सीपी र झलनाथलाई सँगै राखेर केपी किन नरम ? | Khabarhub Khabarhub

सीपी र झलनाथलाई सँगै राखेर केपी किन नरम ?

कम्युनिष्ट पार्टी स्थापनाका दिन क-कसले स्वीकारे एमालेको निम्तो ?


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई पटकसम्म प्रतिनिधि सभा विघटनको कोसिस असफल भएपछि एक्लिन पुगेका थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

नेकपामा देखिएको किचलोका कारण प्रधानमन्त्रीसमेत रहेका ओलीले तत्कालीन अवस्थामा २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते २ पटक प्रतिनिधि सभा विघटन गरिदिएका थिए।

तर उनको पहिलो प्रयासलाई सर्वोच्च अदालतले २०७७ फागुन ११ गते र दोस्रो प्रयासलाई २०७९ असार २८ गते बदर गरिदियो ।

दोस्रो पटक त उनलाई सर्वोच्चले परमादेशमार्फत सत्ताबाट बाहिर पठाइदियो। अनि असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने, उनैले २०७९ मंसिरमा प्रतिनिधि सभाको नयाँ निर्वाचन पनि गराए ।

नेकपाको किचलोपछि नेपाली राजनीतिमा प्रतिनिधि सभा विघटनका बाछिटा अनेक पटक देखिए । खासगरी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगको राजनीतिक लडाइँका कारण सत्ताबाट बाहिरिएपछि ओली र उनी नेतृत्वको एमाले करिब दुई वर्ष एक्लियो। अर्थात् २०७९ मंसिरसम्मका सबै किसिमका निर्वाचनमा एमालेलाई एक्ल्याइयो।

यस क्रममा ओलीकै पूर्वसहकर्मीहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसहितका ठूलो पंक्तिले पार्टी नै छाडे। नेकपा हुँदासम्म प्रचण्ड समूहमा बसेका उनीहरू २०७८ फागुन २३ गते नेकपा खारेज गरी दुई समूहलाई एमाले र माओवादीको पुरानै अवस्थामा फर्काइदिने सर्वोच्च अदालतको फैसलासँगै एमालेमा पनि अटाउन सकेनन्।

पेरिसडाँडाबाट फर्किएका उनीहरू धुम्बाराही पनि छिर्न सकेनन्। दुई लाइन संघर्ष सर्वोच्चले पुरानै अवस्थामा फर्काइदिएको एमालेमा समेत बढ्यो। त्यसकै कारण माधव र झलनाथ २०७९ भदौमा नेकपा एकीकृत समाजवादी बनाएर नयाँ यात्रामा लागे भने वामदेव गौतम अझै पनि पार्टीविहीन छन्। न उनी एमालेमा फर्किन सके, न माधव-झलनागसँग मिसिए, न त माओवादीमै प्रवेश गरे।

यसबीचमा आफूलाई राजनीतिक रुपमा एक्ल्याएपछि ओलीको आक्रोश चुलिँदो थियो । उनीमाथि प्रचण्डसहित पूर्वसहकर्मीहरूले प्रतिनिधि सभा विघटन स्मरण गराउँदै प्रतिगामी भनिरहे ।

ओलीले प्रचण्डलाई कांग्रेसको टाङमुनि छिरेर कम्युनिस्ट मास्न उद्यत्त रहेको आरोप लगाइरहे । त्योभन्दा पनि कडा आक्रोश उनले माधव, झलनाथ र वामदेवमाथि पोख्थे।

माधवसहितका यी तीन नेतालाई आफ्नै घरमा आगो लगाएर खरानी घसेको, भष्मासुर र कम्युनिस्ट मास्ने मुल्याहा जस्ता तीखा वचन ओलीले प्रहार गरिरहे । यो ओलीको नजरबाट स्वभाविक पनि किन थियो भने प्रचण्ड, माधवसहितका नेताहरू कांग्रेससँगको गठबन्धनमा बसेर एमालेलाई घेराबन्दी गरेका थिए ।

२०७९ को स्थानीय तह र संसदीय चुनावमा एकल बहुमतको नारा घन्काएका ओली नेतृत्वको एमाले दोस्रो दलमा खुम्चियो ।

तर, तत्कालीन पाँच दलीय गठबन्धनलाई चक्मा दिँदै २०७९ पुस १० गते खुमलटारबाट बालकोटमा तानेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन सफल भए। तर त्यसबेला ओलीको उक्त प्रयास १५ फागुनसम्म अर्थात् ३ महिना मात्रै टिक्यो ।

प्रचण्ड फेरि कांग्रेसकै गठबन्धनमा फर्किए । यसले ओलीको आक्रोशमा परेका माधव नेपालसहितलाई राहत दियो । किन भने २०७९ को निर्वाचनमा राष्ट्रिय दलसमेत बन्न नसकेको अवस्थामा एकीकृत समाजवादीलाई छाडेर प्रचण्डले एमालेसँग हात मिलाएका थिए। तर जुन सहकार्य ३ महिना मात्रै टिक्न सक्यो ।

त्यसअघि नै प्रचण्डले पहिलो पटक विश्वासको मत लिने क्रममा ओलीले प्रतिनिधि सभा विघटनको आफ्नो निर्णय सही रहेको बताएका थिए । त्यही कारण झस्किएका प्रचण्डलाई अन्तत: कांग्रेसले तीन महिनामै आफ्नो झोलीमा फर्काएर फेरि एमालेलाई राजनीतिक रुपमा एक्ल्यायो।

यो क्रममा २०८० फागुनसम्म चल्यो । त्यसबीचमा राजनीतिक रुपमा एक्लिँदाको परिणाम एमाले कार्यकर्तादेखि माथिल्लो तहका नेतासम्ममा फर्स्टेसन देखिन थालिसकेको थियो । एकपछि अर्को चुनावमा पराजयत तथा निरन्तर सत्तामा रहेको पार्टी विपक्षमा हुँदा एमालेका लागि कार्यकर्ता सम्हाल्नु पनि चुनौती बनेको थियो ।

उता प्रचण्डलाई पनि मन्त्रिमण्डल हेरफेर र भ्रष्टाचारमा मुछिएका भनिएका मन्त्रीहरूको बिदाइमा कांग्रेस सभापति देउवासँग कुरा नमिल्दा तनाव थियो । अख्तियारले बयान लिइसकेका मन्त्रीलाई बिदाइ गर्नसमेत देउवा नमानेको भन्दै प्रचण्डले असन्तुष्टि पोखिरहेका थिए ।

सत्ता साझेदारको तनावबीच ओलीले प्रचण्डलाई फकाउने प्रयास दोस्रो तहका नेताहरूमार्फत जारी राखेका थिए। नभन्दै गत फागुन २१ गते देउवाको साथ छाड्दै प्रचण्डले फेरि एक पटक ओलीसँग हात मिलाए।

त्यसकै परिणाम तत्कालै ४ दलीय गठबन्धन बन्यो । त्यसको दुई दिनपछि माधव नेपाल पनि मिसिएर ७ बुँदे वक्तव्य निकालियो ।

आफूलाई राजनीतिक रुपमा एक्लो बनाउन एक ठाउँ उभिएका प्रचण्ड र माधवलाई मात्रै ओलीले आफ्नो कित्तामा तानेनन्, नयाँ पुस्ताको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी र मधेसी दल जसपालाई पनि गठबन्धनमा जोड्न सफल भए ।

एक वर्षअघि धोका दिएका उनै प्रचण्डलाई आफ्नो कित्तामा तान्न सफल भएका ओलीले आफ्नो भागमा परेका मन्त्रालय पनि रोजेनन् । गृह र अर्थसहितका गतिला मन्त्रालय अरुलाई नै दिएर कम आकर्षक मन्त्रालयमा आफ्ना सांसदलाई पठाए।

हो, यहीँनेर २१ फागुनअघिसम्म अन्य नेता र दलप्रति आक्रोशपूर्ण  भाषण गर्ने ओलीको बोली फेरियो । उनी नयाँ गठबन्धनमा जोडिएका नेताप्रति त नरम भए नै, कांग्रेसलाई पनि नचिढ्याउने गरी बोल्न थाले ।

त्यतिमात्रै होइन, उनी नयाँ गठबन्धनको सरकार बनाउँदा शत्रुतापूर्ण सम्बन्ध रहेका माधव नेपालको निवासमै पुगे । उनैले फकाएपछि अहिले नेपाल नयाँ गठबन्धनमा जोडिएका छन् । नेपालले त्यसअघिसम्म प्रचण्डले पटक-पटक धोका दिएको गुनासो गरिरहेका थिए ।

 

किन नरम भए ?
२०७९ पुसमा बनेको गठबन्धन तीन महिनामै तोडिएपछि त्यसको एक वर्षसम्म ओलीले आत्मसमीक्षा गरेको उनीनिकट नेताहरू बताउँछन् ।

चोटिला उखान टुक्का र तिखा शब्दवाणसहित विपक्षीलाई प्रहार सिपालु ओलीले त्यही एक वर्षको आत्मसमीक्षापछि प्रचण्डलाई फेरि आफ्नो पोल्टामा ल्याएनन् मात्रै पाँचै वर्ष प्रधानमन्त्री बनिरहन पनि भने ।

दुई वर्षसम्म राजनीतिक रुपमा एक्लिनु, कम्युनिस्टहरू झगडा गर्दा कांग्रेसलाई फाइदा पुग्नु र अहिलेकै अवस्थामा कुनै पनि दलले एकल बहुमत ल्याउन नसक्नेसहितका निष्कर्षसहित ओलीले प्रचण्डसँगको सहकार्यलाई फेरि अघि बढाएका छन् ।

हु्न त एमालेले २०७९ मै बहुमत ल्याउने कुरा गरेको थियो । तर ओलीले नै भन्दै आएको २०८४ मा एकल बहुमतको सरकार पनि सम्भव देखिँदैन । यस्तो राजनीतिक जटिलताबीच ओली आफूसँग शत्रुतापूर्ण सम्बन्ध रहेका माधव नेपाल र झलनाथसँग त नजिकिए नै प्रचण्डलाई पनि पूरै कार्यकाल प्रधानमन्त्री दिने मनस्थितिमा पुगे ।

अर्कातिर फागुन २१ मा बनेको नयाँ गठबन्धनको भविष्यलाई लिएर अनेक प्रश्न उठेका छन्। यही गठबन्धमा रहेका माधवकुमार नेपालले सोमबार नै नरबहादुर कर्मचार्यको स्मृतिमा आयोजित कार्यक्रममा यो गठबन्धन जुनसुकै बेला टुट्ने बताएका छन्।

गठबन्धनको अर्को दल रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको तरबार त झुन्डिएकै छ । यदि उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि दबाब बढ्दै गएमा उनले पनि सत्ता छाड्ने अवस्था आउन सक्छ ।

खासगरी चिनियाँ पहलमा यो गठबन्धन बनेको आरोप लागिरहँदा ‌ओली नै खण्डमा उत्रिएका छन् । उनले केही साताअघि यो गठबन्धन आफूहरूको बलमा बनेकाले कुनै शक्ति राष्ट्रलाई जोड्नु गलत हुने उल्लेख गरे ।

उनले यसो भनेर दक्षिणी छिमेकी भारत र अर्को महाशक्त अमेरिकालाई आश्वस्त पार्न खोजेका छन् । आन्तरिक र बाह्य जेसुकै कारण भए पनि ओलीले २०७९ पुस १० मा बनेको गठबन्धन आफ्नै कारण टुटेको निष्कर्षसहित नयाँ शिराबाट रियालाइजेसनसहित यो गठबन्धनलाई अर्को चुनावसम्म लैजाने कोसिस गरिरहेका छन् ।

सोमबार त्यसकै अर्को शृंखला ललितपुरको गोदावरीमा देखियो । जहाँ एमालेले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा कार्यक्रम गरेको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’सम्मानसमेत दिन आयोजित कार्यक्रममा ओलीले एक घण्टा लामो सम्बोधन गरे ।

ओलीले अन्तिममा सम्बोधन गर्नुअघि बरु कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वराष्ट्रपति भण्डारीबीच कटाक्ष चल्यो । तर ओली आफैंले भने सत्ता साझेदारदेखि विपक्षीलाई पनि नचिढ्याउने नीति अख्तियार गरे ।

देउवाले मदन भण्डारीका हत्यारा अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै गोदावरीको सनराइज हलमा उपस्थित कम्युनिस्ट नेताहरूप्रति कटाक्ष गरे ।

यो पनि-

एमालेलाई देउवाको प्रश्न- मदन भण्डारीको हत्यारा किन नखोजेको ?

कलकत्ते कम्युनिष्ट : जन्मैदेखि झगडिया

त्यसपछि कार्यक्रममा समापन भाषण गरेका ओली आफ्ना पूर्वसहकर्मीसहित प्रमुख प्रतिपक्षी कांग्रेससँग पनि नरम देखिए । ओलीले कम्युनिस्ट आन्दोलनका उपलब्धि सुनाउन अधिकांश समय खर्च गरे । तर अन्तिममा उनले सबैलाई फकाउने प्रयास गरे त्यो पनि अपत्यारिलो नरम शैलीमा ।

प्रधानमन्त्री त उनका सत्ता साझेदार नेता भइगए । उनलाई कार्यक्रममा आइदिएकोमा धन्यवाद टक्रयाए ।

त्यसपछि ओ‌लीले कांग्रेस सभापति देउवालाई पनि चिढ्याउन चाहेनन् । मदन भण्डारीक‍ो हत्यारा पत्ता नलगाएको भनेर व्यंग्य कसेका देउवलाई लक्षित गर्दै उनले ‘मेरा मित्र घरीघरी जोशिनु हुन्छ’, मात्रै भने ।

‘मेरा आदरणीय मित्र शेरबहादुर देउवा! उहाँ पू्र्वप्रधानमन्त्री समेत हुनु हुन्छ । पूर्व पनि कति पटक भनौँ, ५ पटक भन्नुपर्छ। पूर्व पूर्व पूर्व पूर्व पूर्व’, ओलीले हाँस्यरससहित देउवालाई भने, ‘अहिले पनि जोश तगडा नै छ, समातेर सिंढीबाट तल झार्न खोज्दा पर्दैन, म सक्छु भन्नु हुन्छ।’

कार्यक्रममा नआएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबारे ओलीले केही टिप्पणी गरेनन्। तर, समाजवादीकै सम्मानित नेता एवम् पूर्वप्रधामन्त्री झलनाथ खनाललाई नम्र बनेर धन्यवाद दिए। ‘यहाँ पूर्वप्रधानमन्त्री झलनाथ खनालजी आउनुभएको छ। बाबुराम भट्टराई पनि आउनुभएको छ। खिलराज रेग्मी आउनु भएको छ’, उहाँहरू सबैलाई धन्यवाद !’

ओलीले झापामा कम्युनिस्ट आन्दोलन चर्काउँदाका सहकर्मी सीपी मैनालीको पनि उक्त मञ्चबाट प्रशंसा गरे । एमालेको निम्तोमा ‘बालसखा नभने पनि युवा सखा यहाँ आउनुभयो। कुनै समय यस पार्टीमा उहाँ महासचिव हुनुभएको थियो’, ओलीले मैनालीप्रति आदरभाव र माया प्रकट गर्दै भने, ‘उहाँको पनि यस पार्टी बनाउन ठूलो योगदान छ।’

नेकपामा हुँदा आफूलाई साथ नदिएका वामदेव गौतमप्रति पनि ओली नरम देखिए। उनले वामदेव पनि आफ्ना पूर्वसहकर्मी भन्दै विगत स्मरण गरे ।

त्यसो त एमाले अध्यक्ष ओली सोमबार अन्य दलका नेताहरुसँग नरम रुपमा प्रस्तुत भए पनि उनको यो नरमपन आफूले निम्त्याएका पाहुनाप्रतिको आतिथ्य मात्र हो या राजनीतिरुपमै उनले सबैलाई कम्युनिष्टलाई मिलाउन चाहेका हुन् भन्ने प्रश्न चाहिँ बाँकी नै छ ।

किनभने, ओलीले शनिबारमात्रै गोदावरी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन खासै नरम छैन । सो प्रतिवेदनमा वामपन्थी एकता तत्कालका लाभदायी नहुने तर सहकार्य गर्दै अगाडि जान सकिने बताइएको छ ।

यो पनि–

गोदावरी दुई : अघिल्लो गठबन्धन ‘काँक्राचोर’

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ७ : ५१ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार