मनमा फुल्ने गुराँस, बनमा फुल्ने गुराँस « Khabarhub

मनमा फुल्ने गुराँस, बनमा फुल्ने गुराँस



बसन्त ऋतु । यस ऋतुमा प्रकृतिले सुन्दर छट्टा फैल्याउँछ । न जाडो, न गर्मीको यो घमाइलो मौसममा बनस्पतिले पाउलो हाल्छ । पात झरेका बनस्पतिमा पिपिरापिपिरी देखिन थाल्छ । पुरानो पात झर्छ । नयाँ पातको जन्म हुन्छ । हेर्दा सामान्य पात देखिए पनि यसले प्रकृतिको नियम इंगित गर्छ ।

पहिला पहिला माइती गएका बुहारीहरु बर्खा लागेसंगै घर फर्कने सुरसार गर्थे । यस अर्थमा यो घरमा काम खुल्ने समय पनि हो । यसै मेसोमा प्रकृतिलाई सौन्दर्यको लालीमा छर्ने गुराँस फूलको बखानमा यो सामग्री केन्द्रित छ । राष्ट्रिय फूल भएकाले यो हाम्रो परिचय पनि हो ।

भौगोलिक अवस्था र हावापानीअनुसार अरु बनस्पति झैं गुराँसका पनि विभिन्न प्रजाति पाइन्छ । नेपालमा गुराँस १ हजारदेखि ५ हजार मिटरको उचाईसम्म पाइएको छ । हालसम्म गुराँसका ३० प्रजाति भेटिएका छन् । अझ पूर्वी हिमाली र पहाडी क्षेत्रमा प्रजातिको विविधता भेटिन्छ ।

नेपालको राष्ट्रिय फूल लाली गुराँसको वैज्ञानिक नाम रोडोडेनड्रोम आर्वोरियम हो । दक्षिण पाटा फर्केको समशीतोष्ण र शीतोष्ण जंगलमा बागु, खस्रु र अंगेरीजस्ता बनस्पति माझ हुर्कन रुचाउने यो बनस्पति ७–२० मिटर अग्लो र २–५ मिटरसम्म मोटो हुन्छ । यसको रुख सुरिलो खिरिलो नभई बाङ्गोटिङ्गो हाँगाबिंगा भएको भद्दा हुन्छ ।

लालीगुराँसका वृक्षका केही विचित्र विशेषता छन् । एउटा खास विशेषता के हो भने यो सहनशील वृक्ष हो । अन्य बोटविरुवा हुर्कन नसक्ने प्रतिकूल हावापानीमा पनि यसले आफूलाई सहज ढंगमा हुर्काउँछ । भीर होस कि पहरा, ढुंगा होस या गेग्रान अझ भनौं पहरा, छहरा जता पनि यो रमाउँछ ।

मलिलो, अम्लीय, सुख्खा, वर्षा जता रोप्नुस, गुराँसले जरा फैल्याउँछ । तर नर्सरीमा भने यो विरुवा हुर्काउन अत्यन्तै चुनौतीपूर्ण छ ।

लालीगुराँसको यही मनोविज्ञान बुझेर हुनुपर्छ गीतकार क्षेत्रप्रताप अधिकारीले नारायणगोपालको स्वरमा गीत रेकर्ड गराए– म त लालीगुराँस भएँछु, बनैभरि फुलिदिन्छु , मनैभरि फुलिदिन्छु ।

लालीगुराँसको अर्को विशेषता भनेको यसको अनुपम रंग नै । २२–२५ सय मिटरको उचाईसम्म पाइने लालीगुराँसको फूल लालीजस्तो गाढा रंगको हुन्छ भने २५ सय मिटरभन्दा माथिको स्थानमा भेटिने गुराँस फिका गुलावी रंगको हुन्छ । अझ कतै सेतो रंगको गुराँसको बाहुल्य पनि पाइन्छ । उचाई अनुसार रंगमा फरकपन भेटिनु यसको मौलिक विशेषता हो ।

गुराँस बहुउपयोगी बनस्पति हो । यसको काठ निर्माणदेखि खुकुरीको दाप बनाउन उपयोग हुन्छ । गुराँसको फूल सुकाएर औषधिका रुपमा उपयोग गर्ने आम प्रचलन छ । गुराँसको फूलबाट बनेका जुस बजारमा पाइन्छ । यो स्वास्थ्यवद्र्धक हुने आयुर्वेदशास्त्रको विश्लेषण अनुसारले धेरैले उपयोग गर्ने गरेका छन् । यसको फूल अमिलो हुने भएकाले अचारको रुपमा पनि उपभोग गरिन्छ । गाउँघरका झ्यालढोका रंगाउन यसको फूल प्रयोग गर्ने गरिन्छ ।

गुराँसको फूलबाट एकातिर बहुमूल्य चीज प्राप्त हुन्छ भने अर्कातिर यसको मुन्टा र पता अत्यन्त विषालु हुन्छ । गुराँसको मुन्टा गाइबस्तुले खायो भने ज्यानसम्म जान सक्छ । पातमा भएको इरिकोलिन नामक विषालु रसायनले यस्तो समस्या निम्त्याएको हो । गुराँसको फूल झपक्क फुलेको बेला मौरीले जम्मा गरेको मह विषालु हुने कतिपयको तर्क छ । बसन्त ऋतुमा भीरमौरीले उत्पादन गरेको मह बनका बनस्पतिका कारण स्वास्थ्यवद्र्धक नहुने धारणा पनि रहेको पाइन्छ ।

माछाको काँडा अड्किएमा गुराँसको फूल खानाले काँडा झर्ने आम विश्वास रहिआएको छ । यसरी काँडा झर्नुको एउटा वैज्ञानिक कारण के भने गुराँसको फूलमा ‘मकरन्द’ भन्ने चिप्लो पदार्थ हुन्छ, जस्ले काँडालार्य चिप्लो पारेर घाँटीबाट बाहिर निकाल्छ भन्ने आधार रहेको छ । गुराँस फूल सबै ठाउँ, सबै याममा फुल्दैन । त्यसैले त यसको महिमा अलौकिक बनेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ११ : ०३ बजे

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त

निर्वाचन आयोगमै उम्मेदवारहरूको अपूरो परिचय, मतदाताले कसरी चिन्ने ?

निर्वाचन आयोगले माघ ९ गते प्रत्यक्षतर्फका ३ हजार ४ सय

पूर्वराजा शाह जनकपुरमा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन्

चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम

प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा औपचारिक रूपमा