त्रेतायुगदेखि प्राण प्रतिष्ठासम्म अयोध्यामा कहिले के भए ? | Khabarhub Khabarhub

त्रेतायुगदेखि प्राण प्रतिष्ठासम्म अयोध्यामा कहिले के भए ?



भारतको अयोध्यामा सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा समारोह सम्पन्न भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार दिउँसो १२ बजेर २९ मिनेटको शुभ साइतमा राम मन्दिरको प्राण प्रतिष्ठाको मुख्य पूजा गरेका हुन् ।

राम मन्दिरको प्राण प्रतिष्ठापछि प्रधानमन्त्री मोदीले भने, ‘अब हाम्रा रामलाला टेन्टमा रहनुहुनेछैन । अब दिव्य मन्दिरमा रहनुहुनेछ ।’

राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा अमिताभ बच्चन, रजनीकान्त, ज्याकी श्रफ, सचिन तेन्दुल्कर, अनुपम खेर, मुकेश अम्बानीजस्ता हस्तीहरु पनि सहभागी भएका थिए ।

प्राण प्रतिष्ठा समारोहमा भारतसहित विश्वका विभिन्न कुनाबाट अयोध्या आएका लाखौँ भक्तजनको सहभागिता रहेको भारतीय सञ्चार माध्यमले जनाए भने टेलिभिजन प्रसारणमार्फत् करोडौँ मानिसहरुले यस समारोहको प्रत्यक्ष दर्शन पनि गरेका थिए ।

राम मन्दिरको प्राण प्रतिष्ठा समारोहको अवसरमा नेपालको जनकपुरधामस्थित जानकी मन्दिरसहित नेपालका विभिन्न स्थानमा पनि शोभा यात्रा, धार्मिक अनुष्ठान, दीप प्रज्वलनजस्ता अनुष्ठानको आयोजना गरिएको छ ।

अयोध्याको राम मन्दिरलाई श्री राम जन्मभूमि तीर्थस्थल ट्रस्टको मातहतमा सोमपुरा परिवारले नागर शैलीमा यस मन्दिर निर्माण गरेको हो । सन् २०२० को अगस्ट ५ मा प्रधानमन्त्री मोदीले नै मन्दिरको शिलान्यास गरेका थिए । झन्डै २२ करोड अमेरिकी डलरको लागतमा बनाइएको मन्दिर ७.२ एकडमा क्षेत्रफलमा फैलिएको छ भने समग्र परिसर भने ७० एकडमा फैलिएको छ ।

अहिले राम मन्दिर बनेको स्थानमा यसअघि १६ औँ शताब्दीमा निर्मित बाबरी मस्जिद रहेको थियो । हिन्दू धर्मावलम्बीहरुको एउटा समूहले सन् १९९२ मा मस्जिद भत्काइदिएको थियो ।

बाबरी मस्जिद भत्काएसँगै सुरु भएको हिंसामा परी झण्डै २ हजार जनाको ज्यान समेत गएको थियो । त्यसयता अनेकौँ कानूनी झमेला व्यहोर्दै बल्ल राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको हो ।

त्रेतायुगदेखि प्राण प्रतिष्ठासम्म 

अवधमा सरयू भनेर पुकारिने कर्णाली नदीको किनारमा अवस्थित अयोध्या दक्षिण एसियाकै प्राचीनतम सहरमध्ये पर्छ । पवित्र हिन्दू ग्रन्थ रामायण र महाभारतमा त्रेतायुगको समयमा दशरथका छोरा मर्यादापुरुष भगवान् रामको जन्म यसै सहरमा भएको उल्लेख छ । उनै रामका छोरा कुशले अयोध्यामा रामको ढुंगाको मन्दिर बनाएको विश्वास गरिन्छ ।

महाजनपदको समयमा अयोध्या सहर दक्षिण एसियाकै ठूलो व्यापारिक केन्द्रका रुपमा विकास भइसकेको थियो । पछि उज्जैनका सम्राट विक्रमादित्यले पुनः अयोध्यामा विशाल मन्दिर बनाएको किंवदन्ती पाइन्छ । विक्रमादित्यपछिका राजा महाराजाहरुले पनि अयोध्यामा राम मन्दिर बनाएको र जीर्णोद्दार गरेको बताइन्छ । पछि गुप्त वंशका राजाहरुले अयोध्यालाई नै आफ्नो राजधानी बनाए ।

विभिन्न कालखण्डमा भारतको भ्रमण गरेका चिनियाँ यात्रीहरु फाहियान र हुएन साङले पनि अयोध्यामा हिन्दू र बौद्ध धर्मका मठ मन्दिरहरु रहेको उल्लेख गरेका छन् । ती मन्दिरहरुमा दैनिक हजारौँ भक्तहरुले पूजाआजा, दर्शन गर्ने गरेको चिनियाँ यात्रीहरुको भनाइ छ ।

विस्तारै भारतमा विदेशी शक्तिको आक्रमण बढेर गयो । खासगरी मध्य एसियाका शासकहरुले सम्पन्न र समृद्ध भारतीय उपमहाद्विपमा आक्रमण गरी यहाँका प्रचिन मन्दिरहरुमा रहेका सम्पत्ति लुटेर लैजान थाले ।

विदेशी आक्रमणकारीको नजरमा भारतका काशी, मथुरा, अयोध्या, सोमनाथजस्ता सम्पन्न मन्दिरहरुमा नराम्रो क्षति पुग्यो भने आक्रमणकारीले पूजारी, भक्तजन, दर्शनार्थीहरुको हत्या गर्न लागे ।

समयसँगै भारतको सत्ता विदेशीकै हातमा गयो । सन् १२०६ मा कुतबुद्दीनले भारतमा मुसलमान शासन सुरु गरे । १६ औँ शताब्दीमा मध्य एसियाका तुर्केली–मंगोल मूलका शासक बाबरले भारतमा मुगल शासन व्यवस्थाको सुरुवात गरेका थिए ।

उनै बाबरका सेनापति मीर बाकीले सन् १५२८ मा राम मन्दिर रहेको स्थानमा मस्जिद बनाएको बताइन्छ । बारबरका सेनापतिले बनाएको मस्जिदलाई नै बाबरी मस्जिद भनेर पुकारिन थालियो । यस घटनाले एकातिर बहुसङ्ख्यक हिन्दूहरु चिढिए भने अयोध्यामा झगडा र कलहको बिऊ पनि यही घटनाले रोप्यो ।

सबै धर्मप्रति सहनशील मानिने मुगल शासक एवम् बाबरका नाति अकबरले भने मस्जिद भएको स्थानमा हिन्दूहरुलाई पनि पूजाआरधना गर्न अनुमति दिएको बताइन्छ । बाबरको शासन कालमा केही शान्त जस्तो देखिएको अयोध्या विवाद समय समयमा बढ्दै जान थाल्यो ।

मुगल शासक एवम अकबरका पनाति औरंगजेब भने अरु धर्मका मानिसहरुप्रति असहिष्णु थिए । औरंगजेबको समयमा अयोध्याका हिन्दू मन्दिरहरु ध्वस्त पारिए । यसले हिन्दू समुदायलाई थप चिढ्यायो ।

त्यसबेला हिन्दूहरुले रामको पूजा गर्नका लागि बाबरी मस्जिद परिसरमा एउटा चौताराजस्तो स्थान बनाएका थिए । हिन्दूहरुको पूजाअर्चनाका लागि त्यही स्थान तोकिएको थियो ।

बाबरी मस्जिदलाई पुनः प्राप्त गर्न भन्दै सन् १८५३ मा अयोध्यामा हिंसा भड्कियो । त्यसबेला भड्किएको हिंसामा हस्तक्षेप गर्दै बेलायती शासकले मुसलमानहरुलाई मस्जिदमा नमाज पढ्न र हिन्दूहरुलाई चौतारोमा रामको पूजा गर्ने अनुमति दिए ।

पछि सन् १८८५ मा आएर महन्थ रघुवीर दासले त्यस चौतारोमा छानो हाल्न पाउँ भन्दै फैजावाद जिल्ला अदालतमा मुद्दा हाले । उनको मुद्दा खारेज गरियो ।

सन् १८५९ मा बेलायती अधिकारीहरुले अयोध्यामा हिन्दू र मुसलमानका लागि बेग्लाबेग्लै प्रार्थानास्थल बनाउनका लागि पर्खाल ठड्याए । बेलायती व्यवस्थाअनुसार मुसलमानलाई मस्जिदभित्र र हिन्दूहरुलाई मस्जिदबाहिर आ–आफ्नो धार्मिक गतिविधि गर्ने व्यवस्था गरिएको थियो ।

लामो समयसम्म भारतमा बेलायती शासन चलिनै रहेको थियो । भारतले बेलायती शासनबाट स्वतन्त्रता प्राप्त गरेको दुई वर्षपछि सन् १९४९ मा अयोध्याको मस्जिदमा एकाएक रामको प्रतिमा प्रकट भयो । यसले पुनः साम्प्रदायिक तनावलाई बढाएर लग्यो । सो घटनापछि भारत सरकारले मस्जिद परिसर नै आफ्नो स्वामित्वमा लियो । हिन्दू र मुसलमान गरी दुबै पक्षले अदालतमा मुद्दा दायर गरे ।

सन् १९५९ मा आफूलाई राम जन्मभूमि क्षेत्रको संरक्षक भन्दै निर्मोही अखडाले यसमा आफ्नो पनि स्वामित्व हुनुपर्ने दाबी गर्‍यो भने पछि उत्तर प्रदेश सुन्नी वक्फ बोर्डले पनि उक्त संरचनाको स्वामित्व आफूले पाउनुपर्ने माग गर्दै मुद्दा दायर गर्‍यो ।

पछि गएर सन् १९८४ मा विश्व हिन्दू परिषदको नेतृत्वमा राम जन्मभूमिलाई मुक्त गर्ने र मन्दिर बनाउने भन्दै राम जन्मभूमि मुक्ति समितिको गठन भयो । त्यसबेला गोरखनाथ मठका महन्थ अवैद्यनाथले अयोध्यामा राम मन्दिर बनाउनेलाई मात्रै मत दिन आफ्ना समर्थकलाई आह्वान गरे । त्यसबेला भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीले राम मन्दिर निर्माण अभियानको नेतृत्व लिएका थिए ।

सन् १९८६ मा जिल्ला मजिस्ट्रेटले अयोध्यामा रहेको संरचनामा लगाइएको ताला खोल्न आदेश दियो । त्यसैबेला मुसलमान पक्षले यसको विरोध गर्दै बाबरी मस्जिद संघर्ष समितिको गठन गरे । सन् १९८९ मा विश्व हिन्दू परिषदले राम मन्दिरको शिलान्याश गर्‍यो । परिषदका नेता देवकीनन्दन अग्रवालले मस्जिद रहेको केही दूरीमा नै मन्दिरको शिलान्याश गरेका थिए ।

१९९० मा विश्व हिन्दू परिषद्ले राम मन्दिर निर्माणका लागि व्यापक अभियान सुरु गरे । राम मन्दिर निर्माण अभियानका लागि त्यसबेला भाजपा नेता आडवाणीले गुजरातको सोमनाथदेखि उत्तर प्रदेशको अयोध्यासम्म रथयात्रा निकालेका थिए ।

तत्कालीन मुख्यमन्त्री लालु यादवको निर्देशनमा बिहारमा यही रथयात्राका क्रममा आडवाणीलाई पक्राउ गरियो । फलस्वरुप भाजपाले तत्कालीन प्रधानमन्त्री वीपी सिंहलाई दिएको समर्थन फिर्ता लियो ।

सन् १९९२ डिसेम्बर ६ मा अयोध्यामा साम्प्रदायिक दंगा भड्कियो । राम मन्दिरको निर्माण हुनुपर्ने माग राख्दै हिन्दूहरुको समूहले बाबरी मस्जिदलाई भत्काइदिए । अयोध्याबाट सुरु भएको दंगा विस्तारै भारतका अन्य स्थानहरुमा पनि फैलियो । यस दंगामा परी २ हजार जनाको ज्यान गयो ।

यस घटनाबारे थप अध्ययन गर्न बाबरी मस्जिद भत्काइएको १० दिनपछि न्यायाशीध मनमोहन सिंह लिब्रहानको नेतृत्वमा जाँचबुझ आयोग गठन गरियो ।

सन् १९९४ मा इलाहावाद उच्च अदालतमा बाबरी मस्जिदको मुद्दा सुरु भयो । सन् १९९७ मा गएर मस्जिद भत्काएको घटनाको सुनुवाइ गर्न गठित विशेष अदालतले भाजपाका केही वरिष्ठ नेतासहित ४९ जनालाई दोषी ठहर गर्‍यो ।

सन् २००२ मा भारतीय सर्वोच्च अदालतले बाबरी मस्जिद मुद्दामा यथास्थितीलाई कायमै राख्ने आदेश दियो । सर्वोच्च अदालतले सरकारले अधिग्रहण गरेको कुनै पनि जग्गामा शिलाको पूजा गर्ने अनुमति दिन नसकिने फैसला सुनायो ।

बल्ल २००२ को अप्रिलमा अयोध्यामा बनेको संरचनाको स्वामित्वको अधिकारबारे उच्च अदालतका तीन न्यायधीशको इजलासले सुनुवाइ थाल्यो । सन् २००३ मा उच्च अदालतको आदेशअनुसार पुरातत्व विभागले विवादित स्थलमा उत्खननको काम सुरु गर्‍यो ।

पुरातत्वविदहरुले मस्जिदको संरचना मुनि मन्दिरसँग मिल्दोजुल्दो अर्को संरचना रहेको निष्कर्ष निकाले ।

सन् २०१० मा इलाहावाद उच्च अदालतको लखनउ इजलासले ऐतिहासिक फैसला सुनाउँदै अयोध्याको जग्गाको स्वामित्व तीन वटै पक्षलाई दिइनुपर्ने आदेश जारी गर्‍यो । यसअनुसार अयोध्याको जग्गाको एक भाग राम मन्दिर, अर्को भाग सुन्नी वक्फ बोर्ड र तेस्रो भाग निर्मोही अखडाको स्वामित्वमा जाने भयो ।

सन् २०११ मा सर्वोच्च अदालतले उच्च अदालतको फैसलामा रोक लगाइदियो । सन् २०१७ मा सर्वोच्च अदालतले अयोध्या विवादलाई सहमतिमै टुङ्ग्याउनुपर्ने तर्क पेश गर्‍यो ।

सन् २०१९ मा अयोध्या विवादबारे छलफल गर्न वार्ता समिति गठन गरिएपनि वार्ता सफल हुन सकेन । सन् २०१९ को अगस्ट महिनामा अयोध्या विवादबारे सर्वोच्च अदालतले दैनिक सुनुवाइ थल्यो । अक्टोबर १६, २०१९ मा सर्वोच्च अदालते आफ्नो सुनुवाइ सम्पन्न गर्‍यो ।

नोभेम्बर ९, २०१९ मा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गर्दै अयोध्यामा हिन्दू मन्दिर बनाउनका लागि ट्रस्टलाई जग्गा हस्तान्तरण गरिनुपर्ने र मुसलमान पक्षलाई पनि अयोध्यामा बेग्लै जग्गा दिइने आदेश दियो ।

सन् २०२० को फेब्रुअरी महिनामा राम मन्दिरको स्थापना र व्यवस्थापनका लागि १५ सदस्यीय श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट गठन गरियो ।

सन् २०२० को अगस्ट महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको शिलान्याश गरे । सन् २०२४ को जनवरी २२ मा मोदीले नै मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न गरे ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : १७ बजे

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद

कञ्चनपुर – नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘चाइना

गड्डाचौकीमा आवागमन सहज बनाउन एसएसबीसँग छलफल गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पश्चिमी सीमानाका गड्डाचौकी भएर ओहोरदोहोर

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन