्रमिक पाउन पैसा पठाउनुपर्ने भन्ने कहिँकतै हुँदैन भने । त्यसपछि पनि उनलाई चित्त बुझेन । चार हजार रुपैयाँले पारिश्रमिक रोकिएको कुराले मन खाइरह्यो । रातदिन काम गरेको श्रम र समय लगानी भएको थियो ।

सानो बच्चाको समय खोसेर उनले काम गरेकी थिइन् । त्यसपछि फेरि उनले एक जना साथीसँग कुरा गरिन् । साथीले उनीहरूको क्यूआर माग्न भनिन् । उनैले भनेअनुसार मागिन् पनि ।

सुलिन्दर महतो नामको क्यूआर आयो । त्यसमा नबिल बैंकको एकाउन्ट नम्बर थियो । उनले पुन : ‘किन मैले पैसा पठाउनुपर्ने ?’ भनेर सोधिन् । ‘रोकिएको रकम फिर्ता पाउन पहिले पैसा तिर्नुपर्छ’ भन्ने जवाफ आयो । उनले एनएमबी बैंकको खातानम्बर दिएकी थिइन । बैंकको लागोसहित उनीहरूले एक पेपर पठाएका थिए ।

पैसा नपठाएपछि अनलाइन स्यालरी बोर्ड भन्ने अर्को थियो । त्यसले आफ्नो कम्पनीसँग काम गरेका मान्छेहरूको लिस्ट पठायो । फिलिपिन्स, भियतनाम र म्यानमारका मान्छेहरुले काम गरेको भिडियो पनि पठायो । ‘हामीलाई विश्वास नगर्ने ? पैसा नपठाउने ?’ भनेर उल्टै रिसाउन थाले ।

त्यसपछि उनीहरूले टेलिग्रामको सबै मेसेज डिलिट गरे । उनीहरूले गरेपछि, उनको  पनि डिलिट हुने रहेछ । पैसा र समयको सदुपयोग दुवैको लागि उनले काम गरेको थिइन् । अहिले सबैतिर खोज्दा पनि उक्त ‘अमेरिकन अनलाइन हायर’ भन्ने कहीँ पनि नभेटिएको उनको भनाइ छ ।

घरका र साथीहरूले ‘पढेको मान्छे, यति सामान्य कुरामा कसरी ठगिएको’ भनेर गाली गरिरहेको उनले सुनाइन् । भन्छिन्, ‘म काम नपाएर भौँतारिएकी थिए । के गरेर पैसा जोड्ने भन्ने थियो ।’

‘पैसा नठगिए पनि श्रम ठगिएको छ, श्रम भनेको पैसा नै हो । मैले पहिलोपटक थाहा पाएँ । यस्ता ठगीहरू ह्वाट्सएप र टेलिग्रामबाट हुने रहेछ,’ शर्माले भनिन्, ‘टेलिग्राम मेसेज ठगीको माध्यम बनिरहेको छ । घरै बसेर मोबाइल तथा ल्यापटपबाट काम गर्न सकिने भनेर विज्ञापन गर्छन् । उनीहरूले एक अर्डर दिने जस्तो गर्ने र पैसा माग्ने गरेका छन् ।’

आफू ठगिए पनि अनलाइन कामको लागि आएको विज्ञापनमा धेरै सचेत हुन उनले सबैलाई सुझाव दिएकी छन् ।

(पीडितसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १ : ०६ बजे

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत

एकीकृत उपचार पद्धतिमा जोड दिन सुझाव

काठमाडौं – ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था

तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु

खान युनिस – प्यालेष्टिनी अधिनस्थ गाजामा तापक्रममा ‘अत्यधिक गिरावट’ आएका