बाघ र गोहीको शिकार बन्दै गैंडा « Khabarhub

बाघ र गोहीको शिकार बन्दै गैंडा

वासस्थान घट्दा बढ्दैछ वन्यजन्तु द्वन्द्व



काठमाडौं – वन्यजन्तुको प्राकृतिक वासस्थानमा मानव अतिक्रमणले मानव वन्यजन्तु द्वन्द त निम्त्याएको छ नै, वन्यजन्तुबीच पनि द्वन्द बढिरहेको पाइएको छ ।

विगत पाँच वर्षभित्र चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा मरेका गैंडाको संख्या र कारण विश्लेषण गर्दा यस्तो तथ्य भेटिएको हो ।

पछिल्ला वर्षहरूमा अतिक्रमणका कारण वन क्षेत्र संकुचित हुँदै जाँदा वन्यजन्तु बीचकै द्वन्द जैविक विविधता सन्तुलनमा चुनौति बनिरहेको छ ।

एक सिङ्गे गैंडाको प्राकृतिक वासस्थान अब नेपाल र भारतमा मात्र खुम्चिएको छ । यो विशेषताको गैंडालाई नेपालले संरक्षित जीवको सूचीमा राखेको छ । नेपालमा अधिकांश एकसिङ्गे गैंडाको वासस्थान चितवन राष्ट्रिय निकुञ्ज हो ।

बितेका पाँच वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १०७ गैँडा मरे । आर्थिक वर्ष २०७६ देखि हालसम्ममा ती गैंडा मरेका हुन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडाको मृत्युमा विभिन्न १३ कारण किटेको छ । विभागका अनुसार बुढो भएर तथा बिरामी परेर, बाढी/डुबान लगायत प्राकृतिक विपत्तीका कारण, चोरीसिकार, बाघ र गोहीको आक्रमण र अन्य कारणबाट गैंडाको मृत्यु हुने गरेको छ ।

पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क केलाउँदा बाघ र गोहीको आक्रमणका कारण गैंडाको मृत्यु बढेको छ । आर्थिक वर्ष २०७६/०७७ र ०७७/७८ मा यी वन्यजन्तुको आक्रमणबाट जम्मा दुईवटा गैंडाको मृत्यु भएको थियो ।

तर त्यस पछिका तीन वर्षमै बाघ र गोहीको आक्रमणबाट १७ गैंडा मरेका छन् । ०७८/७९ मा ६, ०७९/८० मा ७ र २०८०/८१ को हालसम्म ४ वटा गैंडा अन्य वन्यजन्तुको आक्रमणबाट मरेका हुन् ।

चालू आर्थिक वर्ष २०८०/८१ मा ८ गैंडा किन मरे भनी निकुञ्जले कारण नै पत्ता लगाउन सकेको छैन । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले प्राकृतिक तथा विभिन्न विपत्ति र चोरी शिकारीमा गैंडा मर्ने गरेको बताए ।

उनले भने, ‘गैंडा बुढो भएर, भीरबाट लडेर, दलदल भासीमा परेर, बाढीले बगेर, एकआपसमा जुधेर पनि मर्छन् ।’ बाघ र गोहीको आक्रमण, चोरी शिकार, करेन्ट लागेर, बिरामी भएर, खाडलमा परेर पनि मृत्यु हुने उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७६/०७७ मा बुढो तथा बिरामी भएर १० वटा गैंडाको मृत्यु भएको थियो । त्यस्तै, प्राकृतिक विपत्तिमा परेर ३ वटा, चोरी शिकारीमा परेर २ वटा, बाघ र गोहीको आक्रमणमा परेर १ र कारण नखुलेको ३ वटा छन् । त्यसैगरी ०७७/७८ मा २७ गैंडा मरेका छन् । ०७८/७९ मा २६, ०७९/०८० मा १९ र ०८०/०८१ मा १६ वटा गैंडा मरेका छन् ।

सूचना अधिकारी तिवारीका अनुसार बच्चा पाउन नसकेर पनि गैंडाको मृत्यु हुने गरेको छ । ‘साथै कहिलेकाहीँ पोथी र भाले सहवास गर्ने क्रममा लडाइ पर्दा पनि मृत्यु हुने गरेको छ,’ उनले भने ।

बेलायतको ‘ग्लोबल इकोलोजी एन्ड कन्जर्भेसन’ जर्नलमा हालै प्रकाशित लेखमा चितवन राष्ट्रिय निकुञ्जका गैंडा चोरीशिकार भन्दा पनि बासस्थान विनाशका कारण बढी जोखिममा परेको अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरूको सो समूहको सन् २००९ देखि २०१५ सम्मको अध्ययनमा उक्त लेख आधारित छ । अध्ययनले वनमाराजस्ता झारपात फैलिएर गैंडाको बासस्थानमा धेरै असर पुरयाएको देखाएको छ ।

गैंडाको पञ्जामा बिजोर औंला हुने समूहका पाँच वर्तमान प्रजातिहरूमध्ये एक हो । यी प्रजातिहरूमध्ये दुई अफ्रिकामा पाइन्छन् । गैंडा एक शाकाहारी जनावर हो । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ६४५ गैंडा छन् ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १२ : ४६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक