विनिता कठायत जुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक सांसद् हुन् । उनी खसआर्य समुदायबाट प्रतिनिधित्व गर्दै सांसद् भएकी हुन् । विनिताका जिजुबाहरू जुम्लाका पञ्च/प्रधानपञ्च थिए । अहिले पनि उनका कान्छा हजुरबुबा जुम्लाका मेयर छन्, दाजु काङ्ग्रेस जिल्ला सचिव ! विनितालाई सुरुमा राजनीति गर्न मन थिएन । तर, रवि लामिछानेसँग ग्यालेक्सी टिभीमा गरेको सहकार्यले विनितालाई संसद भवनसम्म पुर्यायो । टेलिभिजन छाडेर पार्टी खोजेका रविसँगै राजनीतिक अभियानमा लागेकी विनिता समानुपातिक सांसद्को सूचीमा परिन् । आफ्नै घरमा काङ्ग्रेसको पार्टी सम्पर्क कार्यालय भएको विनिताको परिवारमा दाजुसँग राजनीतिक रूपमा सम्बन्ध बिग्रिएको बताउँछिन् ।
कर्णाली पछि पर्नुको कारण भूगोल नभएर व्यक्तिको मानसिकता र राज्यको नजर भएको विनिता बताउँछिन् । स्थानीय सरकारले पनि राजनीतिक स्वार्थ राख्दा विकासमा पछि परेको उनको तर्क छ । कर्णालीको अवस्था, त्यहाँका समस्या र राजनीतिक अनुभवबारे विनितासँग गरिएको कुराकानीको सम्पादित अंशः
तपाईंको त पारिवारिक वातावरण नै राजनीतिक रहेको बुझियो, तर तपाईं चाहिँ २४ वर्षमा मात्र जुम्ला चिन्न पाएँ भन्नुहुन्छ, किन ?
मेरा हकमा नेपालमा राजसंस्था नगएको भए हुम्ला–जुम्लातिरै कसैसँग राजनीतिक साइनोकै आधारमा विवाह भइसक्ने थियो । मेरी हजुरआमाले बिहान ४ बजे सल्काउनुभएको चुल्हो बेलुकी ११ बजेसम्म बलिरहन्थ्यो । उहाँ त्यहीँ बिहानदेखि रातिसम्म खटिनुहुन्थ्यो । तर पनि उहाँको मुहारमा मुस्कान भइरहन्थ्यो ।
त्यही वातावरणमा हुर्किएकाले राजनीतिक गर्ने परिवारको छोरीबुहारी र श्रीमती जहिले पनि हाँसेर बस्नुपर्छ भन्ने सिक्यौँ । घरमा आएका मानिसहरूलाई मीठोमसिनो बनाएर खुवाउनुपर्छ, छोरीले आफ्ना समस्यामा केन्द्रित नभएर श्रीमान् र परिवारलाई खुसी बनाउनेतर्फ लाग्नुपर्छ भन्ने थियो ।
हजुरबुबाले मलाई स्वर्गीय हुनुभन्दा एक हप्ताअघि ‘राजनीति गर्ने हो ?’ भनेर सोध्नुभएको थियो । तर मैले ‘गर्दिनँ’ भने । त्यतिखेर म साढे १९ वर्षकी थिएँ । उहाँले ‘काङ्ग्रेसमा नजानू, अरूमा जानू’ भन्नुभएको थियो । उहाँलाई आफ्नो छोरानाति काङ्ग्रेसमा गएको खासै चित्त बुझेको थिएन । मैले ‘म राजनीतिमा गएँ भने क्यामरा कसले चलाउने ?’ भन्थेँ ।
फिल्म पढ्दै गरेको मान्छे राजनीतिमा कसरी आउनुभयो ?
सातै भाइ जिजुबुवाहरू राजनीतिमा हुनुहुन्थ्यो । कान्छो जिजुबुवामात्र पाइलट हुनहुन्थ्यो । अहिले जुम्लाको मेयर पनि मेरो हजुरबुबा हो । मेरो दाइ कांगे्रस जिल्ला सचिव ! सबै राजनीतिमै हुनुहुन्छ । पहिले राप्रपा हुनुहुन्थ्यो । अहिले पनि हाम्रो घरमा पूर्व–राप्रपाहरूको फोटो सुरक्षित छ ।
म आफ्नै धुनमा काम गरिरहेको थिएँ । रवि सरसँग टेलिभिजनमा डेढ वर्ष काम गरे । उहाँकी श्रीमती निकितासँग पहिले नै चिनजान थियो । म बेलायत गएर स्नातकोत्तर तह (मास्टर्स) अध्ययन गर्ने योजनामा थिएँ । त्यहीबेला कोरोना महामारी फैलियो ।
त्यसपछि म ग्यालेक्सी टेलिभिजनमा जोडिएँ । डिजाइनिङ र ‘पर्खाल बाहिर’ कार्यक्रम उत्पादन गर्थेँ । यता स्थानीय तहको निर्वाचन आयो । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन शाहले जित्नुभयो । धेरै खुसी भइयो । ‘युवा आउनुपर्छ’ भन्ने सन्देश प्रवाह भयो ।
त्यसपछि रवि सरले नै पार्टी खोल्ने कुरा गर्नुभएको सुनियो । सुरुमा त मैले ‘नखोल्नू है !’ भनी सुझाव पनि दिएँ । उहाँले पार्टी खोलेपछि पिछडिएको क्षेत्रमा मान्छे चाहिएको थियो । तर, नयाँ पार्टीलाई विश्वास नगरेका कारण मान्छे थिएनन् । दीपक बोहोराले फोन गरेर ‘तिम्रो नाम कर्णालीबाट राखेँ’ भन्नुभयो । तर मैले ‘म त प्रेस युनियनमा छु, काङ्ग्रेसबाट हो, गाली गर्छन्’ भनेँ । तर पनि मेरो नाम गएछ ।
रवि लामिछानेले गरेको काम र मान्छेले दिएको आशीर्वाद मलाई गजब लागेको थियो । उहाँले निकै ठूला केशसमेत सल्ट्याउनुभएको थियो । ‘यस्तो मान्छे राजनीतिमा आउँदा साथ दिनुपर्छ’ भन्ने भयो । खुलेर साथ दिएँ ।
मेरो परिवार काङ्ग्रेसमा आवद्ध छ । उनीहरूले राम्रो गरेका भए अहिले जुम्लाका आम मानिसको अवस्था निकै राम्रो हुने थियो । अहिले पनि जुम्लाका मानिसप्रति अन्यत्रकाको धारणा फरक छ । अब अवस्था परिवर्तन गर्नुपर्छ भनी म राजनीतिमा लागेकी हुँ ।
तपाईं काङ्ग्रेसको पारिवारिक–राजनीतिक विरासत छाडेर रास्वपामा लाग्दा घरबाट कस्तो प्रतिक्रिया आयो ?
साह्रै नराम्रो भयो । मेरी आमा त भोट दिन जुम्ला नै जानुभएन । दाजुले ‘जुम्ला आउनुभयो भने घर छाडिदिन्छु’ भनेपछि स्थिति अर्कै बन्यो । रास्वपामा त म घरबाट एक्लै थिएँ ।
त्यो बेला चुनावी गठबन्धन थियो । नेकपा (माओवादी केन्द्र)–नेपाली काङ्ग्रेस गठबन्धनको सम्पर्क कार्यालय मेरै घरमा थियो । मलाई त कसले सपोर्ट गर्ने ? गरेनन् नै !
घरमा रास्वपाको झण्डा राख्नुभएन ?
राखेँ, मेरो पनि त घर हो । मैले पनि राख्नुपर्यो नि ! तर, राजनीतिक इगो निकै ठूलो हुँदो रहेछ । राजनीतिमा दाई–भाइ केही नभनिँदो रहेछ । मेरो तर्फबाट हैन, उताबाट चाहिँ त्यस्तो भयो ।
अहिले पनि दाईसँग मेरो खासै राम्रो सम्बन्ध छैन । पार्टीगत हिसाबले पोल्ने काम हुन्छ । ‘दिदीबहिनी त हो’ भनेर पेल्न खोज्नुहुन्छ होला । तर, मलाई चाहिँ मन पर्दैन । म अहिले जुन तहमा छु – त्यो रास्वपाको चुनाव चिह्न घण्टी छापले दिएको हो । मलाई अरूले नराम्रो भनेको पनि मन पर्दैन, म पनि अरूलाई नराम्रो भन्दिनँ ।
सबै पार्टीका सदस्यको भोट पाएर म प्रतिनिधि सभा सदस्य भएको हुँ नि ! म सबैको हो । मलाई सबैले सहयोग गर्ने हो नि ! मैले जुम्लाको विकासका लागि कस्तो काम गर्ने भनेर सहयोग गर्ने हो ।
यहाँ सांसद् भएको खबर सुनेपछि त परिवारमा खुसीयाली छायो होला नि !
मलाई दाइ भाउजूले फोन गर्नुभएन, न त धन्यवाद नै दिनुभयो । आमा त भोट हाल्नै जानुभएको थिएन । बाबाले चाहिँ सहयोग नै गर्नुभएको थियो ।
म माननीय बन्नुमा मतदाता र रास्वपाकै भूमिका ठूलो छ । राजनीतिक–पारिवारिक रूपमा सघाउने आफन्त निकै कम थिए । विदेशमा रहनुभएका मेरो एक जना केटा साथीले निकै सहयोग गर्नुभयो । बुवाले पनि उत्तिकै साथ दिनुभयो । मैले बुवाबाट त्यति साथ पाउँछु भन्ने सोचेकै थिइनँ ।
महिलालाई राजनीति गर्न गाह्रो पर्ने बुझ्नुभयो ?
जुम्लाका मानिस र मसँग संगत गरेका मानिसले मलाई राम्ररी बुझ्छन् । मेरा प्रेमीले पनि मलाई बुझ्नुहुन्छ । पारिवारिक सन्दर्भ निस्किएका ठाउँमा म ‘मेरो ‘बोइफ्रेण्ड छ’ भन्छु ।
अविवाहित केटीलाई राजनीति गर्न निकै गाह्रो हुने रहेछ । हेर्ने नजर नै फरक ! म सदनमा पनि कति धेरै टार्गेटमा हुन्छु । पुरुष माननीयहरूले गलत नजरले हेरेको ठ्याक्कै थाहा हुन्छ ।
पुरुषले कसरी हेरेको छ भन्ने कुरा नारीलाई थाहा भैहाल्छ । विवाहितलाई पनि यो समस्या त हुने रहेछ । तर, अविवाहितलाई अझ बढी हुन्छ । गलत नियतको मान्छे जहाँ पनि हुने रहेछ ।
हाम्रो समाजले केटीलाई बढी आरोप लगाउँछ । मलाई के भनेर आरोप लगाउने ? मलाई ह्यारेस हुन्छ । यो समाज नै यस्तै छ । म त्यो मान्छेलाई ‘तपाईँले गरेको व्यवहार मन परेन है !’ भन्छु, चुप लागेर बस्दिनँ । मैले त्यो मान्छेलाई नभने अर्को मान्छेलाई पनि त्यो मान्छेले त्यस्तै गर्छ ।
काठमाडौंमा वर्षैभरि कर्णालीको ‘दुःख मन्थन’ भइरहेको देखिन्छ, दशैँलगायत चाडपर्वका बेला खाद्यान्न अभावकै कुरा आउँछ । कर्णालीको खास अवस्था कस्तो हो ?
म कर्णालीमा पहिलेको दशैंमा जाँदाखेरि खासै याद भएन । कहिले दशैंमा जाने कहिने नजाने ! गए पनि त्यहाँको अवस्था बुझ्न सकिँदैनथ्यो । पछिपछि क्रमशः बुझ्दै गएँ ।
जुम्ला र कर्णालीका गाउँतिर वर्षमा पाँच केजी चामल खान पनि समस्या हुने रहेछ । किताब पढेर मैले थाहा पाएपछि अझ गाउँगाउ डुल्न थालेँ । नुनको कुरा, सबै कुरामा के आत्मबोध भयो भने दशैं सबैका लागि दशैं नहुने रहेछ । अहिले खाद्यान्नलगायत समस्या कम भएको छ । राज्यले नै सुपथ मूल्यमा चामल वितरण गरिरहेको छ ।
‘तुइन’ भन्ने एउटा किताब पढेको थिएँ । त्यहाँ चामल कसरी लिन आउने रहेछन् भन्ने लेखिएको छ । त्यसैले म कर्णालीका नाममा राजनीति गर्ने सबैलाई काठमाडौंमा बसेर एजेण्डा नबनाउन भन्छु ।
कर्णालीमा अभाव छैन भनौँ भने पनि अभाव छ । अभाव छ भनौँ भने पनि अभाव छैन भनेजस्तो छ । मुगु, जुम्ला र हुम्लाको अलग–अलग समस्या छ । भूगोल नै फरक छ । जुम्लामा नुन अभाव देखाउँदै गत वर्ष झडप हुँदा मानिसहरू अस्पताल भर्ना हुनुपर्ने अवस्था निम्तियो ।
तर खासमा त्यहाँ नुन अभाव नै थिएन । गोदाममा भएर पनि नुन नबाँड्दा त्यस्तो स्थिति निम्तियो । कर्मचारीले फट्याइँ गरेका थिए । हुम्ला जुम्लामा खानाको अभाव छ, मान्छेले खानै पाएको छैन भनिन्छ । तर खानेकुरा अभाव हुँदैन, अभावको अवस्था बनाउने काम भइरहेको छ ।
विकास निर्माणको अवस्था कस्तो छ ?
विकासको मामिलामा अवस्था एकदमै नराम्रो छ । पूर्वराजा ज्ञानेन्द्र जुम्लामा सवारी भएको थियो । त्यसपछि कर्णली राजमार्ग बनाउने कुरा सुरु भएको हो ।
गिरिजाप्रसाद कोइरालाको पालामा राजमार्गको काम सुरु भएको थियो । मुलुकमा त्यतिखेरै चलेको १० वर्षे सशस्त्र द्वन्द्वका कारण तत्कालै द्रूत गतिमा काम अघि बढ्न सकेन, १४ वर्ष लाग्यो । सुर्खेतदेखि जुम्लालाई कर्णाली राजमार्ग भन्ने गरिन्थ्यो । तर हामीलाई नै थाहा नभइ कर्णाली राजमार्ग त सुर्खेतबाट हुम्लातिर सरेछ । जुम्लाको बाटोको केही पनि नाम छैन ।
विकासमै पनि यस्तो फट्याइँ भइरहेको छ, ठग्ने काम भएको छ । कर्णालीलाई भूगोलले होइन, राजनीतिले ठगेको हो । त्यहाँबाट राजनीतिमा आएका मान्छेले पनि ठगेका हुन् । बाटोको रूट नै बदलिँदा हाम्रो जुम्ला र मुगुबाट पनि त सांसद्हरू थिए नि ! तर बाटो नै अर्कैतिर लगिएछ ।
त्यसैले म कर्णालीलाई भूगोलले हेपेको भन्दै भन्दिनँ क्या !सरकार र यहाँ आउने मान्छेले ठगेको हो । कर्णालीबाट सरकारमा आएकाले ठगेको हो ।
समयमै उपचार नपाउँदा अकालमै कतिको ज्यान गइरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आवश्यक मेसिनसमेत छैन । राज्यले कर्णालीको मान्छे मारेको छ । राज्यले नै कर्णालीका मान्छे मारेको छ, ठगेको छ । यो बुझ्नुपर्छ । राजनीतिबाट माथि उठ्नुपर्छ । म सबै कर्णालीबासीलाई के आग्रह गर्छु भने आफ्ना नेताहरूलाई प्रश्न गरौँ । आफ्नो क्षेत्र विकासका लागि सोचौँ ।
अब के गर्दा कर्णालीको अवस्था सुधार हुन्छ ?
पहिलो त कर्मचारीको युनियन नै हटाउनुपर्छ । यो हटायो भने कर्मचारीलाई डर हुन्छ र काम गर्छ । स्वतन्त्र कर्मचारी हुनुपर्छ । पदलाई सामान्यीकरण गर्नुपर्छ । मान्छे रिझाउनतिर होइन, काम गर्नतर्फ लाग्नुपर्छ ।
जुम्लामा एउटा योजना बनाउने रकम व्यक्तिको नाममा पठाउँदा समस्या भएको छ । योजना कार्यान्वयनमा त राज्यले पहल गर्ने हो । त्यहाँ लडाइँ हुने अवस्था आयो । चुनाव सकिएपछि पार्टी छाडेर जनता एक हुनुपर्छ ।
जुम्लामा विमानस्थलको विषय पनि विवादमा आयो । तर, तत्कालीन मेयर कान्तिका सेजुवालले त्यो विमानस्थल बनाउन आफैँले थालेको भन्नुभयो । अब म पनि आफैँले जस लिनेतिर जाने ? विकासमा यो हदको राजनीति र तथाकथित ‘पहलकदमी’ लाजमर्दो छ । राजनीतिलाई फोहोर बनाएर काम छैन । एकापसमा मान्छे जुधेकै कारण कर्णाली पछि परेको हो ।
पछिल्लो समय राखिएका योजनाअनुसार काम बन्ने अत्तोपत्तो छैन । किनकी मैले त्यो काममा भ्रष्टाचार गर्दिनँ, कमिसन लिन्नँ । आर्थिक अपचलन गर्ने वातावरण नहुँदा त काम नै रोकिने रहेछ । जबरजस्ती कमिसन खान लगाउने अवस्था आएको छ । अनि विकास हुन्छ त ?
स्थानीय सरकारहरूको कामगराइ कस्तो पाउनुभयो ?
स्थानीय तहले राम्रो काम गर्नुपर्ने हो । तर, जनप्रतिनिधि र कर्मचारीले ‘एटिट्यूड’ देखाएर बसे । काम गर्नु छैन, स्वार्थी भए । पार्टीगत भागबण्डा मिल्यो भने काम गर्ने, नमिले गर्दै नगर्ने !
स्थानीय सरकारले काम गरेको भए यस्तो अवस्था हुने नै थिएन । स्थानीय सरकारले जनतालाई सेवा दिने कुरामा पनि पार्टीगत सम्बन्ध हेर्नेजस्तो अमानवीय र हदैसम्मको निच काम भइरहेको छ । अपवाद बाहेक जनप्रतिनिधिहरूले प्रभावकारी काम गरिरहेका छैनन् ।
कर्णालीका मानिसहरू किशोरावयमा प्रवेश गर्नासाथ काम खोज्न भारत जाने अवस्था अहिले पनि यथावत छ ?
अहिले पनि छ नि ! रोजगारी सिर्जन गर्न सके कर्णालीमै निकै रोजगारी सृजना हुन्छ । तर, कुनै योजना छैन, नियत नै छैन । आर्थिक कारणले गर्दा काम गर्न गाह्रो छ । सबै नेताहरू एक भएर आवाज उठाउनुथ्र्यो, तर त्यो अवस्था छैन ।
कर्णाली स्याउ, चामल उत्पादनदेखि चौँरी पालनसम्मको पकेट क्षेत्र हो । तर, त्यहाँका ‘टाठाबाठा’को नियत नै ठीक छैन । नेतृत्व एक हुन सकेको छैन ।
सेना र प्रहरीको कोटामा जागिर खान खोज्दा पनि तिनै टाठाबाठालाई ‘घुस’ बुझाउनुपर्ने वाध्यता रहेको युवाहरूले बताइरहेका छन् । जताततै भ्रष्टाचार छ । महिला सक्षमताका पाटोमा देखिने काम अझै हुन सकेको छैन ।
सांसद् भएपछि जनताकहाँ गइरहनुभएको होला, आम मानिसका आवश्यकता के कस्ता रहेछन् ?
दलहरूले जनता बिगारेछन् । प्रायः व्यक्तिगत आश राख्छन् जनताले, सामाजिक आवश्यकता कम हुन्छ । ‘हवाइ टिकट बनाइदेऊ, टिकटको पैसा देऊ’ भन्छन् ।
दलले यसरी बिगारेका छन् । अनि जनताका व्यक्तिगत कुरा पूरा गर्न भ्रष्टाचार भइरहेको छ । मैले त पहिले नै व्यक्तिगत चाहना लिएर नआउन भनिसकेको छु । विकास र कृषिको कुरामा पो माग हुनुपर्ने हो ।
तर, व्यक्तिगत माग राख्ने काम भइरहेको छ । दलहरू नै कर्णालीको विकास निम्ति नीति र कानून बनाउनेतिर केन्द्रित छैनन् । यो परिपाटी भत्काएर कर्णालीको विकास गर्न नयाँ र स्वस्थ राजनीतिक अभियान छेड्नुपर्छ ।
प्रतिक्रिया