ब्रेकिङ स्टोरी

ओली र अध्यादेश : देउवाले ‘साथ दिन्नँ’ भनेपछि…

By खबरहब

October 21, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बस्नेगरी बोलाएका मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । सोमबार अपराह्न सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको थियो ।

तर, आज बस्न नसकिने भनेर सूचना आएको मन्त्रीहरूले बताएका छन्‌ । प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी नआएको जनाएको छ ।

आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने बुझिएको थियो । प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार लामो समय कुराकानी गरेका थिए ।

साँझबाट बालुबाटारमा सुरु बैठक अबेर रातसम्म चलेको थियो । स्रोतका अनुसार, सो बैठकमा देउवापत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा पनि सहभागी थिइन्‌ ।

बैठकमा ओलीले अध्यादेश ल्याए कांग्रेस सभापति शेरबहादुर देउवाले सहयोग नगर्ने बताएका थिए । यसै मामिलामा देउवा र नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकबीच सोमबार दिउँसो कुराकानी भएको थियो ।

कांग्रेसका एक पदाधिकारीले खबरहबलाई भने, ‘सायद हाम्रो सभापतिले राजनीतिक दलसम्बन्धी अध्यादेशमा साथ नदिने बुझेर नै मन्त्रिपरिषद् बैठक स्थगित भएको हो कि ?’

यता एमालेका मन्त्रीहरू पनि मन्त्रीपरिषद् बैठक सर्नुको कारण थाहा नभएको बत्ताउँछन् । यसअघि गत शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।

सो बैठकले सङ्क्रमणकालीन सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन गरेको थियो ।

यो पनि –

‘उद्देश्य पूरा नभए काङ्ग्रेसले ओलीलाई काँध थाप्दैन’