धार्मिक भ्रमणमा नेपाल आउन चाहन्छन् मोदी, त्यसपछि ओलीलाई निम्तो | Khabarhub Khabarhub

धार्मिक भ्रमणमा नेपाल आउन चाहन्छन् मोदी, त्यसपछि ओलीलाई निम्तो



काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण निम्तो दिएकी छन् । भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणामा भारत गएकी राणाले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको निम्तो मोदीलाई हस्तान्तरण गरेकी हुन् ।

सोमबार दिउँसो समकक्षीसँग भेटवार्ता गरेकी उनले साँझ प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जानाएको छ ।

मन्त्री राणा  र भारतीय प्रधानमन्त्री मोदीबीच ४५ मिनेट भेटघाट भएको हो । भेटमा दुई देशको आपसी सम्बन्ध, सहयोग, साझेदारी तथा नेपाल–भारत सहकार्यलाई थप सुदृढ गर्नेबारे छलफल भएको दुवै देशका परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

भेटका क्रममा राणाले ओलीले पठाएको भ्रमणको निम्तो पत्र मोदीलाई हस्तान्तरण गरेको सामाजिक सञ्जाल एक्समा लेखेकी छन् । निम्तो पत्र लिँदै मोदीले पनि नेपाल आउने कुरामा सकारात्मक जवाफ दिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

दुई नेताको भेटमा भारतस्थित नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि सहभागी थिए । दिल्लीस्थित नेपाली दूताबासका एक अधिकारीले खबरहबसँगको कुराकानीमा भने, ‘साउनमै भारतीय प्रधानमन्त्री नेपाल आउने कुरा थियो । तर भारतीय निर्वाचन भर्खर सकिएकाले त्यसबेला सम्भव भएन । सम्भवतः दसैँअगाडि मोदी नेपाल भ्रमणमा निस्किनु हुन्छ ।’

मोदी आएपछि ओली जाने

समकक्षी मोदीले नेपाल भ्रमण गरेपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने परराष्ट्र मन्त्रालयका उच्च अधिकारी बताउँछन् । त्यही भएर ओलीले राणामार्फत निम्तो पत्र पठाएर मोदीलाई नेपाल बोलाएका हुन् । नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवनिकटस्थ स्रोतले पनि मोदीले निमन्त्रणालाई सकारात्मक रूपमा ग्रहण गरेको जनाएका छन् ।

यसअघि साउन २७-२८ गते नेपाल आएका भारतीय विदेशसचिव विजय मिश्रीले परराष्ट्रमन्त्री राणालाई भारत भ्रमणको निम्तो थमाएका थिए । मोदीले दिएको भारत भ्रमणको निम्तो स्वीकार्दै राणा अहिले त्यतातिर छिन् । अहिलेसम्म भारतीय प्रधानमन्त्रीले ओलीलाई निम्तो पठाएका छैनन् । यो अवस्थामा मोदी धार्मिक भ्रमण गर्ने उद्देश्य नेपाल आउने सम्भावना छ ।

स्रोतले भन्यो, ‘उहाँ पशुपतिको दर्शनका लागि साउनमै आउने योजनामा हुनुहुन्थ्यो, तर सम्भव भएन । उहाँको इच्छा प्रबल थियो । मोदीजी नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउने रणनीतिमै हुनुहुन्छ ।’

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ‘बिमस्टेक ’ राष्ट्रहरूको शिखर सम्मेलन यही सेप्टेम्बर ४ र ५ तारिखमा थाइल्यान्डमा हुँदै छ । बिमस्टेक राष्ट्रहरूको शिखर सम्मेलनमा सदस्य राष्ट्रको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्री ओली जाने कार्यसूची छ । ओली तेस्रो कार्यकाल प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमण हो ।

बिमस्टेक राष्ट्रहरूको शिखर सम्मेलन हुने भएपछि मोदी र ओलीबीच त्यहीँ पनि साइडलाइन वार्ताको सम्भावना छ । त्यहाँ पनि ओलीले मोदीलाई नेपालमा स्वागत गर्न तयार रहेको सन्देश दिन सक्छन् । मोदी आएलगत्तै ओली भारत जाने योजनामा छन् ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले खबरहबसँग भने, ‘हामीलाई जानकारी भएसम्म कुनै नाटकीय परिवर्तन नभए दसैं, तिहारसम्म दुवै नेताहरूको भ्रमण हुन्छ । मोदीजी थाइल्यान्ड जानुअघि नै नेपाल आउन पनि सक्नु हुन्छ, तर यो सम्भावनाको कुरा हो, कुनै कुरा टुंगिएको भन्ने होइन ।’

राणालाई हैदरावाद हाउसमा भेटेपछि मोदीले पनि भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध रहेको बताएका थिए । उनले दुई देशबीच प्रगतिशील तथा बहुआयामिक साझेदारी भएको बताउँदै परराष्ट्र मन्त्री राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको जनाएका छन् ।

भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा पनि नेपाल–भारत शीर्षतहको भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन र सहकार्यका अन्य क्षेत्रहरूबारे छलफल गर्न महत्त्वपूर्ण अवसर दिएको उल्लेख छ ।

नेपाल र भारतबीच रोजीरोटी र रोटीबेटीको सम्बन्ध रहेको बताइन्छ । खुल्ला सीमानासँगै उदारवादी अर्थतन्त्र भएका दुई देश सबैभन्दा नजिकको सम्बन्धमा रहेको दक्षिणी छिमेकीको ब्याख्या छ । तर ओली र मोदीबीच अझै पनि सम्बन्ध सुमधुर नरहेको आकलन गरिन्छ ।

२०७२ मा भारतले लगाएको नाकाबन्दीपछि सम्बन्ध बिग्रिएको थियो । त्यसपछि नेपालले आफ्नो संविधान जारी गर्दा र चुच्चे नक्सासहितका नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेपछि पनि भारतमा असन्तुष्टि देखिएको थियो ।

अर्कातिर पछिल्लो पटक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्किएर नेपाली कांग्रेससँग संवाद थालेपछि नेकपा एमालेसँगको गठबन्धन भत्किएको थियो ।

यस्तोमा अब ओलीले पहिले मोदीलाई स्वागत गरेर आफू भारत जाने योजना बनाएका छन् । कांग्रेससँग मिलेर प्रधानमन्त्री बनेपछि ओली पनि भारतसँगको सम्बन्धबारे समीक्षा गर्न तयार रहेको बताइन्छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ४ : ११ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन