अर्थसंक्षेप : ५७ अंकले घट्यो नेप्से, कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुग्यो सार्वजनिक ऋण | Khabarhub Khabarhub

अर्थसंक्षेप : ५७ अंकले घट्यो नेप्से, कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुग्यो सार्वजनिक ऋण


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि ५७ अंकले घटेको छ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान बन्ने क्रम जारी रहेको छ । यस्तै, वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व संकलनमा क्रमिक सुधार देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले थप सार्वजनिक संस्थान निजीकरण प्रक्रिया अघि बढाएको छ भने सामाखुसी यातायात प्रालिले सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ ।

शेयर बजार ५७ अंकले घट्दा कारोबारमा पनि गिरावट

दशैं सकिएयता लगातार ३ दिन बढेको बजार आइतबारबाट भने घट्न थालेको छ । हिजो (आइतबार) ४७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि ५७.९९ अंकले घटेको हो ।

आज नेप्से २.१४ प्रतिशतले घटेर २६३९.९२ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । आज ५ अर्ब ९० करोड ८ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । बजार खुल्ला रहँदासम्म १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच भएको थियो ।

सोमबार २३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा समूहमध्ये सबै समूह राताम्ये भएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.३८ प्रतिशतले घटेर ३ हजार १८७.५६ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.७२ प्रतिशतले घटेर २१.१३ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह २.३० प्रतिशतले, विकास बैंक समूह १.७८ , होटल एण्ड टुरिजम समूह १.६६ , लगानी २.५१ , जीवन बीमा २.१५ , उत्पादन तथा प्रशोधन १.६५ , लघुवित्त १.८९ , निर्जीवन बीमा १.७६ , अन्य समूह २.३४ र ट्रेडिङ समूह ०.२८ प्रतिशतले घटेको छ ।

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान बन्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार

वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व संकलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले रु २२ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको असोजसम्म कार्यालयले ३८ अर्ब ८५ करोड ३१ लाख राजस्व संकलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले रु ३९ अर्ब सात करोड ३९ लाख राजस्व संकलन गरेको हो ।

यद्यपि कार्यालयले चालु आवको असोजसम्म रु ५२ अर्ब ९९ करोड ६३ लाख राजस्व संकलनको लक्ष्य लिएको थियो । हाल संकलन भएको राजस्व लक्ष्यभन्दा २६ प्रतिशतले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व संकलन गर्न लक्ष्य लिएकामा ३२ प्रतिशत कम राजस्व संकलन गरेको थियो ।

थप सार्वजनिक संस्थान निजीकरण गर्दै ओली सरकार

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले थप सार्वजनिक संस्थान निजीकरण प्रक्रिया अघि बढाएको छ । कम्तिमा आठ संस्थान निजीकरण गर्न खोजिएको छ ।

निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज (सोमबार) बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ ।

कृषि मन्त्रालयको सय दिने कार्यप्रगति सार्वजनिक

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा लक्ष्य अनुसार काम भएको बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानहरूले पाउनु पर्ने रकमको उपलब्ध गराउने सहितका काम गरेको बताएका हुन् ।

नीतिगत सुधारका केही कामहरू पनि थालनी गरेका बताउँदै मन्त्री अधिकारीले भने,‘ आगामी दिनमा साङ्गठनिक र नीतिगत सुधारमै ध्यान केन्द्रित गरिनेछ।’

कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहज मल, बीउ र बजारको उपलब्धता, कृषि पेसामा युवालाई आकर्षण गराउँदै आधुनिक कृषि प्रणालीका लागि लगानी अभिवृद्धिका लागि काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले सय दिनमा ४४ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् ।

‘पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा समस्या’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा केही समस्याहरू देखिएको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले सडक, पहल लगायतका संरचना निर्माण गर्दा अध्ययन र डिजाइनमा केही समस्याहरू देखिएको बताएका हुन् ।

अहिलेको अवस्थामा संरचनाहरू बाढी पहिरोका बेला थेग्न सक्ने छ की छैन भन्ने विषय गम्भीर देखिएको उनले बताए ।

मन्त्री दाहालले इन्जिनियर, भूगर्भविद, वातावरणविद्को भूमिका देशमा कमजोर जस्तो देखिएकाले पूर्वाधार निर्माणको सर्वे र डिजाइनमा पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

उनले हालैको बाढी पहिरोका कारण सडकतर्फ १४ अर्ब ३४ करोड र पुलतर्फ ९५ करोडको क्षति भएको जानकारी दिए । मन्त्री दाहालले विकासका लागि विद्यमानहरु बाधक रहेको उल्लेख गरे। उनले सरकारले १०० दिनमा राखेको लक्ष्य अनुसार मन्त्रालयले काम गरिरहेको बताए ।

सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन

सामाखुसी यातायात प्रालिले सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्घाटन गरे । प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको जानकारी दिए।

‘काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ,’ उनले भने । काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएका उनको भनाइ थियो ।

अध्यक्ष प्रजापतिले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए ।
सो यातायातले काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए। प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको उनले बताए ।

कुलेखानी फाखेल–सिस्नेरी सडक पुनः सञ्चालन

कुलेखानी फाखेल–सिस्नेरी सडक आजदेखि पुनः सञ्चालनमा आएको छ । हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्मतसम्भार र ह्युम पाइम बिछ्याउने कार्य सम्पन्न भएपछि सडक पुनः सञ्चालनमा आएको हो ।

कुलेखानी सडकअन्तर्गत सिमखोलाको सडक तीन दिनअघि मर्मतसम्भार गर्न र ह्युम पाइप बिछ्याउन यातायात सञ्चालनमा रोक लगाइएको थियो । हेटौँडाबाट काठमाडौँतर्फ हलुका सवारीसाधनलाई त्रिभुवन राजपथको दामन, पालुङ, चित्लाङ हुँदै थानकोट जान एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई एकतर्फी कान्तिलोकपथ र दक्षिणकाली सिस्नेरी सडक भएर सञ्चालनमा ल्याइएको छ । अब नियमित रुपमा हलुका सवारिसाधन भीमफेदी, कुलेखानी सडकअन्तर्गत पर्ने फाखेल, सिस्नेरी र चखेल, मातातीर्थ एवं कान्तिलोकपथबाट सञ्चालन गरिने प्रवक्ता अर्यालले जानकारी दिए ।

तीन महिनामा पाँच करोडको नुन बिक्री

साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा पाँच करोड २३ लाख बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनादेखि असोज महिनासम्म आफ्नो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए।

धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ ।

हनुमाननगरमा २७ वर्षदेखि खानेपानी योजना अधुरै

सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै निर्माण सुरु गएको खानेपानी आयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।

स्थानीय स्वास्थ्यचौकी परिसरमा २०५४ सालमा निर्माण थालिएको खानेपानी योजना हालसम्म पिउने पानी योग्य बन्न नसकेको स्थानीयले बताएका छन् । तत्कालीन हनुमानगर गाउँ विकास समितिको पहलमा आयोजना सुरु गरिएको थियो ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का अमन यादवले खानेपानी आयोजना पूरा नहुँदा करिब दश हजार भन्दाबढी जनता प्रभावित भएको बताए।

हनुमाननगर कङ्कालिनी नगरपालिकाले पनि यसप्रति कहिले पनि चासो नदिएको नेपाली कांगे्रसका प्रदेश सचिवसमेत रहनुभएका बेचन खडकाले बताए।

स्थानीय राजेन्द्र मिश्रले खानेपानी टयाङ्की निर्माण ७५ प्रतिशत भए पनि राजनीतिक खिचातानीले काम पूरा हुन नसकेको बताए ।

बाझो खेतमा ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुट र सयपत्री फूलको खेती हेर्न त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।

पाँच रोपनीमध्ये तीन रोपनीमा उनले ड्रागन फ्रुट मात्रै लगाएको छ भने बाँकी दुई रोपनीमा ड्रागन फ्रुटसँगै सयपत्रीको पनि खेती गरिरहेका छन् । तिहार सुरु हुने समयमा झपक्कै फूलेका सयपत्रीले त्यहाँको दृश्य मनमोहक बनाइदिएको छ ।

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरेका थिए । सुरुमा तीन सय बोट ड्रागन फ्रुट रोप्नु भएका उनले त्यससँगै सयपत्री फूल पनि रोपेका थिए । एउटै जग्गाबाट अहिले उहाँले दोहोरो लाभ लिएका छन् । उनले सयपत्री बाहेक विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको सुनाए।

उनले भने, ‘लामो समयदेखि काठमाडौँमा फूलको नर्सरी सञ्चालन गरेको थिए, त्यही अनुभवका आधारमा यहाँ पनि फूल र विभिन्न विरुवाको नर्सरी सुरु गरेको हुँ ।’ आफ्नै गाउँमा केही गरौँ र स्थानीय किसानलाई सहयोग गर्नुपर्छ भन्ने सोचले आफूले यहाँ खेती सुरु गरेको उनको भनाइ छ ।

शाहीलाई नगरपालिकाबाट पनि सहयोग प्राप्त भइसकेको छ । फूल खेतीका लागि नगरपालिकाले एक लाख अनुदान उपलब्ध गराएको नगर कार्यपालिकाका सदस्य एवं वडा नं ५ का अध्यक्ष रबिन कार्कीले जानकारी दिए।

कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुग्यो सार्वजनिक ऋण

नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा नेपालको सार्वजनिक ऋण कुल २५ खर्ब २३ अर्ब ३ करोड ९३ लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको ४४.२३ प्रतिशत पुगेको हो ।

कार्यालयकाअनुसार चालु आर्थिक वर्षको साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपैयाँ बराबर रहेको सार्वजनिक ऋण तीन महिनाको अवधिमा १ खर्ब ३६ अर्ब ३१ करोड ८१ लाखले वृद्धि भएको हो ।

सरकारले चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ६९ अर्ब ३ करोड ३ लाख रुपैयाँ सार्वजनिक ऋण भुक्तानी समेत गरेको कार्यालयले जनाएको छ ।

कुल सार्वजनिक ऋणमध्ये १२ खर्ब ३६ अर्ब ३० करोड १८ लाख रुपैयाँ स्वदेशी र १२ खर्ब ८६ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ विदेशी ऋण रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म कुल गार्हस्थ्य उत्पादनको २१.६७ प्रतिशत स्वदेशी र २२.५६ प्रतिशत ऋण विदेशी छ ।

सरकारले चालु आर्थिक वर्षमा ५४ अर्ब ७० करोड रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । जसमध्ये असोज मसान्तसम्म २४.९२ प्रतिशत लक्ष्य प्राप्ति भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : १५ बजे

ताइवानमा उत्तेजना नबढाउन अमेरिकी विदेशमन्त्रीको चेतावनी

काठमाडौं – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइवानमा उत्तेजना नबढाउन चीनलाई

पाटन प्रिमियर लिगः गुरुखोला र पञ्चेश्वरको विजयी सुरुवात

बैतडी – यहाँको पाटनमा जारी पाटन प्रिमियर लिग चौथो संस्करणको

भारतको प्रत्यक्ष कर संकलन बढ्यो

काठमाडौं – भारतको प्रत्यक्ष कर संकलनमा वृृद्धि भएको पाइएको छ

बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा

तनहुँ – तनहुँको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको

ललितपुरमा १५ देशका वैज्ञानिकको सम्मेलन हुँदै

काठमाडौं – १५ देशका वैज्ञानिकहरूको सहभागितामा आगामी ९ कात्तिकदेखि तीन