समाचार

धनुषामा सवारी दुर्घटनामा कमी, मृत्यु हुनेको संख्या पनि विस्तारै घट्दै

By खबरहब

September 22, 2024

जनकपुरधाम– धनुषा जिल्लामा चालु आर्थिक वर्षको दुई महिनामा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा १ र भदौ महिनामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको धनुषा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा धनुषा जिल्लाभरिमा सवारी दुर्घटनामा परेर ७४ जनाको मृत्यु भएको थियो । जसमा सबैभन्दा बढी मिथिला नगरपालिकामा १९ जना,जनकपुरधाम उपमहानगरपालिकामा ११ जना, धनुषाधाम नगरपालिकामा ११ जना, लक्ष्मिनिया गाउँपालिकामा ६ जना, सबैला नगरपालिकामा ५ जना, विदेह नगरपालिकामा ५ जना, क्षिरेश्वरनाथ नगरपालिकामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाभरिमा यसअघि आर्थिक वर्ष २०७९/०८०मा ८४ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ५ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय जनकपुरधामका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

धनुषामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दिनदिनै घटिरहेको ओलीले बताए ।

‘पछिल्लो समय जनचेतना कार्यक्रम तीव्र बनाएका छौँ’, ओलीले भने, ‘जनचेतनाका कार्यक्रमहरू प्रभावकारी सावित भएको छ, यो हाम्रा लागि सुखद संकेत हो ।’