कार्यदलमा जुटेन सहमति, सत्ता पक्षले मध्यमार्गी विकल्पसहितको प्रस्ताव ल्याउने | Khabarhub Khabarhub

कार्यदलमा जुटेन सहमति, सत्ता पक्षले मध्यमार्गी विकल्पसहितको प्रस्ताव ल्याउने

कांग्रेस र रास्वपाले छाडेनन् अडान


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बनेको कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ ।

कानुन मन्त्री पदम गिरीको कार्यकक्षमा मंगलबार बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे आफ्नो अडान नछाडेको हो ।

बैठकमा सहभागी कांग्रेस सह-महामन्त्री जीवन परियारले सहकारीको बचत अपचलनमा मुछिएका गृहमन्त्री लामिछानेको नाम राखेर संसदीय समिति नबनाउने हो भने छानबिनको कुनै अर्थ नहुने बताए ।

‘गोरखा मिडिया नेट्वर्क र ग्यालेक्सी टेलिभिजका नामामा सहकारीको करोडौं पैसा अपचलन भएको कुरा प्रष्ट भइसकेको छ । त्यसमा गृहमन्त्री लामिछाने संलग्न रहेको कुरा आज पनि उठाएका छौँ’, उनले भने, ‘त्यसबारेमा थप छलफल गरेर अघि बढ्न सकिने गरी आज हामी उठेका छौँ । हामीले उठाएका विषयमा साझा सहमति जुटाउनेबारे छलफल भएको छ । फेरि बस्ने गरी हामी उठेका छौँ ।’

परियारका अनुसार गृहमन्त्री लामिछानेको नामसमेत उल्लेख गरेर छानबिन समिति नबनेसम्म संसद् बैठक पनि अघि नदिने पक्षमा कांग्रेस यथावत छ ।

‘हामीले हाम्रो कुरा राखेका छौँ । जुन व्यक्तिकाबारेमा प्रतिपक्षी दलले सहकारीको रकम अपचलन भयो भनेर प्रश्न उठाएका छौँ, त्यसबारे छानबिन हुनुपर्छ । छानबिन नभए निष्कर्ष आउँदैन भनेका छौँ’, उनले भने ।

बैठकपछि कानुनमन्त्री पदम गिरीले अहिले जारी डेडलकको अवस्था अन्त्यको दिशामा छलफल अघि बढेको बताए ।

‘राजनीतिक दलका नेताहरूबीचमा छानबिन समिति बनाउनका लागि कार्यदेश निर्माणका सवालमा हामी कार्यदलका सदस्यहरू नजिक पुगेका छौँ, तर निष्कर्षमा पुगिसकेका छैनौँ’, उनले भने, ‘विकल्पहरूमा छलफल हुँदा सहमतिसहित कार्यदेश निर्माण गरिने तयारी छ । अर्को बैठकमा हामी निष्कर्षमा पुग्छौँ ।’

उनले कुनै व्यक्तिको नाममा भन्दा सहकारीको बचन हिनामिनाको विस्तृत छानबिन हुने बताए ।

‘छानबिनबाट सहकारीको रकम अपचलनमा संलग्नमाथि कारबाही गरिने छ । बचतकर्ताको बचत पनि सुरक्षित गरिने छ’, उनले भने, ‘सहकारीबाट त्यसको मूल्यमान्यताबाहिर गएर कसले कति पैसा लिएको छ ? आदि आज विषयमा कुरा भएको छ । त्यही आधारमा कार्यदेश बन्छ।’

कार्यदलका सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आज गम्भीर छलफल भएको बताउँदै यसलाई सहमतिमै टुंग्याउनुपर्छ भन्ने भएको उल्लेख गरे ।

‘शीर्ष नेताहरूले सहमतिमै मिलाउनुपर्छ भनेकाले हामी त्यही दिशामा छौँ । केही प्रस्तावमा छलफल भइरहेको छ, तीबारे मध्यमार्गी बाटो खोज्ने काम भइरहेको छ’, उनले भने, ‘हामीले स्पष्ट रुपमा हामी कार्यदल र छानबिन समितिमा बस्दा समस्या हुन्छ भने बस्दैनौँ भनेका छौँ । टीओआर बन्ने कुरामा अप्ठेरो हुन्छ भने म कार्यदलमा पनि बस्दिनँ भनेको छु ।’

उनले एउटा व्यक्तिलाई लक्षित गरेर अहिले नै दोषी करार गरिनु गलत भएको बताए । ‘हामी सुरुदेखि नै एउटा आरोपका आधारमा एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन समिति बन्नु हुँदैन भन्ने पक्षमा छौँ’, उनले भने, ‘आरोपकै आधारमा संसदीय समिति बन्नु हुँदैन भन्ने हाम्रो अडान छ । समस्या भएका विषयमा बनाउनुपर्छ भन्नेमा हामी छौँ । कांग्रेसले आरोपकै आधारमा संसदीय समिति बनाउनुपर्छ भनेको हामी त्यसविरूद्ध छौँ ।’

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ११ : ५८ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि