दशैँलाई काठमाडौंमा ४५ हजार खसीबोका भित्र्याइँदै « Khabarhub

दशैँलाई काठमाडौंमा ४५ हजार खसीबोका भित्र्याइँदै

स्वस्थ खसी कसरी छान्ने ?


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैंमा मासुको माग पूर्ति गर्न काठमाडौं उपत्यकामा झन्डै ४५ हजार खसीबोका भित्र्याइने भएको छ । निजी व्यवसायी र सरकारी संस्थानले काठमाडौंमा करिब आधा लाख सङ्ख्यामा खसीबोका भित्र्याउन लागेका हुन् ।

व्यवसायीहरू खसीबोका खरिद गर्न यतिबेला गाउँ–गाउँ पुगेका छन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि दशैंका लागि लक्षित गरी १५ सय खसीबोका र ३०० च्याङ्ग्रा खरिद गरी उपभोक्तालाई सहुलियतपूर्ण मूल्यमा बिक्री गर्ने जनाएको छ ।

लिमिटेडले जिउँदो खसी–बोका र च्याङ्ग्रा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गर्ने जानकारी दिएको छ । हाल बजारमा जिउँदो खसी प्रतिकेजी ६६० देखि ६८० रुपैयाँसम्म पर्छ ।

खसीबोका र च्याङ्ग्रा खरिदका लागि सरकारले ४ करोड रुपैयाँ बजेट समेत व्यवस्था गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

कम्पनीले मकवानपुर, तुलसीपुर र मुस्ताङलगायत काठमाडौं उपत्यका आसपासका क्षेत्रबाट खसीबोका र च्याङ्ग्रा खरिद गरी ल्याइसकेको छ । बजार मूल्यको तुलनामा खाद्य कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिदमा केही सहुलियत दिनेछ ।

दशैंलाई लक्षित गरी निजी व्यवसायीहरूले ठूलो परिमाणमा खसीबोका ल्याउँदैछन् । यस वर्षको दशैंका लागि काठमाडौं उपत्यकामा ४३ हजार हाराहारी खसीबोका भित्रिने अनुमान गरिएको चौपाया खरिद बिक्री संघका संस्थापक दीपक थापाले बताए ।

उनका अनुसार, गत वर्षकै हाराहारीमा निजी व्यापारीले यसपालिको दशैंका लागि खसीबोका ल्याउन लागेका हुन् । अघिल्लो वर्षको दशैंका लागि पनि व्यापारीहरूले करिब ४५ हजार खसीबोका काठमाडौं उपत्यकामा भित्र्याएका थिए । यसपालिको दशैंका लागि पनि सोही हाराहारीमा खसीबोका भित्र्याइने थापाले जानकारी दिए ।

‘गत वर्षकै हाराहारीमा खसीबोका खरिदबिक्री हुने अनुमान गरेका छौं,’ उनले भने, ‘यसपालि ४३ हजार हाराहारी खसीबोका काठमाडौंमा भित्रिने देखिन्छ ।’

उनका अनुसार काठमाडौं उपत्यकामा दशैंलगायतका चाडपर्वमा ५० हजार हाराहारी खसीबोकाको खपत हुने गरेको छ । काठमाडौंमै अस्थायी बसोबास भएका र यतै दशैँ मनाउने हजारौँ परिवारले गाउँदेहातका घर, आफन्त र गाउँबाट झण्डै एक लाख खसीबोका ल्याउने गर्छन् ।

नेपाली समाजमा चाडबाडका बेला मासु खाने परम्परा छ । त्यसमा पनि काठमाडौं उपत्यकाजस्ता बढी जनघनत्व भएको क्षेत्रमा मासुको खपत बढी हुने गरेको छ । खासगरी, काठमाडौं उपत्यकामा फूलपातीदेखि खसीबोका किनबेच सुरु हुन्छ । उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन अवधिमा मात्र २० देखि २५ हजार परिमाणमा खसीबोका बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् ।

व्यापारीहरूले अधिकांश खसीबोका विभिन्न जिल्लामा पुगेर खरिद गर्छन् । भारत र चीनबाट समेत भित्र्याउने गरेका छन् । चाडपर्वका बेला उपभोक्ताले खसीको विकल्पमाा भेडा र च्याङ्ग्राको मासु पनि खाने गर्छन् । व्यापारीहरूले भेडा र च्याङ्ग्रा मनाङ, मुस्ताङलगायतका जिल्लामा पुगेर खरिद गर्ने गरेका छन् ।

दशैं नजिकिँएसँगै कतिपय व्यापारीहरूले भने मुस्ताङ हुँदै भेडाच्याङ्ग्राहरू विभिन्न जिल्लामा ल्याइपुर्‍याएका छन् । दशैंमा काठमाडौं उपत्यकामा खपत हुने खसीबोका भने अधिकांश भारतबाट आउने गरेको व्यापारी बताउँछन् । दशैंमा खसीबोकाबाहेक भेडाच्याङ्ग्रा, हाँस, कुखुरा, राँगा र बंगुरलगायतका मासु पनि बढी खपत हुने गरेको छ ।

खानलायक खसीबोका कसरी चिन्ने ?

ग्रामीण क्षेत्रमा दशैंका लागि भनेरै खसीबोका पालिएको हुन्छ । तर, शहरी क्षेत्रमा भने खसीबोका किन्दा उपभोक्ताले विशेष सजगता अपनाउनुपर्ने पशु चिकित्सकहरूले बताउने गरेका छन् ।

स्वस्थ मासु सेवन गर्न उपभोक्ताले तन्दुरुस्त र स्वस्थ खसीबोका किन्नुपर्छ । बाहिरबाट काठमाडौं उपत्यकामा भित्र्याइने खसीबोकाको पशु चिकित्सकले अनिवार्य स्वास्थ्य परीक्षण गरेका हुन्छन्‌ । जसमा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थ खसीबोका छ भने सिङमा रातो चिह्न लगाइएको हुन्छ ।

उपभोक्ताले सिङमा हरियो चिह्न लगाएको खसीबोका किन्नुपर्छ । त्यसबाहेक धेरै मोटो खसीबोकाभन्दा दुब्लो खसीबोका रोज्नुपर्छ । मोटो खसीबोकामा बढी बोसो हुने हुँदा मासुको परिमाण पनि कम हुन्छ ।

त्यसैगरी झोक्राएका, कान छोटो भएका, आँखामा कचेरा लागेका, सिँगान बगाएका र भुँडी ढाडिएको खसीबोका पनि किन्नुहुँदैन । सकभर स्वदेशी र गाउँघरमा पालेका खसीबोका स्वस्थ हुने हुँदा खानलायक हुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : ४९ बजे

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन