खान्नँ भन्दै महिला मन्त्रालयको कुर्सीमा जुँगावाल पुरुष ! | Khabarhub Khabarhub

खान्नँ भन्दै महिला मन्त्रालयको कुर्सीमा जुँगावाल पुरुष !

सरकारको प्राथमिकतामा परेनन् महिला बालबालिकाका मुद्दा



काठमाडौं– गफको पनि एउटा सीमा हुन्छ नि ! नेपालमा कोही त्यस्तो  साधु नेता होला ? जसलाई मन्त्री पद पाउँदा खान मन नलागोस् । मलाई मन्त्री बन्न मनै थिएन, बाध्यताले गर्दा मन्त्रीको कुर्सीमा बस्नु पर्‍याे भन्नेहरू पनि सिंहदरबारमा भेटिन्छन् । उनी हुन्– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य ।

मन्त्री आचार्यले अघिल्लो महिना नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको कार्यक्रममा बोल्दै महिला मन्त्रालयमा पुरुष मन्त्री उचित नभएको धारणा सुनाएका थिए । उनले आफूलाई यो मन्त्रालयमा बस्न मन नलागेको समेत बताएका थिए ।

महिलाका समस्या पुरुषले भन्दा धेरै नजिकबाट महिलाले बुझ्ने हुँदा कम्तिमा यो मन्त्रालयमा महिला मन्त्री हुनुपर्ने आचार्यको जिकिर थियो । उनले गठबन्धनको भागबण्डाले नचाहेरै आफू यस मन्त्रालयमा बसेको दाबीसमेत गर्न भ्याए ।

राज्यका निकायमा महिलाको उपस्थिति बलियो बनाउन वकालत गर्ने उद्देश्यले यो मन्त्रालय बनेको हो । तर उद्देश्य अनुसार मन्त्रालयले काम गर्न सकेको छैन । यो मन्त्रालय महिलाका लागि मात्रै भन्ने भाष्य बनेको छ ।स्रोत, साधन र शक्ति नभएर मन्त्रालय बलियो बन्न सकेको छैन ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय नेताहरुको प्राथमिकतामा पर्ने गरेको छैन । यही कारणले आचार्यलाई पनि यो मन्त्रालय मन नपरेको हो । तर, नेताहरु अरु नपाउँदा यो मन्त्रालयमा पनि जाने गरेका छन् । अर्को मन्त्रालय नपाउदाँसम्म उनीहरु यसैमा होल्ड गरेर बस्छन् ।

सत्ता समीकरणका रुपमा कमजोर रहेको मन्त्रालय धेरैको रोजाइमा पर्दैन । तर, मन्त्री नै नहुनु भन्दा मन्त्रालय त हो, खाइहालौं भन्ने हिसाबले मात्रै नेताहरु त्यहाँ जाँदा उत्कृष्ट काम हुन सकेको छैन ।

वि.सं. ०५२ सालमा ‘महिला तथा समाज कल्याण मन्त्रालय’ को स्थापना भएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०५२ सालमा यो मन्त्रालय बनेको थियो । मन्त्रालय बनेको २८ वर्षमा ५१ जना मन्त्री भए । तर, तीमध्ये १३ जना मात्रै महिला थिए ।

लीला कोइराला, सहाना प्रधान, अष्टलक्ष्मी शाक्य, दुर्गा श्रेष्ठ, जयपुरी घर्ती मगर, ऋद्धिबाबा प्रधान, नीलम केसी, आशा कोइराला, थममाया थापा मगर, जुलीकुमारी महतो, चन्दा चौधरी, उमा रेग्मी र भगवती चौधरीबाहेक बाँकी मन्त्री पुरुष हुन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार यस अवधिमा १५ पटक प्रधानमन्त्री आफैँले यो मन्त्रालयको नेतृत्व गरेका छन् । देउवाले चार पटक, गिरिजाप्रसाद कोइरालाले तीन, प्रचण्डले चार, सूर्यबहादुर थापाले दुई पटक अनि कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल र बाबुराम भट्टराईले एक–एक पटक महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नेतृत्व गरेका छन् ।

प्रधानमन्त्री आफैँले नेतृत्व गर्नु भनेको मन्त्रिपरिषद् विस्तार गर्दा विभागीय मन्त्री पठाउन ढिलाइ गर्नु हो । किनकि विभागीय मन्त्री नपाएसम्मको अवधिलाई मन्त्रालयले प्रधानमन्त्रीलाई नै नेतृत्व मान्छ ।

अहिले रहेका २२ मन्त्रालयमध्ये सबैभन्दा कमजोर मन्त्रालयका रुपमा यसलाई लिइन्छ । सत्ता समीकरणका रुपमा कमजोर रहेको मन्त्रालय धेरैको रोजाइमा पर्दैन । तर, मन्त्री नै नहुनु भन्दा मन्त्रालय त हो, खाइहालौं भन्ने हिसाबले मात्रै नेताहरु त्यहाँ जाँदा उत्कृष्ट काम हुन सकेको छैन ।

संविधानले कमजोर वर्गलाई माथि उठाउने भनेको छ । तर नेतृत्वले त्यही वर्गको क्षेत्रमा काम गर्ने मन्त्रालयलाई प्राथमिकता दिएको छैन ।

पहिलो कुरा त महिला मन्त्रालयमा पुरुष मन्त्री जाँदा हाँसोको विषय बन्ने गरेको छ । विभिन्न ठाउँमा महिला मन्त्रालयमा पुरुष किन भन्ने प्रश्न उठ्छन् ।

नेपाल सरकार (कार्य विभाजनं) नियमावली २०७४ अनुसार अनाथ बालबालिका, असहाय महिला, वृद्ध, अपाङ्ग र अशक्तको संरक्षण, बालबालिकाको कल्याण, ज्येष्ठ नागरिकको सुरक्षा र कल्याण, महिला कल्याण तथा सीप विकास पनि यस मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ ।

त्यस्तै, राष्ट्रिय महिला आयोग, समाज कल्याण परिषद्, समाज कल्याण केन्द्र वृद्धाश्रम र बाल मन्दिरका विषयहरू पर्छन् । महिला, बालबालिका र जेष्ठ नागरिक जस्ता कमजोर वर्गका लागि काम गर्ने भए पनि यस मन्त्रालयले विगतदेखि नै प्राथमिकता पाएको छैन ।

अहिलेकै मन्त्रिपरिषदमा पनि महिला मन्त्रीको संख्या न्यून छ । मन्त्रिपरिषदमा रेखा शर्मा, रञ्जिता श्रेष्ठ र सीता गुरुङ मन्त्री छन् । सुशीला श्रीपाइली ठकुरी र नन्दा चापाई राज्यमन्त्री छन् ।

मन्त्रालयको नेतृत्व पाएका तीन महिला नेतृत्वको अनुपात १३ प्रतिशत हो । बाँकी दुई राज्य मन्त्रीसमेत गरेर मन्त्रिपरिषदमा २० प्रतिशत महिला सहभागिता छ ।

संविधानले कमजोर वर्गलाई माथि उठाउने भनेको छ । तर नेतृत्वले त्यही वर्गको क्षेत्रमा काम गर्ने मन्त्रालयलाई प्राथमिकता दिएको छैन । महिला सहभागिता उत्साहजनक छैन ।

जनसंख्याको ७५ प्रतिशत नागरिकको प्रतिनिधित्व यस मन्त्रालयले गर्दछ । तर, सबैभन्दा थोरै बजेट यसैमा छुटाइएको छ । आर्थिक २०७९-८० मा १ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । त्यो पनि तत्कालीन मन्त्री उमा रेग्मीको पहलमा त्यो बजेट विनियोजन भएको थियो । त्यो भन्दा अगाडि यस मन्त्रालयको बजेट ८० करोडको हाराहारीमा मात्रै थियो ।

एक संवेदनशील नागरिकको प्रतिनिधित्व गर्ने मन्त्रालयलाई किन शक्तिहीन बनाइएको होला ?

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका हकमा उचित काम गर्न स्थानीय तहसँग सहकार्य गर्नुपर्छ । तर यस मन्त्रालयको स्थानीय तहसँग कुनै समन्वय छैन । अति नै स–सानो कामको लागि पनि मन्त्रालय नै धाउनुपर्ने बाध्यता छ ।

जिल्लास्थित महिला कार्यालय हटाउँदा महिलाको विषय लिएर सम्पर्क गर्ने स्थान पनि नभएर मन्त्रालयमै आउनुपर्ने अवस्था रहेकाले जिल्ला समन्वय समितिमा सम्पर्क एकाइ राख्ने गरी सरकारको नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गर्न मन्त्रालयले माग गरेको छ । तर त्यो सुनुवाइ हुन सकेको छैन ।

केही महिना अगाडि मात्रै जाजरकोटमा भूकम्प गयो । त्यहाँ महिला, बालबालिका तथा जेष्ठ नागरिक प्रभावित बने । तर सम्बन्धित मन्त्रालय महिलाको अवस्था कस्तो छ ? प्राकृतिक विपत्तिमा घरबाहिर त्रिपालमा बस्नुपर्ने महिलाको समस्या के हो ? के आवश्यक पर्छ ? भन्ने कुरामा मन्त्रालयको कहीँ पनि उपस्थिति देखिएन । बालबालिकाको हकमा पनि कुनै ठोस कार्यक्रम थिएन । जेष्ठ नागरिकको हकमा पनि उस्तै मौन थियो मन्त्रालय ।

मन्त्रालयको कार्यप्रगतिमा गर्भवती तथा सुत्केरीको हवाई उद्धार बाहेक अरु छैन । त्यो पनि समयमा हेलिकोप्टर पुग्न नसकेर केही गर्भवतीको ज्यानै गएको छ ।

२०८० वैशाख २४ गते सुरेन्द्र राज आचार्यले मन्त्रालय सम्हालेका हुन् । उनी कपिलवस्तु– २ नेपाली कांग्रेसका सांसदसमेत हुन् । तर उनी कार्यक्रमहरुमा नै आफू यस मन्त्रालयमा रुचिले नआएको बताउँदै हिँडेका छन् । रुचि नभए, रुचि भएकालाई छोड्दिन मिल्छ । तर, मन्त्री नबनी पनि बस्न सकिँदैन भन्ने सोचले काम गरेको देखिन्छ । एक संवेदनशील नागरिकको प्रतिनिधित्व गर्ने मन्त्रालयलाई किन शक्तिहीन बनाइएको होला ?

मन्त्री आचार्य एक वर्षको अवधिमा आफ्नो मन्त्रालयलाई अपाङ्गमैत्री नमुना मन्त्रालयका रूपमा विकास गर्ने कामलाई प्राथमिकता दिइएको बताउँछन् । साथै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने पनि बताएका छन् ।

मन्त्रीहरुको कार्यविवरणमा प्रधानमन्त्रीले पनि आचार्यको काम सन्तोषजनक नभएको बताएका थिए । उनले समाज कल्याण परिषदको कामलाई प्रभावकारी बनाउने गरी अनुगमनमा विशेष जोड दिइएको बताएका थिए । तर, मन्त्रालयको कार्यप्रगतिमा गर्भवती तथा सुत्केरीको हवाई उद्धार बाहेक अरु छैन । त्यो पनि समयमा हेलिकोप्टर पुग्न नसकेर केही गर्भवतीको ज्यानै गएको छ ।

लामो समयदेखि भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडाको विषय मन्त्रालयले टुङ्ग्याउन सकेको छैन । फनपार्क जग्गा भाडामा भएको भ्रष्टाचारमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्रीसमेत रहेका मुख्य आरोपी टेकबहादुर गुरुङको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

राजनीतिक प्रभावमा गुरुङले ६० रोपनी जग्गा लामो समयदेखि हालीमुहाली गर्दै आएका थिए । नीति, नियमविपरीत सत्ता र शक्तिको बलमा गुरुङले ठेक्का कब्जा गरिरहेका थिए । उनले २० वर्षदेखि फनपार्क चलाइरहेका छन् ।

सामाजिक संघसंस्थाहरू मार्फत देशको विकासमा टेवा पुर्‍याउने उद्देश्यले समाज कल्याण परिषदको स्थापना भएको हो ।समाज कल्याण ऐन, २०४९ को अधीनमा रहेर यसले आफ्नो काम गर्छ ।तर, परिषद् राजनीतिक दलका आफन्त र कार्यकर्ता भर्तीस्थल बनेर बदनाम भएको छ ।

तत्कालीन मन्त्री उमा रेग्मीले आफ्नी बुहारीलाई परिषदको उपाध्यक्षमा नियुक्ति दिएकी छन् । मन्त्रिपरिषद्ले रेग्मीको सिफारिसमा उनकी बुहारी मोनिका भट्टराई अधिकारीलाई परिषदको उपाध्यक्ष नियुक्त गरेको थियो ।

परिषदको अध्यक्ष मन्त्री हुने भएकाले त्यहाँ मन्त्रीको हालिमुहाली देखिन्छ । परिषदमा राजनीतिक पार्टीका मान्छे भर्ती गरेपछि उक्त निकायले राम्रो काम गर्न सकेको छैन । परिषद्का कर्मचारी भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शक्तिका हिसाबले कमजोर देखिएपनि कार्यकर्ता व्यवस्थापनका हिसाबले अगाडि नै देखिएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : १८ बजे

प्रि ओपन सेसनमा झिनो अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि

पात्रोको दशैं, छाप्रोको दशा

बीसासय आयु दशौंली ढोग, जोर केरा सगुन दाहिने दुर्गा अक्षता

‘समन्वयमा कमजोरीका कारण विपदमा बढी क्षति’ 

काठमाडौं– वर्षाको पूर्वानुमानका सम्बन्धमा जल तथा मौसम विज्ञान विभागले समयमा