काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिरमा गर्न लागिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ।
देशभरमा ३५ रिक्त स्थानीय तहहरूमा रास्वपाले सहभागिता जनाउने निर्णय लिएको पार्टी प्रवक्ता मनिष झाले खबरहबलाई बताए ।
‘आजको बैठकले स्थानीय तह उपनिर्वाचनमा रास्वपा सहभागी हुने निर्णय गरेको छ। यो हामी सबैको साझा निर्णय हो’, उनले भने, ‘स्थानीय तहमा पनि पार्टी बलियो बनाएर संगठनात्मक स्वरूपलाई पनि बिस्तार गर्दै निर्वाचनमा सहभागी हुनेछौं।’
रास्वपाले प्रतिनिधिसभा निर्वाचनबाहेक अहिलेसम्म कुनै पनि निर्वाचनमा सहभागिता जनाएको छैन। तर स्थानीय तह निर्वाचनमा भने रास्वपाले पहिलोपटक सहभागिता जनाउन लागेको हो ।
निर्वाचन आयोगले सरकारसँगको परामर्शपछि आगामी मंसिर तेस्रो साता देशका ३५ तहमा रिक्त जनप्रतिनिधिका लागि उपनिर्वाचन गर्ने तयारी थालेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालले मंसिर तेस्रो साता उपनिर्वाचन गर्ने तयारी थालिएको जानकारी खबरहबलाई दिएका छन् ।
रिक्तता ?
निर्वाचन आयोगकाअनुसार देशभरका ३५ पालिकामा विभिन्न पदका जनप्रतिनिधिको पद रिक्त छ । जहाँ मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षदेखि वडाअध्यक्षको पनि चुनाव हुनेछ ।
काठमाडौंको कीर्तिपुरमा नगरपालिका प्रमुख रिक्त छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको ११ साउनमा निधन भएको हो । मिर्गौला रोगबाट पीडित नकर्मीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
उता २०८० कात्तिक १७ को भूकम्पका कारण जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखसहित ७० जना भन्दाबढीकाे मृत्यु भएको थियो । भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि उक्त स्थान रिक्त छ ।
आयोगका अनुसार गाउँपालिका अध्यक्ष दुईजना, उपाध्यक्ष दुई जना र वडाध्यक्ष २८ जनाको पद रिक्त छ । जनप्रतिनिधि नभएपछि पालिकाको सेवामै समस्या भइरहेको छ ।
दैलेखको महाबु गाउँपालिका अध्यक्ष ७५ वर्षीय लक्ष्मण गुरुङको २०७९ माघ २७ गते हृदयाघातबाट निधन भएको थियो । ७५ वर्षीय गुरुङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये ज्येष्ठ सदस्य थिए । अध्यक्ष गुरुङको निधनपछि अहिले पालिका कार्यवाहक अध्यक्षका रूपमा उपाध्यक्ष मञ्जु कुमारी शर्मा (पाण्डे) ले चलाइरहेकी छन् ।
पछिल्लो पटक यही भदौ ४ गते हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ ।
सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ मा दुर्घटना हुँदा सख्त घाइते भएका कार्कीको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो । अब त्यहाँ पनि निर्वाचन आयोगले उपनिर्वाचन गराउने भएको छ ।
कानुनी व्यवस्था ?
संविधानमा स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त हुने अवस्था राजीनामा, मृत्यु वा पदावधि सकिएमा मात्रै हुने व्यवस्था छ ।
संविधानको धारा २१६ को उपधारा ८ मा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूको पद निजले राजीनामा दिए, मृत्यु भए वा पदावधि सकिए रिक्त हुने भनिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले भने संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित प्रतिनिधिले निर्वाचित भएको दल त्याग गरेमा स्वतः पद रिक्त हुने भनेको छ ।
ऐनको दफा ३१ मा भनिएको छ, ‘कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेशसभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन । … कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ ।’
त्यस्तै स्थानीय तह निर्वाचन ऐन २०७३ मा निर्वाचनका बेला जुन दलको चुनाव चिह्न लिएर उम्मेदवार भएको हो, सम्बन्धित दलले कारबाही गरे पद रिक्त हुने भनिएको छ ।
दफा २६ को उपदफा ४ मा भनिएको छ, ‘उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरे वा अर्को दलमा प्रवेश गरे उक्त निर्वाचन चिन्ह परिवर्तन हुन सक्ने छैन । त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिए निजको सदस्यता खारेज हुनेछ ।’
प्रतिक्रिया